समालोचना

कविता–काव्यको मायालु साँघुमा चढेर ओहोरदोहोर

Commuting along the lovely bridge of poetry
प्रो. डा. गोबिन्द राज भट्टराई

अघि सन् २००८ मा बैनी सुधा एम राईबाट मैले पदचिह्न प्राप्त गरेको थिएँ । कसैले प्रेमले, श्रद्धाले आत्मीयताले चढाएको कोशेली भनौँ पठाएको उपहारको कत्रो महत्व हुन्छ भने त्यसले सदा नै हृदयमा बास पाउँछ; त्यही कुरा बजारदेखि ल्याउनोस् सो आत्मीयताको सुवासरहित हुन्छ । उक्त सङ्ग्रहको आरम्भमै एक निवेदन छ भनौँ, आह्वान वा प्रस्तावना आउन मायालु त्यो साँघु तर्दै  शीर्षक कवितामा—

हामीमाझ यही थोरै सानो
साँघु बाँचेको छ
माया ओहोरदोहोरको
आऊ न मायालु त्यो साँघु तर्दै


माया ओहोरदोहोर गर्ने भावनाको साँघु कस्तो होला ! मलाई त्यसले कसरी छोयो भने मैले संग्रहका केही रोज्जा कविता पढी अरूसँग मिसाएर सिक्किमेली नेपाली कविताको एउटा बान्कीमाथि लेखेँ पनि । त्यसो त त्यताका राजेन्द्र भण्डारी, केदार गुरुङ, उपमान बस्नेत, पवन चामलिङ, वीरभद्र कार्कीढोली, प्रवीण राई ‘जुमेली’ लगायतका कविता रचना पढ्दै आएको हुँ; अझ यसैपालि मलाई सिक्किम विषयक दुई अमूल्य ग्रन्थ पनि प्राप्त भएका छन् । दाजु श्री केदार गुरुङकृत अस्रोत स्रोतहरूको प्रतिस्रोतहरू (२०११ पृष्ठ ४९९) र भाइ श्री दीपक तिवारीको प्रशंसनीय अनुसन्धानात्मक ग्रन्थ सिक्किमको नेपाली साहित्यिक इतिहास: परम्परा र प्रारुप (२०१३ पृ. ५३०) । यस्तै प्रकारका पठनीय, सद्य प्रकाशितहरू एक दर्जन जति आइसके हुनन् । परन्तु मलाई एकछिन सुधाको नजिक रोकिन मन लागेको थियो । 

त्यसो त मैले यी स्रष्टालाई  कदापि भेटे सुनेको थिइनँ तथापि एक स्रष्टा र अर्काबीचको सम्बन्ध ज्याद जसो अभौतिक, अशरीरि नै हुने रहेछ । सबै भौतिक सम्बन्धहरू समयले मनबाट मेट्तै जाला परन्तु भावनात्मक सिर्जनात्मक सम्बन्धहरू जीवन्त रहन्छन् किनकि ती मनबाट, अक्षरमा पनि लेखिन्छन् । सबै स्रष्टा ता त्यसरी नै भेटिएका छन् । मैले मार्केजमा कति वर्ष अर्पण गरेँ । सिल्भिया प्लाथ वा ओर्हान् पामुक वा झुम्पा लहिरीमा कति ? यतिखेर ता कति दिनरात मो यानलाई अर्पित छन्— त्यस्तै हो स्रष्टाहरू नौलाखे तारा जति नै होलान्; मध्यरातपछि निस्केर गगनतिर हेर्छु— प्रत्येक ताराको प्रकाशले मैतिर  हेरेझैँ लाग्छ । स्रष्टा त्यस्तै रहेछन्, सबै हेर्नेको लागि उनीहरू टिमटिमाइरहेका हुन्छन् । 


आज पाँच वर्ष बितेछन् । उनै स्रष्टाबाट मलाई  भूमिगीत शीर्षक अर्को सद्य प्रकाशित उपहार पनि  प्राप्त भयो । कुनै सम्वाद भेट त छैन; तर सिर्जना स्वयम् स्रष्टाको प्रतिनिधि भै सम्वाद गर्दो रहेछ; मलाई सुधा छेउ उभिन मन लागेको छ । एक दशक अघि गेजिङमा आयोजित वृहत् साहित्य सम्मेलनमा ता थोरै, केवल चारपाँच नारीस्रष्टासँग भेट भएको कुरा सम्झिरहेकै छु भने यतिखेरका  विश्लेषण ग्रन्थहरूले ता नयाँ समयका धेरै नारीस्रष्टा प्रस्तुत गरेका छन्; परन्तु सुधाको पृथकता र तीक्ष्णता नै अलिकति चर्चा प्रशङ्गको लागि उपयुक्त कारण हुनेछन् भन्ने ठान्दछु । यही विश्वासले नै होला शयद मोमिलाद्वारा सम्पादित सगरमाथाको नृत्यमग्न आत्मा (२०६५) जस्तो रोज्जा ग्रन्थमा पनि सुधाका दुई सिर्जना (व्यर्थै गएछु ऐनाको बजारमा  नारी मीरा बन्छे समावेश छन् ।  उनलाई  मैले एकछिनलाई वर्तमानकी एक प्रतिनिधि मान्ने कारण उनको काव्योचित भाषा र समय–सचेतता हुन् । आधुनिक कालका प्रसिद्ध बेलायती कवि गेरार्ड म्यान्ले  हप्न्सिले भनेका छन्—एक युगको काव्यात्मक भाषा भन्नु नै प्रचलित भाषाको उच्च रूप हुनुपर्छ । सुधाको  काव्य भाषालाई त्यसरी पनि हेर्नुपर्दछ । तर भाषाको तात्पर्य केवल शब्द वा वाक्यविनास होइन; त्यो भनेको प्राणहीन संरचना मात्र भयो, त्यसको तात्पर्य युगको स्वर; त्यसले खोजेको मार्ग, त्यसले भोगेका दु:खसुख, त्यसका विभंजित संरचना यस्तै हुन् । समयबोध ठूलो कुरा हो । सबैले बोध गर्छन् तर वाणी दिन असमर्थ भै राकिन्छन् । ती कुरालाई उपयुक्त शैलीले मात्र वाणी दिन्छ । सबैभन्दा माथि ता कुन जीवन दर्शनले प्रेरित भै अनेक कला–साधनाको प्रयोग भएको छ; त्यसले नियन्त्रित  गर्दछ । 


सुधाका सिर्जनामा नारीस्वरको तीव्रता छ । ज्यादा नारी पीडा भनौँ वा अनुभूति केन्द्रितता छ । त्यसो त एकथरी तटस्थहरू भन्दछन्— पीडाको लिङ्ग छैन परन्तु नारी हुनाको कारणले उत्पन्न हुन जाने सुखदु:खहरू, पुरुष हुनाको कारणले अनुभूत सुखदु:खहरू नितान्त नित्य भिन्न छन्; सबै दु:ख छन् तर भिन्न स्थानमा, समयमा, कारणले उत्पन्न हुने र समन हुनेहरू । सुधा पूर्णरूपले काव्यालोकमै रमाउने एक समर्पित स्रष्टा हुन् भन्ने प्रमाण उनका म फर्केर गएपछि; कवि हिँडेको गोहो कविता, मेरो उमेरले सिर्जेको कविता जस्ता सिर्जना साक्षी छन् । आफ्ना रचना र जीवनको अन्तर्सम्बन्धमा अभिव्यक्त उनको धारणाले पनि त्यही प्रष्ट्याउँछ मोमिला २०६५ : ५११ मा  नजरमा आफैँ अन्तरगत सुधा बोलेकी छन्: खोज्दै छु खाफैलाई कविताभित्र— धैर्यसाथ गमेर कविता लेख्न मात्र होइन, म कवितै भएर बाँच्न चाहन्छु र कवितामै जीवनको अस्तित्व खोजिरहेछु । कविता कलाप्रतिको उनको उत्सर्ग, निष्ठा र आस्था देखेर पनि लाग्छ सुधा अन्तरहृदयले लोकसित कविता वार्ता गर्दैछन्; त्यसलाई उच्चासनमा यसरी प्रतिष्ठापित गरेकी छन् त्यसरी पनि :
अहिले यो कवितालाई नचलाउनु,
अस्वस्थ विचारको भीडमा
पसल फिँजाएर नराख्नु,
कुनै पुरस्कारको चयनको निम्ति
अन्धो मान्छेलाई नथमाउनु,
कुनै, कसैले चाहेमात्र दिनु
            (म फर्केर गएपछि)


अन्य रचनामा पनि बडो निष्ठासाथ, काव्योचित भाषामा आफ्नो हृदय अधिक बोलेको छ । कवि स्रष्टाहरू आफ्नै भोगाइ–दृष्टान्तले जगत्को चाल बोध गराउँछन् । उनीहरू ता प्रतिनिध वाणी मात्रा हुन्; सबैले त्यहाँ आआफ्नै दर्पण हेर्ने हो ।
सुधा–कविको मनमा आएको छ— धरतीको सजीव कविता लेख्न बाध्य हुन्छु । त्यस्तै बाध्यता, रहर, धङधङी, परिकल्पना जुधेर कविता बन्दछ । त्यहाँ परोक्ष रूपले  आफ्नो  भोगाइ अभिव्यञ्जित हुन्छ, त्यो आफ्नो आकाश/स्पेसको वाणी हुन्छ । ज्यू म गान्तोक ! भाइचुङ भुटियाको सानो शहर जस्तो सिर्जनामा एउटा सीमित ‘स्पेश’ वा अवस्थिति चित्रित छ परन्तु अप्रत्यासित  सम्भावनाहरू, साक्षी प्रेम जस्ता कविता अर्थको सार्वभौमिक रूपसम्म फैलिने कुरा हुन् । एक युवतीले, जहाँ पनि  बोल्लिन्—
त्यसो त
मनको करिडोरमा
फालिङ लागेर उभेका छन् एक दर्जन– ठिटाहरू
म देख्ने गरेकी छुइनँ कहिल्यै त्यतातिर
तर छिमेकी दिदी पर्दा उचालेर
चियाउँछिन् मेरो घरको ढोकातिर    
                (अप्रत्याशित सम्भावनाहरू)


सुधाका कविताबाट निसृत शरीरको गन्ध भनौँ यौवनको सुवास वतासमा मिसिन्छ; बेलाबेला फेरि निर्गन्ध भै अन्य लोकतिर पनि दृष्टि जान्छ । तर अन्तरमनको भाषाले पाठकलाई छुन्छ । यो रातपछि तिमी र ममा यस्तै एक अंश छ :
साक्षी छन्— निस्तब्ध आकाश, जून अनि तारा ।
बस !
प्रेम भनेको यति नै हो
बिना पूर्वाग्रह बिना अनुरोध
थाहै नपाई
कहिले मनमा एकोहोरो डेरा ढाल्ने
गाढा सेतु
             (यो रातपछि तिमी र म)


त्यही प्रेम र मायाले; यौवनको उच्छवास र शरीरी सचेतताले नित्य छुने समय आउँछ । त्यसबेला सुधाको कविताले त्यो आग्रह सहृदय स्वीकारेको छ :
मेरा हजार तृषित नेत्र द्वयमा
अँजुलीभरि तृप्ति बटुली ल्याऊ प्रिय
परितृप्त हुन चाहन्छु
म धरती
म जननी ।।           
            (साक्षी प्रेम)


दोस्रो ग्रन्थ भूमिगीत (२०१३) मा आउँदा अघिको गोरेटो ठूलो फराकिलो राजमार्ग भएको छ । यसको आत्मकथ्य अंशमा नै उनले बोलेकी छन्— ती नारी पात्रहरू मेरो चेतनामा, जीवनमा अझ प्रगाढ हुँदै जान्छन् । यतिसम्मकी उनीहरू कहिले मेरो कविताको कार्यथलोमा आएर रात बिताउँछन्, दिन बिताउँछन्, अनि विक्षुब्ध पार्छन् मलाई । उनी पूर्णरूपले कवितामा र कविताको लागि झैँ छिन् । उनी आफूमा र प्रतिरूप पात्रहरूमा छिन् ।


अघिल्लोमा ज्यादा आफूभित्रकी नवयौवनासितको अन्तरसंवादमा रमाउने सुधा यसमा नारीको विराट क्यान्भासमा पसेर निस्केकी अथवा रहेकी छन् । यसमा कथा पुराणभन्दा टाढादेखि नै पुराकालीन, मिथकीय पात्रहरूसम्म पुगी नारीको वञ्चना र भोगाइको दृष्टान्त दिँदै ती सिलीभूत मिथकीय स्वरूप (संरचना) को आलोचक भएकी छन् । उनका शीलावती, मन्दोद्दरी, द्रौपदी, सीता, उर्मिला आदि पात्रले भोगेको एवम् वञ्चना र अपहेलना देख्ता सुधाले त्यहाँ उठ्न खोजेका आजका नारीको समनियति देख्छिन् । तीसित आत्मसात गर्दै त्यस संरचनाको विद्रोहमा उभिएकी लाग्छिन् । त्यसको कारण के हो  भने पूर्वीय सभ्यताका कथापुराणले, मिथक गाथाले, समाजले आजित पूर्वज्ञान संस्कारको आधारमा निर्मित आचार–शास्त्रले परिभाषित गरे अनुसारका प्रेमिका, पत्नी माताका उच्च रूप सँगै परित्यक्त औ वञ्चित नारीलाई प्रस्तुत गरेको छ । माथिका पात्र र तिनको नियति सबैलाई अवगत छ । 


धेरै ठाउँमा वर्तमान नारी भिन्न हुन चाहन्छन्, हुँदैछन् । सुधाले आफूलाई तिनै भिन्नहरूमा  उभिएको पाउँछिन् । यता नेपाली साहित्यमा पनि समकालीन नारीको एक सशक्त समूह वैचारिक रूपले  प्रखर चेतना लिएर उठेको छ; त्यो शक्ति समकालीन पुस्तामा छ । अघि धर्मवीर भारतीले अन्धा युगमा द्रौपदीको आक्रोश प्रस्तुत गरेझैँ शारदा सुब्बाले यशोधरामा बुद्धपत्नीको  आक्रोश र पीडा कति शक्तिशाली आवाजमा प्रस्तुत गरेझैँ हङकङकी दीपा राईले अर्धवृत्तमा त्यस्तो आक्रोश र सुधारपथ खोजेझैँ नयाँ पुस्ताकाहरू पनि त्यो छटपटिमा छन् । समकालीन नारीहरू अनादिकालदेखिको (भावनालोकको) बन्दीगृहबाट पाखा आई ती विरुद्ध आक्रोश र तीव्र प्रतिरोध प्रकट गर्दछन् । पुरुषवर्ग यसमा प्रतिवादीझैँ अलिक अपराधीझैँ भै ग्लानीसँग छेउमा  उभिन्छन् । तर सन्तुलित जीवनको कविता केवल विद्रोह होइन होला । त्यसमा संयोजन,
सहअस्तित्वभाव र निकट उभिएर एकअर्काका सहजवृत्ति, गुणदोष आदिलाई स्वीकार्दै मिलाउँदै जाँदा राम्रो हुन्छ कि ? फारिएर कहाँसम्म पुग्नु ? चिरिएर कतिसम्म चोइटिनु ? आखिर त्यसरी जोडिने छैन; जोड्ने–जोडिने बाटो पनि खोज्नु छ ।

                      
यसरी भूमिगीतमा केही पहिलाको  निरन्तरता छ, केही विचलन, केही आँट र निखारसँग यो आएको छ । ‘आफू’ नै सुधाको केन्द्रीय पात्र भएकोले त्यहाँ नारी नै छिन्; यौवना, यौवनको सबै सुवास जोगाएर लुकाएर राखेकी; त्यो स्थिति गुमाएपछिकी; ती बचाइलाई अनुभवमा रुपान्तरण गर्दै फेरि एक दिग्दारी औ व्यर्थतातिर पसेकी । यौवन त्यस्तै हो; रिक्ततातिर पग्लिने, माया–प्रेम पनि त्यस्तै हो रिक्ततातिरै अन्त्य हुने, सबै सबै भौतिक वाञ्छना र उपलब्धी, त्यस्तै हुन्; आखिर रिक्ततामै टुङ्गिन्छन् । यसमा स्रष्टालाई  त्यस्तो अनुभूति छ । यो समय–मनोविज्ञान हो । 


यसमा रहेका  स्मृति–गीतहरू सबै पुराकालदेखिका मिथक–पुराण–पुराकथा–स्मृतिशेषबाट आएका पात्र विम्बहरू छन्, नारी प्रतीक–पात्रहरू छन् । यसमा नारी सौन्दर्य आकर्षण सँगै भोग्या रूपमा समाजले किनारा लगाएका महानतम्, पूजनीय विम्वहरू छन्— द्वितीयक गौण स्थानमा प्रतिष्ठापितहरू— सीता, मन्दोदरी, द्रौपदी, आदि । परन्तु मलाई एउटा कुरा मनमा लाग्छ— आर्य सभ्यताले, यसको संस्कृति चेतनाले भारतवार्षका प्रत्येक जाति, वर्ग, धर्म, भाषा माथि पारेको प्रभाव कति व्यापक, विस्तृत, कति अनम्य, कति गम्भीर रहेछ । सुधा यता किराँत सभ्यताकी पूजक (राई) भएता पनि  उनको हृदयमा  तिनै आर्यचेतनाले हेर्दा वञ्चित नारीपात्रले स्थान पाएका छन् । शीलावती (पात्र/शीर्षक) कविताले समसामयिक समाजले  पनि  हुर्काइ रहेको पुरुष अराजकता र नारी परवशताको चित्र ल्याउँछ :
चर्किझरेका आकाशका टुक्राहरू खिलेर छातीमा
हिजोआज व्यस्त छन्
एड्स सङ्क्रमित पतिको सुश्रुषामा
शीलावती               
                    (शीलावती)


लोकभ्रमले कुविचार सोच्दै थप्तै ल्यायो; मिथकमा लोकाचारमा स्थिर गरायो; शिलीभूत दृष्टिकोणका दुर्गहरू ठड्यायो । त्यसतर्फ  फर्केर स्रष्टाले आफू (नारी) लाई धरतीमा परिणत गरी उही पुकार गाएर सुनाउँछिन्—
हे धरती माता !
तिमीले भोगेजस्तै
हरदिन भोगिरहेछु मैले पनि
अथाह पीडा
तिम्रो असीम ममताको ओतप्रोतमा
हुर्केकी म स्वास्नीमान्छे
कति–कति सफल भइ उत्रेकी छु
लोकभ्रमको अग्निकुण्डबाट
तर यो अन्तिम पडाउमा
                (धरतीको पुकार)


यो अन्तिम पहाड सभ्यताहरूको कालक्रमिक सृङ्खला हुनुपर्छ; हामीले सर्वोच्च मानेको स्थान— त्यहाँ पनि ती यथावत् छन् । अझै त्यो  उचालिएकै छ । सुधाले आर्यावर्तका अनेक आद्यग्रन्थ, गाथा, पुराणकथामध्ये छान्दा रामायण र महाभारत पात्र–दृष्टान्त अधिक परेका छन् । लङ्काकी निकुम्भिला, गोकुलका कृष्ण, गान्धारी, घटोत्कचकै परित्यक्त न्यायको पक्षमा आर्तनाद गरिरहेकी माता, गर्दै बुद्ध–सुजाता गाथासम्म छन् । सबैमा, प्रत्येकमा, नारीको स्थिति र उपस्थितिको निरीक्षण एवम् परीक्षण छ । अघि सबै आस्था विश्वास थियो; आज सबैमा सन्देह छ । त्यो सन्देह नै नारी सजकताको, सचेतताको द्योतक पनि हो आंशिक रूपले म छुटेँछु भन्ने दु:ख र ग्लानी हो । अघिका सारा कुरा आध्यात्मिक लीला झैँ थिए; आज तिनै कुरालाई भौतिक–भ्रान्तिले हेर्दा अर्कै देखिएको हो ।  यसरी सुधाका विषयवस्तु पात्र चरित्र ज्यादा अतीतमा उदाएर वर्तमान भोग्ने नारी छन् । वर्तमान कालसम्म झरेर सामान्यिकरण भएकाहरू । अतीतले कत्रो ऊर्जा दिन्छ, भण्डार खोल्दछ, पुनरविचारको, पुनरभ्रमणको, विनिर्माणको । अतीतलाई यहाँ अवतरण गराएर एकपल्ट हेर्ने कला, त्यसलाई विषय बनाउने कला सर्वत्र छ; नेपाली कवितामा पनि सुधाले त्यही अक्षय भण्डारलाई अधिकतम प्रयोग गरेकी छन् । तर एउटा उल्लेख्य कुरा के छ भने हाम्रो पूर्वीय सभ्यताको विस्तृति आर्यावर्तभरि, अझ टाढासम्म, उता अनादिसम्म पसेकाले गर्दा हाम्रा स्रष्टालाई कल्पनाकर्ममा, सिर्जनाकर्ममा आवश्यक कहिल्यै नरित्तिने आद्य–भण्डार नित्य उपलब्ध छ । हामी त्यसैमा  पनि संवाद, विवाद, प्रतिवाद गर्दै तिनै चाका घोचेर मह काड्दैछौँ; काढिरहन्छौँ होला ।


अरू विविध विषय–दृष्टिकोणहरू छन् । उपनिवेश कालदेखि अन्यत्र जोडिएका पूर्खा छन्— बकिङघमका धूमिल क्षणहरूमा समय–दर्शनले हेरिरहेकी माता छिन्; आमामा एक पुत्रीको मनमा एक दर्शनले छुन्छ :
मेरी आमा !
समय नबित्दोरहेछ नि ?
केवल हामी बित्दारहेछौँ ।
यो अगम जीवन–प्रशान्तको अटुट–प्रवाहमा
तिम्रो शालीन मौनताबाट
संसार आत्मसात् गरेँ ।
ईश्वर तिम्रा चरणमा
मौन गीत छ तर अलिक गम्भीर अलिक अनासक्त द्रष्टा गहिरिन्छ र नदीको गीतमा त्यो चेतनाशिल्प कवितामै बडो  सौम्य, र शिष्ट लाग्छ; जस्तै  :
उमेर चाहिन्छ
 तर
नदी गाउन थाक्दैन
बग्न थाक्दैन
कारण मान्छेलाई कहिल्यै नपुगेर
पुग्नुको सधैँ हतार छ
अनि
नदीलाई पुगेर
काहीँ नपुग्नुको निरन्तरता छ ।


यसरी अधिकांश बेला नारी भएर, फेरि अपरिहार्य पुरुषको समीपमा रमाउँदै, फेरि उसको बर्जना गाउँदै, सार्वभौम भोक्ता भएर फेरि एक व्यक्तिपात्र भएर वकिङघस दरबारमा पुग्दा वर्ग र लिङ्ग विशेष भएर सुधा देखिएकी/छेलिएकी छन् ।  यता एउटा मास्टरपिस छ— समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र । यहाँ  आइपुग्दा फेरि एक वर्ग र जातिको पात्र (नारी) भई पत्र लेखिरहेकी छन् । समाजमा एउटा पात्र जेजेमा विभञ्जित हुन्छ स्रष्टाले तिनै रूप र आवाजमा प्रवेश गरी त्यसलाई  अभिव्यक्त गर्ने रहेछ । यहाँ एक किराँती मूलको लाहुरे (पुरुष) सम्बोधित छ उसैले गर्दा कति राई (वान्तवा) भाषा पनि बुझ्छ । तर यस कविताको कला र विम्ब कति उच्च छ । नेपाली जातिलाई स्वयम् अर्थ लाग्ने युगौँदेखि भृतिभोगी (मर्सिनरी) योद्धा पति र यता प्रतीक्षारत पत्नीको एकालाप— यो नेपाली जातीय रङ्गमञ्चमा स्वयम् अर्थलाग्ने समयले अविच्छिन्न रूपमा नित्य खेलाएको एक नाटक हो । नायिकाले (अदृश्य) कुनै दूर भूमिको युयुत्सु नायक (पति)लाई संबोधन गर्दछिन् :
प्राणेश्वर
 मलाई याद छ
 देशको रक्षा गर्न खातिर
चिसा रुग्रुगे पहाडहरूमा
प्रत्येक सकेण्डमा प्राणको आहुति दिँदै–बटुल्दै
फेरि आफू बाँचेकोमा भगवान्लाई दण्डवत् गर्दै
परिवार भेट्न पाउने उत्कण्ठामा
कति अडिन्छ मन
कति भौतारिन्छ मन   
तर विवश
हजूर देशको रक्षा गर्न भन्दा
परिवारको सुरक्षाको निम्ति लड्दै हुुनुहुन्छ ।
                    (समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र) 


 यता समय बदलेको छ, हिजोआज पत्नीले समाजमा एक्लै लड्ने युद्ध अर्कैछ, पुरुष उता समरभूमिमा छ । कसरी छुन्छ यो कविताले ! लाखौँ योद्धा परिवारलाई योद्धा पत्नीलाई छुन्छ, दीपा लिम्बू राईको युद्ध कविताले झैँ गरी; सबैलाई छुन्छ समाजले भोगिरहेको यो नित्य बिझाउने
यथार्थताले :
तर प्राणेश्वर !
मलाई हजूरको स्वास्थ्य ठीक भए पुग्छ
कारण छोराको भविष्य बनाउनु छ
हाम्रो आफ्नै घडेरी खडा गर्नु छ
गाउँमा भर्खरै नयाँ स्कूल खोलेको छ
राम बाजेको स्कूल जान पटक्क मान्दैन त्यो
“नाई ! बाजे गनाउँछ ।” भन्छ
घाँटीमा डोरी झुण्डाएको
हातमा तुम्लेट बोक्ने स्कूल जान्छु भन्छ
 त्यो पनि हिजोआज जिद्दी भएको छ
‘पापाओ ना साबाछा ?  भन्ने गर्दछ ।
                (समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र) 


‘कारगिलको युद्धमा शहीद वीरहरूलाई  समर्पित’ यो कविताका अंशहरू उद्धरण गर्दा लामो होला तथापि मन रोकिन मानेको छैन । एउटा यस्तो विषय जो शताब्दीयौँदेखि नेपाली जातिको लागि एक यथार्थ छ, विभिन्न रूपमा  आज झन् ज्यादा र गाढा छ । यस यथार्थलाई विशेष पात्र र परिवेशको सिर्जनाले (यथार्थता) ले सुधाले यस्तो कलाले व्यक्त गरिन् ।  लाहुरे पतिलाई पत्र लेख्छिन्—
यो अन्योलता हामीमाझको
केलाउँछ सब्जी काट्दै सङ्कुचित मनले
वीरमात्र रहेछौँ हामी
असुरक्षित नै रहेछौँ हामी
अझै असुरक्षित नै रहेछौँ हामी ।
जसो होस्
 तपाईं लड्नु हुँदैछ देशको निम्ति
 म लड्दैछु हाम्रो आफ्नै आँगनको निम्ति
अनि सिमानाकै निम्ति लड्ने क्रममा
कहिले ससुरा कड्किने गर्छन्
कहिले सासु बाउँठिने गर्छिन्
कहिले देवर जिस्किने गर्छ
कहिले नन्द आँखा तर्ने गर्छे ।
शायद यसैले होला
हाम्रा छिमेकी पनि खुच्चिङ मच्चाउने गर्छन्
अनि मनभरि कुनि के–के भएर
कुजे यो बैँस कहिले फत्फताउने गर्छ ।
प्राणेश्वर !
के–के लेखेँ के–के
यो पट् मूर्खीले
यो मनका उद्बोधन पोख्न नपाउँदा
हजूरकहाँ साउँ अक्षर जोडी पठाएँ
पढी पत्याउनु होला
पढी नपतयाउनु होला
यो चिट्ठी पाउनासाथ
हजूरको भलाकुसारी लेखिपठाउनु होला
                (समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र) 


सुधाका दुई कविता कृतिबारे यति बोल्दा पुग्छ होला । उनका कृतिभन्दा पनि समकालीन नारीको चिन्तनमा समयको कस्तो चित्र छ; यतिखेर कुन विषयले स्रष्टालाई छुन्छ; तिनका के कारण छन् र कस्तो शैली शिल्पले सिर्जना अभिव्यञ्जित छ भन्ने कुरा हेर्न र भन्न चाहन्थेँ । त्यसो ता मैले दीपक तिवारीको सद्य प्रकाशित ग्रन्थबाट अरू अनेक नारी स्रष्टा र कृति छाने पनि  हुन्थ्यो होला— परन्तु सन् १९९० को दशक यता सक्रिय नारी स्रष्टामा मैले  शोभाकान्ती थेगिम, वीणाश्री  खरेल, वसन्ती शर्मा, अप्सरा दाहाल, दीपा राई जस्ता थोरै स्रष्टा मात्र पढेको छु । त्यसले पनि सुधालाई समकालीनताको एक प्रतिनिधि मानेर यति खेलेँ ।

मलाई थाहा छ, यो समालोचना भएको छैन, जस्तो मात्र भएको छ । यसमा धेरै विषयपरकता छ सब्जेक्टिभिटी । म त ठान्छु— सम्पूर्ण सिर्जना विषयपरक लहड, स्वतन्त्रता, स्वस्फूर्तता र चयनको अभिव्यक्ति र परिणाम हो । त्यस्तो कुरालाई किन यहाँ साङ्लाले बाँधेर वस्तुपरक बनाउने प्रयत्न गरौँ ? म गर्दिनँ । संरचनावादी जडताहरू अवशेष छन्, तिनले गर्दैछन्; गर्नेछन् । तिनले सारांशमा  लेख्नेछन्— सुधा एम राईका कविताको सङ्ख्या ५३ रहेको, तिनको हरफ गन्दा चौध हजार र शब्दसंख्या एकलाख पचास हजार अर्थात् जम्मा यति हजार किलोवाइट.... यस्तै । कलाश्रीमा, ई–पत्रिकामा पुगिएला भन्ने लोभले यत्ति बोलेको हुँ । जे भए पनि ती अब्बल (भइरहेकी) स्रष्टालाई बधाई दिँदै यहीँ रुक्तछु । 

tu.govinda@gmail.com 



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल