नाटक

सनाखत नभएको नाटक

An Unidentified Play
कृष्ण शाह यात्री

 

  • पर्दाविहीन रङ्गमञ्च ।
  • आलोकशून्य पृष्ठभूमि ।  
  • अन्धकारको कारागारमा नाटक ।
  • नाटकको व्यग्र प्रतीक्षामा मौन दर्शक ।
  • दर्शकदीर्घाबाट उठेका एक अपात्र ।

अपात्र : नाटकका प्रिय दर्शकहरू ! यस नाटकघरमा स्वागत छ । केही समयपछि नै सुरु हुन गइरहेको छ– ‘सनाखत नभएको नाटक’ । अनामद्वारा लिखित तथा आकारद्वारा निर्देशित यस नाटकको प्रथम प्रदर्शनीमा हामी विश्वस्त छौँ, नाटकको यस संसारमा तपार्ईंहरूले आफूलाई पूर्ण रूपमा हराउनु हुनेछ । कृपया नाटक मञ्चन अवधिभरि मोबाइलको यान्त्रिक आतङ्कलाई बन्द गरिदिनुहोला । यो केवल नाटकको समय हो । संवादको समय हो । नाटक भइरहेको बेलामा बाहिर-भित्र नगरिदिनुहोला । खानेकुरा पनि नखाइदिनुहोला । क्यामेराले फोटो खिच्दा फ्लासको प्रयोग नगरिदिनुहोला । यसले नाटकका कलाकारहरूलाई बाधा पु-याउन सक्छ । अन्तमा जाँदाजाँदै, एउटा कुरा– नाटक नराम्रो लागे हामीलाई आएर भनिदिनुहोला । राम्रो लागे साथीहरूलाई भनिदिनुहोला । धन्यवाद । प्रस्तुत– छ ‘सनाखत नभएको नाटक’ ।

 

  • पुन: आलोकशून्य ।
  • उज्यालोको खोजीमा दर्शक ।
  • नेपथ्यमा सूक्ष्म कुराकानी ।
  • अभिनवको प्रवेश ।

 

अभिनव : (मञ्चको मध्यभागमा आई रुन थाल्छ, गला भरिएको अवाजमा) कृपया हामीलाई माफ गरिदिनुहोला । आज हामी तपार्ईंहरूलाई यो नाटक देखाउन सक्दैनौँ... (शान्त) मैले रङ्गमञ्चमा पहिलोपल्ट मन र मुटु कठोर पार्दै भन्नुपरिरहेको छ । पूर्ण तयारी भइसकेको यस नाटक हामी आज देखाउन असमर्थ छौँ । (सन्नाटाका बीच दर्शकहरू मुखामुख गर्न थाल्छन्) मलाई थाहा छ, तपार्ईंहरूलाई मेरो कुरामा विश्वास लागिरहेको छैन । तर म सत्य बोल्दै छु । यस नाटक आरम्भ नहुँदै समाप्तिको घोषणा गर्नुपर्दा मलाई ज्यादै दुःख लागको छ । कृपया हलको बत्ती बालिदिनुहोला । 

दर्शक १ : (असामञ्जस्यमा पर्दै) हैन के हो यो ? नाटककै अंश हो कि साँच्चै नाटक नदेखाउने हो ? 

दर्शक २ : चुप लाग्नोस् तपार्ईं ?

दर्शक ३ : बीचमा के बोलिरहेको होला । 

दर्शक ४ : माफ गर्नुहोला । म त साँच्चि नै केही भवितब्य भयो होला र यो नाटक रोक्नुपरेको होला भन्ठानेर ।  

अभिनव : तपार्ईंले ठीक भन्नुभयो ! केही समयअघि मात्रै एउटा ठूलो दुर्घटना भयो । हामीले भर्खरै मात्र जानकारी पायौँ । यस नाटकका लेखक तथा हाम्रा आदरणीय व्यक्तित्व अनामको केही समयअघि मात्रै दुर्घटनामा परी निधन भएको छ । 

दर्शक १ : नाटककारको निधन ? 

दर्शक २ : अनामदाइको निधन ? 

दर्शक १ : हैन यो कस्तो अजीव ठट्टा गरेको ? 

अभिनव   : तपार्ईंहरूले अझै पत्याउनुभएन मेरो कुरा ? 

दर्शक १/२ : यस्तो संवेदनशील कुरामा ठट्टा गर्न लाज लाग्दैन तपार्ईंलाई ? 

अभिनव : यो ठट्टा होइन मित्र ! यो समाचारले हामीमा पनि भयानक पीडा थपेको छ । भर्खरै मात्र नेपथ्यमा हाम्रा कलाकार साथीहरूले कतैबाट जानकारी पाउनुभयो । नाटककार अनाम नाटक हेर्नका लागि यही नाटकघर आउँदै हुनुहुन्थ्यो । बाटोमा उहाँको मोटरलाई ट्रकले ठक्कर दिएपछि उहाँको निधन हुन पुगेछ । यति ठूलो चोटले हामीलाई निकै मर्माहत तुल्याएको छ । 

दर्शक ५ : अब के गर्ने ? 

दर्शक ६ : अब के गर्ने ?

दर्शक ७ : अब के गर्ने ?

दर्शक ८ : अब के गर्ने ?

दर्शक ३/४ : नाटक नगर्ने त त्यसो भए... ?

अभिनव : हामीले के गर्ने/के नगर्ने ? सोच्नै सकिरहेका छैनौँ । (भावुक हुँदै) यस नाटकका महान् नाटककार अब यस संसारमा रहनुभएन ।

दर्शक १ : मलाई यस कुरामा पटक्कै विश्वास लागिरहेको छैन ।

दर्शक ४ : मलाई पनि विश्वास लागेको छैन ।

दर्शक ३ : हैन कसरी विश्वास गर्ने ? 

दर्शक २ : आधा घन्टाअघि मात्रै अनामदाइसँग मेरो फोनमा कुरा भएको थियो । 

दर्शक ९ : अब नाटक सुरु गर्नुस् । हामी टिकट काटेर नाटक हेर्न आएका हौँ । हामीलाई अरू कुरा थाहा छैन ।  

  • शान्त वातावरण ।
  • अन्योलमा दर्शक । 

अभिनव : हे प्रभु ! मलाई यो कुन दृश्यमा अभिनय गर्न लगाउँदै छौ ? म मेरा महान् नाटककारको मृत्युमा कसरी नाटक गर्न सक्छु ? म अभिनय गर्न सक्छु ? अहँ म सक्दिनँ । मलाई माफ गर्नुस् दर्शकवृन्द ! मैले यो रमाइलो वातावरणमा अत्यन्त दुखद् खबर सुनाएर तपार्ईंहरूको मनमा अशान्ति फैलाएँ । 

  • भक्कानो छाडेर अभिनवको रोदन ।
  • सतर्क दर्शक ।
  • नारी कलाकार दृष्टिको प्रवेश । 

दृष्टि : अभिनव ! उठ ! अब रोएर केही हुँदैन । यसरी पीडा आरोहण गरेर हामी हाम्रा महान् नाटककारलाई फर्काउन सक्दैनौँ । 

अभिनव : दृष्टि ! यो सब आजै किन भयो ? 

दृष्टि : जे भयो, त्यसलाई हामीले टारेर टार्न सकिने थिएन । सायद नाटककार अनामदाइको समयसीमा यति नै थियो । 

अभिनव : दृष्टि ? के तिमीलाई उहाँको मृत्युले मुटुमा छोएको छैन ?  

दृष्टि   : छुन्छ अभिनव ! तर अहिले हामी उहाँको नाटकका पात्र हौँ ? उहाँको मस्तिष्कका उपज हौँ । उहाँकै निम्ति भए पनि हामीले नाटक सुरु गर्नुपर्छ अभिनव !

अभिनव : अहँ ! अब नाटक गर्नु र नगर्नुको कुनै औचित्य रहेन ।

दृष्टि : तिमीजस्तो कलाकारले यसो भनेको सुहाउँदैन अभिनव ! हामीले हाम्रा दर्शकहरूका निम्ति भए पनि नाटक गर्नैपर्छ । मनलाई कठोर बनाएर भए पनि नाटक गर्नैपर्छ । 

अभिनव : तिमी यस्तो बेलामा अझै नाटक गर्ने कुरा गर्छौ ? 

दृष्टि : हो, मैले पनि जीवनभरि नाटक गरेँ । नाटकमा खाएँ । नाटकमै सुतेँ । नाटक भोगेँ र नाटक नै बाँचेँ । यस्तो परिस्थितिमा पनि म नाटक नै गर्न चाहन्छु । जीवनलाई नयाँ रूपमा नाटकसँग फ्युजन गराउन चाहन्छु । 

अभिनव : तर म नाटक कसरी गरौँ ? मैले नाटककारको मृत्युको खबरले सारा संवादहरू बिर्सिसकेँ । मेरो दिमागमा शून्यता र नाटककारको क्षतविक्षत अनुहारबाहेक केही छैन । दृष्टि ! म अभिनय गर्न सक्दिनँ । 

दृष्टि : हैन, अभिनव ! तिमी एउटा कुशल अभिनेता हो । अझ राम्रो मन भएको अभिनेता । तिम्रै प्रेरणाले त मैले रङ्गमञ्चमा यो ठाउँ बनाएको हुँ । तिमीजस्तोसुकै परिस्थितिमा पनि नाटक गर्न सक्छौ र गर्नु पनि पर्छ । यही नै हाम्रा दिवंगत नाटककारका निम्ति सच्चा श्रद्धाञ्जलिसमेत हुनेछ । ऊ उता हेर त ! दर्शकदीर्घामा । त्यहाँ थुप्रै आँखा हाम्रो रङ्गकर्मको प्रतीक्षामा छन् । उनीहरू पनि चाहन्छन्– हामीले नाटक गर्नुपर्छ । हाम्रा महान् नाटककारको अन्तिम नाटकलाई आरम्भ गर्नुपर्छ अब । 

अभिनव : तर दृष्टि ! सबथोकको अन्त्य भइसकेको छ । (लामो सास फेर्दे) नाटककारको मृत्यु भइसकेको छ । नाटककारको मृत्युसँगै यो नाटकको, एउटा युगको पनि अन्त्य भइसकेको छ । सत्य यही हो । यो कुरा हामीले बुझ्नुपर्छ । तिमीले किन नबुझेकी ? 

दृष्टि : (अँध्यारो अनुहार पार्दै) मैले बुझेकी छु अभिनव ! एउटा युगको अवसान भइसकेको छ र पनि हामीले यो नाटक गर्नैपर्छ । हाम्रो काम नै रङ्गमञ्चमा नाटक गर्नु हो । अनाटक गर्नु होइन । 

अभिनव : के त्यसोभए हामी यो नाटकको अन्त्यको घोषणा गर्न सक्दैनौँ ? 

दृष्टि : कसरी सक्छौँ ? हामी त पात्र हौँ । केवल पात्र ...!  

अभिनव : के पात्रले नाटककारको मृत्युमा आफूखुसी आँसु बगाउन पाउँदैन ? 

दृष्टि : दर्शकहरूका आँखाबाट घेरिएको बेला आफूखुसी समयलाई प्रयोग गर्न पाइँदैन अभिनव ! 

अभिनव : त्यसोभए आऊ, हामी दर्शकहरूलाई नै सोधौँ । यो नाटक गर्ने कि नगर्ने ?

  • दर्शकदीर्घामा केन्द्रित दुवैजना ।
  • दर्शकदीर्घामा बढ्दो आलोक ।
  • केही दर्शक उत्साहित ।

दृष्टि : (अगाडी जाँदै) प्रिय दर्शक ! तपार्ईंहरू नै भन्नुहोस् ! हामी के गरौँ ? 

अभिनव : यस शोकको घडीमा के हामी यस नाटक मञ्चन गरौँ ? 

दृष्टि : धेरै सोचेर मात्रै जवाफ दिनुहोला । 

अभिनव : के हामी कलाकारहरू मान्छे होइनौँ ? 

दृष्टि : तर हामीले कर्तव्य बिर्सिएका छैनौँ ।

अभिनव : के हामीसँग संवेदना हुँदैन ? के हामी आम मान्छेसरह होइनौँ ? 

दृष्टि : तपार्ईंहरू खुला दिमागले सोच्नुस् र भन्नुस्, हामी अहिले यो नाटक गरौँ कि नगरौँ ?  

  • दर्शकबीच नबुझिने खासखुस आवाज ।
  • एकजना दर्शक उठ्छ । 

दर्शक ५ : के त्यसो भए साँच्चै अब नाटककार अनाम यस संसारमा रहनुभएन ?   

अभिनव : हो ! उहाँ अब यस संसारमा रहनुभएन ।

दर्शक ४ : तर यो सब कसरी हुनसक्छ ?

दर्शक ३ : अलि विस्तारमा हामीलाई भन्नुस् त ।

अभिनव : हामीलाई पनि सबै कुरा थाहा छैन !

दृष्टि : हामीले केवल जानकारी मात्र पाएका छौँ .. 

अभिनव : (कुरा काट्दै) उहाँ यही नाटक हेर्नका लागि आउँदै हुनुहुन्थ्यो ... 

दृष्टि : (कुरा काट्दै) आउँदा–आउँदै उहाँको सवारीसाधनलाई ट्रकले ठक्कर दिएछ ।

अभिनव : ... र त्यस दुर्घटनामा उहाँको घटनास्थलमै मृत्यु भएछ ।  

दर्शक १ : हे राम !

दर्शक २ : या अल्लाह !

दर्शक ३ : ओ माई गड !

दर्कक ४ : ओहो ! यो त साह्रै नराम्रो भयो । अब के गर्ने होला ?

दर्शक १ : सायद नाटक यहीँ रोक्नुपर्छ र हामी त्यो घटनास्थलतिर जानुपर्छ ।  

दर्शक ३ : सायद उहाँ बाँचेकै पो हुनुहुन्छ कि उहाँको घरमा फोन गर्नुपर्छ । 

दर्शक २ : सायद उहाँलाई हस्पिटल लगिएको हुनुपर्छ । 

दर्शक ४ : त्यसोभए हामी हस्पिटल जानुपर्ला । 

दर्शक ५ : होइन । उहाँ यतै आउँदै हुनुहुन्थ्यो । उहाँको अन्तिम इच्छा आजको नाटक होस् भन्ने थियो । 

दर्शक १ : त्यसोभए तपार्ईं यही कारण दर्शाएर यो नाटक जसरी भए पनि मञ्चन होस् भन्ने चाहनुहुन्छ ?  

दर्शक ५ : हो । तपार्ईंले ठीक भन्नुभयो । 

दर्शक ९ : म तपार्ईंको कुरामा शतप्रतिशत सहमत छु । सायद हाम्रा नाटककारको आत्मा यही प्रेक्षालयको कुनै कुनामा बसेर नाटकको प्रतीक्षा गरिरहेको पनि हुन सक्छ । 

  • नेपथ्यमा ठूलो विस्फोटको आवाज । 
  • सशङ्कित दर्शक ।
  • सन्त्रासमा अभिनव र दृष्टि । 

अभिनव : ए के भयो हँ ? 

अभिनव : केको अवाज हो यो ?  

नेपथ्य–स्वर १ : यहाँ केही पनि भएको होइन दाइ ! 

नेपथ्य–स्वर २ : बाहिर कतै बम पड्किएजस्तो छ ।   

दर्शक ५ : यो ठाउँ पनि सुरक्षित नहुने भयो । 

दर्शक ४ : अब एकैछिनमा चेकिङ सुरु हुन्छ । 

दर्शक १ : चेकिङसँगै जताततै जाम सुरु हुन्छ । 

दर्शक ९ : एक्काइसौँ शताब्दीले दिएको उपलब्धिविहीन उपलब्धि हो यो । 

दर्शक ३ : अब यातायातबन्द पनि हुन सक्छ ।  

दर्शक ५ : अनि नेपालबन्द पनि हुन सक्छ । 

दर्शक २ : कर्फ्यु पनि लाग्न सक्छ ।

दृष्टि : अनि हाम्रा नाटककारको दाहसंस्कारमा अवरोध पनि आउन सक्छ । 

अभिनव : अहँ यो त झन् ठूलो अनिष्ट र अशुभ सङ्केत हो । 

दृष्टि : मलाई त आज बिहानैदेखि नै लागिरहेको थियो । आज पक्कै पनि केही न केही अनिष्ट होला भनेर । 

अभिनव : हो, मैले पनि राति नराम्रो सपना देखेको थिएँ । सप्तकोसीमा बाढी आएको अनि पानी पनि कालो र धमिलो देखेको थिएँ ।  

दृष्टि : अभिनव ! तिमीले त बाढी देखेछौ । मैले त एउटा कालो आकृति नागढुङ्गाको ओरालोमा मलाई एकोहोरो लखेटिरहेको देखेकी थिएँ । अनि थाहा छ अभिनव ? त्यसबेला मेरो हात कसैले च्याप्प समातेछ । अडिएर हेर्दा त मैले हाम्रा नाटककारलाई सेतो लुगा लगाएर उभिईरहेको देखेँ । 

अभिनव : अनि ? अनि त्यसपछि ...?

दृष्टि : त्यसपछि उहाँले के भयो भनेर सोध्नुभयो । मैले मलाई तपार्ईंको नाटकको ख्याकजस्तो लाग्ने पात्रले लखेट्दै आइरहेछ भनेर एकै सासमा भनेँ । 

अभिनव : अनि ... अनि त्यसपछि ? 

दृष्टि : अनि त्यसपछि उहाँले अब त्यो आउँदैन भन्नुभयो । नभन्दै, मैले पछाडि फर्किएर हेरेँ, त्यहाँ कालो आकृति थिएन । 

अभिनव : अनि ... अनि .... अनि ...?

दृष्टि : अनि त्यसैबेला मेरो आँखा खुल्यो । त्यस्तो डरलाग्दो सपना मैले कसैलाई भनिनँ । अभिनव ! मलाई लाग्छ, हाम्रा नाटककार मर्नुभन्दा पहिले हामी सबैको मानसपटलमा आएका थिए । कुनै न कुनै रूपमा । 

दर्शक २ : ओहो ! कुनै न कुनै रूपमा आएका थिए ?

दर्शक ५ : कुनै न कुनै रूपमा ?

दर्शक ६ : कुनै न कुनै रूपमा ?

दर्शक ७ : कुनै न कुनै रूपमा ?

दर्शक ३ : कुनै न कुनै रूपमा ?

दृष्टि : हो, कुनै न कुनै रूपमा । 

अभिनव : सायद यो हामीलाई पूर्वाभास पनि भएको हुन सक्छ ।  

दर्शक १० : अहँ, म तपार्ईंको कुरा पत्याउँदिनँ ।

दर्शक ६ : मलाई तपार्ईंको कुरामा विश्वास छैन ।  

दर्शक ६   : यस्ता वाहियात कुरासँग जोडेर तपार्ईं नाटककारको अवमूल्यन गर्न खोज्दै हुनुहुन्छ । 

अभिनव : होइन । तपार्ईंले गलत अथ्र्याउनुभो । मेरो उद्देश्य नाटककारको मृत्युमा उनको अवमूल्यन गर्ने होइन । 

दर्शक ९ : त्यसोभए तपार्ईंहरूले अब ढिलो नगरी नाटक सुरु गर्नुपर्छ । 

दर्शक ५ : उहाँप्रति सच्चा श्रद्धाञ्जलि त्यही नै हुनेछ । 

दृष्टि : हो । तपार्ईंले ठीक भन्नुभयो । म नेपथ्यमा गएर सबै साथीहरूलाई अबको केही समयपछि नै नाटक सुरु हुने जानकारी दिएर आउँछु । अभिनव ! तिमी पनि हिँड मसँग । 

  • दृष्टिको प्रस्थान । 
  • तटस्थ अभिनव ।
  • केही समयपछि शून्यताको क्रमभङ्ग ।

अभिनव : यो ठीक भएन । 

दर्शक ९ : के ठीक भएन ? 

अभिनव : यो पक्कै पनि ठीक भएन । 

दर्शक ९ : के पक्कै ठीक भएन ? 

अभिनव : हामीले नाटककारको मृत्युको घोषणामा नाटक देखाउनु सही कुरा होइन । 

दर्शक ४ : हो । हामीले नाटककारलाई समवेदना दिनुपर्नेमा झनै उनको आत्मालाई विचलित बनाउन खोज्दै छौँ । 

अभिनव : जीवनभरि हामीलाई जीवनका विभिन्न रङ्गहरूको नाटक देखाउने प्रिय नाटककारको मृत्युमा हामी किन यस नाटकलाई स्थगित गर्न सक्दैनौँ ? 

दर्शक ५ : अहँ ! हुँदैन । यसको अर्थ हुनेछ, हामीले नाटककारको सिर्जनालाई बहिस्कार गर्नु ।

दर्शक ९ : हो, यसको मतलब यो पनि हुन सक्नेछ, हामीले नाटककारको अन्त्यसँगै उनको नाटकको नै अन्त्य ग-यौँ । 

दर्शक १ : तर हामीले यो पनि बिर्सनुहुँदैन । एकको मृत्युपछि नै कसैको जन्म हुन्छ । 

दर्शक ३ : के तिमी पुनर्जन्मको कुरा गर्दै छौ ? 

दर्शक १ : हो, म पुनर्जीवनको कुरा गर्दै छु । 

दर्शक २ : कुरा वेश लाग्यो मलाई । हुन सक्छ, यस नाटककारको मृत्युमा पनि नयाँ नाटककारको जन्मको रहस्य लुकेको होस् ।

अभिनव : भो, व्यर्थको विवाद नगरौँ । बरु एउटा निर्णय गरौँ । 

दर्शक २ : निर्णय ? 

दर्शक ९ : निर्णय ?

दर्शक ४ : निर्णय ?

दर्शक १ : निर्णय ?

दर्शक ५ : निर्णय ? कस्तो निर्णय ?  

दर्शक ९ : मेरो विचारमा नाटक गर्ने निर्णय नै अत्युत्तम हो । 

दर्शक ५ : मेरो विचारमा पनि नाटक गर्नुपर्छ । 

दर्शक ७ : मेरो विचारमा पनि नाटक गर्नुपर्छ । 

दर्शक ९ : मेरो विचारमा पनि नाटक गर्नुपर्छ । 

दर्शक ८ : मेरो विचारमा पनि नाटक गर्नुपर्छ । 

अभिनव : हैन । मेरो कुरा मान्नुहुन्छ भने हामीले आज नाटककारका बारेमा आ-आफ्ना धारणा राख्नुपर्छ । उनका विगतदेखि आगतसम्मका नाटक र उनले जन्माएका पात्रहरूका बारेमा समीक्षा गरिनुपर्छ । 

दर्शक १० : तर किन ? 

दर्शक ११ : किन हामीले उनको चरित्रको पोस्टमार्टम गर्ने ? 

दर्शक १ : किन हामीले उनको संवादलाई नङ्ग्याउने ? 

अभिनव : किनकि मैले उनको नाटकका हरेक पात्रलाई बाँचेर हेरेको छु । कहिले म एउटा निरीह कैदीको रूपमा पनि बाँचेको छु । कहिले म भिक्षुको रूपमा बाँचेको छु । कहिले म प्रेममा विक्षिप्त भएको पागलको रूपमा बाँचेको छु । साँच्चै भन्ने हो भने मैले जीवनभरि उनको नाटकबाट पीडा आरोहण मात्र गरेको छु । (दर्शक १ लाई देखाउँदै) मलाई आज सोध्न मन लागेको छ तपार्ईंलाई ?  

दर्शक १ : मलाई ? 

अभिनव : हो तपार्ईंलाई मेरो पीडामा रमाउने अधिकार कसले दियो तपार्ईंलाई ? मैले नाटकमा पीडाको अनुभव गरेको देख्दा तपार्ईंलाई किन सन्तुष्टि मिल्छ ? 

दर्शक १ : किनभने म दर्शक हुँ । मेरो काम नै अनुभूत गर्ने हो । 

अभिनव : अनि ? अनि मेरो काम नि ? 

दर्शक ६ : तिम्रो काम एउटा नाटककारले जन्माएको पात्रलाई ज्यूँदो पार्ने हो । 

दर्शक ४ : तिमी र पात्र अलग कुरा हुन् ।

दर्शक ७ : तिमीलाई पात्रको भावनाले चोट पुग्नुहुँदैन भित्री रूपमा । 

दर्शक १ : नत्र त्यसले मञ्चमा दुर्घटना पनि निम्त्याउन सक्छ । 

दर्शक ५ : एउटा नाटकमा भावावेगमा आएर एकजनाले साँच्चैकी आफ्नी प्रेमिकालाई छुरा हानेको पनि मैले आफ्नै आँखाले देखेको छु । विचरीले हेर्दाहेर्दै हाम्रै आँखाअगाडी प्राण त्यागी । हामीले उनको मृत्युपछि मात्र चाल पायौँ, उनलाई साँच्चैको हतियार प्रयोग गरिएछ । अनि त्यसपछि उसलाई आजीवन कारावास भयो । अब भन, हामीले उसलाई के भन्ने ? 

अभिनव : सायद महान् कलाकार ।  

दर्शक ४ : महान् कलाकार ? 

दर्शक ६ : महान् कलाकार ? 

दर्शक ५ : महान् कलाकार ? 

दर्शक ७ : महान् कलाकार ? 

दर्र्शक १ : तर किन उसलाई हामीले महान् मान्ने ? 

अभिनव : किनभने उसले जीवनको सत्य बुझ्यो । 

दर्शक ९ : अर्थात् ?

अभिनव : अर्थात् उसले अतिरिक्त यात्रा सुरु ग-यो । 

दर्शक ३ : अर्थात् ?

अभिनव : अर्थात् उसले आयातित पीडालाई विस्थापन ग-यो । 

दर्शक ८ : अर्थात् ?

अभिनव : अर्थात् उसले मौन युद्ध सुरु ग-यो । 

दर्शक ५ : अर्थात् ?

अभिनव : अर्थात् ऊ आफ्नै रङ्गमा हरायो । 

  • नेपथ्यमा कोलाहल । 
  • सबैको ध्यान विकेन्द्रित ।
  • जिन्दावाद र मूर्दावादको आवाज ।

एकल स्वर : मान्छे मार्न पाइँदैन !

समूह–स्वर : पाइँदैन ! पाइँदैन !

एकल स्वर : हत्यारालाई छाड्न पाइँदैन !

समूह–स्वर : पाइँदैन ! पाइँदैन ! 

एकल स्वर : विधिको शासन लागू गर् !

समूह–स्वर : लागू गर् ! लागू गर् !

एकल स्वर : हत्यारालाई फाँसी दे !

समूह–स्वर : फाँसी दे ! फाँसी दे ! 

  • आवाज टाढिन्छ । 
  • मञ्चमा नाटक निर्देशकको प्रवेश ।
  • सबैजनाको अनुहारमा थप कौतुहल ।

निर्देशक : आज पनि उस्तै छ–

यो बूढो प्रेक्षालय

कालो पर्दा 

र दर्शकहरू ।

मञ्चमा उडिरहेको

सेतो कात्रो ओढेको समय 

नीलो प्रकाशमा

अलिखित संवाद घोकिरहेछ,

समय र संवाद 

दुरुस्तै उस्तै–उस्तै छ

गोली पिएर ढलेका 

पात्रहरूजस्तै ।

ढलेको बहाना गर्ने

कालो समय 

जो रित्तो रङ्गमञ्चमा

भोक र शक्तिको नाटक गराउँछ

बासना र मृत्युको नाटक गराउँछ

मात्र नाटक ! केवल नाटक !

पर्दा छ/पर्दा छैन

बन्द पर्दाभित्र पनि रगत छ

सनाखत हुन नसकेको एउटा नाटकको रगत

खुला पर्दाभित्र पनि रगत नै छ

दिवंगत नाटककारको आलो रगत

सेतो इतिहास लेख्न 

दर्शकहरू

अन्तिम मलामीको खोजीमा छन्

बूढो प्रेक्षालयको  

नयाँ दर्शकहरूको खोजीजस्तै !

धत् ! लाजै छैन 

समयलाई पनि

प्रेक्षालयलाई पनि ।

दर्शक १ : ओ महाशय ! तपार्ईं को ? दर्शक कि कलाकार ? हामी यहाँ तपार्ईंका कविता सुन्न आएका होइनौँ ? 

दर्शक ३ : कविताले मञ्च पाउने समय हैन यो । 

निर्देशक : तपार्ईंले ठीक भन्नुभयो । सायद कविताले मञ्च पाउने समय हैन यो । तर मञ्चले कविता पाइरहेको छ । म पनि मञ्चकै एउटा कविता हुँ । थपमा तपार्ईंहरू मलाई निर्देशक भन्न सक्नुहुन्छ । यस नाटकको निर्देशक आकार नेपाली । मैले महिनौँ पूर्वाभ्यास गरेर तयार पारेको यस नाटकको अन्त्य यसरी होला भन्ने कुराले सयमा एक मन पनि चिताएको थिइनँ । आज नाटककारको मृत्युमाथि विभिन्न प्रश्नहरू जन्मिएका छन् । म तिनै प्रश्नको उत्तरको खोजीमा मञ्चमा देखा परेको छु । तर मलाई थाहा छ, मञ्चबाट कुनै उत्तर आउँदैन । त्यसको उत्तर खोज्न म निक्कै टाढा पुग्नुपर्छ । यस नाटकको सनाखत हुन बाँकी नै छ । त्यसैले सनाखत नभएको नाटकलाई सार्वजनिक गर्ने अधिकार मसँग छैन । बरु यसको विसर्जन गर्ने घोषणा गर्दछु । नाटककारको मृत्युको घोषणा ! नाटकको मृत्युको घोषणा ! जय नाट्यश्वरी !

  • निर्देशकले मञ्चलाई ढोग्छ ।
  • चारैतिर हेर्छ र विचित्रको हाउभाउ गर्दै प्रस्थान गर्छ ।  

अभिनव : (मञ्चबाट प्रस्थान भइसकेको निर्देशकलाई ठूलो स्वरमा सुनाउँदै) निर्देशकमहोदय ! सुन्नुस् ! तपार्ईंले यसरी आफूखुसी नाटकको अन्त्य गर्न पाउनुहुन्न । 

दर्शक १ : हैन, तपार्ईं के भन्न खोज्दै हुनुहुन्छ ?  

अभिनव : म यो सनाखत हुन नसकेको अभिशप्त नाटकबाट सन्यास लिँदै छु । मलाई खेल्नुछैन अब यो नाटक । 

  • मञ्चमा हतारिँदै दृष्टिको प्रवेश हुन्छ । 
  • अभिनवको अवस्था देखेर दृष्टि उसलाई सम्हाल्न खोज्छिन् । 

दृष्टि   : अभिनव ! यो के भनेको तिमीले ? तिमीले कसरी नाटकबाट सन्यास लिन सक्छौ ? अहँ, यो घोषणा फिर्ता लिनुपर्छ तिमीले । एउटा नाटककारको अन्त्य भयो भन्दैमा नाटकबाटै सन्यास लिनु ठीक होइन । तिम्रो आफ्नै अस्तित्व छ अभिनव ! बिन्ति छ फर्क ! रङ्गमञ्चको उज्यालोमा नै फर्क । उता केवल अन्धकार मात्र छ ।   

  • अभिनव दृष्टिको कुरा सुन्दैन । 
  • दृष्टि उसलाई ‘अभिनव ! अभिवन !’ भनी बोलाउँदै पछि लाग्छिन् । 
  • एक्कासि मञ्चको आलोक हराउँछ ।
  • मात्र दर्शकदीर्घामा आलोक देखिन्छ । 
  • अपात्र दर्शकदीर्घाको बीचमा एउटा प्ले–कार्ड बोकेर उभिएको देखिन्छ । 
  • जसमा लेखिएको हुन्छ– ‘कृपया ! यस नाटकको सनाखत गरिदिनुहोला । बाहिर हस्ताक्षर सङ्कलन कार्य भइरहेको छ ।’
  • सायद यतिबेला दर्शक हस्ताक्षरका निम्ति बाहिर गइदिनु उचित हुनेछ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल