कविता

केटाकेटी

Children
सुमन पोखरेल

टिप्न खोजे मात्र भने पनि
तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
तिनका ससाना पाउबाट टेकिए
आजीवन आफैँलार्इ धिक्कार्छ काँढा ।
 
सोचीसोची छानिएर
सुकोमल हल्का भएर बस्छ
सपना पनि तिनका आँखामा ।
 
तिनका ओठमा बसेपछि
उच्चारण गर्दै डरलाग्ने शब्द पनि
तोते भएर निस्कन्छन् ।
 
चराहरूलार्इ जिस्क्याउँदै कलकल हाँसिरहेको पहाडी नदी
तिनको हाँसो सुनेपछि
आफ्नो घमन्डमा खेद गर्दै चुपचाप मदेस झर्छ ।
खेल्दाखेल्दै कतै ती लडिहाले भने,
कतिखेर उठेर फेरि अर्को कौतूहल खेल्न थाले
तिनको चकचकको रचनात्मकतामा लठ्ठिएको प्रकृतिले समेत पत्तो पाउँदैन।
नजानी लडे भनेर सायद,
भुइँले धेरजसो त चोट पनि लगाउँदैन ।
 
तिनको मुस्कानको निश्छलता
युगौँको अभ्यासले पनि अनुकरण गर्न सकेनन् कुनै फूलले ।
विश्वभरका अनेकन दिग्गज सङ्गीतकारसँगको सदियौँको सङ्गतमा पनि
कुनै वाद्ययन्त्रले सिक्न जानेन तिनको बोलीको मधुरता ।
 
तिनले फुटाए भने फुट्‍दाफुट्‍दै पनि हाँसिदिन्छ गमला,
तिनका निष्कपट हातबाट पोखिन पाउँदा
हर्षले उफ्रिउफ्रि छरिन्छन् जेसुकै पनि,
तिनीहरूसँग खेल्दाको आनन्दमा
आफू रङ्गविहीन भएको पनि बिर्सन्छ पानी खुसीले ।
 
सोच्दछु,
कतै सृष्टिले अलि बढी नै अन्याय त गरेन ?
बिना युद्ध सबैलार्इ पराजित गर्ने सामर्थ्यसाथ
जीवनको सर्वाधिक सुन्दर जुन क्षण खेलाएर निमग्न छन् केटाकेटीहरू,
त्यस स्वर्णिम आनन्दको वोध होउन्जेलमा
भागिसकेको हुनेछ त्यो तिनीहरूबाट
कहिल्यै नफर्कने गरी ।       
         
 
असार २०६१, वीरगञ्ज 



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल