चित्र र कविता

नेपाल आमालाई पत्र

A Letter to my Motherland Nepal
A Letter to my Motherland Nepal
सन्ध्या रेग्मी

तीन परी (गङ्गा, जमुना र यमुना)

 

पूज्यनीय नेपाल आमा !
हामी त नचाहँदानचाहँदै पनि प्रवासी भयौं
सारा मान्यजनलाई हाम्रो प्रणाम !
हामी त वर्तमानमै पनि अतीत भयौं
सारा देशवासीलाई हाम्रो सलाम !

प्रसिद्धि त के कमाउन सक्थ्यौँ र यो परदेशमा
तर अलिकति भए पनि समृद्धि कमाउने रहरले
सात समुद्र पार गरी
विदेश भूमिमा पाइला टेक्न नपाउँदै
हामी कैले मुम्बईमा बेचिन्छौँ
मलेशिया पुग्दा आङ्खनै देशका म्यानपावर एजेन्सीबाट ठगिन्छौँ
मौरिससको टापू आइपुग्दा भारतीय छट्टूहरूबाट लुटिन्छौँ
श्रमिक बनी दुबाई पुग्दा षडयन्त्रकारीहरूबाट कुटिन्छौँ
इराक पुग्दा आतङ्कवादीका तरवारमा सेर्रिन्छौँ
लाहुरे बनी बेलायतमा पाइला टेक्यौँ कि भनी सोच्दा
अफगानिस्तानमा धकेलिँदै तालिवानका गोलीमा भुटिन्छौँ
डी.भी.ले भाग्य खुल्यो भनी घरबार बेची अमेरिका पुग्दा
रातदिन कुल्लीकै जिन्दगी बिताउन वाध्य हुन्छौँ
र स्वदेश फर्कने मृगतृष्णामा तड्पिन्छौँ
हामी कहिले बाली बम विष्फोटमा उछिट्टिन्छौँ
कहिले फुकेट सुनामी प्रलयमा भासिन्छौँ
जर्मनीका शरणार्थी शिविरमा पुग्दा
नीयोनाझीबाट जिउँदै आगोमा पोलिन्छौँ
हङ्कङ् र सिंगापुर मजदुरी गर्दागर्दै
जापान र कोरियामा भारी बोक्दाबोक्दै
हामी थकाइ र हेपाइले गल्नसम्म गल्छौँ
अरबका खाडीहरूमा पसिनाका धारा बगाउँदाबगाउँदै
हामी चूर्णचूर्ण भई सदाका लागि ढल्छौँ
स्वदेशमा भए त हुन्थ्यो कमसेकम
सम्मानपूर्वक हाम्रो दाहसंस्कार
यहाँ त हामी पशुको भन्दा पनि दयनीय मृत्यु मर्छौं ।

सारा मान्यजनलाई हाम्रो प्रणाम !
सारा देशवासीलाई हाम्रो सलाम !

आमा !
भक्कानो छुट्दा–छुट्दा अवरुद्ध भएको होला तिम्रो गला
आँसु रित्तिएर शुष्क बनेका होलान् तिम्रा आँखाहरू
विरहाग्निको ज्वालाले जलेको होला तिम्रो छाती
भय र त्रासले थिलोथिलो भएको होला तिम्रो शरीर
हाम्रा आँखाहरूमा ती मार्मिक दृश्यहरू प्रतिविम्बित हुँदा
मुटुबाट रगतको आँसु बगाई हामी छाती पिटीपिटी रुन्छौँ

बिन्ती छ अन्यथा नसम्झ,
हाम्रो आँखाको नानीमा कसैको माया बसेको छ भने त्यो तिम्रै हो
हाम्रो परेलीमा कसैको सम्झनाको छायाँ परेको छ भने त्यो तिम्रै हो
हाम्रो हातभरि तिम्रै सुवास छ
हाम्रो प्राणभरि तिम्रै उच्छ्वास छ
देश देवालय र गुम्बामा होइन
मन्दिर र चैत्यका टुँडाल र खम्बामा ‘नि होइन
देश त कर्मरूपी भजन–आरतीले आलोकित
मनमन्दिरकै प्राङ्गणमा हुन्छ
देश श्रद्धा हो मूर्ति होइन
देश आस्था हो पर्व होइन
धर्म र दर्शनका जटिल सूत्रमा होइन
सिद्धान्त र विवादको युद्धमा ‘नि होइन
देश त शुद्ध विचार र आदर्शको बुद्धमा हुन्छ
राजनीति र कूटनीतिको इन्द्रजाली छडीमा होइन
देश त हार्दिकता र बौद्धिकताको मजबूद कडीमा हुन्छ
अभिमानी आत्मश्लाधाको चढानमा होइन
देश त स्वाभिमानी चैतन्यको अडानमा हुन्छ
देश साँच्चै नै मुटुमा हुन्छ सीमानामा होइन
देश रगतका नसा–नसामा बग्छ नदीमा होइन ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल