निबन्ध

झर्दै गरेको पातको कहानी

Narrative of a Falling Leaf
मोमिला

प्रिय संवेदन !
फुलेको फूलमा जवानी देख्नु झरेको पातमा कहानी सोच्नु एक रङ्गका सिर्जनधर्मी सर्तहरू हुन् । वेदव्यासले भनेभेझैँ  जहाँ जन्म छ, त्यहाँ मृत्यु निश्चित छ; जसले उचाइ चढिसकेको छ, उसको तल झर्नु पनि अवश्यम्भावी छ; संयोगको अवसान वियोगमै हुन्छ; जहाँ सङ्ग्रह छ, त्यहाँ क्षय पनि निश्चित छ । यही सत्यार्थ म हर्ष या शोकमा वशीभूत नभएर नै यतिखेर झरेकै पातको कहानी भनिरहेछु......!

आत्मा छुटिसकेको मृत शरीरजस्तो जब हाँगाबाट पात झ-यो, पातभन्दा अघि फूल झरिसकेछन् । तीहरूलाई हावाको झोक्काले दूर-दूर उडाएर लग्यो र अन्ततः धर्तीकै एक अंश माटो बन्यो । अन्जान त्यहाँ फेरि उही फूलको बीजबाट अर्को फूल फुल्यो, फूल-पात झ-यो र हावाको झोक्काले उडाएर लग्यो.....। आँखाअगाडि अर्को वसन्त फुल्यो । आतुर मनहरू झुम्मिए, तर यसबार म झरिजाने मोहक वसन्तमा पनि सामेल हुन सकिनँ; जुन वसन्त रगतले रङ्गिएको आभास मिल्यो । बरु, मलाई अँध्यारोमा नभएको रङ्गहीन छायाँको महसुस प्रिय लाग्यो । आखिर प्रिय, आत्मरङ्गित तिमी नै अस्तित्वको भव्य सम्पदा हौ ! फेरि मूर्खतापूर्ण जड खुसीभन्दा तिम्रो उपस्थितिमा मोहित भई दुःखपूर्ण बाँच्नु नै जीवनको उत्सव पनि हो । हाँगाबाट झरेर नदीमा खसेको पातको बहाब हेर्दै यस्तै सोचिरहेँ.......!!

समुद्र र साँझको घोलमा डुबेर एक प्रहर यो जिन्दगी चुपचाप भजन गरिरहेथ्यो । अचानक मृत्युसँग आँखा जुध्यो । गलत स्थानको पराजित योद्धाजस्तो मेरो मौनता उसको खित्का बन्यो, तर-पनि मृत्युलाई सजाय मान्न सकिनँ....! क्रमशः समुद्रको सुदूर नीलोपनमा गहिरिँदो साँझको कालिमाभित्र भजनरत जीवन घामजस्तै डुब्दै गयो । त्यति नै खेर प्रिय, तिम्रो हातबाट ऐना झरेथ्यो र टुक्रिएर अनेकौँ प्रश्नहरूमा छरिएका थिए । त्यो प्रहर हातमा शोकमग्न फूलका गुच्छासहित केवल तिमी नै उत्तर थियौ । किनकि तिमीलाई थाहा थियो— समुद्र आफ्नै लहरमा बहँदै रहन्छ......, समय आफ्नै रहरमा बज्दै रहन्छ र हरदिन घाम उस्तै गरी डुब्दै रहन्छ.....! आखिर फूलपात झर्नु त छँदै छ ! फेरि पनि जीवनको प्यासलाई मैले कहाँ छुपाएको छु र !....!!

पहेँलिदै गएको उज्यालोमा याद गरिरहेछु दिनरातका कञ्चन खेत र पहेँलपुर पहेलीहरू; जतिखेर प्यास र तृप्तिको आतुर मेलमा पग्लँदा पत्थरहरू कलाकारका रङ्गमा घोलिन्थे । कागजका डुङ्गाहरू सन्देश भएर बगिरहन्थे । म मेरा खुसीहरूसँगै पहाड उक्लिरहन्थेँ, कुन्नि कसका खुसीहरूसाथ स्वयम् पहाड पनि उक्लिरहन्थ्यो, म रिमझिम बर्सात्को बिहानीमा पहाडको टाकुरामा बसेर घाम चुमिरहन्थेँ, घाम हिमाल चुम्थ्यो र पग्लन्थ्यो । हावा प्रकृतिको सुगन्धमा घोलिएर सङ्गीत गुनगुनाइरहन्थ्यो । साथमा सहस्र जीवनहरू नृत्यमग्न रहन्थे । फेरि पनि फूलपात झरिरहन्थे......! त्यतिखेर हत्केलामा संवेदनाको नदी जम्थ्यो र पग्लन्थ्यो कवितामा...........!!

यतिखेर डुब्दै गरेको घामको साथ भुइँमा झर्दै गरेको पात हत्केलामा थामेको छु र जमेको छ समय सारा दर्शक आँखाभरि !.......!!.........!!!



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल