कविता

नाटकघर

The Theater
राजेश्वर कार्की

प...रको हरियो जङ्गल हेर्दै
चरो समुद्रमाथि उडिरहेछ...

जङ्गल पर्यो नाटकघर
समुद्र रह्यो दर्शकदीर्घा
ऊ नाटक हेरिरहेछ...

पर्दा खुल्दै जान्छ
दर्शकदीर्घाबाट निस्केको तालीको गडगडाहटले
आकाशै गुन्जायमान हुन्छ...

पहिलो दृश्यः
    अँध्यारो उज्यालो रङ्ग मञ्चमा प्रष्ट देखिन्थ्यो
    मञ्चमा वाग्मती बगिरहेको थियो
    कोही नदी सफा गर्दै थिए
    कोही नदीमा फोहर फाल्दै थिए
    सफा र फोहर छुट्उाउन गाह्रो थियो

    अचानक, जादुगरजस्तो नेता त्यहाँ टुप्लुकिन्छ
    र कृत्यमा शब्दको सितारा जडेर
    नदीतर्फ  बुढी औँलाले इङ्गित गर्दै गर्वगर्जनका साथ भाषण गर्न थाल्छ—
    यो नदी हामीले निकै मेहनत गरेर सफा गरेका हौँ
    यसमा अनेकौँ अर्थ र रङ्गको पसिना बगेको छ
    तर, उसको औँला इङ्गित दृश्यमा
    नदी होइन, ढल बगिरहेको थियो
    त्यहाँ जति ठूलो स्वरमा भाषणको गर्जन सुनिन्थ्यो
    त्यति नै ठूलो स्वरमा ढल बगेको आवाज गुन्जिन्थ्यो।

दोस्रो दृश्यः
    मञ्चमा राष्ट्रसेवकहरू नारा लगाइरहेका थिए
    नेताहरू दर्शकदीर्घामा ताली बजाइरहेका थिए
    अचानक उही जादुगरजस्तो राष्ट्रसेवकधारी नेता त्यहाँ टुप्लुकिन्छ
    मानौँ, शब्दको योजना कृत्यमा कायान्तरण भएको छ
    दर्शकका अविश्वसनीय आँखा क्रमशः त्यहीँ जम्न थाल्छ
    ताली भने खहरे उर्लेसरि गडगडाउँदै उर्लिरहन्छ

तेस्रो दृश्यः
    रङ्गमञ्चमा यातायात र ट्राफिकको दृश्य देखिन्छ
    उनीहरू नदी उल्टो बगेको ठहर गर्दै
    नदीलाई विपरीततर्फ बग्न
    हातले एकोहोरो इसारा गरिरहन्छ
    अर्कातिर विष्णुमती नामको ढल दृश्यमा जाम भएको प्रष्ट देखिन्छ
    तर, दर्शकको तालीमा भने जाम हुँदैन
    बरु, नदीभन्दा बेगवान् भएर ताली बगिरहन्छ

चौथो दृश्यः
    दृश्यमा जनताहरू अभिनेता बनेर रङ्गमञ्चमा छरिएका थिए
    जो तिन सय वर्षबाट दुईसय वर्ष, दुई सय वर्षबाट एक सय वर्षमा झर्दै
    वर्तमानमा उभिँदा पनि उस्तै देखिए
    आश्चर्य नमान्नु होला !
    उस्तै भनेको तपाईँ जस्तै देखिए
    म जस्तै देखिए
    तर, यसपटक ताली नै सम्पूर्ण जाममा परेको  छ
    फेरि पनि आश्चर्य नमान्नु होला !
    दर्शकहरू नै पो अभिनेता बनेका रहेछन्

वर्षौँदेखि यस्तो नाटक मञ्चन हुने स्थायी ठेगाना कहाँ होला ?
नआत्तिनुस् !
उत्तर, यस नाटकका प्रत्यक्षदर्शी समुद्रमाथि उड्ने चरोसँग सोध्नु होला !
   
प...रको हरियो जङ्गल हेर्दै
चरो समुद्रमाथि उडिरहेछ...
न सकिन्छ उडान ! न भेटिन्छ गन्तव्य !!



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल