चित्र र कविता

गौँथलीहरूको अवशेष गीत

Songs of Swallows
Songs of Swallows
एस्पी कोइराला

गौँथलीहरूको अवशेष गीत

माउ     गौँथलीहरू
बन्दुकको सिरानी हालेर
सन्त्रासको सुकुलमाथि सम्मसाँझै सुते
लालाबालाहरू
आशाको आगो बालेर
संशयको सिरकमुनि मध्याह्नमै लुके
र कतै
आगो झ्याप्प निभ्दा
सिरक छलेर छिरेको थोरै उज्यालो देखेपछि मात्र
आफूलाई बाँचेको भेटे
थाहा छैन
यस्तो निद्राले सपनी भेट्यो कि भेटेन
थाहा छैन
त्यस्तो सपनीले अनिष्ट थेग्यो कि थेगेन ।

अभ्यस्त गौँथलीहरू
चुच्चोभरि कार्तोस कोचेर
चारो चर्न हिँड्थे,
हातभरि बारुद बोकेर
हिलो खोज्न उड्थे,
तर बाटोभरि गाँस र वासभन्दा नि पहिले
आफ्नै मुटु छाम्थे
किनकि तिनलाई राम्ररी थाहा थियो—
सङ्कटको साइरन
कुनै पनि समय बज्न सक्छ
र माउ–बच्चा तातो तावामा
एकै घान बन्न सक्छ ।

गौँथलीहरू सोचमग्न भए—
धानबारीभरि–भरि ग्रिनेडको झुप्पा
झुलिरहेको देखे होलान्— भँगेरीहरूले,
तोरीबारीहुँदी बारुदको थुँगा
फुलिरहेको देखे होलान्— मौरीहरूले,
कटुसलाई कार्तोस ठाने होलान्— सुगाहरूले,
काफललाई गोली माने होलान्— कोइलीहरूले,
थाहा छैन—
तिनका आँखा अलमलिएका हुन्
वा समयका भाका बदलिएका हुन् !

गौँथलीहरू गुँडतिर फर्कँदा एक साँझ—
परेवाहरू पेस्तोलसँग मस्त खेलिरहेका देखिए
चीलहरू तोपसँग जिस्किरहेका भेटिए
गौँथलीहरू गुँडनिरै पुग्दा—
जताततै निसाना नाप्दै थिए— जुकाहरू
यत्रतत्र जाल थाप्दै थिए— माकुराहरू
गौँथलीहरू गुँडमा पुगेर चारो खुवाउँदा–नखुवाउँदै—
बचेराको चारो चुच्चोमै पड्कियो !
र माउको सास घाँटीमै अड्कियो !!
बाँचेकाहरू टुलुटुलु हेरिरहे/छक्क परे
र प्रश्नहरूको पहाडसित प्रतिप्रश्न गरे—
“कतै यो राम्सेको हरर सिनेमा त थिएन !”

आफ्नो जिन्दगीको सर्वश्रेष्ठ अभिनेता
स्वयम् गौँथलीलाई आज—
‘हरर सिनेमा’ का तमाम परिदृश्यहरू
‘रिभर्स’ थिचेर उल्ट्याउने जङ चलेको छ
र कास्टिङको नयाँ विन्दु रच्ने सुर चढेको छ
सके नि नसके नि
गौँथलीलाई आज—
अवशेष गीतमा
जीवनको सङ्गीत भर्दै
सिनेमाका सारा रिलहरू तोडिदिन मन छ
बा–आमाका प्यारा दिलहरू जोडिदिन मन छ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल