निबन्ध

कहाँ छ सौन्दर्य ?

मानिसले आफ्नो आनन्द पाएको अवस्थालाई नै सुन्दर ठान्दछ । आनन्दको जग ठुलो या सानो जे पनि हुन सक्छ । आनन्द इच्छाको परिपूर्तिमा निर्भर रहेको हुन्छ र त्यसको अधिक वा पुरा भागको सन्तुष्टिबाट त्यसलाई नाप्ने  काम गरिन्छ । तुलनाको जीवनमा मानिस सुन्दरता गुमाउन थाल्छन् । जहिले पनि आफूभन्दा ठुलासँग, राम्रासँग तुलना गर्दा आफनो सौन्दर्यलाई सानो देख्नु नै सुन्दरता गुमाउने खेल हो । आफ्नै जीवनको कमजोर पक्षभन्दा सबल पक्षको तुलना गरेर वा कमजोर मानिससँग आफूलाई सम्पन्न ठानेर तौलने कामले सुन्दरता बढ्दछ ।

मानिसले स्वतन्त्रता, शान्ति, सुरक्षा, प्रगति र सम्मानबाट पाएको आनन्दलाई सौन्दर्य ठानेको हुन्छ । कतिपयले प्राकृतिक सौन्दर्य र मानव निर्मित सौन्दर्य गरी यसलाई विभाजन गरेका छन् । प्राकृतिक सौन्दर्य साझा प्रवृत्तिको हुन्छ भने मानवनिर्मित सौन्दर्य सांस्कृतिक रहन्छ । तर मानिसको आनन्दको खोजी अनन्त रहने हुनाले सौन्दर्यको सीमा समेत अनन्त नै रहेको छ ।

जहाँ मानिसले आफूलाई अनुकूल जीवन बाँचेको पाउँछ त्यहाँ सुन्दरता रहन्छ । जीवनको अनुकूलता सौन्दर्यको कसी हो । यो जीवन सापेक्ष हुन्छ र जीवन सँगसँगै परिवर्तन पनि हुन्छ । मानिसले आफ्नो सुरक्षाका साथै अस्तित्वमा पनि सुन्दरता देखेको हुन्छ । अस्तित्वविनाको सुन्दरता नक्कली प्रकाश जस्तै हुन्छ । हो, सकारात्मक घमन्डमा सौन्दर्य भेटिन्छ । मेरो देश मलाई सबैभन्दा सुन्दर लाग्छ भन्नुमा म घमन्ड गर्छु । सकारात्मक घमन्डमा मानिसलाई सौन्दर्य बोध हुन्छ । मेरो देश अरुको तुलनामा बढी मायालु छ र म यसैलाई बढी माया गर्छु भन्नु उसको राष्ट्रिय आत्मगौरवको सकारात्मक अभिव्यक्ति हो । संसारमा कुनै पनि देश जस्तो होस्, त्यस देशका मानिसलाई त्यही आफ्नो देश प्यारो लाग्छ । त्यो राष्ट्रियताको गौरव राख्नमा मानिसले सामूहिक घमन्डको सौन्दर्य महसुस गर्दछ । आफ्नी आमाको मायामा डुब्नु तथा आमाको अस्तित्व स्वीकार गर्नु आमाप्रतिकौ सौन्दर्य बोध हो ।

सौन्दर्य र दृष्टिकोण सँगै रहेका हुन्छन् । अध्यात्मवादीका लागि ईश्वरको अस्तित्व स्थापित गर्नुमा सौन्दर्य रहेको हुन्छ । उसले मन्दिरमा देवताको उपस्थिति पाउँछ र खुसी हुन्छ । त्यही मन्दिरको सन्दर्भमा पनि आफ्नो सम्प्रदायको दर्शन अनुरुप सौन्दर्य खोज्दै मानिस सुखको तृष्णा मेट्दछ । भौतिकवादीका लागि मन्दिर बाहेकको परिवेशले पनि उत्तिकै सुखको महसुुस गराएको हुन्छ । ईश्वरको उपस्थिति छैन भन्ने विचारमा उसको सौन्दर्य व्यक्त भएको हुन्छ । त्यो भौतिकवादी दर्शनमा रम्ने व्यक्तिको सुख र ईश्वरवादी दर्शन सापेक्ष सुखमा फरक दृष्टिकोण रहेको पाइन्छ ।

सौन्दर्यको विकासमा संस्कृतिले प्रभाव पारेको हुन्छ । एक जना मानिसलाई तुलसीको बोटमा पूजा गर्नुमा आनन्द आउँछ । ऊ तुलसीको प्रयोग गरेर खानेकुरा बनाउने काममा लागेको हुँदैन र चासो नै राख्दैन । अर्को मानिस कहिल्यै त्यसलाई पूजा गर्नमा चासो राख्दैन । त्यस मानिसलाई पूजाको सट्टा तुलसी रसको प्रयोग अनुहारमा लगाउने, चियामा खाने, साबन बनाउने जस्ता कुरामा आनन्द लिन्छ । ठिक त्यस्तै कुनै मानिस पिपलको रुखमा पूजा गर्नुमा आनन्द लिन्छन् भने अर्काथरी पिपलको व्यावहारिक उपयोगिता, शीतलला, छहारी, अक्सिजनको प्रवाह, चौतारो जस्ता कुरामा सौन्दर्य अनुभूत गर्दछ ।

कति मानिस बाहिरी सौन्दर्यलाई वास्तविक ठान्छन् र रम्छन् । कति मानिस त्यसलाई झुट ठान्छन् र इन्कार गर्छन् । खासगरी सौन्दर्य बाहिर र भित्र दुवैमा रहेका हुन्छ । आँखाले देख्छ वा इन्द्रियले बोध गर्छ भने त्यो बाहिरी सौन्दर्य हो । मस्तिष्कले ग्रहण गर्छ र आनन्द लिन्छ भने त्यो भित्री सौन्दर्य हो । जहाँ हामी बस्छौँ त्यो बाहिरी र भित्रीको संयोजन हो र त्यसबाट नै सौन्दर्य प्रकट भएको छ । यही सौन्दर्यलाई दार्शनिक भाषामा मानिसहरु रुप र सार भन्छन् । कोइलीको कुहु जुन कानमा ठोकिन्छ त्यो बाहिरी सौन्दर्य हो भने सुनेपछि मनमा उब्जने आनन्द र कोइलीप्रतिको सकारात्मक दृष्टिकोण युक्त भाव भित्री सौन्दर्य हो । एक ठाउँमा मात्रै सौन्दर्य छ भन्नु त सौन्दर्यको हत्या गर्नु हो । वास्तवमा संयोजन र समन्वयमा नै यो रहेको हुन्छ । समन्वय विनाको कुनै पनि व्यवहार र वस्तुमा सौन्दर्य उपस्थित रहन्न ।

आफ्ना विचारलाई आफ्नो प्रगतिमा ढाल्नु सुन्दर पक्ष हो । प्रगतिमा नै सुन्दरता हुन्छ । यसमा पनि समाज र कानुनको नजरमा अनुकूले देखिने प्रगतिलाई लिनु पर्छ । एक जना चोरले चोरेको धनमा सौन्दर्य देख्न सकिन्न । भ्रष्टाचार गरेको पैसामा उसलाई त्यो प्रगति लागे पनि सौन्दर्यको वास्तविकता पाइन्न । झुटो प्रेमको फ्रेमभित्र पनि सुन्दरता बाँच्दैन । हिंसात्मक व्यवहारमा पाएको व्यक्तिगत आनन्द पनि सौन्दर्यको पक्षमा टिक्दैन ।

कहिलेकाहीँ समाजको भण्डाफोरमा पनि सौन्दर्य कायम रहेको हुन्छ । जुन समाजले व्यक्तिको सही खुसी खोसेछ भने त्यसका लागि भण्डारफोर नै सुन्दरता हुन्छ । स्वतन्त्रताको सीमालाई लत्याएको कानुनमाथि धावा बोल्नुमा पनि सुन्दरता पाइन्छ । सङ्घर्षमा सुन्दरता हुन्छ तर झगडामा होइन । तर्कमा सुन्दरता हुन्छ कलहमा होइन । वादविवादमा सुन्दरता हुन्छ तर विवादमा होइन । द्वन्द्न्व सुन्दरता हुन्छ तर तानातानमा होइन ।

प्रेमको बन्धन सुन्दर हुन्न । प्रेमको स्वतन्त्रता र सम्बन्धमा नै आनन्दको उपस्थिति रहन्छ । प्रेमको नाममा पिँजडामा थुनिनुभन्दा स्वतन्त्रताको विछोडमा रहनु सुन्दरताको बाटो हुन्छ । प्रेमको शैली र स्वार्थले सुन्दर र असुन्दरको निर्णय गर्दछ । नाम मात्रको प्रेममा बोझ, ढोङ र आवरणको नमिठोपन पाइन्छ । त्यस्तो जीवन अति नै असुन्दर हुन्छ । आवरणको प्रेममा आह्लाद पाइन्न । आशंका र आक्रान्त प्रेममा पनि सौन्दर्यको मृत्यु हुन्छ । स्वतन्त्रता, पवित्रता र छनोटको अनुशासन भएको प्रेम नै सौन्दर्यको घर हो । कर्मकाण्डीय प्रे्रममाभन्दा विज्ञानमा आधारित जीवन चयनको प्रेम नै पवित्र र सुन्दर पनि हुन्छ । त्यसकारण कहिले मिलनमा त कहिले विछोडमा सौन्दर्य बोध गर्न सकिन्छ ।

यो पृथ्वीका सारा प्रकृति कति सुन्दर छ ! तर सदा र हरेक मानिसका लागि प्रकृति सुन्दर हुँदेन । झरनाको सुन्दरता अरु आनन्दको सापेक्षतामा निर्भर रहन्छ । सन्तान वियोगको समयमा झरना आँसु बनेको महसुस हुन्छ । निर्मम अन्यायकौ मारमा पिल्सेको मानिसलाई पृथ्वीका दिव्य प्राकृतिक सोन्दर्य केही पनि रहने छैन । आफन्त गुमाएको बेला कुनै बालबालिकालाई कुनै फुलबारी सुन्दर लाग्दैन । सहज र असहज अवस्थाले नै सुन्दरता तय गर्ने गर्दछ ।

मेरो घर नजिकको हिमालको हिउँखोली मलाई शीतल लाग्दैन । एक छिन रमणमा आउने पर्यटकहरु शीतलता महसुस गर्छन् । उनीहरु तस्विर खिच्छन् र क्यामेरामा कैद गर्छन् । तिनका क्यामेराले त्यो हिउँखोलीको दुख देख्दैन र खिच्दैन पनि । त्यो खोलीको डिलबाट मेरी हजुरआमाले आत्महत्या गरेको वास्तविक कथाको चित्र कसले खिच्न सक्छ ? मेरा हजुरबाले त्यो दृश्य आफ्नो मुटुमा कैद गरेका थिए र उनीसँगै सकियो । मेरा आमा र बुबाले त्यसलाई आँसुमा बगाएर हामीसम्म ल्याइदिनु भएकोे छ । अहिले मेरो मनमा त्यो तस्विर कहालीलग्दो दुखेसोको छाया चित्र बनेर बसेको छ ।
 
मैले भोगिरहेको, मैले छामिरहेको, मेरो भोगाइको दुखमा अरुको विचार नपुगेकाले म जसलाई दुखका साथ महसुस गर्छु त्यहाँ अरुहरु सुख देख्छन्, सौन्दर्य देख्छन् र रम्छन् । त्यस खोलीले कतिका आँखा खायो, कतिका हातका औँला खायो । कतिका गोडाहरु नै खायो । कतिका छातीमा हिउँ जमेर श्वासप्रश्वास नै बन्द गरिदियो र जीवन निल्यो । यस्ता दर्दहरुकौ आक्रमणमा परेर मेरा पुर्खाहरु चिहानमाथि चिहान बन्दै बिलाए र त्यस्तो क्रूर इतिहास मलाई थाहा छ भने कसरी म यसमा सौन्दर्य अनुभूत गर्न सक्छु ? के मैले आफ्नो दुखको पोको फुकाएर एक क्षण फोटो खिच्नेको सुख खोस्न सुहाउँछ ? त्यो खोलाको गीत जहाँ कहिल्यै पेटभरि खाएको भाका सुनिएन, जहाँ कहिल्यै प्रेमको वाचा पुरा भएको भाव आएन, जहाँ कहिल्यै संसाँझै एक्लै बस्दा पनि सुरक्षाको बोध भएन । त्यस्तो ठाउँ भएर पनि म त्यसैको अंशियार छु अनि म र राज्यको बिचमा यस बारे कुनै विचारको आदानप्रदान पनि भएको छैन । म राज्यलाई चिन्छु तर म कसैबाट चिनिन्न र एक्लो रहन्छु भने मलाई सौन्दर्य बोध कहाँबाट आउँछ ? वास्तविकतामा बाँचेको कुरुपता कसैका लागि ज्यादै सुन्दर लागिरहेको छ । पहिचानमा सुन्दरता रहन्छ ।

मेरो मन जलाउनेहरु मेरै कुरा काटेर पनि सुखी भएका छन् । तिनका विचारमा म तिनका सुखको वस्तु थिएँ । त्यसबेला मेरो प्रशंसामा सौन्दर्य देख्थे । आज मेरो कुरा काट्नुमा सौन्दर्य देख्छन् । म त्यतिबेला पनि घृणामा थिएँ र घृणित बनेँ । आज पनि सोही अवस्थामा छु । सौन्दर्य लुट्नेहरुले जताबाट पनि लुटिरहेका छन् । यसरी लुटिएको सौन्दर्यमा म पाप, अभिशाप र कुरुपता देख्छु । लुट र झुटको सौन्दर्य मेरो मनले जहिले पनि बर्खास्त गर्दछ । के सौन्दर्य भोगको वस्तुकरण मात्र हो ?

धनको धन्दामा सुन्दरता मात्र हुन्छ र ? आज संसारमा विभिन्न प्रकारका धनको आविष्कारले सौन्दर्य सजिएकौ अवश्य हो । तर त्यहीँबाट कुरुपताको खेल पनि सुरु भएको छ । कोही धनी बन्ने नाममा स्वाभिमानको सौन्दर्यलाई बन्धकी राख्छन् भने त्यसलाई कै भन्ने ? धनकै लागि आफन्त मार्नु, भ्रष्टाचारमा पुरिनु, शक्तिकौ पोको किन्न खोज्नु र जे पनि गर्न सक्छु भन्ने घमन्डमा फुल्नुलाई सौन्दर्य मान्न सकिन्छ ?

म एक्लो हुनुमा अरुलाई कुरुपता लाग्ला तर मलाई सुन्दर लाग्छ । मेरो मनको चित्र पनि कुनै क्यामेरामा कैद हुन सक्दैन । यसबाट निस्केको निष्कर्षहरु राख्दा– छाम्दा कुरुपता हेर्दा सुन्दरता, बाँच्दा कुरुपता देख्दा सुन्दरता ।

सबै मानिस सुन्दर कुरा मन पराउँछन् तर सौन्दर्य फरक फरक छन् र त्यौ परिवर्तन पनि भइरहन्छ । सुन्दर जीवनको गतिमा लाग्ने सबैको इच्छा हुन्छ तर त्यसलाई नचिन्दा असुन्दर संसार खडा हुन्छ । सुन्दरता चिन्नु पनि सौन्दर्य हो तर त्यसलाई नचिन्दा जीवन ज्यादा कुरुप बन्छ । मानिसको मूल उद्देश्य नै सुन्दर जीवन जिउनु हो । सुन्दरता कहाँ पाइन्छ ? टाढा वा नजिक ? त्यसको तयारी उत्तर पाइन्न । मनस्थिति र परिस्थितिको समपेक्षतामा सुन्दरता जन्मेको हुन्छ र त्यसलाई टिप्न सकै मानव जीवनमा सुन्दरता निकट रहन्छ ।

सुन्दर जीवनका लागि सुन्दर विचार, भाव र कर्मको पक्षमा लाग्नुको विकल्प छैन । अब कुन विचार सुन्दर हो ? जुन विचारले मानव जीवनलाई हानी गर्दैन र प्रगति, समन्वय र आनन्दैको वर्षा गराउन सहयोग गर्दछ त्यही नै सुन्दर हुन्छ ।

आनन्दको सकारात्मक र मानवतावादी जीवनको गीत, प्रीत र रीत मिलेको जीवनमा सौन्दर्य जन्मेर हुर्कन्छ । मानिसका इच्छा र आनन्दका अनन्त आयामहरु भएका सौन्दर्यका पनि सीमाहीन रुपहरु रहेका छन् ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल