चित्र र कविता

वि.सं. २१ सय ६१ साल वैशाख १ गते रोज १ शुभम्

B. S. 2161 Baishaakh 1 Good Third Day
B. S. 2161 Baishaakh 1 Good Third Day
एस्पी कोइराला

अल्लोको हस्तनिर्मित कपडाको थाक बोकेर
स्याटलाइट टेलिफोनमा बात मार्दै
फिङ्गर टप कम्प्युटरमा च्याट गर्दै
जुम्लाबाट निजी जेट चढेर
ठाइँला ठकुरी भर्खरै जापान चलान भए
भ्याइनभ्याई उनी
घरमा ब्रेकफास्ट भ्याएर अमेरिकामा लन्च खान्छन्
र डिनरको लागि अष्ट्रेलिया जान्छन्
खाँडीको पुरानो भोटोसरह
समय छोटो भएको छ उनलाई
भोटोमा कपडा गाँसेझैँ
चौबीस घण्टामा अर्को एक घण्टा टाँस्न सकिन्छ कि
उनी सम्भाव्यताको खोजीमा छन्
हालै नोबेल पुरस्कार थापेका
एक जत्था नेपाली वैज्ञानिकलाई उनले अनुसन्धान गर्न लगाएका छन्
सायद भोलि प्रतिवेदन सार्वजनिक हुनेछ
सो पत्रकार सम्मेलनमा सय देशका राष्ट्रपतिहरू
डेढसय वैज्ञानिकहरू लिएर स्वयम् जुम्ला जाँदै छन्
उनीहरू भोलि एउटा अर्को प्रश्न पनि राख्तै छन्
दुई दशकयता किन सबै नोबेल पुरस्कारहरू नेपालीले मात्रै पाउँदै छन् ?

उता दार्चुलाको किराना पसले
ग्राहकलाई पसलमा कुराएर दस मिनेटका लागि
मालसामान लिन सुरुङ मार्गबाट दाङ गएका छन्
ओलाङ्चुङ् गोलाका आङ्गपासाङ् शेर्पा
ताप्लेजुङ्गको छुर्पी इन्टरनेट केवलकारबाट ताइवान चलान गर्दै छन्
सलिम साहू क्यानाडाबाटै वीरगञ्जमा बाइस तले घर ढलान गर्दै छन्
इच्छाराम इलामको अलैँची वेबसाइटबाट अमेरिका पठाउँछन्
पाल्पाका प्रोफेसेर पाठक इटन कलेजको क्लास घरैमा पढाउँछन्
उनी बटन दबाएर विद्यार्थी बोलाउँछन्
र प्रकाशको गतियुक्त जेटले सेटल गराउँछन्
अदुवाको माध्यमबाट आयु बढाउने विषयमा
आज भोजपुरमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ
हतुवाका सिद्धहस्त डा. हंसबहादुर राईले कार्यपत्र पेस गर्दै छन्
डोल्पामा हालै खुलेको अन्तर्राष्ट्रिय यार्सागुम्बा प्रयोगशालामा
शक्तिपरीक्षण गराउन विदेशीहरूको लामो लाम छ,
मिल्के जलजलेको विश्व लालीगुराँस निकुञ्जमा
आज संयुक्त राष्ट्र सङ्घको गाला डिनर छ
अन्तरग्रह गरिबी सङ्ग्रहालयमा प्रस्तुत गर्न
नेपालबाट प्राचीन डोको माग भएको छ
बाजुराबाट बिर्खबहादुर डोकोको कार्गो लिएर
केस प्रिजेन्ट गर्न पेरिस गएको छ
नेपालमुनिको जमिनमा लेजर रेल चल्न थालेको छ
र शनिग्रहमा नेपाली बिजुली बल्न थालेको छ ।

सगरमाथाको शिखरमा अवस्थित
हाइड्रोलिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट आज वृहस्पतिग्रहमा
तीव्र गतिको सुपर रकेट छोडिँदै छ
पण्डित् पार्वतीरमण पाध्येको नेतृत्वमा ज्योतिषहरूको एक टोली
ग्रह दशा विचार गर्न वैदिक मन्त्रोच्चारणसहित
सोही रकेटबाट अन्तरिक्ष यात्रामा निस्कँदै छ
अपिसैपाल, धौलागिरी र कञ्चनजङ्घा
सहायक अन्तरिक्ष केन्द्रहरू भने रकेट अन्तै पठाउन व्यस्त छन्
आज उपल्लो मुस्ताङ्गका मान्छेहरूको उड्ने पालो......
...............................................................!

पाठकवृन्द,
यो कविता लेख्दालेख्दै
मोबाइलमा मङ्गलग्रहबाट नातिनीले थ्री डी मेसेज पठाइछ
उसको इन्गेजमेन्ट पार्टी आजै चन्द्रमामा हुँदै छ रे !
म त अहिल्यै जानै पर्ने भो
उः .....! विशेष वायुयान पनि कति चाँडै आइपुगेछ !
मेरै यो तत्तीसतले टावरको छतमा ल्यान्ड पो गरिसकेछ
म विवश छु
तर यो कविता म अपूरो छोड्दिनँ
बाँकी कविता मेरो रोबोटले लेख्नेछ
इति वि.सं. २१ सय ६१ साल वैशाख १ गते रोज १ शुभम् ।
               

— ए काइँला ! छिटो उठ् !!
   गाई करायो ! छिटो घाँस काट्न गए है !!
= ल....ल !, बिहान पो भै’सकेछ !
   आएँ है आएँ !!

(२०६१ वैशाख १)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल