चित्र र कविता

जसमिन् क्रिस्टी

Jasmine Christy
Jasmine Christy
एस्पी कोइराला

जसमिन्, आफू उभिएको प्यारो भूगोल
अन्तालियाका नाममा
धर्तीका सारा सुन्दर उपमाहरू
उद्घोष गर्दै गई—
    “सधैँ प्रसन्न र प्रशान्त
    बिस्तार र गहिराइको अनन्त
    भूमध्यसागरीय आकर्षण
    टर्कीसीमासम्म फैलिएको समुद्री किनार
    षोडशीझैँ सुन्दर अन्तालिया
    मानौँ,
    यो सुन्दर मौसमसँग
    आफ्नो सुन्दरताको दावी गरिरहेछ ........”
   
तर, प्रिय जसमिन् !
धर्तीकै स्वर्ग भने पनि
अन्तालियाभन्दा मलाई
तिम्रो मनको भूगोल सुन्दर लाग्यो


जसमिन् मलाई गाइड गर्दै गई
मानौँ एउटा मादक मूर्तिका साथ
कलासहर पेरिसमा
म, एक्लो तस्बिर खिचाउँदै छु

कहिले यस्तो लाग्थ्यो
कि ब्रह्माले प्राण भरेर
मानौँ, मेरो सेवामा भरखरै पठाएजस्तो
हात समातोर तान्दै
जसमिन् मलाई भनिरहेकी थिई—
    “धर्तीको यो सुन्दरतालाई
    तिमी कैद गरिरहेछौ !
    या,
    सुन्दरताले नै तिमीलाई कैद गरिरहेछ !!”

तर,
प्रिय जसमिन् !
यो पर्यावरणीय सुन्दरताले भन्दा
मेरो हिमालजस्तो तिम्रो मुहारमा सजिएको
मेरो रारा र फेवाजस्तो तिम्रो आँखाको भूगोलले
मलाई कैद गरिरहेछ .....!

माफ गर जसमिन् !
तिम्रो भूमिका लागि समर्पित
तिम्रा सारा उपमाहरूभन्दा
मेरो पहाडी झरनाझैँ सलल बगेका तिम्रा केशराशि
मेरो हिमाल पग्लेर बगेको
कञ्चन पहाडी नदीजस्तो तिम्रो मस्त चाल
मेरै देउरालीमा लालीगुराँसझैँ फक्रेको
तिम्रो मदमस्त यौवन
मेरो गाउँभरि लटरम्म झुलेका सुन्तलाका केस्राजस्ता
मधुमस्त तिम्रो ओठ
रानीवनको कुहूकुहूजस्तो
सङ्गीतबद्ध तिम्रो मुस्कान
उहिल्यै साहिँली मोरीले प्रेमले दिएकी
आलो नौनीजस्तो तिम्रो महकिएको सौन्दर्य
र, नीलगिरिबाट चिहाएको पूर्ण चन्द्रजस्तो
तिम्रो कौमार्यको भूगोल
मलाई झनै सुन्दर लाग्यो . . . . . . !
(१८ नोभेम्बर २००६, भियना)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल