निबन्ध

मेरो सिर्जनाको उद्देश्य

Why I write
डा. गोविन्दराज भट्टराई

मैले सन् १९७३ मा मुगलान उपन्यास लेखेँ । त्यसपछि दुई दशकसम्म मेरो लेखनी अल्मलियो । तसर्थ  लेखनकार्यमा प्रवृत्त भए पनि मैले पूर्ण रुपेण लेखकीय जीवनवृत्ति चाहिँ अँगालेको  थिएन भन्दा फरक पर्दैन ।  बरु यसलाई सौखिन कलाकारको लहडबाजी हो भने हुन्छ । म नजानिँदो पाराले घर व्यवहारमा फस्दै गएँ, त्यसपछि मेरो जीवन लौकिक कर्मले  परिवेष्टित हुँदै गएको अनुभूत गर्न थालेँ । नचाहँदा नचाहँदै पनि म गृहस्थ जीवनपट्टि लहसिन थालेँ । पहिले  विवाहको लगनगाँठो कसेँ, त्यसपछि सन्तानको इच्छा भयो । ती बचेरालाई घाम पानीबाट जोगाउन ससानो गुँड बनाउन थालेँ । अनि  तिनको शिक्षादीक्षा शुरु भैहाल्यो । ईश्वरका कृपाले नै भन्नुपर्छ, नानीहरु त हामीले सोचेभन्दा राम्रा निस्के । हामी दुईजना यही जीवन सङ्ग्रामका लागि  तम्तयार भयौँ । परिस्थिति अत्यन्त कठिन थियो, जागीर जोगाउनु पथ्र्यो, उच्च शिक्षाका लागि  सानोतिनो प्रबन्ध पनि मिलाउनै पर्थ्यो  ।

समय सदैव बलशाली हुँदोरहेछ । त्यसका  अगाडि हाम्रो जोर चलेन । हामी वशीभूत भयौँ र यसकै आदेशलाई शिरोपर गरिरह्यौँ । हामीले आफूलाई ज्यादै सफल र सौभाग्यशाली पनि  ठान्यौँ । पारिवारिक जगलाई सुदृढ पार्ने कर्ममा सहर्ष सहकार्य ग-यौँ । हामीले ज्यादै महत्वपूर्ण र उल्लेखनीय  उपलब्धि त खासै केही पनि हासिल गरेका होइनौँ, केवल जीवधारी हुनाका नाताले आसक्ति  बढाएका मात्र हौँ । पारिवारिक माया  मोहमा बाँधिएका  बखत मानिस चक्षुबद्ध हुँदोरहेछ ।  जीवनको उच्च शिखरतर्फ दृष्टि लगाउन ऊ असमर्थ हुँदोहरेछ । हामी दबदबे हिलोमा  भासिएका थियौँ । बेँसीको  ओसिलो धापमा  हुर्के बढेका  वनस्पतिसरि थियौँ । भिन्न आवहवा र प्राकृतिक भू-बनोट थियो ।  जीवनको पर्वतीय शिखरतर्फ दृष्टि पुगोस् पनि  कसरी ? यस सन्दर्भमा चिनीयाँ कवि वाङ झिउयानको निम्नलिखित कवितांश सम्झन्छुः

सूर्यका किरणहरु
पर्वतमालाभित्र डुब्दछन्
पीतनदी समुद्रतिर दौडिन्छ
आफ्नो दृष्टिमा  हजारौँ माइल
टाढासम्म देखियोस् भन्छौ भने
तिमीले अझ  माथि चढ्नु पर्छ
                (क्लाइम्बिङ ह्वाइट स्टर्क टावर)


जीवन उन्नति र प्रगतिको शिखरतर्फ जाने अवस्था थिएन । आँधीबेहरीतर्फ जीवनपङ्ख बेगिँदै थियो । उडान जोखिमपूर्ण थियो । तसर्थ  दुई दशकभरि मेरा सबैजसो साहित्यिक कर्म सुस्ताए । फलस्वरुप सिर्जनाको नवीन शक्ति  धेरै  हदसम्म  शिथिल भयो । समयको क्रूरताले मेरा इच्छा दमित भए । यो दैवेच्छा नै हुनुपर्छ । दैवका  अगाडि  कसको के जोर चल्छ र?  यति हुँदाहुँदै पनि मैले सुरक्षित अवतरणका निमित्त अनुकूल अवसर पर्खेर बसेको थिएँ । मभित्रको सिर्जना संवेगको जोडदार भावावेग हुटहुटीलाई म कहाँ विस्मृत अवस्थामा छाड्न सक्थेँ र ? समयाभावले  मात्र मेरो सिर्जनात्मक लेखन एवम् अन्य सहित्यिक गतिविधि रोकिएको थियो । त्यही उत्कट इच्छा बोकेर म हिँड्थेँ, यो इच्छा सिर्जनात्मक उत्साहको ज्वाला थियो, रचनात्मक तिर्खाको आवेग थियो । मलाई अझै पनि यो कुरा याद छ— मेरो हृदयाकाशमा  रिक्त अवस्थामा रहेको तर केही  गरुँ भन्ने अभिष्टप्रतिको अस्पष्ट एवम् अपरिभाषित तीव्र चाहना थियो । प्रेमोपेक्षित हृदय बोकेर भौँतारिएजस्तो अवस्था थियो । त्यसलाई न त प्रकट गर्न मिल्ने न त गुप्त  राख्न सकिने न त  त्यसको  पीडा बिर्सनै सकिने ! हृदयस्थलमा  अतृप्त रहने यही हो सिर्जनाको अभिलाषा । यस रोगलाई  राम्रोसँग ठह-याएर डोक्टोरोभले  यसो  भनेका छन्—  लेखन भनेकै समाज स्वीकार्य द्वैध मनस्कता हो । यस्तो  मनोविदलित व्यक्ति  वास्तविक जीवन जगत्बाट सम्पर्कविहिन भएर र अन्वयार्थको जगत्मा विलुप्त रहिरहन्छ ।

दुई पृथक् संसारतर्फको यात्रा तय गर्न जोसुकैलाई पनि बडो कठिन र चुनौतिपूर्ण हुँदोरहेछ । त्यो चाहे मानसिक वा शारीरिक होस् चाहे सामाजिक र व्यक्तिगत । यस परिस्थितिमा समस्तरीय व्यवस्थापन कठिन  रहेछ तर पनि धेरैजसो साहित्यिक कलाकर्मी यस्तो दुई डुङ्गाको यात्रा  गर्न बाध्य हुन्छन् तापनि सहजै  यस्तो जोखिमपूर्ण कदम  उठाउँछन् । अन्ततः उनीहरु धरासायी  हुन पुग्छन् । यस सम्बन्धी कैयौँ दृष्टान्त र प्रमाण दिन सकिन्छ ।
 
सुयोग्य श्रीमान् बन्न अथवा जिम्मेवार बाबु वा साथी बन्न निश्चय नै कठिन रहेछ । आंशिकरुपमा  म पनि  असफलै भएँ जस्तो लाग्छ । त्यसैगरी उही समयमा असल गृहिणी र ममतामयी माता दुवै बन्न पनि  नारीलाई कठिन नै छ तर पनि मेरी धर्मपत्नी दुवै कुरामा  कुशल छिन् । यी दुई थरी भूमिका  निर्वाह गर्नुपर्दा उनले  मैलेभन्दा धेरै कुरा त्यागेकी छिन् । त्यसैले बाहिरी जगत्का मैले गरे जति उकालीओराली पार गर्न पाएकी छैनन् । गृहिणी र  माताको जिम्मेवारीले  थिचिएर उनले आफ्नो सबै संवेदनाशक्ति  र अन्तर्निहित क्षमतालाई प्रकट गर्न पाइनन् । ती सुषुप्त नै रहे । आफ्नी जीवनसँगिनीले भोग्नुपरेको यो क्षतिप्रति म पूर्णरुपेण जिम्मेवार र दोषी छु । दिनको दुईपल्ट मैले  यही क्षति सम्झन्छु । तर अब गाँठो फुकाउन ढिला भैसकेको छ । म अहिले जहाँ जे हैसियतमा छु त्यसका  पछाडि यिनै सफल नारीको हात छ । त्याग छ, उनकै योगदान छ । उनले आफ्ना  मनोकाङ्क्षालाई तिलाञ्जली दिइन् ।  आफूमा  निहित प्रतिभा र प्रच्छन्न शक्तिलाई दमन गरिन् अनि मात्रै म र मेरो घरपरिवारको जहाज पार लाग्यो । यी सबै कर्म  उनले  आफू छायाँमा  रहेर पूर्ण गरिन् । म भने दैनन्दिन आफ्नो अस्तित्व प्रमाणित गर्ने ध्याउन्नमा  छु । मैले  भर्जिनिया उल्फको टु क्याम्ब्रिज उमन  भन्ने पुस्तक दोहो-याएर पढेँ । सन् १९२० को दशकमा  बेलायती नारीहरु जुन परिस्थितिमा थिए ठीक उस्तै परिस्थितिमा आजका  शिक्षित नेपाली महिला रहेको पत्तो पाएँ । यस्तो जानकारीले मेरो मनोदशा असहाय बन्न पुग्यो ।

मेरो दिल शान्त पार्न अन्ततः मैले लेखन कार्यको पुनरारम्भ गर्नैपर्थ्यो । मैले  आफ्नो जीवनको अत्यधिक  उर्वरशील समय व्यर्थ खेर फालेँ, अब मसँग कति नै समय बाँकी छ र ?  जे जति छ त्यसको  सदुपयोग गर्छु भन्ने सोचेँ । अनि  मैले  एकोहोरिएर, उन्मुक्त भएर पढ्न  र लेख्न थालेँ । तर  गृहस्थ जीवन सोचेजति  सजिलो कहाँ छ र ? यसै सिलसिलामा पारिवारिक जीवनका नयाँ नयाँ  अनुभूति सँगालेँ । परिवार त विशाल क्षेत्रमा फैलिएको बगैँचातुल्य रहेछ— फलिसकेर उम्केका  बडे रुख पनि त्यहीँ छन्, बल्लबल्ल ओसिलो धापबाट हुर्केर घाम र  हावा देख्न आतुर नवाङ्कुरित कोमल विरुवा पनि त्यहीँ देखिन्छन्, लटरम्म फलेका अरु रूख पनि  त्यहीँ छन् । परिवार त भिन्न भिन्न प्रजातिका  बोट वृक्षयुक्त  बाटिका पो रहेछ ।

हाम्रा मातापिताको सपना अर्कै थियो तर मेरा दाजुभाइ दिदी बहिनीले  आफ्नै सुरमा पङ्ख फिँजाएर मनोवाञ्छित दिशामा उडे । मेरो भने नितान्त भिन्न भोक र प्यास युक्त  मार्ग थियो । मलाई पुस्तक किन्ने पैसा चाहिन्थ्यो, ती पुस्तक पढ्ने फुर्सद निकाल्नुपर्थ्यो  । चिन्तनमननका  निमित्त एकान्तवास र सृजनामा  तल्लीन हुनाका निमित्त उपयुक्त  मानसिक/वैचारिक धरातल चाहिन्थ्यो । आर्थिक विपन्नताले  ग्रस्त भएका देशका  प्राध्यापकका निम्ति ती विषय पहुँच बाहिरका ठहरिन्थे, विलासी साधन सरह थिए ।

लेखन सृजनाः यी दुईवटा शब्दबीचमा तात्त्विक भेद छ । म सिर्जना गर्न नभएर लेखनका निम्ति बाध्य पारिएको थिएँ । हाम्रो  जस्तो विश्वविद्यालयको परिवेशमा  सृजनाले खासै मान्यता पाउँदैन । कसैले नितान्त   वस्तुगत भाषा शैलीमा   शोधग्रन्थ र प्रतिवेदन तयार गरेको खण्डमा मात्र विश्वविद्यालय ऊसँग खुशी हुन्छ । विश्वविद्यायलको पाठ्यक्रमले यहाँ हामीलाई भाषाको सृजनात्मक प्रयोगबाट विमुख तुल्याइदिएको छ ।  तर हामीलाई विषयपरक र वैयक्तिक भाषा प्रिय छ, हामीले कुनै पनि व्यक्तिको ‘स्वत्त्व’ स्वतन्त्र हुनुपर्छ भन्ने ठान्छौँ । मलाई मेरो अस्तित्व वा  सृजनात्मक लेखन जीवन्त तत्त्वले भरिपूर्ण होओस् भन्ने लाग्छ ।  साहित्यिक लेखकले सृजनामा खडा गर्ने नायक र खलनायक पात्रहरु उसैको आत्माका छायाँ हुन्; पराइ हुन् भन्ने लाग्छ । यस्तो लेखनको सम्बन्ध प्रत्यक्ष रुपमा जीवनजगत्सँग हुन्छ ।  लिरिक कविता वा महाकाव्यको शक्ति हेर्नोस् त ! साहित्यिक लेखन परोक्ष भैकन पनि त्यसमा  स्रष्टाको हृदय कसरी पोखिएको हुन्छ, लेखकीय अहं कसरी घोलिएको हुन्छ । हाम्रो विडम्वना  नै भन्नुपर्छ— विश्वविद्यालयले चाहिँ ‘लेखनमा  तपाईंको  भावनात्मक  लहड नदेखियोस्, वैयक्तिक भाषाको प्रयोग नहोस’ भनेर तर्साइरहन्छ । हेर्नोस् त ! सबै विषय कति मामुली छन्— नवीन भाषाको प्रयोगभन्दा बहुप्रयुक्त  पदावलीको निरस पुनरावृत्ति कति धेरै मात्रामा भैरहेको छ— हरेक कुरालाई प्रतिशत  र औसत, अंश र डिग्रीमा मापन गरिएको छ । यस किसिमको प्राज्ञिक कर्मले  मलाई निरुत्साहित पारेको छ । अरु लेखकलाई पनि  त्यसै भएको हुनुपर्छ । तसर्थ मेरो पेसा र  मेरो  इच्छबीच तादात्म्य कायम भएको छैन । मेरो कर्म र मेरो मर्मबीच दरार उत्पन्न भएको छ ।  समाज वा परिवेशसँग पनि मेरो मतैक्य छैन । समाज स्वयम् निर्दयी प्रकृतिको  छ । यसले आर्थिक उपलब्धि शोधग्रन्थ र शोधप्रबन्धका आधारमा  तपाईंको मर्यादा तोकिदिएको छ । अल्पकालीन भौतिकताबाट पृथक् र पर रहेका  सृजनात्मक कर्मलाई  निरर्थक प्रयत्न ठह-याइदिएको छ  हुन पनि गाडी, बङ्गला वा शेयर कित्ताझैँ साहित्यिक रचना सहजै दृष्टिगोचर हुन सक्तैन । हुने कुरा पनि भएन ।

मानव जीवन पुष्पदलका भित्री पत्रझैँ अगोचर विषयको पत्रैपत्रद्वार  निर्मित छ । राजनीति र अर्थनीति सामाजिक मूल्यमान्यता र पारिवारिक दायित्व, जीवनको मार्ग र भित्री चाहनाः यी सबै विषयको   अनुपम विन्यास भएको छ । विचार र कल्पनाको मनोलोकमा विचरण गर्न चाहने स्रष्टा–द्रष्टाको  मनमस्तिष्क अति संवेदनशील र कोमल हुन्छ जसले गर्दा ऊ खुला  विश्वको क्रूर प्रतिस्पर्धा सामना गर्न सक्तैन र निरीह ठहरिन्छ ।

यस्तै यस्तै विषयले दुई दशकदेखि म बन्धनमा परेँ । लेखन कार्यबाट विमुख त भइनँ तर पनि सृजनाको लक्ष्य वा ध्येय के कस्तो हुनुपर्छ त भनेर मेरो भावुक हृदयलाई मैले कहिल्यै सोधिनँ । केवल लेखिरहेँ, लेखिरहेँ । मुगलान उपन्यास प्रकाशित भएको सम्झँदा कति छिट्टै ४० वर्ष बितेछन् भन्ने लाग्छ तैपनि  मैले के लेख्ने हो, मेरो लेखनको उद्देश्य के हुनुपर्ने हो भन्नेतिर खासै ध्यान गएनछ ।

अब त मेरो मनलाई  होइन, मैले हाम्रो युगलाई सोध्नुपर्ने भएको छ ।

सृजनात्मक  कर्मका सन्दर्भमा मेरा मित्रहरुले मलाई विविध प्रतिक्रिया  पठाउँछन् । यसैक्रममा आइज्याक आसिमोभले भनेको यो पङ्क्ति सम्झन पुग्छु— ‘जीवन रक्षाका निम्ति प्राणवायु जति प्रिय छ मलाई  सृजनकर्म त्यति नै प्रिय छ । मैले  लेखिनँ भने म अस्ताउँछु ।’ अहो, योभन्दा जब्बर प्रमाण अर्को छ र ? सृजन कार्यमा आसक्ति बढेपछि यसलाई  छाड्न वा यसबाट विमुख हुन सकिँदैन । धेरैजसो लेखकहरु यसै भन्छन् । हो पनि । उनीहरुको जीवन यसैमा अर्पित भयो । यसबाहेक अरु कुनै कुरामा सोख राखेनन्, सीप सिकेनन्, उनीहरुको झुकाउ अन्यत्र गएन, यसैबाट उनीहरुले  प्रतिष्ठा आर्जन गरे । यही मात्र हो त लेख्नुको तात्पर्य ? कदापि होइन । लेखन मार्गमा प्रवृत्त विभिन्न लेखकहरुले  लेख्नुको उद्देश्यलाई  आ-आफ्नो तरिकाले  बुझेका छन् । पाउलो कोहेलोका भनाइमा  लेखनले ऐकान्तिकतालाई  स्मृतिमा बदलिदिन्छ । रोल डालको भनाइमा  पूर्ण स्वातन्त्र्य नै लेखन कार्यको पारितोषिक हो । लेखन कार्यबाट व्यक्तिले आफ्नै नवसंसार रच्न सक्छ भन्ने एनिस निनको विचार रहेको छ । हार्पर लिले स्वान्त सुखाय नै लेखन कार्यमा  प्रवृत्त होइन्छ भन्छन् । यस सम्बन्धमा लेखकपिच्छेका दृष्टिकोण छन्, मतैक्य कतै छैन । उसो भए स्रष्टाको  सृजन-आवेगका  पछाडि कुन कारण  विद्यमान छ त ? यस रहस्यको एउटै मात्र उत्तर पाउन सकिँदैन । यस सन्दर्भमा  सिल्भिया प्लाथको तर्क सुनौँः ‘मलाई लेख्न मन लाग्छ किनभने मसँग जीवनलाई  उत्कृष्टतामा  बदल्ने र अभिव्यक्त  गर्ने आवेग छ । येनकेन प्रकारेण बाँचेर  मात्र मलाई  चित्त बुझ्दैन । अहा, मलाई  त सनेट र सेस्टेट कवितामा मेरो जीवनलाई  पङ्क्तिबद्ध गर्ने रहर छ, मस्तिष्क-दीपलाई  झलमल्ल पार्न मन छ ।’

तसर्थ निजानन्द वा स्वान्त सुखाय दर्शनले नै स्रष्टालाई लेखन कार्यमा  प्रवृत्त गराउँछ । धेरैजसो लेखकले त अपार आनन्दका  निम्ति लेख्छन्, सोही आनन्द नै सृजनाको  एकल ध्येय बन्न पुग्छ । फ्रान्समा निर्वासित जीवन बिताएका  लेखक गाओ जिन्जियान जस्ता  बहुसङ्ख्यक लेखकहरुले  लेख्नाका दुई वटा उद्देश्य हुन्छन् भनी बताएका छन् । उनले  यसो भनेका छन्—    “(निर्वासनको) पीडालाई  यही लेखनले  दूर गरिदिन्छ । म आफू सबल छु भनेर   पुनर्पुष्टि गर्न मैले लेखन मार्गलाई  पक्रेको छु ।” यहाँ जिन्जियानले  लेखनको  परोक्ष उद्देश्य नै प्रकट गरेका छन् । यसको तात्पर्य यस लोकमा   स्रष्टाको पनि पदचिन्ह कायम रहोस् भन्ने नै हो । यस कुरामा  म पनि बिल्कुल सहमत छु । यथार्थमा  कुनै पनि  व्यक्ति  आफ्नो अस्तित्व/जीवनबारे  अनभिज्ञ रहन चाहँदैन किनभने जन्म र मृत्युका दुई  समय विन्दुबीचमा  मानव जीवन  झिलिक्क गरेर बिलाउने झिल्को सरी क्षणभङ्गुर छ । पूर्वजुनीमा आफ्नो स्थिति के थियो र पुनर्जन्मपछि के हुन्छ होला ? त्यसबारेमा  सबैजना अनभिज्ञ  हुनसक्छन् ।  यसै हुन्छ भनेर कसैले भन्न सक्तैन ।  त्यसैले त मानिसले आफ्नो समस्त जीवनकाल साहित्यिक सृजना, स्मारक, सङ्गीत, मूर्तिकला र नृत्यरुप जस्ता सांस्कृतिक कला कर्ममा  अर्पण गर्दछन् ।

समाज  भोकमरी अनाहार र रोगब्याधि जस्ता समस्याले ग्रस्त रहेको बेला  तिनको  निराकरण गर्न सिङ्गो राष्ट्र असमर्थ  भएका  बेला साहित्य सृजना र सांस्कृतिक कलाकृति केही लहडी र सौकिन व्यक्तिका निम्ति विलासी वस्तु जस्ता प्रतीत हुन्छन् । तर कुन शक्तिले मानिसलाई  त्यसप्रति  प्रवृत्त गराइरहेको छ यो अति गुह्य कुरा छ । हो, ऊ  बुभुक्षाका  निम्ति दगुर्दैन, उसलाई त सृजनाको मोहनी लागेको हुन्छ । रोग व्याधि र मृत्युले उसलाई  तर्साउन सक्तैनन् । सृजनात्मक शक्तिका  कारणले ऊ  अनायासै यतापट्टि प्रवृत्त हन्छ । क्षणिक रुपमै भए पनि  यस धरतीमा रहुन्जेल किन ऊ अरु चीजबाट अस्पृश्य र अडिग रहन सकेको हँ ? उसले घोर दुःखकष्टको पर्वाह गर्दैन, आत्मग्लानि र निर्वासनप्रति ऊ सहिष्णु बन्न तत्पर छ, कठोर मृत्यु सामना गर्न पनि  ऊ तयार छ । यति सहेर पनि ऊ लेखनमा व्यग्र छ किनभने  लेखनकर्म नै  हार्दिकता र परम सत्यको  माध्यम हो; अन्तरात्मा र परमात्मा बोधको मार्ग हो । यस संसारमा  क्रूर तानाशाह र आततायीका मुठीमा  परेर कति सृजनशील कलाकर्मी थुनामा परेका छन् होला, कानूनी बहस/पुर्पक्षविना जेल चलान गरिएका छन् होला, मृत्युको मुखमा  धकेलिएका छन् होला । तिनको कुनै लेखाजोखा छैन । यस्तो विचारले मेरो हृदय काँप्न थाल्दछ । स्रष्टालाई  सृजनालोकतिर प्रवृत्त गराउने हुटहुटी पैदा गराउने तत्त्व चाहिँ अव्याख्येय, अपरिभाष्य छ अर्थात् व्याख्यातीत छ भन्ने स्पष्ट छ । साहित्यप्रति सबैजना  होइन, केवल सहज प्रतिभामात्र आकृष्ट हुन्छन् । दह्रो मनमुटु भएकाहरु मात्र यस अवरुद्ध स्थितिको मार्ग पक्रन्छन् । यथार्थमा बर्सौंसम्म आफू कार्यरत रहने उपयुक्त  स्थानको  निर्माण व्यक्ति  स्वयम्ले  गर्नुपर्छ ।

के आफ्नै सङ्कष्ट र पीडालाई समन गर्न र चुनौति दिनमात्र कुनै स्रष्टाले लेखनमार्ग रोजेको हो त ? हो भने यो  चित्तबुझ्दो उत्तर होइन वास्तवमा  यो त रहस्य कै विषय हो । मानिस सदैव आफ्नो भावी पिँढी वा चिरकालीन अस्तित्वको  खोजीमा  रहन्छ, उसले अनन्ततामा  विश्वास गर्दछ । कैयौँ धर्महरु र तज्जन्य आस्थाका अनुयायीहरुले  यो जन्मजन्मान्तरको धारणा अर्थात् आत्माको पुनरावतारको धारणामा  विश्वास गर्दैनन् । तिनमा  यस किसिमको धारणाको अभाव छ तर प्राच्य/पूर्वीय दर्शनमा यस सम्बन्धी दृढ मान्यता स्थापित छ । जन्मजन्मान्तरको यो धारणा कर्मको नित्य चक्रमा  आधृत छ, यही जन्मचक्रको धारणाले स्रष्टालाई, उसको अहम्लाई र स्वत्वको भावनालाई वशीभूत गरेको छ  र अबिदित भविष्यका निम्ति आत्मोत्सर्ग गर्न ऊ तत्पर छ जसले गर्दा उसको आत्माको ध्वनि उत्तरजीवि रहिरहोस् ।  स्मृति-झल्का  मिलेका क्षणमा पश्चिमाहरुले पनि आफ्नो अनन्तताका लागि  लेखेको/लेख्ने गरेको    बताउँछन् । उदाहरणस्वरूप, एमी पुरस्कार ग्रहण गर्दाका  बखत ओप्रा विन्फ्रेले गरेको भाषणमा जोडदार शब्दमा यसो भनिन— हाम्रो चाहना कसैलाई प्रेमप्रकट गर्ने हुन्छ, हाम्रो इच्छा चिरञ्जीवि बनिरहने हुन्छ । यसर्थ हामी दृश्यमान बनिरहन चाहन्छौँ, हाम्रो अन्तध्र्वनि गुञ्जिरहोस् भन्ने चाहन्छौँ । यस जगत्को  निरवतामा हामीलाई अरुको साहचर्य; सखीभाव चाहिन्छ । किनभने मानवात्मा एकान्तमा रहिरहन सक्तैन ।  हाम्रा कलाकृति/सृजना कर्मले त्यही भूमिका निर्वाह गर्दछन् ।  तिनैले हामीलाई वाणी दिन्छन्, हाम्रो अन्तरात्माले  यसै भन्दछ । यसै कारणले गर्दा नै हामी सृजनकर्ममा तल्लीन भैरहन्छौँ । ओफ्रा विन्फ्रेले ‘यस मनुष्य चोलामा सदैव अविदित रहनु अर्थात् छायामा पर्नुजस्तो पीडादायी क्षण अरु कुनै हुन सक्तैन । यस लोकले  हामीलाई चिनोस्, हाम्रो वाणी सुनोस्— मैले यही गुह्य कुरा जानेकी छु, मलाई यही बोध भएको छ ।’ पनि भनेकी छन् ।

हाम्रो वाणी सुनियोस् एवम् हाम्रो साहचर्य नटुटोस्— यिनै दुईटा  विषयले हामीलाई सदैव उर्जावान बनाइदिन्छन् र हामी सृजनातर्फ आकृष्ट हुन्छौँ भन्ने स्पष्ट भयो । तर विन्फ्रेले हाम्रो कृतिको  परमायु यतिसम्मको भइदिए हुन्थ्यो  भन्ने बारेमा भने केही पनि इङ्गित गरेकी छैनन् । यस बारेमा  कसैले ठोकुवा गरेको छैन । माइकल एञ्जेलो वा लियोनार्दो दा  भिन्चीको कला वा मोजर्ट महान्को सङ्गीतको परमायु कति  वर्षसम्म हो त ? के यही जीवनभरि मात्र हाम्रो अस्तित्व कायम रहोस् भन्ने अभिलाषा हो त लेखक/स्रष्टाको ?  कि अनन्तकालसम्म रहिरहोस् भन्ने अभिलाषा हो ?  पश्चिमाहरुले  यसमा ठोस निर्णय दिन सक्तैनन्  किनभने  उनीहरुको  दर्शनशास्त्रले  अनन्तकालसम्मको समय भण्डारलाई  चियाएर हेर्ने आँखीझ्याललाई नै बन्द गरिदिएको छ ।
 
सौभाग्यवश हाम्रो प्राच्य दर्शनमा तद्विषयक व्याख्या विश्लेषण उपलब्ध छ । यसैले नै सृजन-साधना गर्नुहुने तपाईं हामी सबैलाई असीम आनन्द  र सान्त्वना प्रदान गर्दछ । यतिबेला मलाई ‘अहा, बल्ल पो भेटियो’ भन्ने खालको  तृप्ति भएको छ ।

मेरा अप्रकाशित कविताहरुको सङ्ग्रह मैले गत वर्ष नै तयार गरेको थिएँ । त्यस सङ्ग्रहका  निम्ति उपयुक्त शीर्षक मेरा मनमा  स्फुरण भएको थिएन । म त्यसैको चिन्तनमा डुब्दै थिएँ । झ्वाट्ट मनमा आयो, मैले शीर्षक जुराइहालेँ— एक कल्प । यसको अर्थ ‘कल्पनातीत कालावधि’ भन्ने हो यसको गणना देवताले मात्र गर्न सक्दछन्— मानिसले कसरी सकून ! अनलाइन डिक्सनरीमा  कल्प  शब्दको  अर्थ यस्तो छ— हिन्दू र बौद्ध दर्शनको गणना परम्पराअनुसार चार करोड बत्तीस लाख मानव-वर्ष अर्थात् सृष्टिदेखि महाप्रलयसम्मको ब्रह्माजीको एक दिनलाई कल्प भनिन्छ ।

यो विषय अति  विराट र अमापनीय छ, कल्पनातीत छ । एक कल्प व्यतीत भैसकेपछि सृष्टिको पनि एक चक्र पूरा हुन्छ । यो अवधि सृष्टिको आरम्भदेखि महाप्रलय भएसँगै अन्त्य हुन्छ । यस्ता अनगन्ती  ब्रहण्डीय चक्रहरु छन् । पौरस्त्य दर्शनमा  यस्ता अनन्त ब्रह्माण्डसम्बन्धि काल्पनिकी देखेर पाश्चात्य जगत्का  मानिसहरु आश्चर्यचकित भएका छन् ।

यसरी ब्रह्माजीको सृष्टि पटकपटक भैरहन्छ भन्ने कुरा सत्य मान्ने  हो भने मानिसको के हुने ? उनैले रचेको मानवात्माको हालत के हुने ? हाम्रो जीवनगति कहिलेसम्म कायम रहन्छ ? अनि हाम्रा साहित्य, कला, सङ्गीत कहिलेसम्म रहने ? कल्प-कल्पसम्म त मैले भन्दिनँ तर ब्रह्माजीको एक कल्पसम्म प्रतिध्वनित भैरहून्, धरतीभरि गुञ्जिरहून् । महाप्रलयपछि त के हुन्छ, म यसै भन्न सक्तिनँ । अर्को ब्रह्माण्डको रचना हुन्छ, हुँदैन । रचिएछ भने पनि त्यतिबेलासम्म त मेरा रचनाको कुनै नाम निशाना नरहला । तसर्थ साहित्यकलातर्फको हाम्रो निष्ठा र समर्पणको हेतु स्पष्ट छ, यो निरर्थक छैन । सबै भौतिक पदार्थहरु नाशवान्/अनित्य छन् भन्ने कुरा बोध भैसकेपछि मात्र हामीले  निराकार तत्त्वको नित्य धारणा स्विकारेका हौँ । यसको तात्पर्य साहित्यकला तथा सङ्गीत अविनाशी छन् र हाम्रा उत्तराधिकारीका  रुपमा  रहिरहन्छन् भन्ने हो ।

तसर्थ आफ्नो अस्तित्व बचाइराख्न चाहने हाम्रो तीव्र आकाङ्क्षाको  मूर्त अभिव्यक्ति  नै साहित्य हो, सुदूर भविष्यसम्म हामीलाई  हाम्रै बारेको विषयवस्तुलाई स्मृतिभण्डारमा  सुरक्षित राखिरहने माध्यम पनि साहित्य हो । महान् जर्मनेली दार्शनिक शोपेन्आवर पनि  यही स्वरमा  स्वर मिलाएर ‘हामीले आफ्नो प्रारब्ध भोग्नुपर्छ, मुमुक्षा भनेको यही हो’ भनेका छन् । यसको अभिप्राय केवल प्राण रक्षा गर्नु भनेको होइन, उत्तरजीवि हुनु भनेको हो जसको अर्थ आत्माकै निरन्तरता भन्ने हो । फ्रेडरिक नित्सेले  भनेको प्रारब्धको खेल यसै अनुरुप छ । दुवैको अभिप्राय उही हो ।

पाश्चात्य विद्वान्हरुले  यसरी प्रारब्ध/नियतिमा  विश्वास गर्छन् र मुमुक्षा नैसर्गिक छ भन्ने तर्क प्रस्तुत गर्छन् । यो सपना/इच्छा साहित्य कलाद्वारा साकार हुन्छ भन्छन् । प्राच्य दृष्टिकोण उनीहरुको यस्तो विचारभन्दा नितान्त पृथक् छ । प्राच्य ऋषिमनीषीहरुले समयको विस्तृति यति नै हुन्छ भन्ने विषयलाई ग्रहनक्षत्रको गणना गरेर निर्क्योल गरेका छन् । यही गणना अनुसार हाम्रो आत्मा  केवल एक कल्पभरि मात्र ब्रह्माण्डमा विचरण गर्दछ । मैले मेरा कवितामा  यही आशय वा आकाङ्क्षा अभिव्यक्त गरेको छु । ‘मेरो मनुष्य चोला अनित्य र अत्यन्त क्षणभङ्गुर छ, अल्पायुवाला छ तर मेरो साहित्य रचना घटिमा  पनि एक कल्पसम्म सुरक्षित रहोस्, कालजयी बनोस्’ । मेरो अभिलाषा यही छ ।

समस्त मानव जाति यही अनन्तताको यात्रातर्फ उन्मुख छ । हाम्रो स्थूल शरीर त नाशवान् र अनित्य छ तर  मैले  मानवात्मातर्फ सङ्केत गरेको हुँ । यो कुरा पनि मनुष्यको इच्छा अनुसार  चल्दैन, उसले चाहेर यो हुँदैन । व्यक्तिले त केवल प्रारब्ध भोग्ने हो तापनि हामी हाम्रा  विधाताप्रति कृतज्ञ/अनुगृहित छौँ र उनै परमात्माप्रति शिर झुकाउँछौँ ।  यस अन्धकार जगत्मा  मैले उनै दयालु जगदीशसँग यसरी पुकारा गर्दछु—

हे करुणानिधान परमेश्वर
हे कल्प कल्पान्तका नियामक
हे अगम्य जगत्स्रष्टा !
मेरो कविता पनि
तिम्रो आयुको दशांशभरि
धरतीमा गुञ्जिरहोस् ।

परमसत्ताको आदि र अन्त्य मेरा निम्ति अगम्य भएकाले दुईहात जोडेर बिन्ती गदर्छु— हे परब्रह्मा, ब्रमाण्डको एक आप्लावन्भरि मेरो काव्यिक रचना अमर बनाइदेऊ ... ।

अनुवादकः टेकनारायण ढकाल



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल