पुस्तक - समीक्षा

नेपालको सांस्कृतिक सौन्दर्यमा कविता

Poetry on the Cultural Beauties of Nepal
ठाकुर बेलवासे

नेपालका लागि भारतीय कुटनीतिक जिम्मेवारी सम्हाल्न आएका अभयकुमार नेपाली साहित्यिक वृत्तमा भारतीय कुटनीतज्ञ या भारतीय दूतावासका एक अधिकृतभन्दा उम्दा कविका रुपमा बढी चिनिए । उसो त उनी कर्मचारीभन्दा पहिला शक्तिशाली कवि हुन् नै । विश्व कविता बजारलाई उनले यस अघि नै  पाँचवटा कविता कृति दिइसकेका छन् । अंग्रेजी भाषाका कवि अभयको साहित्यिक कर्मसँग त  नेपालका अंग्रेजीभाषी स्रष्टाहरु पहिल्यै नै परिचित थिए । कवितामै समर्पित नेपाली कविहरु पनि उनका कविताबाट टाढा थिएनन् । तर नेपालको यो छोटो बसाइमा अभयको परिचयको आयाम विस्तारित भएको छ । सामान्य नेपाली पाठकका दृष्टिमा समेत उनी पर्न थालिसकेका छन् । यो उनको नेपाली समाज र संसकृतिप्रतिको प्रेम अनि कवितामाथिको समर्पणका कारण नै हो ।
एउटा कविले मान्छे मात्र हेर्छ । अनि मान्छेको परिवेश हेर्छ , यसपछि उसले त्यहाँका मान्छे र परिवेशलाई विश्वजनिन बनाउँछ । कवि अभय यसका ज्वलन्त दृष्टान्त हुन् । कविलाई आफू जन्मिएको माटो अनि भाषाले मात्रै प्रभाव पार्दैन । प्रत्येक मान्छेका श्वासप्रश्वासले कविलाई जागरुक बनाउँछ यसको पनि दृष्टान्त अभयले नै दिएका छन् ।
अभय जुन पेसामा छन्, त्यो अति संवेदनशील र व्यस्त पेसामा छन् । नेपाल भारतको सामाजिक, सांस्कृतिक र राजनीतिक मामिला हेर्ने एक जना अधिकृतले कतिबेला सास फेर्छ होला यसरी कल्पना गर्न मिल्ने अवस्थामा उभिएर अभयले नेपालको संस्कृतिलाई मिहिन ढंगबाट बुझे र कवितामा जीवन्तता दिए, यो उनको दुर्लभ कवित्व भन्नु  पर्छ ।
अभय कुमारको जात्रा नामक कविताकृतिको नेपाली  संस्करण बजारमा आएको छ । नेपाल त्यसमा पनि काठमाण्डौ उपत्यका जात्रैजात्राको खाल्डो हो । यहाँका जात्रा र परम्परा बुभ्न अध्यताले सिंगो जीवन व्यतित गरेका छन् । पौराणिक मिथ बोकेका नेपाली विशेष जातजातका यी जात्रालाई कवि अभयले कतिवेला यति गहिरो अध्ययन गर्न भ्याए होलान्, स्तुत्य कुरा यो छ ।
अभयका कविताको बुनोट भिन्न लाग्छ । उनले विषयको कविताभित्रै उत्खनन् गर्छन् । उनका कविताको आयाम अति छोटा छन् तर विषयको लम्वाइ चौडौइ व्यापक छ ।
कृतिभित्रको पहिलो कविता (पशुपतिनाथ – १)
एक समयमा
वागमतीको किनारमा
दुई सुनौला मृगका रुपमा
हर उषाकालसंगै पार्वतीसंग क्रिडामग्न , म

अहिले सघन वास्तुमा निर्मित ....
यसरी कवितामा आख्यानको काव्यात्मक लय तान्न सक्ने काव्यिक चेतना अभयस“ग प्रचुर देखिन्छ । हेरौ अर्को उदाहरण
यहाँ न्यातपोलको छहारीमय चौडा धरतीमा
बत्सला मन्दिरको भीड छिचोल्दै
परम्परागत कलाकारहरु माटो मुछेर आकार दिइरहेकै छन्
हाकुपटासी पहिरिएका महिलाहरु
सुकुल पल्टाउदै ती भाँडाकुँडामा चित्रकारी भरिरहेकै छन् ...
(भक्तपुर )

यसरी कवितामा सिंगो परिवेश उर्तान सक्ने शिल्प पनि अभयमा लोभलाग्दो देखियो ।  
कवि अभय कुमारले नेपाललाई विभिन्न बिम्बमा बाढेर काव्यिक दृष्टिले हेरेका छन् । विश्व सम्पदा स्थल , काठमाण्डौका बिम्बहरुमा, काठमण्डौभित्र, काठमाण्डौ बाहिर, भूचित्रहरु, व्यक्तित्वहरु र चरित्र चित्राङकन यसरी विभिन्न बिम्बमा नेपाललाई हेर्ने काव्यिक सफल यत्न उनले गरेका छन् ।
काठमाण्डौका बिम्बहरुमा शिर्षक भित्र उनले काठमाण्डौलाई अनेक रुपमा हेर्ने चेष्टा गरेका छन् । पहिलो आगमानमै  काठमाण्डौ कचौरा जस्तो लाग्छ उनलाई ।
काठमाण्डौको पश्चिमी वृत्तमा
अष्टनेत्र भएका उपकारी र विचारशील देव,
शहरमा उउटा सुन्दर स्वप्न बगैँचा
र एउटी सुन्दर वाला
आफ्नो प्रेमी फर्किने प्रतीक्षामा
स्वयम्भू अष्टनेत्र देव
सधै भुइँमा दृष्टि फिजाइरहेका छन् ।
(काठमाण्डौका अष्टनेत्र देव )
कवि अभय कविताका वैभानिक जस्ता लाग्छन् । उनी विषयमाथि कविताको आविष्कार गर्छन् । यस्तै काठमाण्डौभित्रका विशेष स्थानमाथि पनि उनले कविता सिर्जना गरेका छन् । उनले कविताका लागि छानेका ठमेल, आर्यघाट, स्वप्न बगैंचा, बबरमहल, त्रिभुवन विमानस्थल, दरबारमार्ग र पशुपति वृद्धाश्रम जस्ता ठाउँ सिंगो नेपालको संस्कृति, इतिहास, सभ्यता, विकास र राजनीतिसम्म जोडिन आउँछन् । यस्ता विषय छनोटले पनि कवि अभयको काव्यिक चेतना भिन्न र सचेत छ भन्ने देखाउँछ ।  
जीवनको अन्तिम गन्तव्य हुँ म
यस धरतीमा
यद्यपि कोही आउँदैनन् आफै हिँडेर
मेरो शरणमा
(आर्यघाट)
यसरी स्थानविशेषलाई उनले मानवीकरण गरेका छन् ।
कवि अभयले काठमाण्डौलाई मात्र कविताको अंगालोमा बेरेका छैनन् । पुरा नेपाललाई कविताका पत्रपत्रमा खेलाएका छन् । काठमाण्डौबाहिर शिर्षक अन्र्तगत उनले चितवन, धुलिखेल, नगरकोट, लाँकुरी भन्ज्याङ, दामन, शिवपुरी, पोखरा मनकामना, जनकपुर, मुस्ताङ, बर्दिया ,बन्दीपुर र भेडेटार जस्ता नेपालका पर्यटकीय क्षेत्रहरुमा पनि उनी पुगे र कविता लेखे ।
क्षितिजमा झुन्डिएको एउटा आँखा
तल
जनता र तिनका शहरको गाथा
मेरो बाक्लो हरित
आधुनिकताले घायल
वनभोज तीर्थाटनमा आएका
प्लासिटकका फोहर थैला
(लाँकुरी भन्ज्याङ )
लाँकुरी भन्ज्याङ काठमाण्डौबाट धेरै टाढा छैन् । ललितपुर जिल्लामै पर्छ तर पनि कैयौँ राजधानीवासीका लागि लाँकुरी भन्ज्याङ धेरै टाढा छ । काठमाण्डौ उपत्यकाको उनेक हत्कण्डा हेरिरहने लाँकुरी भन्ज्याङ राजधानीले नपत्याएको ठाउँ हो तर कवि अभयले यसैलाई धेरै पत्याए र लेखे कविता ।
कवि अभयले नेपाललाई हरेक कोण र दृष्टिबाट हेरेका छन् । उनको कविदृष्टि सगरमाथा हुदै रारा ताल सम्म पुग्छ । अनि नेपाली मन र जनको जीन्दगी छाम्ने क्रममा उनी डान्स बारकी केटी हुदै शेर्पासम्म पुग्छन् । नेपाललाई सधैँ जगाउने र सधैँ उचो राख्ने सिद्धार्थदेखि अरनिकोसम्मको स्पर्शमा कवि रमाएका देखिन्छन् ।
लामो समयदेखि
आफ्नै पुर्खाको भूमिमा विस्मृत
चैँग जु फुका ठेलीमा जीवित हुन पुग्छ ।
(अरनिको )
नेपाली माटोका सुगन्ध अरनिका अहिले नेपाली वस्ती विस्मृत बन्न पुगेकामा कवि अभयको मन कुटिएको छ । कविले सिंगो धरतीलाई आफ्नै ठान्छ र प्रेम गर्छ यसैले पनि होला उनको प्रेम नेपालका भानुभक्त, देवकोटा, बीपी र नारायण गोपालसम्म फैलिएको छ ।
छोटा छरिता कविता लेखनमा अभयले आफूलाई पृथक राख्न सफल भएका छन् । विषयमाथिको काव्यिक चिन्तन पनि नितान्त भिन्न लाग्छ । अभयको मूल भाषा अंग्रेजी हो । यो कविता कृति पनि अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो । वरिष्ठ पत्रकार एवं साहित्यकार किशोर नेपालले कविताको अनुवाद गर्नुभएको छ । त्यसो त कविले अनुवादलाई अझ चिल्लो पार्न कवि मोमिलाको साथ लिएको आफ्नो कृतज्ञतामा उल्लेख गरेका छन् । किशोर नेपाल र मोमिलाजस्ता सिद्धहस्त स्रष्टाहरुको अनुवाद कलाले पनि अभयका कवितालाई नेपालीपन दिन सफल भएका छन् ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल