चित्र र कविता

भैगो, युद्ध मलाई हार्नु छ

Better, I am to Lose the War
Better, I am to Lose the War
एस्पी कोइराला

फगत् ऊ
र म छु
अलि पर एक मुठी रात छ
अलि वर एकान्त मैदान छ सुनसान
युद्ध लड्नु छ त्यहीँ चुपचाप
हो, युद्ध सबैलाई जित्नु छ
भैगो, युद्ध मलाई हार्नु छ ।

एकान्तको एक स्पर्शमै
लज्जावन्ती झारझैँ ओइलिन्छे ऊ
अँधेरीको एक संसर्गमै वसन्ती बहार फैलिन्छे ऊ
मनको सानो कन्दराभित्र साउने झरी बर्सिन्छे ऊ
दिलको न्यानो सहाराभित्र गङ्गोत्री पग्लिन्छे ऊ ।

थाहा छैन मलाई कुन युद्ध लडेँ
याद छैन मलाई
खुम्चिएर पछि सरेँ वा सुरिएर अघि बढेँ
याद छ त केवल दुई निरीह मन
र केही निष्पृय नयन
हो, बिजुली चम्केपछि अनायास
छताछुल्ल भुइँभरि सुनसान शान्ति पोखिन्छ
कस्तो आश्चर्य !
युद्धको शङ्खघोष हुँदा नहुँदै
बाचाको अश्वमेघ टुङ्गिन्छ ।

युद्ध जित्न लड्नुपथ्र्यो
किनकि युद्धको परिभाषा उही छ
युद्धझैँ हुनुपथ्र्यो युद्ध आखिर
युद्ध लड्नुपथ्र्यो आफू माथि पर्न
युद्ध म पनि लडेँ फगत् आफू हार्न ।
मुस्कान ओठभरि पस्केर
जब युद्धमा होमिएछु
मानव म निमेषभरमै
दानवमा पोखिएछु ।

मलाई छेकेर सामुन्ने आज
ऐना मसँगै सर्माइरहेछ
मलाई देखेर आज
मेरो मन मैसँग लजाइरहेछ
उल्टो हिँड्ने मेरै छायाँसँग मितेरी गाँसेर आज
मभित्रको ऊ मलाई गिज्याइरहेछ
उल्टो घुम्ने घडीसँग दौंतरी साटेर आज
कल्पनाभित्रको ऊ मलाई पल–पल पछ्याइरहेछ
हर क्षण छक्याइरहेछ ।

भो, युद्ध सबैले लड्नु छ
हो, युद्ध सबैलाई जित्नु छ
युद्ध नलडी थाकेर म भन्दैछु
भैगो युद्ध मलाई हार्नु छ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल