कविता

सपना नदेखूँ

May I not see dreams
सुमन पोखरेल

यस्तो मातूँ कि
आफूलार्इ समेत बिर्सूँ
यो रात कुनै सपना नदेखूँ ।
 
हर रात
आफूभन्दा ज्यादा
मलार्इ भत्काएर जाने
विपनाजस्तै लथालिङ्ग सपना नदेखूँ ।
 
कहिल्यै कसैले देख्न नचाहेका
खबरकागजका अनगिन्ती वीभत्सताहरू,
टेलिभिजन र रेडियोबाट विस्फोट भर्इ निस्किने हिँस्रक स्वरहरू,
कानै उखेलेर लाने आवाजहरू,
विस्मयको सीमा पार गराएर
आँखालार्इ उघारै पारी छोड्‍ने दृश्यहरू,
मुटु चुँडाएर भाग्ने संवेदनहीनताहरू,
आफ्ना उच्छिृङ्खल भीडका नाङ्गा जुलुस लिएर
कोलाहल गर्न नआऊन् सपनामा ।
महल बनाउँदा बनाउँदै खण्डहर भएको,
शीतलताको नदी बग्दाबग्दै आगो भएको,
आकाङ्‍क्षाका रङ्गीन दृश्य
नभएको झिलिमिलीमा मिसिएर खरानी भएको,
प्रतिफल लिएर आउने सपनाहरू नआऊन् मलार्इ जिस्क्याउन ।
 
सम्पूर्ण समय नै धमिल्याउने
बेइमानीको निबन्धभन्दा ज्यादा बेइमान
वर्तमानको यथार्थजस्तै भयानक
सातवटा जीवन एकै ठाउँ अल्झिएझैँ जटिल
विछोडका रातभन्दा लामा
सपनाहरू बग्दै जाऊन् र कतै ब्ल्याकहोलतिर पसून् ।
 
यो रात
प्रेमको मद्‍होस किरण ओढेर आओस्
अनुरागका आशक्ति बोकेर आओस्
आओस् मायाको मात लिएर ।
 
मायामा यसरी मात्तिऊँ कि
कुनै सपना नदेखूँ ।
 
               
जेठ २०६४, वीरगञ्ज



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल