कविता

नदी

River
केशव सिग्देल

हिमालमा सभ्यताको नक्सा बनाउँछ
नदी
प्रवाहको तागतले
नागबेली खन्छ
र, भत्काउँदै पहाडका कन्दराहरु
तराईका फाँटहरुसम्म पुग्छ ।
आफूले बनाएको सभ्यता
र त्यसमा पोतिएको जीवन हेर्न
नदी
अझ होचो र गहिरो समुन्द्रमा मिसिइन्छ
र हिमालतिर फर्किएर खिच्छ उचाइको तस्विर ।

आफूमात्र बग्दैन नदी,
त्यससंगै बग्छन् मानिसका सपनाहरु-
कहिँ ति फोका भएर हराउँछन्
कहिले विथोलिएर बाढी ल्याउँछन्, र
कतै फूल्छन् रङ्ग बनेर जीवनको ।

पानीको अविरल यात्रा हो नदी
तर त्यसमा गुजुल्टिएर बगिरहेका मान्छेका सपनाहरु
झर्छन् भन्ने केही छैन समुन्द्रको गहिराई
ति सपनाहरुलाई आकाशमा उडाउन
घामसँगको सहवास बढाउँछ
र बादल दौडाउँछ आकाशमा नदी ।
गहिराई तिर झरिरहेको मात्र देखिए पनि
अग्लिंदै गएको सभ्यताको सर्जक हो नदी ।

जीवनको चित्र बनाउने कूचीजस्तो
पृथ्वीलाई क्यानभास बनाएर दौडिरहन्छ नदी,
हिमालको उचाइ र समुन्द्रको गहिराइबीच सेतु भएर
सिगैं जीवन बगिरहेको हुन्छ नदी ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल