कविता

फेरी युद्ध के का लागि ?

For what reason war again?
उषा शेरचन

घायल मनका घायल काँध बोकेर

छातीभित्र पीडा अजम्बरी बोकेर

म, पीडै पीडाको सुमेरु पर्वत

प्रदक्षिणा गर्न अभिशप्त छु

र, टुंडिरमा आत्मग्लानिका

वाणहरू चलाउन विवश छु

 

 

महत्वाकांक्षाका विष चाटेर

षड्यन्त्रका अनन्त जाल थापेर

घृणाका असंख्य बिज रोपेर

 

फेरि ध्रितराष्ट्रले शिर उठाइरहेछ

फेरि शकुनिले पाशा फ्याँकिरहेछ

फेरि दुर्योधनका अहंकार ब्यूँझिरहेछ

 

राक्षस आतंकले ग्रसित भू-मण्डल देखेर 

र, स्पन्दन हराएकाका मानव हृदय देखेर

 

मलाई मेरा कलिला सन्ततिका असुरक्षित वर्तमान दुखिरहेछ

मलाई मेरा सुकोमल सन्ततिको अन्धकार भविष्य दुखिरहेछ

 

फुटेर मनका हजार बाँधहरू

- मैले हत्केलाले छेक्न सकिरहेको छैन

निभ्न लागेका मनका हजार दियोहरू

- मैले आँचलले ढाक्न सकिरहेको छैन

 

जिते पनि विजयको अमृत कसले पिउने ?

हारे पनि पराजयको विष कसले पिउने ?

 

विजयी शिविरमा गए पनि

परास्त शिविरमा गए पनि

शहिद हुनु र वीरगति पाउनुका 

- वर्वर नग्न नाचहरू देखेर 

क्षितिजबाट क्षितिजसम्म थुप्रिएका अनगिन्ती 

- निर्दोष सन्ततिका लाश देखेर

जताततै छ्यालबयाल पोखिएका रक्ताम्मे 

- हृदय विदारक दृश्य देखेर

 

आहत:  मेरो मातृ-हृदय 

- छिया छिया परेको छ

- टुक्रा टुक्रा भएको छ

- जताततै भत्केको छ

 

मूल फुटेर मुटुबाट

भल उर्लेर आँखाबाट 

 

मेरो छाती पनि कुन्तीको जस्तै दुखेको छ

मेरो गर्भ पनि गान्धारीको जस्तै दुखेको छ

 

समस्याको समाधान युद्द कदापि हुन सक्तैन

सबै कुराको निदान पनि हुन् सक्तैन

इतिहाससाक्षी हुँदाहुँदै पनि

फेरि किन मान्छेहरू !

- युद्दका लागि उक्साइरहन्छन् 

- युद्दका तयारीमा लागिरहन्छन् 

- र, युद्दका बाध्यताहरू थोपर्ने भूल

- बारम्बार दोहर्याइरहनछन् ?

युद्दले त – मातृ हृदय दुखाउन मात्रै जानेको हुन्छ

युद्दले त – आमाका कोखाहरू उजाड्न मात्रै जानेको हुन्छ 

युद्दले त – विनाशलाई निम्त्याउन मात्रै जानेको हुन्छ

युद्दले त – सर्वनाशको गाथा खोप्न मात्रै जानेको हुन्छ

 

 

युद्द सन्ततीका स्वच्छ वर्तमान पनि हुन सक्तैन भने

युद्द भोलिका सुन्दर भविष्य पनि बन्न सक्तैन भने

- फेरि युद्द केके लागि................?

- फेरि युद्द कसका लागि................?



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल