फोटो कविता

मौरीभीर र भिरालो यात्रा

The Mauribhir and the Trip Downhill
राजेश्वर कार्की

 

यात्रामा कहीँ

सागरसँग सूर्य माग्दा
स्वयम् सागर बाफिएर सूर्य निभ्यो
आकाशसँग चन्द्र माग्दा   

आफ्नै छायाले चन्द्र छेकियो
टाढाको चन्द्रसूर्यको त के कुरा
आफ्नै अँगालोमा
आफैले बाँचेको विगत रहेन
आफैले सोचेको भविष्य रहेन

भोग्दै रहँदा आफ्नो भन्थेँ वर्तमान त
अँगालोमा त्यो पनि रहेन
रह्यो त केवल
जीवनजस्तो मौरीभीरको
भयानक भिरालो यात्रा


शान्त तर भयानक
प्रकृतिको विशेष शेष
त्यो मौरीभीर
जसले मलाई शान्त भएरै

भयानक पीडाको पक्षमा आवाज दिन सिकायो
आफैमा मृदुल तर विकट
जसले मलाई जीवनको मृदुल गीत गुनगुनाएरै
विकट उचाइ चढ्न सिकायो
शीतल तर कठोर

जसले मलाई कठोर भएरै
शीतल हाँस्न सिकायो
भनौँ, मौरीभीरले मलाई
मान्छे भएरै बाँच्ने
उत्कृष्ट कला सिकायो


जीवनको उत्कृष्ट कलाकारिता
त्यो मौरीभीर
जसले आफू ओझेलमा परेर पनि
पिठ्यूँमा अरूलाई उभ्याएर

गाउँबस्तीको सुन्दरतासँगै पीडा बुझ्न सिकायो
दल्ली र गत्तासैनाको फाँटिलो प्रेम सिकायो
झुम्रेखोला र नहकुलीको नम्रता र स्वाभिमान सिकायो
तर स्वयम् मौरीभीर
कुनै भव्य योजनाकारको डायरीमा बन्दी योजनाजस्तो

मीठो सम्भावना कल्पेर
सधैँ अप्ठ्यारो र विकट बाँचिरह्यो

मेरो आत्माको विषयवस्तु
उदार मौरीभीर

जसले युगौँदेखि न आफूलाई बुझ्न सक्यो
न अरूलाई बुझाउन सक्यो
आँखाभरि भेरी बगेर पनि
प्यास प्यासी नै रह्यो
फेरि पनि जीवनको भिरालो यात्रा हिँडिरह्यो हिँडिरह्यो⁄


आज स्मृतिखतमा उभिएर
मौरीभीरजस्तो जीवन सोचिरहेछु
भिरालोमा कतै लडिएला कि भन्दै
सिड्डो मौरीभीर नै बाँचिसकेछु

जति मौरीभीर विकट सोच्थेँ
त्योभन्दा विकराल विकट त म मान्छे आफै रहेछु
यसैले जे बुझिन्छ, त्यो नै अन्तिम नबुझ्न
म मान्छेसँगै अनुरोध गरिरहेछु ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल