चित्र र कविता

तिमी र म

You and Me
You and Me
एरिना ताम्राकार
You and Me
मोमिला

(तिमी=पुरुष र म=नारी)

तिमी र म
अर्थात् हामी
फरक बाटो भए पनि
आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

हो, तिमी जन्मेको दिन
आमाको निधारको टिका एकाएक सूर्य भएर
घरआँगनमा उज्यालो झलमलाइरह्यो
तर, म जन्मेको दिन
आमाको निधारको घामजस्तो टिका एकाएक धुम्मिएर
आफैलाई बगाउने गरी आँखा बर्सिरह्यो....

यसरी फरक नियति लिएर प्रारम्भ भए पनि
मान्छे हुनुको अर्थमा
हाम्रो अस्तित्व भेट्ने आकाङ्क्षा जरुर उस्तै छ !

हेर न !
हामी दुईको आँखादेखि सँगै भागेका सपनाहरूको दूरी उस्तै नै छ
हामी दुईको संवेदन हुँदै सँगै बगेका नदीहरूको रङ्ग पनि उस्तै छ
हामी दुईको छातीदेखि सँगै बाफिएर उडेका बादलहरूको हैरानी उस्तै छ
हामी दुईको मनदेखि सँगै उठेका लहरहरूको चञ्चलता पनि उस्तै छ

सायद कतै छलिएको थियो
हामी दुवैले देखेको जीवनको उचाइ
हामी दुवैले बुझेको जीवनको गहिराइ

हेर न !
यहीँ कतै सुनिन्छ
जीवनको उचाइ भेट्न अहम्को पर्वत उक्लेका
तिम्रा पाइला पाइलाको उत्साही आवाज !
र, यहीँ कतै भेटिन्छ
जीवनको गहिराइ भेट्न अहम्को पर्वत ओर्लेका
मेरा पाइला पाइलाको उदास आवाज !

आखिर,
तिमीले चढेको उचाइबाट मलाई भेट्न
मैलेजस्तै तिमीले अहम्को पर्वत ओर्लनु त छँदै छ,
मैले भेटेको गहिराइबाट तिमीलाई भेट्न
तिमीलेजस्तै मैले अहम्को पर्वत उक्लनु त छँदै छ

यसरी,
उक्लनु र ओर्लनुको एउटै पर्वतमा
हाम्रो उचाइ र गहिराइको अहम् अल्झिरह्यो

हो, तिमी भने जसरी नि जिन्दगी रेखी हालेरै बगाउन चाहन्छौ
म यसै जिन्दगी सलल सलल बग्न चाहन्छु

यथार्थतः
सलल बग्दो समयको तरल सौन्दर्य
कविताको सम्पादित सौन्दर्यजस्तो
स्थिर मिलेको त कहाँ हुन्छ र !

फेरि हामी दुवैलाई थाहा छ—
न त झर्दै गरेको आँसुको सङ्गीत सम्पादन गरेर बज्दछ
न त सम्पादन गरी गरी मुस्कानको दिव्यता छरिन्छ
न त उर्लँदो प्रेमको सम्पादन सुहाउँछ
न त छचल्किँदो घृणाको सम्पादन नै सुहाउँछ
न त झर्दै गरेको पातको दृश्य–सम्पादन खुल्दछ
न त उड्दै गरेको गोधुलीको सौन्दर्य सम्पादन नै खुल्दछ

तर, बग्दो समयको तरल सौन्दर्यमा
कविताको सम्पादित सौन्दर्यजस्तो
मर्जीको मध्यान्तर पनि त कहाँ हुन्छ र !

फेरि पनि
फक्रँदो फूललाई स्थगित गरेर स्थिर सौन्दर्य पिउनुभन्दा
बर्सँदो बर्सात्लाई स्थगित गरेर एकरस तान सुन्नुभन्दा
बगिरहेको नदीलाई स्थगित गर्दा छाएको मुर्दा शान्तिभन्दा
हिँडिरहेको बादललाई स्थगित गर्दा देखिएको स्थिर दृश्यभन्दा
फक्रँदो फूलको तरल सौन्दर्य
बर्सँदो बर्सात्को तरल सौन्दर्य
बगिरहेको पानीको तरल सौन्दर्य
हिँडिरहेको बादलको तरल सौन्दर्य त
जिन्दगीलाई नै छोएर बगेजस्तो
आहा ! बग्नुको मजा नै अर्कै लाग्दो रहेछ !

हुन त जिन्दगी बगाउन चाहनेहरूलाई पनि
इच्छाअनुसार स्थिर गर्दै आफ्नो उज्यालो जिन्दगी
अँध्यारोबाट दृष्टिगत गर्नुको मजा
सायद झनै अर्कै लाग्दो हो !

हो, तिमी जिन्दगी रोज्जा धारको नहरमा बगाउन चाहन्छौ
र मस्तिष्कको निर्देशित गानमा मस्त छौ
हो, म जिन्दगी यसै नदी भएर बग्न चाहन्छु
र हृदयको सरर सरर तानमा मस्त छु

तिमी, बेलाबखत सम्पादन गर्दै/स्थगित हुँदै
चित्रकारले आफूले बनाएको चित्र
कुची टोक्दै पटक पटक नियालेजस्तै
किनारमा उभिएर जिन्दगी हेर्छौ
र म किनारमा उभिएर हेर्नेलाई
आफ्नै धुनमा नदी बगेजस्तै
अनायासै रमिता भइदिन्छु

फेरि पनि
जिन्दगीको नाममा बग्नु
तिमी र म अर्थात् हामी दुवैको धर्म !....!!
 
यसरी,
हाम्रो अहम्को दूरी भाँचिएको दिन
आहा ! दोभानमा हाम्रो मिलन हुनु र सँगसँगै बग्नु
न त नदीविनाको किनारा !
न त किनाराविनाको नदी !!

आहा ! सभ्यताको सबैभन्दा सुन्दर दिन !!
हाम्रो अहम्को दूरी भाँचिएको दिन !
दोभानमा हाम्रो मिलन हुनु र सँगसँगै बग्नु !!
सभ्यताको सबैभन्दा सुन्दर दिन !
त्यो दिन ! हाम्रो अहम्को दूरी भाँचिएको दिन !...!!...!!



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल