कविता

तिमी नहुँदा पनि सबै उस्तै हुन्छ

Everything is Customary Even in Your Absence
डा. गोविन्दराज भट्टराई

तिमी नहुँदा पनि आकाशमा
उनै तारा र जून देख्छु
तिमी नहुँदा पनि धर्तीमा
उसैगरी बतासमा
फूलहरू नाचेको  देख्छु
अथवा हुरी चलेको देख्छु
घाम लागेको देख्छु

मानिसहरू आउँछन् बोल्छन्
मुस्कुराउँछन् 'फेरि भेटौँला' भन्दै जान्छन्
साँझ बिहान र  मध्यान्हहरू
तिमी नहुँदा पनि त्यस्तै हुन्छन्
माथि पाखामा भेडा उफ्रेको
चौरीमा  तल  गाईबस्तु निहुरेको
सधैँ उस्तै हुन्छ

फेरि
बजार जानेहरूको हुलमा
तिमी छौ कि
जस्तो पनि हुन्छ
तिमी नहुँदा पनि सबै उस्तै हुन्छ

कलिला घाममा बतास चलेको बेला
गोधुली याममा चराहरूले गाइरहेको बेला
रात्रिको आकाश ताराले छाएको बेला
तिमी भएको बेला जस्तै हुन्छ
तर
त्यो बेला यो मन
किन कुनै  सङ्गीत बेगरको
भयावह र सुनसान हुन्छ ?
अर्थोक ता
तिमी नहुँदा पनि सबै उस्तै हुन्छ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल