सम्पादन–परिदृश्य
सृष्टिको प्रथम र अन्तिम फूल...
सत्यमा जीवन पानीजस्तै सललल बग्न चाहन्छ । खाल्डो भेटे भरिएर बग्छ, कठोर चट्टानहरू भेटे ठोक्किएर–छचल्किएर बग्छ, पहाड उभिए मोडिएर बग्छ र यदि कसैले अस्वाभाविक बाँध बाँधे हो, बाँधै भत्काएर भेलबाढी भएर नि बग्छ र अन्ततः सागर–महासागरसम्म पुगेर विश्राम लिएजस्तो लागे पनि पुनः बाफिएर–बादलिएर वा कुनै पनि प्रकारले प्रकृतिचक्रमा सामेल भइसकेको हुन्छ । त्यही जीवनगत सत्यलाई आत्मसात गर्दै कविलेखक पनि जहाँसम्म प्रकृतिकै लयमा समाहित हुन चाहन्छ । यद्यपि कोरोना कहरको साङ्लोले बन्दी बनाएको स्वतन्त्रताप्रेमी मानवसभ्यताको निरीह पात्रतामाथि आफ्नै अहङ्कार घोलित कर्मदोषको कालो पहाड अग्लिए जस्तो लागे पनि या ती पहाडहरूले जीवनविरुद्ध जति नै नारा लगाइरहे पनि सृष्टिको अन्तिम या प्रथम फूल कविलेखकमा सुरक्षित रहन्छ भन्नेमा पनि म पूर्णतः विश्वस्त छु । यसर्थ यस धरतीमा एउटा सर्जक जहाँ उभिन्छ; त्यहाँ सृष्टि हुन्छ । त्यही सृष्टिका कारण उसका लागि र अन्य दृष्टिका लागि पनि त्यहीँ नै केन्द्र बन्छ, तर परिधि वा किनार अवश्य होइन । आखिर जहाँ फूल फुले पनि त्यसलाई दृष्टिले कहाँ किनार मान्छ र ! ऊ त सदाबहार दृष्टिको केन्द्र नै बन्छ ! यसरी स्वयम् सर्जकलाई किनार वा मोफसलको पगरी कुनै पनि हालतमा सुहाउँदैन नै जस्तो लाग्छ । ऊ त सारा किनार भत्काएर फूलझुप्पा रूपी ब्रह्माण्ड सम्हालिरहेको प्रथम या अन्तिम वीज हो, आकर्षण हो, स्वयम्मा सिङ्गो सुरम्य सृष्टि हो र सारा जागतिक दृष्टिको मात्र केन्द्र हो । केवल केन्द्र हो ।
जीवनका यिनै सत्यका संवाहक मानिने कलासाहित्यको सम्मान र उत्थानमा हरतरहले समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न अनि आत्मजनको सहयोगले कलाश्री नामक छपाइ पत्रिकालगायत नेपाली कला, साहित्य, सङ्गीत सम्त्रद्ध विशुद्ध वार्षिक ईपत्रिका केही सम्पादित पुराना प्लस केही नयाँ सुरुचिपूर्ण सामग्री लिएर उही अङ्ग्रेजी र नेपाली भर्सनसहित www.nepalikalasahitya.com / www.nepaliartnliterature.com को पुनःतेह्रौँ अङ्क पुनः यहाँहरूमा समर्पण गरिएको छ ।
सत्यमा जीवनको सुगन्धलाई कैद गर्न नसके जस्तै यथार्थतः यो सृष्टिमा जति अँध्यारो छाए पनि उज्यालो सम्भावनालाई कसैले पनि रोक्न नसक्ने दाबीसहित तिनै उज्यालो सम्भावनाका संवाहक स्रष्टाको सम्यक कर्मको जीवन्त साक्षी बन्न पुगेको छ— कलाश्री साहित्य वार्षिक । यसरी कोरोना कहरबीचको इतिहासमा कलाश्री सदाझैँ आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ । यसमा सत्कर्मयात्राको जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगत्मा सदा अविस्मरणीय रहने नै छ ।
यथार्थतः यो सृष्टिमा जति अँध्यारो छाए पनि जीवनको उज्यालो सम्भावनालाई कसैले पनि रोक्न नसक्दो रहेछ ! तिनै उज्यालो सम्भावनाका संवाहक स्रष्टाको सम्यक कर्मको जीवन्त साक्षी बन्न पुगेको छ, कलाश्री साहित्य वार्षिकसँगै यो ई–पत्रिका । यसरी कोरोना कहरबीचको इतिहासमा सबै लेखकीय सत्कर्मको दस्तावेज कलाश्री छपाइ पत्रिका एवं यो ई–पत्रिका www.nepalikalasahitya.com र www.nepaliartnliterature.com आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ । यसमा सत्कर्मयात्राका जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगतमा सदा अविष्मरणीय रहने छ ।
यसरी रफ्तारमा लयभङ्ग भए पनि प्रसङ्गमा नूतन भङ्गिमाका साथ सिर्जनाका माध्यमबाट जीवनको सम्यक् लयको आविष्कारमा साथ दिनुहुने सम्बद्ध सबै आत्मजन एवं सहृदयी स्रष्टाहरूप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ । त्यसमा पनि अनुवादजस्तो कठिन कार्यमा सप्रेम साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू, केशव सिग्देल, महेश पौड्याल, सुमन पोखरेल र सुरेश हाचेकालीप्रति विशेष आभार व्यक्त गर्दछ ।
स्रष्टा र सिर्जना सदा सुरुचिपूर्ण सुन्दर जीवनका लागि सृष्टिको प्रथम या अन्तिम फूलसहित नूतन भङ्मिापूर्ण सुमधुर सम्यक लयको पक्षमा
- मोमिला