नेपाली कलासाहित्य डट कम प्रतिष्ठान
बर्ष १४ / पूर्णाङक १४
सम्पादन–परिदृश्य
शब्दब्रह्मकै पक्षमा...!

हो, मानवीय संवेदनलाई दुरुस्त व्यक्त गर्न शब्द सम्पूर्णतः सक्षम हुन्छ नै भनेर दाबी गर्न नसकिए पनि शब्द, भाषा, लिपि नहुँदो हो त सायद मानवसभ्यता नै कुनै बिन्दुमा स्थिर भएर टक्क राकिन्थ्यो होला ! तर, आज त्यस्तो नभएर शब्दसारथिले नै वर्तमान सभ्यता हाँकिरहेजस्तो लाग्छ । अर्थात् जिन्दगी जताततै शब्दको उत्सवमा प्रेममग्न रहेजस्तो लाग्छ, एक शिखरबाट अर्को शिखरतिरको उत्सुक यात्रामा नृत्यमग्नझैँ महसुस हुन्छ या अझ भनौँ सिङ्गो सृष्टिले नै हरपल शब्द जपिरहे जस्तो लाग्छ, जतिखेर जिन्दगी स्वयंले जीवन्त अस्तित्वबोध गरेको हुनुपर्छ । र सत्यमा शब्दलोकको सङ्गीतले जो–कोही मन्त्रमुग्ध नै हुनुपर्छ । यसर्थमै सायद हिजोआज हाम्रा गाउँसहरहरू कुनै ऋतुको औपचारिक निमन्त्रणबिना नै शब्दको महोत्सवमा झुमिरहन्छन् । यसलाई हाम्रो समाजले प्राप्त गरेको सचेतनाको गर्विलो उचाइ भन्न सकिन्छ । यद्यपि यो चेतनाको लहर केवल घरबस्ती बगाउने सचेतजस्तो बाढी नबनोस् । बरु हरियाली ल्याउने वरदानसिद्ध वर्षा होस् । यदि यसमा देशसारथिको अर्जुनदृष्टि समाहित भए समृद्धिको सम्यक् यात्रा प्रारम्भ हुन्थ्यो कि भन्ने कल्पनाले मात्र पनि देशको नाममा यो मन रोमाञ्चित भइरहेछ । यद्यपि इमान्दरिता र गुणात्मकता प्रथम सर्त बनून । वास्तवमा बदला र घृणाले उकुसमुकुसिएको योद्धाको मन शीतल हुन प्रेमको हावा चलेतिर जसरी एकोहोरिँदो हो; उसै गरी शब्दब्रह्म प्रेमपूर्ण गुन्जिएको बेला यो देशको भाग्यको मार्गचित्र गाढा गरी कोरिए त नेपालीहरू मात्र किन र शब्दकोशका सारा शब्दहरू नै रङ्गमञ्च ओर्लिएर कस्तरी खुसी झुम्थे होलान् !

जीवनका यिनै सत्यका संवाहक मानिने कलासाहित्यको सम्मान र उत्थानमा हरतरहले समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न अनि आत्मजनको सहयोगले कलाश्री नामक छपाइ पत्रिकालगायत नेपाली कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई पत्रिका केही सम्पादित पुराना प्लस केही नयाँ सुरुचिपूर्ण सामग्री लिएर उही अङ्ग्रेजी र नेपाली भर्सनसहित www.nepalikalasahitya.com / www.nepaliartnliterature.com को चौधौँ अङ्क पुनः यहाँहरूमा समर्पण गरिएको छ ।

सत्यमा जीवनको सुगन्धलाई कैद गर्न नसके पनि यथार्थतः जीवनको रङग उतार्ने इन्द्रेणी शब्दलाई सलाम ! यो सृष्टिमा जति अँध्यारो छाए पनि उज्यालो सम्भावनालाई साक्षी राखेर अँध्यारोमा शब्दको आतसबाजी उतार्ने स्रष्टालाई सलाम ! यिनै उज्यालो सम्भावनायुक्त सम्यक् कर्मको जीवन्त साक्षी बन्न पुगेको छ— कलाश्री साहित्य वार्षिक एवम् यो ई पत्रिका www.nepalikalasahitya.com / www.nepaliartnliterature.com आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ । यसमा सत्कर्मयात्राका जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगतमा  सदा अविष्मरणीय रहने छ ।

यसरी सिर्जनाका माध्यमबाट जीवनको सम्यक् लयको आविष्कारमा साथ दिनुहुने सम्बद्ध सबै आत्मजन एवं सहृदयी स्रष्टाहरूप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ । त्यसमा पनि अनुवादजस्तो कठिन कार्यमा सप्रेम साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू महेश पौड्याल, केशव सिग्देल, सुमन पोखरेल र सुरेश हाचेकालीप्रति विशेष आभार व्यक्त गर्दछ ।

सदा सुरुचिपूण सुन्दर जीवनका लागि विशेष शब्दब्रह्मकै पक्षमा...

- मोमिला






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :