चित्र र कविता

छोरी मनिला, तिमीलाई फूल मन पर्छ, हगि !

Daughter Manila, you love flowers, don’t you?
Daughter Manila, you love flowers, don’t you?
एस्पी कोइराला

डोरिस, मालू अनि सिसिलले भनेझैँ
फ्रान्सेली वासन्ती जून हौ तिमी
फिलिपिनो सुगन्धी सुन हौ तिमी
उ सो थुइनले थपेझैँ
प्रेमको प्रथम सम्मोहनसरि
धपक्कै बलेको ‘नीस’ को फूल हौ तिमी
अनि बिन्दुले ठट्टा गरेझैँ
मस्त पेरिसमा हुन गएको शानदार भूल हौ तिमी
साँच्ची छोरी मनिला !
तिमीलाई फूल औधी मन पर्छ, हगि !

छोरी मनिला !
“फ्रेन्च रिभियरा” का गाढा नीलो पानीसित
सेता छालहरू सुसाउँदा होस्
वा अलौकिक ‘आलिकान्ते’ को बिच–बगरका
ताता बालुवामाथि हराउँदा होस्
वा ‘टेनरिफ शान्ताक्रुज’ को सामुदायिक छालसित
उन्मुक्त लहराउँदा होस्
म जलतरङ्गसित
आफैलाई खोज्न तिमीतिर धाउँछु
जब रमिरहेका एक हूल माछाहरूलाई
ह्वेलले निलेको देख्छु
तब म भुरा माछाझैँ चटपटाउँछु
र नछिनेको बोकोझैँ छटपटाउँछु
साँच्ची छोरी मनिला !
तिमीलाई माछा औधी मन पर्छ, हगि !

बान्डोस र माल्बियन द्वीपहरूका रङ्गीन लहरमा
वा पोल्याण्डका प्रोफेसरलाई उल्लू बनाएको ‘क्राकाउ’ को बगरमा
‘ग्रान क्यानरिया लस पाल्मास’ को रहरलाग्दो एटलान्टिक सागरमा
पानीमाथि मोटर कुदेझैँ उडेका समुन्द्री परेवाको बथान देखेर
टाढैबाट तिनैसँग निकैबेर भयानक रमाउँछु
तर अचानक समुन्द्री बाजको अनयास प्रहारले
परेवाभन्दा बढी, म झस्कन्छु
साँच्ची छोरी मनिला !
तिमीलाई परेवा औधी मन पर्छ, हगि !

छोरी मनिला !
यतिबेला म आकाशमा छु
जम्बो जेटको झ्यालमुनि र माथिका पत्रहरूमा तिमीलाई नियाल्छु
अनि सम्झिनै पर्ने अनुहारहरू बिर्सँदै जान्छु
र बिर्सनै पर्ने नामहरू सम्झँदै जान्छु
थाहा छैन—
मन जति टाढा जान्छ उति म तिमीसित नजिकिन्छु
जहाज जति अक्कासिन्छ उति म होचिन्छु
तल कतै टाढा सहरको थोप्लो भेट्छु
र ढुक्कसँग सम्हालिन्छु
फेरि निष्पट्ट अँध्यारोमा
बस्तीहरू मैनबत्तीझैँ बलिरहको/पग्लिरहेको देख्छु
र आफैसँग अत्तालिन्छु
साँच्ची छोरी मनिला !
तिमीलाई मैनबत्ती औधी मन पर्छ, हगि !

म त टाढा छु यतिखेर
र भूगोलको फूलको उद्घोषमा
म तिमीलाई सम्झिरहेछु
तर तिम्रो आस्थाभरिको कलिलो हातले
एउटा काम गर है छोरी मनिला !
‘बिहान’ चाहनेहरूका नाउँमा
फूलचोकीतिर फर्केर
एकजोडी परेवा छाडिदेऊ है
‘चिहान’ चाहनेहरूका नाउँमा
चन्द्रागिरि चढेर
बिजोडी मैनबत्ती बालिदेऊ है !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल