कविता

बाआमालाई सम्झिएर

Remembering Parents
अर्जुन ढुङ्गाना

तिम्रा औँलामा कुँदिएका युगहरू पढनु छ
र सोध्नु छ
बारीभरि सजिएका पैतालाका छापहरूलाई 
फुटेका कुर्कुचा नबिझाउनुको रहस्य ।

गाउँको छाँया खस्नै नपाएको
यो बिरानो भूमिमा
फुल्दो मात्र रहेछ क्याक्टस
फल्दो रहेनछ ।

तिमी काफलटारमा मकै रोप्दै गर
गोड्नेबेलासम्म आइपुग्ने छु म ।

यसबेला मेरो आकाशमा टन्टलापुर घाम चर्किएको छ
कोठामा रात अनिदो बसिरहेको छ
परदेशमा सबैथोक फेरिँदो रहेछ ।
 
तिमी भन्थ्यौ लालटिन बोकेर जा
अँध्यारोमा काम लाग्छ
सारङ्गी बोकेर जा
एकान्तमा साथ दिन्छ ।

तिम्रो मुटुभरिको माया बोकेर
स्पर्श गर्न आइपुगेको छ
शीतल बतास ।

तिम्रै आशीर्वाादले म
फलाउन सक्ने भएको छु
सिमखेतमा सुन ।
थाम्ने भएको छु निधारमा ब्रमाण्ड ।

मजबुत आत्मविश्वासमा उभिएर
झोलामा एक बथान खुसी बोकी
आउँदै छु म
आफ्नै गाउँमाथिको  निलो आकाश ओढेर
तिम्रो ममताको चौतारीमा आनन्दले निदाउन ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल