कविता

शून्य राजमार्गको चिया पसल

A Teashop on a Lugubrious Highway
मोमिला

राजमार्गमा गुड्दै गरेको बाहनबाट
हेर्दाहेर्दै एक्कासि एउटा लास
मुढा जस्तो बल्ड्याङ् खाँदै
रगतको डोबले बाटो बनाएर
शरणार्थीझैँ डिलमुनि खस्दछ
र मनमायाको चिया पसलको फलैँचामा
अन्तिम अडेसा लाग्दछ

मानौँ, गुडिरहेको त्यो गाडीबाट
बगिरहेको पानी, उडिरहेको बादल,
घुमिरहेको पृथ्वी, फक्रिरहेको फूल र
प्रथम पटक धर्तीमा पाइला सारिरहेको बालक
साराका सारा गतिशीलताहरू स्थगित गरेर
युद्धको एउटा दर्दभरि कोलाज
मनमायाको आँगनमा छुटेको छ

आफ्नै आँगनको त्यो दृश्य दर्शनपश्चात्
मनमाया स्वयम्
आफ्नै दुःखको अभिशप्त टापुबाट
बल्ड्याङ् खाँदै खस्छे
र आफ्नै रगतको डोबले बनाएको
अजिङ्गर जस्तो बाटो देखेर तर्सन्छे
 
त्यही बाटो हो
जहाँबाट सदाका लागि बिछोडिएको
पतिको अन्तिम स्पर्श सम्झन्छे
त्यही बाटो त हो
जुन बाटोबाट हुर्रिएर हुरीझैँ  हिँडेको
सम्झनामा बाँचेको बुढेसकालको बैशाखी 
बेपत्ता जवान छोरो सम्झन्छे
त्यही बाटो न हो
जहाँ आँखै अगाडि बलात्कृत छोरीको
क्षतविक्षत सपनाजस्तै छरपस्टिएको वीभत्स लास सम्झन्छे
........................................................................
निस्कँदा सानो ढुङ्गामा ठेस लागेको बाटो
फर्कँदा खहरेले खोल्सै बनाइसकेको सम्झन्छे

यता सतह स्थगित जस्तो मनमायाको समुद्र आँखामा
भित्रको हलचल उमठिएर छाल उर्लन्छ
र लासलाई छोएर अज्ञात स्थलतर्फ  जान्छ
उता त्यो लासको अज्ञात कथा जहाँबाट प्रारम्भ हुन्छ
त्यहीँबाट हावा चल्छ
र लासलाई छोएर मनमायामा स्थगित हुन्छ
..........................................................

जाँदा आफन्तको आँसुले लफ्रक्क भिजेको बाटो
आउँदा मुर्दा पोल्ने बिरानो बगर बनिसकेको हुन्छ

यतिखेर मनमायाको अनुहारमा
आँसुका खहरेले खोल्सा बनाइसकेका
थुप्रै थुप्रै बाटाहरू छन्
ती बाटाहरू एकमुष्ट मिसिएर
राजमार्ग नै बनिसकेका छन्

त्यही राजमार्गमा चियापसल छ
चियापसलमा चिया होइन
मनमायाको आँसु पाक्छ

राजमार्ग प्रायः शून्य छ
कोही त सोही राजमार्गमा हिँडे पनि
भट्टीको वासनाको मूल्य तिर्ने मान्छेले
विना वासनाको आँसुको मूल्य कहाँ तिर्छ र !
मान्छे भए त तस्बिरको घाउ पनि दुख्थ्यो होला
तर किंवदन्ती जस्तो तस्बिरमा साँघुरिँदै गएको मनमायाको घाउ
सास फेर्ने तस्बिरहरूको भीडलाई त कहाँ दुख्छ र !

शून्य राजमार्गले सूर्य नै निलेको त्यो साँझ
कसैको आकाशमा सपना नदेख्ने सर्तमा
बग्न बाँकी आँसुमा अन्तिम बाँध बाँधेर मनमाया
विल्कुल नयाँ सपना देख्न
आफ्ना आँखाहरू सम्पूर्ण खाली गर्छे,
निद्रामा कसैको रथ नहाँक्ने सर्तमा
सारा दासताहरू फालेर मनमाया
समयको कालो रात रेखाङ्कन गर्न
आफ्नै जिन्दगीको किताब प्रुफ हेर्दै छे 
.............................................

मनमायाको त्यो किताब तपाईँ पनि जरुर पढ्नु होला
त्यहाँ, अहिले तपाईँ बसिरहनुभएकै सतह
भासिने मिति रेखाङ्कित हुन सक्छ !
निस्कँदा सानो ढुङ्गामा ठेस लागेको बाटो
फर्कँदा खहरेले खोल्सै बनाएको हुन सक्छ !!

हो, शून्य राजमार्गमा चिया पसल छ
चिया पसलमा चिया होइन
मनमायाको आँसु पाक्छ !
..........................................

के तपाईं गुलियो चियाको बदला
नुनिलो आँसुको मूल्य तिर्न तयार हुनुहुन्छ !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल