कविता

निर्णय गर्नुअघि

Before taking decisions
सुमन पोखरेल

बहुलाऊँ म कसकसको मस्तिष्कमार ?
सोधूँ कसलार्इ ?
 
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
कि
बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो ?
जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा
रत्तीभर चट्‍पटाउँदैन ।
 
कुन आँखालार्इ हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि ?
वा
कसैलार्इ नसोधिनुपर्ने प्रश्न सबैलार्इ सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएरर ?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
 
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालार्इ
साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलार्इ ।
 
¨        ¨        ¨        ¨
 
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
रातभरि फूलसँग मातेर,
बिहानी घामको किरणले पनि
अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर ।
 
अलिबेरमा सकियो,
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो ।
 
मैले कसैसँग नसोधिकनै आफूलार्इ बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर ।
 
मलार्इ विश्वास भइरहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलार्इ सद्दे देख्नका लागि।

 

माघ २०५५, भोजपुर



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल