पुस्तक - समीक्षा

‘इरेजर’ अनुभव

करुणा नेपाल

जब कुनै व्यक्ति मानसिक रूपले बालक बन्दछ, ऊ सिक्नका लागि पूर्णरुपमा तयार हुन्छ । किनकि ऊ प्रतिस्पर्धा, द्वेष, पूर्वाग्रह, कृत्रिमता आदिबाट  मुक्त हुन्छ । यस्तै यस्तै थियो यी शब्दहरूको सार । आवाज चिरपरिचित लाग्दै थियो । शब्दका गहिराइले लाग्दथ्यो कुनै दार्शनिकको अन्तरवार्ता सुन्दै छु । बालसुलभता यसै पनि मलाई मन पर्ने शब्द त्यसमाथि पनि हिजै मात्र सुनेको भान हुने आवाजले तानिएँ म रेडियोतिर । 

 

केही बेरको सुनाइमा मलाई गाह्रो परेन ठ्म्याउन कि त्यो आवाज चिरपरिचित अनुवादक बलराम अधिकारीको थियो । पेशाले अध्यापक भएकाले बालसुलभताको कुरा गरिएको हुनुपर्छ । मैले विचार गरेँ । तर केही बेरमै म गलत ठहरिएँ । त्यहाँ कुरा हुँदैथ्यो उनको पुस्तक इरेजरको । 

 

अन्तवर्ता लगभग सकिन लागिसकेको रहेछ । एकदमै छोटो समयमात्र सुन्ने अवसर पाएँ । तर तानिएँ म इरेजरप्रति । सुनाएँ आफ्नो इच्छा साथीहरूलाई । उपहारको रूपमा एकजना साथीले राखिदिनुभयो इरेजर मेरो हातमा । 

 

न त पुस्तक समीक्षा पढेथेँ न कसैले भनेथ्यो यसको बारेमा । त्यसैले उपन्यास होला ठानेर पल्टाएँ । पढ्दै जाँदा न कुनै विशेष पात्र भेट्थेँ न पाठ्यभूमि । गहकिला विचार भेटिन्थे एकपछि अर्का । आधाजतिका अर्थ बुझ्दिनथेँ । तैपनि पढ्दै गएँ । पुस्तक आधा पढिसक्दा  पनि भेउ पाउन सकिनँ यो उपन्यासले के भन्दैछ भनेर । यसै पल्टाउँदै जाँदा अन्तिम पृष्ठमा निबन्धकार रोशन सेरचनले निबन्धयात्रामा सफलताको कामना लेखेको देखेपछि झसङ्ग भएँ । म त निबन्ध पो पढ्दै रहेछु । निबन्ध –पाठकका रूपमा सारै कमजोर मलाई आफूले आधा पढिसकेको त्यो पुस्तक पुरा पढ्नु न छोड्नु भयो । शब्द गहकिला लाग्दथे । कति त कहिल्यै नसुनेको पनि । अझ गहिकिला थिए तिनका भाव । केही बुझेजस्तो हुन थाल्यो ।  बुझ्दै जाँदा रोचक पनि लाग्न थाल्यो, पढेँ सरसर्ती सबै । 

 

कलेजका विद्यार्थीहरुले पुस्तक बारम्बार लैजान्थेँ । म आफूले पढेका, राम्रा लागेका पुस्तकहरू छरिदिन्थेँ विद्यार्थीमाझ । त्यही क्रममा मिसियो इरेजर पनि । लगेको भोलिपल्ट फकाईदिए एक विद्यार्थीले  ।  “छेउटुप्पो केही बुझिनँ । चालिस नाघेपछि हेरौँला ।” ऊ मेरो हातमा पुस्तक राख्दै भन्दै थियो । म हाँसिरहेँ तर केही भनिनँ । अर्कोले आँट गरेर लग्यो । एक हप्तापछि उसले प्रतिक्रिया दियो— आधा जति बुझेँ । 

 

एक दुई जनाले पढेपछि फिर्ता आयो पुस्तक । 

 

दुई तिन महिनासम्म घच्घच्याइरहे इरेजर का शब्दहरूले । ती शब्दका अर्थ के थिए ? मैले के बुझिनँ होला ? कुन गहिरो संकेत गर्दैछ इरेजर भनेर सोचिरहन लागेँ । केही नलागेपछि फेरि लिएँ पुस्तक हातमा र लागेँ दोहो-याउन । 

 

द्वन्द्वकालीन इतिहास थोरै पढेकाले धेरै कठिन परेन अर्थ बुझ्न दोस्रो पटकचाहिँ । अनुभव मिश्रित निबन्ध पढ्दा कतै आत्मवृतान्त पढेको भानहुन्थ्यो त कतै इतिहास पढेजस्तो । पुस्तकभित्र श्रमजीविलाई अरूको सपनाको आवश्यकता नहुने कुरा प्रस्ट्याइएको पाइन्छ । स्वतन्त्रताको अपिल गर्दै मुक्तिदाताका ब्याच लगाएकाहरूको शक्तिको दुरुपयोग प्रतिको व्यङ्ग्यलाई रचनात्मक रुपमा प्रस्तुत गरिएको छ । अतिवादी सोचको विरुद्घमा सशक्त रूपमा कलम चलेको भान हुन्छ निबन्ध पढ्दा । शक्तिका बहुल केन्द्र र तीबिचको अन्तरसंघर्षलाई आमजनताको आँखाबाट नियाल्ने प्रयास गरेको छ इरेजरले । सहअस्तित्वको खोजी गर्दै यसले मात्र पूर्ण अस्तित्व कायम गर्न सक्ने भनाइ छ निबन्धकारको । 

 

विविध पाठ्यभूमिबाट साभार गरिएका तथा विश्वप्रसिद्घ व्यक्तिका भनाइहरुले निबन्धलाई जीवन्त बनाउन मद्दत गरेका छन् । प्रत्येक व्यक्तिका अगाडि प्रेम र घृणाका दुवै मार्ग खुला रहन्छ । रोजाइ व्यक्तिगत स्वतन्त्रताको हो । समानताका नारा लगाउनेहरू नै शक्तिको  इरेजरको प्रयोग गर्न पछि नपर्ने कुरा सावित गर्दछ निबन्धले । धमिलिएको समाज शुद्घीकरणका लागि स्वयं शुद्घ हुनु अत्यन्त जरुरी छ । दासत्वको आधुनिकीकरण, परम्पराको बोझको व्यथा, अहङ्कारको गर्जन, बालसुलभताको अभावमा गुमेको सृजनात्मकता, वुद्घिको मैदानमा हराएको विवेक, बुद्घवाणीको अपभ्रंश रूप, शक्तिको लालशा र अर्काले देखाएको सपनाबाट ब्युँझिदा हराएको निद्रा आदि पक्षमा दार्शनिक सिद्घान्त र व्यावहारिक पक्षको विश्लेषणको संग्रह हो इरेजर । 

 

समाजको यथार्थ चित्रण गर्ने क्रममा स्वदेशी तथा विदेशी साहित्य सर्जकद्वारा रचित कृतिबाट साभार गरिएका उदाहरणहरू प्रशस्त भेटिन्छन् । सुकरातका पाइला, सेतो बाघ, एक चिहान, टु किल अ मोकिङ बर्ड लगाएतका पाठ्यभुगोलसँग अपरिचित पाठकका लागि अनन्त, अष्टनारान, याट्ठिकस लगायतका पात्र अपरिचित लाग्दछन् । यी पात्रहरूसँग जोडिएका जीवनव्यथा, सामाजिक बिम्ब र त्यसको सार नबुझ्नेका लागि इरेजरको पूर्ण अर्थ निकाल्नु असम्भव नै देखिन्छ ।  पुस्तकले इङ्गित गरेको साङ्केतिक अर्थ बुझ्न नेपाल तथा विश्वको इतिहासका बारेमा सामान्य जानकार हुनै पर्ने बाध्यता पनि छ । 

 

समग्रमा प्रेम, सद्भाव, सहअस्तित्व र अन्तरअस्तित्वको मार्गबाट समानताको खोजी गरेको छ इरेजरले । शान्तिलाई केन्द्रबिन्दुमा राखेर मध्यममार्गी विचार धारामा बग्न अपील गरिएको छ । पढ्ने जो कोहीका मनमा प्रश्न उठाउँछ करुणा, दया, सहअस्तित्वको स्विकृतिबिना कुन चाहिँ बीज पो वृक्ष बनेको छ र !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल