कविता

भिन्नता

Difference
अमर गिरी

सफल राजनीतिज्ञसँगको
संवाद हेरेर टिभीमा
भर्खरै निस्किएको छु बारीतिर
हेरिरहेछु बारी जोतिरहेको किसान
र उसको निधारबाट
बगिरहेको पसिना
हेरिरहेछु उसको अनुहारमा परेको घामको ताप
र बारीमा उसको शरीरले
बनाइरहेको छायाचित्र
त्यस छायाचित्रमा
बनिरहेका उसका पीडाका विम्बहरू ।

बारीसँगको उसको संवादबाट
केही दिनपछि
अङ्कुरित हुने छन् बिउहरू
प्रथम पटक हेर्ने छन् तिनले
सुन्दर र विराट धर्तीलाई
त्यसमाथिको अनन्त आकाश
आकाशको क्यानभासमा
रङ्हरू भर्दै उडिरहेका पंक्षीहरूलाई
प्रथम पटक घामले
उनीहरूको गालामा गर्ने छ चुम्बन
त्यस चुम्बनबाट
तरङ्गित हुने छ धर्तीको समस्त सौन्दर्य
उनीहरूको शिरमा टल्कने शीतका थोपाहरूले
बिहानको कोमल घामको स्पर्शमा
रचना गर्ने छन् अपूर्व सौन्दर्यको ।

धर्तीसँगको यस संवादमा
कुनै कुटिलता छैन
कुनै बनावटीपन
कुनै पाखण्ड छैन
कुनै उत्तेजना
कुनै आक्रोश
कुनै घृणा
कुनै तिरस्कार छैन ।

त्यहाँ एक लय छ सृष्टिको
एक नुतन विधान
एक नव गान
एक नयाँ अनुराग छ
अघिल्तिर प्रस्थानको ।

सफल राजनीतिकज्ञसँगको संवादमा
त्यस्तो केही छैन 
भिन्न छन्
यी दुई संवादहरू
जसरी भिन्न छन्
एक-अर्काबाट
दिन रातहरू ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल