निबन्ध

वैशाख १२ को मध्यान्हकालीन विनाशकारी उत्पात भोगेपछि

Experiencing a disastrous havoc at a midday
डा. गोविन्दराज भट्टराई

विक्रम सम्वत् २०७२ साल वैशाख १२ गते (तदनुसार इस्वी सम्वत् २०१५ अप्रिल २५ तारिख) शनिवारको दिन । नेपाल लोकवार्ता समाजको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजना गरिएकोले त्यसमा भाग लिन भनी म एकाविहानै कीर्तिपुरबाट निस्केँ । मैले “भानुभक्ताचार्यकृत नेपाली रामायणमा पाइने लोक संस्कृतिका अवयव” शीर्षकको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम थियो । दुईदिने सेमिनारको दोस्रो दिन थियो । दिउँसो साढे ११ बजे मैले आफ्नो कार्यपत्र प्रस्तुत गरेपछि पहिलो सत्र पनि सम्पन्न भयो । तत्कालै मैले ट्याक्सी लिएर कीर्तिपुर फर्केँ । कार्यक्रम समापनपछिको चियापानमा म सहभागी हुन चाहिन किनभने शनिबारको दिन हुनाले घरमै सबैजनासँगै बसेर भोजन गर्ने मन थियो । हाम्रो भोजन शुद्ध शाकाहारी हुने गर्छ ।

 

काठमाडौं उपत्यकाबाट झण्डै १५ किलोमिटर टाढा रहेको कीर्तिपुर नगरपालिकास्थित सुकर्म टोलमा आएपछि म ट्याक्सीबाट ओर्लेँ । सुकर्म टोलको अर्थ चाहिँ “उच्चतम कार्य सम्पादन गर्ने आवास क्षेत्र” भन्ने हो । यस आवास क्षेत्रमा २/४ वटा घरहरु मात्र छन् । उर्बर फाँटका बीचमा पक्की सडक बनाएइको छ । त्यसको तल्लोपट्टि यो बस्ती छ । यस फाँटमा प्राचीन कालदेखि कृषि कर्ममा जुटेका यहाँका किसानले धान थन्क्याएपछि नै गहुँ खेती गर्छन् । वरिपरि गहुँका बाला लहराएको देखिने यस फाँटमा आजभोलि भवनै भवनले यो सौन्दर्य निख्रँदैछ, योजनाबेगर बनाइएका घरहरु थपिने क्रममा छन् । दायाँ वायाँ, तलमाथि चारैतिरबाट यहाँको कञ्चन सौन्दर्य धरापमा पर्दैछ, साँगुरिँदै र घेरिँदैछ । यो प्राचीनस्थलको मौलिकतालाई भवन निर्माण कार्यले वास्तवमै छिटोभन्दा छिटो निल्दैछ, सखाप पार्दैछ ।

 

उच्च शिक्षा हासिल गर्ने आकाङ्क्षा बोकेर वि.सं २०२८ मा म पहिलोपटक काठमाडौं आइपुगेँ र सिधै कीर्तिपुर ओर्लैं । त्यतिबेलाको यो भूदृश्य अति उर्वर थियो । त्यसैले त सबैका लागि आकर्षणको केन्द्र पनि बन्न गयो । सस्याना झाडी बुट्यानदेखि अग्ला रुखहरु थिए । तिनै झाडी बुट्यानका बीचमा नागबेली आकारका गोरेटाहरु पस्थे । मानिसहरुले ‘यो बाटो नजानोस्, बाबु त्यहाँ त चोर र धूर्तहरु लुकेका हुन्छन्’ भनेर हामी बटुवालाई सतर्क गराउँथे । हामी त्यतातिर गएनौँ पनि ।

 

त्यस निर्जन क्षेत्रमा मुश्किलले आठ दशवटा घर कटेरा देखिन्थे । शायद किसानका गोठ थिए होलान् । वैशाख जेठको याममा पनि घिरौँला चिचिण्डा आदिले खरका छाना ढकिएका देखिन्थे । कुना काप्चातिर गाईवस्तु चरेका देखिन्थे तर जमिनको धेरैजसो भाग धापिलो थियो त्यहाँ धानको बीउ रोखेको देखिन्थ्यो । साढे २ दशकपछि त्यहाँको जग्गामा कीत्ताकाट गर्दै घडेरी बनाइयो र बिक्रीका लागि खुला गरियो । २०४६/४७ सालतिर हामीले त्यहीँ घडेरी किन्यौँ तर पनि बसोबास गर्न अझै डरलाग्दो अवस्था थियो । जसोतसो हामीले आवास बनायौँ र त्यहाँ स-यौँ– शुरुमा केवल दुई परिवारमात्र थियौँ । त्यतिबेला निकै डर लाग्थ्यो– छाडा गाईवस्तुको शिकार गर्न रातैपच्छिे चितुवा आउँथे अनि भुस्याहा कुकुरले फ्याउरा र स्याललाई बिहानसम्म लखेटिरहरन्थे । उल्लू कराउँथे, खरायो र वनबिराला दिउँसै वनवनमा कुद्थे । हिजोआजका नानीहरुलाई यो सबै कुरा दन्त्यकथाजस्तो लाग्छ । त्यति विशाल फाँट आज भवनहरुले भरिएको छ; एकाध घडेरीहरु डोजर घातको प्रतीक्षामा छन्– त्यहाँ कति जग खनिने हुन्, कति खाडल खनिने हुन्/प्वाल पारिने हुन्, भनिसाध्य छैन । ठेकेदारहरुले ढुङ्गा, बालुवा, गिटी, ईट र काठ यत्रतत्र थुपारेका छन् । कति ठाउँमा कुरुवाहरुका लागि अस्थायी टहरा बनाएर उर्बर भूमि रित्याइसकेका छन् । काठमाडौं उपत्यकाको उर्बर भूमि यसरी मानवीय अतिक्रमणको चपेटामा परेको छ । अबको एक दशकभित्रै यहाँ कतै खेतबारी रहने छैन ।

 

त्रिभुवन विश्वविद्यालय नेपालकै पहिलो विश्वविद्यालय हो साथै नेपाली विद्वान्/प्राज्ञहरुको धरोहर पनि हो । हाम्रा भट्टराई निवास त्रि. वि. परिसरबाट दश-पन्ध्र मिनेटको दूरीमा अवस्थित छ  । त्यसैगरी नेपालकै अति प्राचीन कीर्तिपुर नगरबाट पनि हाम्रो घर दशै मिनेटको दूरीमा अवस्थित छ । कीर्तिपुर नगरमा देवता र मानवको समन्वय देखिन्छ । यहाँको नेवारी समुदायका मानिसहरु बाघभैरव मन्दिरको परिसरमा प्रातकालीन एवं सन्ध्याकालीन भजनकीर्तन र देव आराधनामा उमङ्गित भएको दृश्य अद्यापि देखिन्छ । यहाँ धार्मिक-साँस्कृतिक मेला, प्रदर्शनी, जात्रा, अनुष्ठान तथा प्रसाद ग्रहण बाह्रैमहिना चलिरहन्छ । वास्तवमा कीर्तिपुरको छुट्टै चिनारी छ । हाम्रो घरको रातो वरण्डाबाट माथितिर फर्केर हेर्दा अग्लो थुम्कोमा अवस्थित यहाँका मन्दिरहरु, दरबारहरु तथा प्राचीन शैलीका घरहरु पाखापट्टिको सल्लाघारीबाट छेलिएको दृश्य सहजै देखिन्छ । वसन्त ऋतुमा ती रुखहरु सुस्साएको र बताससँगै ढलपल गरेको देखिन्छ । कीर्तिपुरको थुम्कालाई हेर्दा मलाई सामुद्रिक ज्वाराभाटाका बीचमा अवस्थित ग्रीसेली सामोस टापूको याद आउँछ । कीर्तिपुरमा अहिले अव्यवस्थित बसोबास बढेको छ तापनि काठमाडौं शहरको कोलाहल र बेफुर्सदबाट पृथक र पवित्र छ । कीर्तिपुर मात्र होइन, सिङ्गो काठमाडौं उपत्यकाको मौलिक लय छ, चारभञ्ज्याङभन्दा बाहिरको संसारसँग यो नितान्त नौलो छ ।

 

हाम्रा घरको छतबाट ऐतिहासिक काठमाडौं नगरीको अनोठो झलक देखिन्छ– काठमाडौंको एकापट्टि ऐतिहासिक भक्तपुर शहर र अर्कापट्टि कलात्मक पाटन शहर जोडिएका छन् । यी दुवै शहरहरु जीवन्त सङ्ग्रहालय हुन् किनभने साँस्कृतिक सम्पदाका दृष्टिले यी दुवै शहरहरु अतीव सम्पन्नशाली छन् । हाम्रो घरबाट काठमाडौं शहर उति धेरै देखिँदैन तर बाघभैरव मन्दिर परिसरबाट हेर्दा लगभग पूरै शहर देख्न सकिन्छ । कीर्तिपुर क्षेत्रमा भूकम्प जाँदैन अर्थात् भूकम्पले कुनै हानि नोक्सानी पु-याउँदैन भन्ने लोकोक्ति छ । यसो भन्नुका पछाडि भौगोलिक र साँस्कृतिक कारणहरु छन्– एक थरिले, यो पूरै शहरको गर्भमा एउटै आधारशीला लमतन्न परेको छ, त्यो पत्थर कसैगरी पनि हल्लँदैन भन्छन् । अर्का थरिले शिव भगवान्को नरसिंहवतार (?) का रुपमा रहेका बाघभैरव देवताले यस क्षेत्रको रक्षा गरेका छन् यहाँ केही हुँदैन भन्छन् । यस विषयमा म अनभिज्ञ रहेकाले यी दुवै तर्कको परीक्षण  भूगर्भविद्हरुले नै गरुन् ।

 

अँ, म ट्याक्सी चढेर कीर्तिपुर आउँदै थिएँ । ट्याक्सी चालकलाई ३३५ रुपैयाँ थमाइदिएर उनलाई बिदा गरेँ । ट्याक्सी रोकिएको ठाउँबाट हाम्रो घरसम्म अलि ठाडो ओरालो सडक छ । म ओरालो लागेँ । त्रि. वि. मुख्य प्रवेशद्वार नजिकैको बुढाथोकी नर्सरीबाट फूलका केही बेर्ना लिएर रविन नाति पनि आउँदै रहेछ, ऊ मेरा अघि अघि हिँड्दै थियो । काठमाडौंको जाडो भरखर सकिएर गर्मी मौसम लागेको बेला थियो ... ऊ त्यस्तै ८/१० कदम अगाडि हुँदो हो– म तिनै फूलका बेर्ना हेरेर कल्पनामा हराइरहेको थिएँ– बगैंचामा यी बेर्ना सारेर फुलेपछि कति राम्रो देखिएला ! तिनको मगमग बासनाले अर्कै आनन्द देला ! वरण्डामा सजाउँदा पनि खूब राम्रो सुहाउला ! ती बेर्नामा नातिले साँझ विहान पानी हाल्छ नै । ती फूल फुलेपछि सेवा र ऋचा छोरीहरुले ‘अहा, कति राम्रो !’ भन्दै फूल टिप्लान् । साँच्चिकै, विपनाभन्दा सपना कति सुन्दर हुन्छ है ! मैले यस्तै मीठो सपना बुन्दै थिएँ, त्यसैमा हराइरहेको थिएँ ।

 

अँ, रविन दश फिटजति अगाडि थियो । उसले हाम्रो घरको बाहिरी गेट खोल्यो, आगनमा पस्यो अनि भित्री फलामे गेट खोल्यो । यो गेटमा गाढा कालो रङ लगाइएको छ । शुरुमा आसमानी वा प्याजी वा गाढा रातो रङ लगाउने सोच पनि थियो तर मैले त्यसो गरिनँ । खाटी चोर र टिपटापे चोरहरुले रातको समयमा मेसो नपाउन् भनेर जापानी वार्निस लगाउने निर्णय गरेको थिएँ ।

 

मुख्य प्रवेशद्वारको आडैमा सानो बेञ्च राखिएको छ, म त्यसैमा बसेँ । अङ्ग्रेजीको ‘बेञ्च’ शब्दलाई कसैकसैले ‘ब्रेञ्च’ पनि भन्छन् । यसो भनेको सुन्दा गोराहरुलाई अचम्म लाग्दो    हो । अनि मैले जुत्ता काढेँ, मुजा तानेँ र सगरठेलामा पाइला राख्दै थिएँ अनायसै झड्का लागेको महसुस गरेँ । त्यस शक्तिशाली र सातो उडाउने झड्काले मलाई पारि भित्तामा हुत्याइदियो । जसोतसो गरेर उठ्न खोज्दै थिएँ, सिङ्गै घर लडाएर भुँइमा ढालेजस्तो अनुभव भयो । मेरो होश हवास उड्यो र अकस्मात् ‘बाबु, भाग्’ भनेर चिच्याएँ र ऊ पनि पछारिँदै उठ्तै गर्न थाल्यो । म उसकै पछि लागेँ । आगन कटेर गेटनेर पुग्नै लाग्दा भयानक राक्षसले लात मारेजस्तो भयो, म फेरि ढलेँ, त्यसलाई नटेरिकन फेरी उठेँ र निहुरी पर्दै खुला सडकतिर भाग्न खोजेँ । यस सडकका दुवैतिर पुराना इँटा लगाएका पर्खाल छन् । मैले देबे्रतिरको पर्खालको आड लिँदै घरि लड्दै घरि चार हातखुट्टाले टेक्तै स्वतः घस्रेँ हुँला जस्तो लाग्छ । धरती कम्पायमान/थर्कमान भएको बखतमा हिँड्नु कति भयानक कुरा रहेछ । मैले आफू दौडेको छु भन्ने सोच्थेँ तर म सपनामा झैँ उत्तेजनामा थिएँ । तर पनि कसो कसो गरेर कालबाट बच्तै भागेँ । जम्मा ५८ सेकेण्डको प्रलयकारी घडीमा मैले यसबाहेक अर्थोक के नै गर्न सक्थेँ र ! त्यो राक्षसरुपी भूकम्प चानचुने थिएन । एकछिन त ऐठनले छोपेजस्तै भयो ।

 

म उभिन नसकेकाले सडकछेउ खसेका पुराना इँटमाथि टुसुक्क बसेँ । चारैतिर अन्धकार भयो । मैले केही पनि देखिनँ । केही पनि सुनिनँ । मलाई केवल चक्करमात्रै लाइरह्यो, म थकानले क्लान्त थिएँ । मेरो बाँच्ने आशा मरिसकेको थियो । धरती पिङ खेलेजस्तो लागेको थियो ।

 

उता रविन चाहिँ भाग्ने क्रममा थुम्कामा घोप्टोमुख लाएर लम्पसार परेको देखेँ । ऊ घाइते भैसकेको रहेछ । ‘हजुरआमा खोई ? अन्जना कहाँ छिन् ?’ भनेर सोधेँ । त्यो पनि सपनामा नै बोलेँ जस्तो लाग्छ । ‘हजुरआमा र फुपू भित्रै हुनुहुन्छ’ भन्दै थियो उसले । हे प्रभो, घरभित्र के कसो गर्दै होलान् यो विपत्तिमा ? तर यति पनि मैले आफू सुरक्षित छु भनेपछि मात्रै सम्झेँ, पहिल्यै सोधखोज गर्ने होशै आएन ।

 

वरिपरिका सबै घरहरु नाचे जस्ता देखिन्थे; मच्चिए जस्ता, पिङ खेलेजस्ता देखिन्थे । घरका के कुरा, त्यस महाभूतका अगाडि  डाँडाकाँडा नै लम्पसार परेजस्ता देखिन्थे । पूरै धरती हल्लेको महसुस हुन्थ्यो । मैले हाइटी, जापान, चिली, तुर्कमिनिस्तान, इन्डोनेशिया र इरानमा प्रलयकारी भूकम्प गएको कुरा सुनेको (र देखेको) थिएँ तर धरती नै कम्पायमान बनाउने यति शक्तिशाली कम्पन आए होला भन्ने चाहिँ कल्पना पनि गरेको थिइनँ ।

 

धेरै बेरपछि मैले मेरी अञ्जना बडो भयभीत मुद्रामा ढोकामा उभिएको देखेँ । ‘यस बेलासम्म कहाँ थियौ तिमी ?’ मैले भयमिश्रित स्वरमा भनेँ । ‘आज साह्रै थाकेकीले खाटमा पल्टेकी थिएँ, झकाएँछु । एक्कासी खाट हल्लन्छ डरलाग्दोसँग । अनि उठेँ । खाट हल्लन छोड्ला र बाहिर निस्कूँला भनेर खाटैमा बसिरहेँ । भगवान् पुकारेँ– राम ! राम !! राम !!! उनैको खटनपटन हो, जे गर्छन् उनै गर्छन् । हामी त निरीह छौँ । हाम्रो केही जोर चल्दैन । कति बेलासम्म बाँचिन्छ र कति बेला मरिन्छ, कसैलाई थाहा हुँदैन । दैवको खेल न हो ।’ उनले यस्तै भनिन् ।

 

आपत्को घडीमा आफूलाई सम्हाल्ने एउटा उपाय यो पनि हो । यस संसारका घटना-चक्रलाई परास्त गर्न सक्ने र सत्यलाई बुझ्न सक्ने कोही छैन । सत्यलाई भ्रंमात्मक पत्रदलले, जालै-जाले छेकेको छ । वास्तवमा कुनैपनि आस्था र विश्वास पूर्णरुपेण साँचो छैन । कुनै पनि आस्थाले हामीलाई वास्तविक सत्यका समीप्यमा पु-याउन सक्तैन । यस जगत्को सृष्टि रहस्यको गुह्य थाहा पाउन कसले सक्छ ? अबेरमा बल्ल सेवा नानी ढोकामा देखिइन् । उनी भुइँतलाको कोठामा ल्याप्टप चलाउँदै थिइन् होला । त्यस क्षणमा ‘के भन्ने ’ भन्ने नै मलाई थाहा भएन । म अवाक् भएँ । मेरा मन मुटुले चाहिँ ‘नानी, तिमी कहाँ थियौ ?’ भनिरह्यो । डरले उनको अनुहार निलोकालो देखिन्थ्यो । उनी पनि अवाक् थिइन्, एक शब्द बोल्न सकिनन् । साना नानीहरु आफ्ना अभिभावक समक्ष निरीह भएर रोइकराइ गरे झैँ उनी पनि लुग्लुग कामेकी थिइन् । त्यसपछि मैले कान्छी नानी ऋचालाई सम्झेँ– यस घडीमा यी सान्नानी के गर्दै होलिन् ? हे भगवान्, बचाऊ !

 

यसको दुई मिनेटपछि अर्को धक्का आयो । हाम्रा वरिपरिका घरहरु धुजाधुजा हुनलाई ठिक्क परेजस्ता देखिन्थे । त्यतिबेलासम्म हाम्रा छिमेकीहरु पनि एकएक गर्दै घरबाहिर निस्कन थालेका थिए । घरहरु सुनसान हुनथाले । सबैजना त्यही ओरालो सडकको खुला ठाउँमा जम्मा भए । ती सबैजनाको हालत उस्तै थियो– डरलाग्दो राक्षसको गुफामा निसास्सिएका जस्ता । कसैको पसिना आइरहेको, कोही लगलग कामिरहेका त कोही मुखै खोल्न नसक्ने अवस्थामा थिए । त्यहाँका ५ वटा घरबाट हामी १५ जनाजति जम्मा भयौँ– त्यस भयप्रद र अकल्पनीय घटनाले हामी सबैलाई अवाक् बनाएको थियो, के कसो भयो भनेर सोधपुछ गर्न र आफ्ना कुरा बताउन सक्ने अवस्थामा हामी थिएनौँ । यो भूकम्प नै थियो वा चक्रपात वा सुनामी वा महाप्रलय के हो भन्नेमा हामी पुग्यौँ ।

 

यति बेलासम्म चारैतिरका मानिसहरु रोएका, चिच्चाएका र काँपेका सुन्दथ्यौँ तर यस्तो अलापविलाप अस्पष्ट र अर्थहीन लाग्थ्यो । सडकमा गुडिरहेका सवारीका साधन जहाँको तहीँ रोकिए, धूवाँको मुस्लोले आकाश कुइरिमण्डल भएको थियो, खिन्न र उदास आकाशमा हजारौँ चराचुरुङ्गी भ्याटभ्याट गर्दैरहे तिनीहरु । चिरवीर गर्दै, चिंचिं गर्दै, यताउति उड्दैरहे । ड्याम्म ! धड्याक् ! धड्याक् !! फेरि अर्को धक्का आयो । यो कम्पन त हजारौँ माइल टाढासम्म सुनिए होला भन्ने ठान्छु । त्यसपछि  धूवाँ र धूलोको मुस्लो आकाशतिर जान्थ्यो । यो मुस्लो स्वयम्भूको टुप्पो नै ढाकिने गरी आकाशियो । धूवाँ र धूलोले ढाकिएकाले शहर अदृश्य भयो । अगिको त्यो धक्काले भीमसेन धरहरा ढालेको हुनुपर्छ । अनुपम नमूनाको रुपमा रहेको त्यो २०० मीटर अग्लो धरहरा एकैछिनमा कसरी फेदैबाट चकनाचूर भएर ढलेको होला ! अर्को धक्काले कपनमा रहेको साततले आवासीय भवन ? ढालेको हुनुपर्छ । तेस्रो कम्पनले प्राचीन दबारहरु ढाल्यो । चौथो धक्काले बसन्तपुर दरबार र पाटन दरबार क्षेत्रलाई तहसनहस पा-यो । अनि पर रहेको भक्तपुर दरबार क्षेत्रमा के कसो भयो, अनुमान गर्न सकेनौँ ।अन्तिम धक्काले कीर्तिपुर पाँगाको बस्ती लडायो । ऐतिहासिक साँखु, खोकना र अन्य बसोबास क्षेत्र स्वाहा पा-यो । कति स्मारकहरु ढले । भूकम्पीय त्रासदी कति डरलाग्दो हुन्छ भन्ने कुराको सजीव वर्णन जेनिफर करोलको यस कवितामा गरिएको छ –

 

सन् २०११ को भूकम्प

दिउँसो १२ बजेर ५१ मिनेट जाँदा म साथीहरुसँग गफिँदै हुन्छु
एकै मिनेटमा कोठा अगि र पछि हल्लन थाल्छ
कुर्सीहरु ढल्छन्, टेवलहरु पल्टन्छन्, अनि मानिसहरुको आर्तनाद सुनिन्छ
मनोरञ्जन पार्कको तर्साउने रेल्वे झैँ पूरै कोठा मच्चिन थाल्छ ।
कहाली लाग्दो रेल्वे
कोठाबाहिर जानु भनेको युद्धभूमिमा जानु जस्तै थियो
अनि हामीमाथि बम खस्नु जस्तै हुन्थ्यो
भत्केका घरमा बालेको आगोबाट धूवाँ आएको देखिन्थ्यो
गल्र्याम गुर्लुम्म भत्केका/ढलेका घरहरु
चिरापरेका सडकहरु
इहलोक पूरा गरेका/समाप्त भएका मानिसहरु
जिउँदै पुरिएका अभागीहरु
गुमनाम भएका अरुहरु
धन्य प्रभो
मलाई आकाशबाट कसैले नियाल्दै रहेछ त्यस दिन ।

–जेनिफर करोल 

   
पटक पटक आएका पराकम्पनमा समस्त धरती कम्पायमान भयो; उपत्यका वरिपरिका डाँडाका टुप्पाहरु निहुरिएर भुइँ छुन आँटेजस्ता देखिन्थे हामीहरु उभिन वा बोल्न वा सोच्न असमर्थ थियौँ । हामी सबैजना वशीभूत र निरुपाय भयौँ– यस विपत्को घडीमा हामीलाई यसो गर, त्यसो नगर भनेर सुझाइदिने, आड भरोसा दिने, सान्त्वना दिने र आँट दिने कोही थिएन । अब मृत्युको मुखमा पुगियो क्यारे भन्ने सोचेँ । केही महिना अगाडिमात्र प्रकाशित भएको मेरो ‘एक कल्प’ कविता सङ्ग्रहमा मैले यस्तै अन्त्यकालका बारेमा लेखेको थिएँ– ब्रह्माजीको एक दिन ... । ठीकै रहेछ, महाप्रलय वा जलमग्न भएर सृष्टिको अन्त्य भएपछि एक कल्प पनि पूरा हुँदोरहेछ । अनि ब्रह्माजीले फेरि अर्को सृष्टि गर्छन् होला । त्यस अन्तकालमा पृथ्वीमाता पनि जलमग्न हुन्छिन् होला या खरानीमा परिणत हुन्छिन् होला तब मेरा रचना पनि अवश्यमेव अर्थहीन बन्लान् ।

 

म विक्षिप्त थिएँ– आखिरी यो सबै कसले केका लागि गराइरहेछ ? यस लोकका समस्त मानव र अन्य प्राणीहरुको प्राणपखेरु, उडाइदिनका लागि कति पटकको धक्का चाहिने हो ? अनि यी घर, महल, दरबार र गगनचुम्बी भवनलाई गर्ल्यामगुर्लुम्म ढाल्नका निम्ति कतिवटा भूकम्पीय तरङ्ग पर्याप्त हुने हुन् ? समस्त रुखविरुवा उखेलेर आकाशमा हुत्त्याइदिनका लागि, पहाडहरुलाई भीमसिन लिँड्को लगाएर उपत्यका र नदी किनारमा मिसाउनका लागि अरु कति धक्का चाहिने हुन् ?

 

मैले यतिबेला झण्डै ६१ वसन्त पार गर्न लाग्दैछु । आजसम्म कहिल्यै यस्तो भएको मलाई थाहा छैन । यो भूकम्प त सन्फ्रान्सिस्को वा अलास्का वा हाइटी वा जापानको भन्दा पनि डरलाग्दो भयो । हामी सबैजना आत्तिएका हुनाले एबै ठाउँमा गुँडुल्किएर बस्यौँ– पटकपटकको कम्पनले हामीलाई वाणीहीन पशुतुल्य बनाइदियो । शायद अब बाँच्ने दिन सकिए कि भन्ने लाग्दैथ्यो ।

 

यस पूर्व मैले कहिल्यै पनि भूगर्भशास्त्रको पुस्तक छोइन । भूगर्भशास्त्रीहरुले पृथ्वीको परमायुका बारेमा अध्ययन गर्छन् भन्ने पनि थाहा थिएन । अनि त मैले ‘टेक्टोनिक प्लेट्स्, ट्रेमर्स एन्ड फल्ट्स्’ जस्ता शब्दहरु कहाँबाट जान्नु ? भूगर्भशास्त्रका पुस्तकहरु नपढ्नुमा मेरो दोष छैन, बरु छ भने प्रकृतिले आफ्नै विनाशको क्षण पर्खेर बस्नुमा छ । ‘फल्ट लाइन’ भन्ने पदावली यहाँले कहिल्यै सुन्नुभएको छ ? प्रकृतिको पनि अपूर्वानुमेय ढाँचा हुन्छ भन्ने यहाँले कहिल्यै सोच्नुभयो त ?

 

मेरा बहुसङ्ख्यक विद्यार्थी भाइबहिनीले यो भूकम्पको त्रासदी भोगे । कतिपय त क्षणभरमै घरबारविहीन भए होलान् त कतिपयले आफन्तजन गुमाए होलान् । खेतीपाती, बाख्रापाठा, चराचुरुङ्गी र पशुचौपाया कति नाश भए होलान्, त्यसको त लेखाजोखा नै नगरौँ । हाइटी वा बाली, चीन वा सन्फ्रान्सिस्कोमा के भए होला भन्ने मैले अलिकति मात्र अनुमान गर्न सक्ने भएँ ।

 

हामी सबैजना अत्तालिएका थियौँ अझैँ पनि । त्यसैले त लुग्लुग काँपीरहेका नि । त्यसैबखत मैले पूज्य मातालाई फोन सम्पर्क गर्नेतर्फ सोचेँ । यस घडीमा उहाँलाई सम्झनुमा शायद मेरो अन्तः प्रेरणात्मक आग्रह पनि हुनसक्छ– भूकम्पले आत्तिएको बखतमा मातृवात्सल्य सम्झेर, बालकले झैँ उहाँको फरिया समात्ने मेरो चाहना पनि हुन सक्छ यो । मैले फोन गरेँ । झापाको दमकमा बस्नुहुने दुर्बल शरीर भएकी असी वर्षे वृद्ध माताले आफ्ना प्रौढ छोरालाई सम्झाइ बुझाइ गर्नसक्ने कत्रो क्षमता । मलाई त  आसन्न कालगतिले गिज्याइराखेको जस्तो लागेको थियो, माताजीको त्यो ढाडसले अलि ढुक्क भएँ । अनि बल्ल मैले पिताजीको अनुपस्थितिमा पनि उहाँकै जस्तो अभिभावकीय भूमिका  खेल्नुहुने ठुल्दाज्यू/बडादाज्यूलाई सम्झेँ । त्यसपछि प्रिय कान्छा भाइ देवेन्द्रसँग हिजोमात्र कुरा गरेको सम्झेँ । उनले जर्मनी, हल्याण्ड लगायत अन्य दूर देशको भ्रमणमा निस्केको कुरा बताए । अर्को हप्ता उनी घर फर्केर आउँदा हामी सबैको प्राणपखेरु उडेको भेटे भने कसो गर्लान् ? छ्या, यस्तो कल्पना गर्न सक्तिनँ म । बिस्तारै मैले हाम्रो परिवारका सबै आफन्तजनलाई सम्झँदै गएँ । उनीहरुबाट सान्त्वना र ढाडसको अपेक्षा राख्तथेँ मैले । ‘धर्म हो धीरको धैर्य राख्नु दुःख जालमा/मानौँ मौनव्रती हुन्छे कोइली शीतकालमा’ भनेर सम्झाइ दिए पनि हुन्थ्यो नि भन्ने मेरो अभिलाषा रहन्थ्यो । ‘साना चोटले हामी मर्दैनौँ’ भनिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । फेरि कति पटक त उताको हाल खबर के छ भनेर बुझ्न खोज्दा फोन सम्पर्क नै नहुने । फुटेर अर्ध भएको ल्याप्टपबाट कुरा गर्न मिल्छ कि भनी हे-यौँ, त्यसलाई बिजुली नभै नहुने । त्यसैबेला विद्युत आपूर्ति हुन नसकेको- न त टि.भी., न त विद्युत-पत्र, न त विद्युत-पाठ, न त भाइबर! विजुली विना केही नहुने ।

 

यति बेलासम्म झमक्क साँझ परिसकेछ– समय बितेको भए पो त ! यो त उडेछ वेगमा । दिउँसो १२ बजेबाट कति बेला साँझ प-यो, पत्तै भएन । अनि त हामी झनै भयाकुल भयौँ । यो महाविनाशकारी भूकम्पको केन्द्रविन्दु यही काठमाण्डौं नै हुनुपर्छ भन्ने लाग्यो किनभने भूगर्भविद्/भूकम्पविद्हरुले पहिल्यैदेखि काठमाण्डौं उपत्यकाको भूबनोट अत्यन्त कमजोर छ, कुनैपनि बेला भूकम्प जान सक्छ भन्ने पूर्व जानकारी/चेतावनी दिइसकेका थिए । यस्तो होला भन्ने चिताइएन । आउँछ, जान्छ भनेर हल्का ढङ्गले लियौँ तर यो पूर्वानुमान सत्य सावित भएरै छाड्यो । यस्तै किसिमका प्रलयकारी भूकम्पले कैय्यन् मानव सभ्यताहरु विलीन भएको कुरा त सुनेको थिएँ । किस्टीले आधुनिक शहरमा भुइँचालाले के गरायो (र हामीले अहिले के भोग्यौँ) भन्ने बारेमा राम्रो कविता लेखेकी छन्–

 

भूकम्प

चारैतिर अचानक कोलाहाल सुनिन्छ
मेरो बहुमूल्य थाली भुइँमा खस्छ
सबैजना यता र उता कुदिरहेछन्
मानौँ त्रासदीपूर्ण नाटक मञ्चन हुँदैछ
बडेमानको पुल चुँड्न थालिसक्यो
ऊः हेर त
एकजना मान्छेलाई हृदयघात भएर लडेको
गिटीढुङ्गा छरपष्ट छरिएको
सबै ... हरु  रक्सीको नशामा लठ्ठिएका
टेलिफोनका तारहरु भुइँमा झरेका
र आगलागी भैरहेको
बिचपार्क सडकभरि
कारहरु टनाटन छन् पहाड झैँ
कलिबेकी कलेज चकनाचूर हुँदैछ
गगनचुम्बी भवनका तलाबाट मानिसहरु कराइरहेका
त्रास/चीत्कार भित्र पस्छ र सबैजना कराउँछन्, चिच्याउँछन्
यो सबै सपना मात्र भैदिए त हुन्थ्यो तर ....

 

यतिबेला सम्ममा हाम्रा छिमेकीले खुला ठाउँमा अस्थायी टहरा बनाउन थालिसकेका थिए । उनीहरुको थोत्रो रेडियोले अस्पष्ट समाचार फुक्यो– ‘सबै नागरिकहरु धैर्य धारण गर्दै घरबाहिर गएर बस्नुहोला, भूकम्पका पराकम्पनहरु बारम्बार आउन सक्छन् ।’ सरकारका पक्षबाट दिइएको यो चेतावनीपूर्ण जानकारी थियो । त्यसैले हामी चार जनाले पनि केही पुराना कपडा, जुटका बोरा, केही कार्डबोर्डका टुक्राटाक्री र बाँसका भाटा बटुल्यौँ र चिसो भुइँमा अस्थायी कटेरी बनायौँ । त्यो हप्ताभरि पानी परिरहेको थियो । विपत्ति कहिल्यै पनि एक्लै आउँदैन भनेको साँचो रहेछ ।

 

हाम्रो घर पक्कै पनि भत्कँदैन भन्ने आशामा हामी थियौँ । दुई दशक अघिदेखि हामीलाई घामपानीबाट बचाएको चिटिक्क परको त्यो घर हाम्रा अगाडि ठिङ्ग उभिएको थियो तर त्यस क्षणमा मैले आफ्नै घरलाई पनि हामीलाई नै निल्न आएको अँधेरी राक्षसजस्तो  देखेँ । त्यसलाई अपराधी ठानेँ । धन्य प्रभो ! हामी बच्यौँ (ईश्वर छन् यदि भने, तैपनि म सार्त्र  वा कामुलाई सोध्ने पक्षमा छैन) । पहिलो डरलाग्दो झड्काबाट त हामी जोगियौँ (यो कतिबेलासम्म गइरहन्छ भन्ने मलाई थाहा होस् पो कसरी ।) त्यसपछि आफ्नै त्रसित मनमुटुसँग सम्वाद गरेँ । मेरो मनले यसो भनिरह्यो –

 

आफन्तहरुलाई सदासदाका लागि गुमाउनेहरुको हालत के होला? अथवा आफ्नै परिवारका सदस्यहरु ढुङ्गामाटाले पुरिएर ज्युनु न मर्नुको दोसाँधमा भएकाहरुको अवस्था कति दर्दनाक होला ? तिम्रो त त्यस्तो केही भएको छैन नि । तिमी रुन, कराउन र एकान्तमा विलौना गर्न थाल्यौ भने कत्रो लज्जास्पद विषय बन्ला ? तिमी त कम से कम  जीवित र सुरक्षित छौ नि गोविन्द ! उठ र वरिपरि नियालेर हेर त, कति धेरै मानिसहरु यस लोकबाट विदा भैसके !

 

हाम्रा छिमेकीको रेडियो थर्थराउँदै थियो– “यस भूकम्पको केन्द्रविन्दु गोरखा रहेको छ ७.८ रेक्टर स्केलको कम्पन सिस्मोग्राफमा मापन गरिएको छ, पराकम्पनहरु आइरहन्छन्” आदि ।

 

उँभोतिर धूवाँ र धूलाले ढाकिएको आकाश छ । तलतिर धरतीमा घाइते र मृतकहरु ओसारेका एम्बुलेन्सको कर्कश ध्वनि सुनिन्छ। चिसो हावा लागेपछि सिमसिम पानी पर्न थाल्यो । हामीले ‘ड्याम्म ! ड्याम्म !!’ गरेको प्रतिध्वनि सुन्थ्यौँ, त्यसले पूरै धरती कम्पायमान हुन्थ्यो । सुन्दर काठमाण्डौं उपत्यका उत्तिखेरै अन्धकारले ढाकियो । न बिजुली, न मानव बोली चाली – कि त सबैजना मौन कि त चिच्याहट मात्र कि त पुराना भवन भत्कँदा निस्केको प्राचीन धूलकणको गन्ध । ‘फलाना फलाना भवनहरु क्षणभरमा धूलिसात् भए’ भन्ने समाचार रेडियो नेपाल र एफ्एम् रेडियोहरुले प्रशारण गरिरहन्थे । त्यसपछि मैले आफैँलाई प्रश्न सोधेँ– ‘के भीमसेन धरहरा र गौरवशाली दरबार स्क्वायर ढले भन्दैमा सबै चीज ढलेको हो त ? यी त आखिर मानवनिर्मित वस्तु न हुन्, यी भन्दा बढी मूल्यवान् त मानव जीवन पो हो । यदि सृष्टिकर्ताले नै यो संसार धान्न नसकेका हुन् भने उनै सृष्टिकर्ताको मानमर्दन भएन र ? मैले आफै चित्त बुझाएको छु ।

 

त्यस अन्धवेग अर्थात् प्रकृति माता वा सृष्टिकर्ताका सामु मानव जाति अति निरीह, असहाय वा अर्थहीन रहेछ ।  हाम्रा पैतालामुनि किचमिच हुने किराफट्याङ्ग्रा जस्तै– तिनीहरुको वाणी छैन, भाषा छैन । तर यस बारेमा महात्मा गान्धी यसो भन्छन्– तपाईँ हामीले जे गर्छौँ त्यो सबै अर्थहीन छ तर पनि त्यही काम गर्नु हाम्रा लागि महत्वपूर्ण छ । यस उपदेशमा भागवत् गीताको सन्देश प्रतिध्वनित भएको सुनिन्छ । ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन/मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि’ अर्थात् तिम्रो कर्म गर्ने मात्र अधिकार छ, फलमा कहिल्यै छैन । तिमी कर्मफलको वासना राख्ने नबन, कर्म नगर्नुमा प्रीति पनि तिमी नगर । तर यो खेर जाँदैन । यही आशावादी विचार शिरोपर गर्दै हाम्रा पुर्खाहरुले ज्वालामुखी, पहिरो, चक्रवात, भूमरी, सुनामी , खडेरी जस्ता विध्नबाधाहरुको सामना गरे यद्यपि तिनलाई जित्न सकेनन् र कहिल्यै सकिँदैन पनि । त्यो खलनायकी शक्तिलाई हामीले पहिल्यैबाट ग्रहण गर्दै आएका छौँ यो मानव चोला रहुञ्जेल हामी महसूर भएर जीवन सङ्ग्राममा जुटिरहनु पर्छ ।


अनुवादक – टेकनारायण ढकाल



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल