निबन्ध

हिरोसिमाको बम आक्रमणमा बचेकी कवि

Poet who Survived Hiroshima Atomic Bomb Attack
भीष्म उप्रेती

स्कटल्यान्डकी बरिष्ठ कवि टेस्सा रेन्सफोर्डले जापानकी कवि बन हासिजुमेको बारेमा इमेलमा लेखिन् — “कवि बन हासिजुमे दोस्रो विश्वयुद्धमा हिरोसिमामा अमेरिकाले खसालेको आणविक बमको शिकार हुँदाहुँदै बचेकी कवि हुन् । जापान जाँदैछौ भने उनलाई पनि भेट ।” टेस्साको इमेल पढेपछि मभित्र लेखक बन हासिजुमेप्रति एकाएक आकर्षण र रुचि बढ्यो । सेप्टेम्बर २६ तारिखमा अन्तर्राष्ट्रिय पेनको ७६ औँ सम्मलेनको उद्घाटनपछिको रात्रीभोजमा थुप्रै जापानी साहित्यकारहरूको बीचमा भएको बेलामा मैले सोधेँ — “म आज कवि बन हासिजुमेलाई पनि भेट्न सकुँला ?”
आजकी जापानकी प्रसिद्ध कवि चिकाइ तानिगुचीले मलाई एकछिनपछि बन हासिजुमेसँग भेट गराइदिनुभयो । सानी कदकी, गोरी, टाउकोमा ह्याट लगाएकी, आँखामा पावर चश्मा लगाएकी कवि बन हासिजुमेलाई भेटेपछि एकछिनसम्म हेरि मात्र रहेँ । उहाँ भने मेरा आँखामा हेर्दै उज्यालो मुस्कुराउनुभयो । हिरोसिमामा सन् १९३१ मा जन्मनुभएकी उहाँ ७९ वर्षकी हुनुहुन्थ्यो तर झट्ट हेर्दा पचास वर्ष हाराहारीकी जस्ती देखिनुहुन्थ्यो । त्यसैले अभिवादन गरेपछि अचम्म मान्दै सोधेँ — “के बन हासिजुमे तपाईं नै हौ ? साँच्चै ?”

उहाँले झन् उज्यालो मुस्कुराउँदै भन्नुभो — “हो, मै हुँ ।”

“झन्डै आधा उमेर चाहिँ घरमै छोडेर आएजस्ती देखिनुहुन्छ ।” भनेँ । यसपछि तानिगुची शानसँगै बन शान र म पनि हाँस्यौँ ।

“तपाईँ मलाई एकछिन समय दिन सक्नुहुन्छ ? म हिरोसिमाका तपाईंका अनुभवहरू सुन्न चाहन्छु ।” भनेँ । वास्तवमा म आफू जन्मनुभन्दा अघि घटेको त्यस भयङ्कर त्रासदीपूर्ण आतङ्कले जन्माएको उहाँको अनुभूतिलाई सबिस्तार सुन्न चाहन्थेँ ।

उहाँले गम्भीर हुँदै भन्नुभो —  “मलाई त्यो समय सम्झन मन लाग्दैन ।”

उहाँको कुरा सुनेर मेरो मनबाट एकाएक खुशी खस्यो क्यार ! मलाई हेर्दै उहाँले फेरि भन्नुभयो — “मेरो अङ्ग्रेजी त्यति राम्रो छैन । त्यसैले धेरै कुरा भन्न सक्तिनँ तर मैले लेखेको संस्मरणको किताब अंग्रेजीमा अनुवाद भई छापिएको छ । म तपाईंलाई त्यो ल्याइदिन्छु है ।”

मैले “हुन्छ” भनेँ । तानिगुची शानले हाम्रो संयुक्त फोटो खिचिदिनुभो । त्यस साँझ हामीले रात्रीभोज सँगै खायौँ र छुट्टियौँ ।

दुई दिनपछि बन सम्मेलनमा फेरि आउनुभो । उहाँले मलाई शान्तिलाई प्रतिबिम्बित गर्ने नीलो रङको जिल्दा भएको उहाँले लेखेको संस्मरण र कविताहरूको उहाँजस्तै सानो कदको पुस्तक दिनुभो । त्यो पुस्तक पल्टाएर पढ्ने उत्सुकताले मलाई सम्मलेनका विविध कार्यक्रमहरूमा ढुक्कले बस्न दिएन । साँझमा वासस्थान चाँडै फर्किएँ र उहाँको किताब झोलाबाट झिकेर पाना पल्टाएँ ।

उहाँ सन् १९४५ अगष्ट ६ तारिखमा जापानको हिरोसिमामा अमेरिकाले आणविक बम खसाउँदा १४ वर्षकी हुनुहुँदो रहेछ । लडाइँको बेला भएकोले त्यसबेला जापानका सबै स्वस्थ पुरुषहरूले सेनामा भर्ना हुनुपर्ने रहेछ भने सबै महिलाहरूले आफू बसेको शहर वा गाउँमै रहेका कार्यालयहरूमा काम गर्नुपर्ने रहेछ । उहाँ स्कुले विद्यार्थी त हुनुहुन्थ्यो नै साथै विद्यार्थी परिचालन श्रम योजना अन्तर्गत हुलाक बचत बैंकमा कार्य गर्नुहुँदो रहेछ । उहाँले लेख्नुभएको छ — “ १९४५ अगष्ट ६ को बिहानै आठ बजे पक्की भवनको दोस्रो तल्लामा रहेको कार्यालयमा पुगेर झ्यालमा उभिइरहेकी थिएँ अनायस आकासबाट सूर्य आफ्नै पाउमा खसेझैँ ज्यादै उज्यालो प्रकाश चम्कँदै धपक्कै बलेर खस्यो । बिस्फोटपछि मेरा आँखामा एकै पटक हजारौँ इन्द्रेणीहरू देखा परे । शायद मैले तुरुन्तै होशहवास गुमाएँ । जब ब्यूझिएँ म आफू कोठाको बीचभागमा रहेको खम्बाको आडैमा थिएँ । हामीलाई बम पड्केको समयमा पेटलाई जोगाउन घोप्टो परेर भुइँमा सुत्न भनिएको थियो, आँखाको प्रकाश जोगाउन आँखा बन्द गर्न र कानको सुन्ने शक्तिलाई बचाउन औँलाले कानलाई थुन्न भनिएको थियो । मैले त्यसै गरेँ ।”

म उहाँको लेखाइले झनै बाँधिदै गएँ, उत्सुकताले झनै तानिँदै गएँ । उहाँले लेख्दै जानुभो — “केही पछि जब मेरा आँखाको दृष्टि प्रष्ट हुँदै आयो तब आँखालाई बिस्तारै वरिपरि घुमाएँ । हातलाई टाउकोबाट हटाएँ । हातभरि रगत थियो । टेबुलको -याकमा प्राथमिक उपचारको सामग्री राखिएको थियो तर टेबुल, कुर्सी, खातापाता, किताबका -याकहरू र त्यहाँ राखिएका किताब सबै कोठाभरि छरपष्ट थिए । बल्लबल्ल मैले खोजेको सामग्री भेटेँ र रगत बगिरहेको टाउकोमा बेन्डेज लगाएँ । यसैबेला कसैको आवाज सुनेँ — “बाहिर निस्क सबै, तुरुन्तै ।”

यसबेला उहाँकी सहकर्मी साथी मिस तोमोयाङ्गी भुइँमा रक्ताम्य भएर रोइरहेकी रहिछिन् र उनलाई नजिकैको रेडक्रसको अस्पतालमा लगिदिन बनलाई सकिनसकी आग्रह गरिछिन् । बन शानले बाहिर हेर्दा नाङ्गो जमिनमा सर्वत्र आगो बलिरहेको देख्नुभएछ ।

बनकै शब्दलाई पछ्याएँ यहाँनेर । उहाँ लेख्नुहुन्छ — “अस्पताल मानव सागरले भरिएको थियो । अधिकांश मानिसहरू जलेका थिए, जलेर फर्सीजस्तै सुन्निएका र अङ्गभङ्ग भएका थिए । उनीहरूमध्ये कति जना त आँखा र पेटलाई भित्र साविककै ठाउँमा पठाउन ठेलिरहेका थिए । मान्छेहरू जलेर कतिसम्म काला ठुटा भएका थिए भने उनीहरूको उमेर र लिङ्ग छुट्याउन असम्भव भइरहेको थियो ।”

उहाँको अनुभव जति नै कठोर र हृदयविदारक भए पनि नदीजस्तै बगेको थियो किताबमा । एउटा गजबको शक्ति थियो त्यहाँ जसले एकोहोरो तानिरह्यो । मैले त्यो सानो पुस्तकको अन्तिम पानामा भएको अन्तिम अक्षर समेत पढेपछि मात्र बन्द गरेँ । त्यहाँ भएका चार ओटा कविताहरू पनि पढेँ । रातिको एघार बजेर पनि समय अगाडि गइसकेको थियो । तर आँखामा धेरैबेरसम्म निद्रा आएन । त्यो दारुण एवं कहालिलाग्दो विगतको काल्पनिकता मात्र नाचिरह्यो धेरैबेर । उहाँका कविताहरूलाई सम्झन थालेँ –

किशोर

यहाँ हिरोसिमाको सिमानामा
घाँसले भरिएको शैनिकले परेड खेल्ने चउरमा
सवा आठ बजे
एक किशोर
यति सबेरै
किराहरू खोज्दै आएको हो ?
अचानक
प्रकाशको तेजिलो चमक त्यस किशोरमाथि बर्सिन्छ
उसलाई आगोको खम्बामा बदल्दै
तत्कालै कोइलामा सीमित गर्छ
ऊ खुइलिएको चउरमा लड्छ
लमतन्न खुट्टा फालिएको, पाखुरा फैलाइएको
कालो, निस्सार रित्तो आँखाले माथि आकाशतिर ट्वाल्ल हेरिरहेको
मौन भएर हल्ला मच्चाएभैझैँ मुख खुल्लै छोडेको
के ऊ आफ्नीआमालाई बोलाइरहेको छ ?
आफ्ना भाइहरूलाई, बहिनीहरू वा साथीहरूलाई बोलाइरहेको छ ?
अथवा यातनाले चिच्याइरहेको छ ?
एउटै मात्र दाँत पनि बाँकी नरहेर
अथवा औँलाका कुनै नङहरू समेत बाँकी नरहेर
अझै नरक धपधपी बलिरहेको छ
किशोर
खरानी र कोइलामा मात्र बाँकी छ  ।



स्कुलको खेल्ने चउर

साकुमा काजुको
साकुमा काजुको
खेल्ने चउरभरि चारैतिर छरिएका
शरीरहरूको थाकमाथि लडिरहेकी
काजुको उनका बुबाले
उनको नाम बोलाइरहेको सुन्छिन्
उनको बुबाको आवाज
नजिक, झन्झन् नजिक आइरहेको छ
उनको बुबा उनको खुट्टाको नजिकै उभिन्छन्
तर जलेकी उनी
जलेर पाकेका आँखाले देख्दिनन्
नजिकै उभिइरहेका उनका बुबालाई
जीवनविहीन बनेका छन्
उनका जलेका पाखुरा र खुट्टाहरू ।

आफ्नी प्रिय छोरीलाई
जलेका, छाला निस्केका, डढेका
चउरभरि सर्वत्र छरिएका टालाहरूजस्ता शरीरहरूको बीचमा
कसरी भेट्टाउने भन्ने थाहा नपाएर
उनका बुबा यताउता हिँडिरहेका छन्
अत्यन्त चिन्तित हुँदै
उनको नाम बोलाउँदै ।

काजुको पनि रुन्छिन्
पटकपटक
तर आवाज बाहिर आउँदैन
उनको घाउ लागेको र सुन्निएको घाँटीबाट ।

उनको बुबा हिँडेको
र उनलाई बोलाएको आवाज
बिस्तारैबिस्तारै
टाढा झन् टाढा दूरी बढाउँदै जान्छ
काजुकोका गालामा
आँसुको भेल बग्छ
उनी बाँचेको एक मात्र संकेत देखाउँदै ।

उहाँका कविताभरि छरिएका पीडाको गहिराइलाई अनुमान गर्दै टोलाइरहेँ । कतिबेला आँखामा निद्रा बस्यो थाहा भएन ।

यस आणविक आक्रमणमा बन हासिजुमेले एक जना भाइ र एउटी बहिनीलाई पनि गुमाउनुभएछ । उहाँ र उहाँकी आमा भने नराम्रोसँग घाइते भएछन् । उहाँमा शारीरिक र मानसिक रूपले त्यस अकल्पनीय नरसंहारको असर धेरै पछिसम्म परिरहेछ । Collagen भन्ने विमारले सताएपछि उहाँलाई बढीमा एक महिना मात्र बाँच्न सक्ने भनिएछ । त्यसपछि त्यो कहालि, छटपटी र निराशाबीचमा उहाँले आफूभित्रको बोझलाई बिसाउन लेख्न थाल्नुभएछ । भाग्यवश उहाँ तोकिएको आयुभन्दा धेरै वर्ष बाँच्नुभयो । यस बीचमा घरबार बसाउनुभयो । घरपरिवार र व्यवहारले बिस्तारै उहाँको शारीरिकसँगै मानसिक घाउमा समेत मल्हम लगाउन थालेपछि लेखन भने बिस्तारै पछि नै छुटेछ । धेरै वर्षपछि उहाँको छोराले उहाँसँग हिरोसिमा घटनाको अथाह अनुभव भएर पनि त्यसलाई उपयोग नगरेको भनी गुनासो गरेपछि उहाँले मानिसहरूलाई जीवन कति मूल्यवान एवं महत्वपूर्ण छ भन्ने बताउन एवं हिरोसिमा घटनाजस्तै अर्को कहालिलाग्दो विनाश हुनबाट दुनियाँलाई जोगाउन मद्दत पुगोस् भन्ने हेतुले जति नै दारुण भए पनि आफ्ना अनुभवहरूलाई लेख्ने अठोट गर्नुभएछ । उहाँले कविता, निबन्ध एवं आत्मकथा लेख्नुभयो । उहाँको पहिलो पुस्तक सन् १९८५ मा The Youth Who Turned into an Insect शीर्षकमा छापिएको छ । यसमा आणविक बमवर्षा र त्यसको परिणामस्वरुप मानिसहरूले भोगेको सघन दुःखलाई केन्द्रीय विषयको रूपमा लेखिएको छ । यसैगरी, उहाँको दोस्रो कवितासंग्रह सन् १९९० मा प्रकाशित भएको छ भने कविता र निबन्धको संग्रह सन् १९९३ मा प्रकाशित भएको छ । उहाँको ‘मेमोयर्स अफ अ फोर्टिन इयर्स गल्र्स एक्सपेरियन्स अफ द एटोमिक बम’ नामको संस्मरणसंग्रह समेत प्रकाशित छ ।

भोलिपल्ट मैले उहाँलाई एउटा कार्यक्रममा भेटेँ । यस पटक भेट्दा मैले उहाँलाई निकै धेरै चिनेको थिएँ । अब उहाँसँग कुरा गर्न मलाई निकै सहज भएको अनूभव गरेँ । मैले उहाँलाई नियालेर हेरेँ तर झट्ट हेर्दा उहाँ आणविक बमको अकल्पनीय धक्काले भित्रभित्रै त्यति धेरै भत्कनुभएको होला भन्ने अनुमानै हुँदैनथ्यो । उहाँको कम बोल्ने स्वभाव पनि शायद त्यही दारुण घटनाले दिएको उपहार हुनुपर्छ भन्ने पनि लागिरह्यो ।

मैले भनेँ — “मैले पढेँ । सबै पढेँ एकै सासमा ।”

उहाँ फेरि साकुरा मुस्कान मुस्कुराउनुभयो र धन्यवाद भन्नुभयो ।

“तपाईंको लेखाइमा धेरै शक्ति छ । तपाईंको अनुभव पढेपछि म जीवनलाई झन् धेरै माया गर्ने भएको छु । मलाई मानिसका सपना बोकेका आँखाहरू झनै मन पर्न थाले, मायाले भरिएका मान्छेहरूका मुटुलाई कसरी फुटाउनु बमले ? अहँ, म त सक्तिनँ ।” मैले भनेँ ।

“कसैले पनि र कहिल्यै पनि नसकोस् ।” उहाँ यति भनेर चूप लाग्नुभो ।

मैले उहाँलाई त्यो असीम शान्तिमै रहिरहन दिएँ । सोचेँ — जीवनमा धेरै खण्डहर र अशान्ति भोगेकी उहाँलाई गहिरो शान्ति र ध्यानको अझै आवश्यकता छ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल