निबन्ध

जामोइस्ककी मार्था र माटोको पर्खाइ

Jamosc’s Martha and the Endless Await of Soil
कुमारी लामा

प्रिय मार्था !
भूगोलले हामी दुईबीच निकै लामो दूरी तय गरिदिए पनि सम्झनाका मीठा छालहरूसँगै हामी हरपल समिप छौँ । आज अचानक तिम्रो सम्झना सदाभन्दा निकै गाढा भएको छ । हेटौँडाको भैरवडाँडा चढ्दै गर्दा सल्लेरी पाखाको हरियो स्वागतसँगै तिम्रो मायाको पालुवा आफूभित्र हलक्कै अग्लिएको महसुस गरेकी छु । जसै भैरवडाँडाको भ्यु टावरबाट फाँटिलो हेटौँडा बजार निहाल्छु, तिम्रा सम्झनाका चहकिला केस्राहरू क्रमशः छोडिँदै जान्छन् । हिउँदको सङ्लो राप्तीजस्तो तिम्रो मुहार एकाएक आँखाअगाडि सल्बलाइदिन्छ ।

लन्डन बसाइको अन्तिम दिन तिमीसँगको उलिच टाउन सेन्टरको घुमाई, कैलाश रेस्टुरेन्टमा तिमीले मीठो मानी खाएको नेपाली खाना र टेम्सको छोटो फेरी यात्रा आज सबै सबै ताजा हुँदै छन् । मार्था, तिमी पोल्यान्डकी चेली, एउटी आमा अनि एउटी दुरदेशकी नागरिक । खै ! कसरी मसँग यति नजिक भइदियौ मैले मेसो नै पाइनँ । बस्, खुसी भएँ तिम्रो साथमा, तिम्रो मायामा । कसरी हो आज गोविन्द वर्तमानको ‘सोह्र साँझ’भरि तिम्रो पीडा छरिएको पाएँ । तिमीले देशको सम्झनामा मेरोसामु झारेको मनतातो आँसु यही पुस्तकभरि बग्दै गरेको आभासले अलिकति अत्तालिएकी छु । युद्धको तिक्तता जो तिमीले सुनाएकी थियौ उस्तै ताजा अनुभूति बग्दैछन् सोह्र साँझभरि । तिम्रो हजुरबुवा बेपत्ता पारिएको पोल्यान्डभन्दा फरक छैन मेरो देशको दोरम्बा र लिबाङको दुःख पनि । तिम्री बैँसालु हजुरआमाले साना केटाकेटीसहित तय गरेको भयग्रस्त एक्लो यात्राभन्दा फरक छैन मेरो देशका आमा, हजुरआमाहरूको व्यथा पनि ।

अनायासै घाउ बल्झिँदै छ एकपटक फेरि तिम्रो बेपत्ता भएको हजुरबुवाको सम्झनामा र लिबाङका युद्धपीडितहरूको सातो हराएको अनुहारको झझल्कोमा । कहिल्यै निको नहुने रोग दियो दस वर्षे युद्धले हामीलाई । प्यारी मार्था, तिम्रै हजुरबुवाजस्तै हजारौँ अझै बेपत्ता छन् कोही सरकारको तर्फबाट, कोही विद्रोहीको तर्फबाट । आखिर बेपत्ता पारिनु न हो, जसले पारे पनि, आखिर परिवारको आँसुको भेल बग्नु न हो, आखिर एउटी आमाको कोख रित्तिनु न हो, एउटी सदुवा विधुवा हुनु न हो, एउटी छोरी टुहुरी हुनु न हो, देशले एउटा नागरिक गुमाउनु न हो । त्योभन्दा बढी के नै हुनु छ र, हैन ? आखिर हामी बेपत्ता भएकै छौँ, बेपत्ता पारिएकै छौँ । एउटा देश नै बेपत्ता हुन सक्ने संसारमा, एउटा गाउँ नै बेपत्ता हुन सक्ने मुलुकमा, एउटा मान्छे हराउनु कुन ठूलो कुरा भयो । पीर नगर मार्था ! यहाँ यस्तै यस्तै खेल चलिरहन्छ । तिम्रो हजुरबुवा मात्रै होइन तिम्रो देशै पनि विश्व मानचित्रबाट शताब्दीऔँ बिलाएको थियो । कति सङ्घर्षपछि बल्ल तिम्रो देशको नक्सा फेरि देखाप-यो विश्व चित्रमा । यो शक्तिको खेल, यो राजनीतिको खेल, यो डरलाग्दो खेल चलिरहन्छ संसारभर ।

यहाँ विश्वबाट साना देशहरू बिलाएका छन्, यहाँ आफ्नै देशबाट कैयौँ गाउँहरूको नामोनिसाना हराएको छ । पीडा तिम्रो, पीडा मेरो, पीडा हामी जस्ताको उस्तै हो । तिम्रा पितापुर्खाहरूले यहुदी हुनुको रक्तपातपूर्ण इतिहास बेहोरेजस्तै हामी पनि आफ्नै दाजुभाइ दिदीबहिनीहरू बली भएको अँध्यारो समयका साक्षी हौँ । इतिहासमा प्रायः यस्तै हिंसात्मक निर्णयहरू भएका छन् । युद्धका अर्बुध रोगहरू बल्झिन्छन् घरी यता घरी तिम्रोतिर । तिम्रो देशको पहिचानका लागि लडेका सारा योद्धाप्रति नमन । तिमीसँगको छोटै उठबसमा पनि तिमीले पोखेको आफ्नो देशको पीडा म मेरै देशको नियतिसँग दाँज्दै गर्दा एक घुट्को आँसु निल्छु । त्यही आँसुले भिजाएको मनमा अलिकति तिम्रो सम्झनाको फूलपाती चढाउँछु । बहकिएको मन शान्त हुन्छ ।

साँच्चै मार्था, आफू जन्मे-हुर्केको देश गाउँको मायाले हामी घरीघरी कायल हुँदा रहेछौँ । केही वर्ष लन्डन बसाइको क्रममा म बारम्बार देशबाट टाढा हुनुको असहजताबाट कोपरिए । सायद तिमी पनि मजस्तै दुख्दिरहेछौ । त्यसैले बारम्बार आफ्नो गाउँ-ठाउँको कुरा झिक्थ्यौँ । मलाई बिदाइका हात हल्लाउँदै आफ्नो गाउँ जामोइस्कको लिफलेट दियौ उपहारस्वरुप । त्यो पक्का पनि तिम्रो आफ्नो ठाउँप्रतिको मोह हो भन्ने मैले बुझेकी छु । विश्वास गर मार्था, यो लिफलेट नै आजसम्मको सबैभन्दा अमूल्य उपहार भएको छ मलाई । यी पन्नाहरूभरि तिम्रो माया पोखिएको छ । यो उपहार दिँदै गर्दा पनि मैले ख्याल राखेथेँ सन्तुष्टिको सुनौलो रङ्गले उज्यालिएको तिम्रो मुहार । पोल्यान्डको दक्षिणी भेगको लुबलिन प्रान्तको तिम्रो जामोइस्क भन्ने गाउँ आज विश्व सम्पदा सूचीमा रहेको कुरा सुनाउँदै गर्दा गर्वले तिम्रो अग्लो कद अझ अग्लिएझैँ लागेथ्यो । आफ्नो ठाउँप्रतिको सामीप्य र माया मैले तिमीबाट अलि बढी महसुस गर्न सकेँ । तिमी लन्डनमा बसिरहँदा पनि आफ्नो देश र रहनसहन खानपिनलाई उसैगरी अँगालेको देख्दा म निकै चकित भएकी थिएँ मार्था ।

दोस्रो विश्वयुद्धताकाको जर्मनको हालीमुहाली र तिम्रो देशलाई विश्व मानचित्रबाट निकालिदिएको तिक्तताले तिम्रा पुर्खाहरू कति आल्हादित भए होलान् ! जे होस् तिम्रा हजुरबुवाको बलिदान खेर गएन । आफूहरू बेपत्ता भएर पनि देशलाई बचाउन सके । तिम्रो देशको अस्तित्व मेटिन पाएन । त्यसैले तिमी पोल्यान्ड र जामोइस्ककी छोरी भएकोका शानले टाउको उठाउन सकेकी छौ मार्था ।

आज तिमीलाई सम्झँदै केही लेखिरहँदा तिम्रा गुनासाहरू पनि उतिकै ताजा भएका छन् । तिम्रो देशले अरु युरोपियन देशहरूको जस्तो आर्थिक विकासमा फड्को मार्न नसक्नुको पीडाले तिमी र तिमीजस्ता कैयौँ पोलिसहरू बसाइसराइ गर्न बाध्य भएका रहेछौ । यो तिम्रो देशको मात्रै समस्या हैन । यो त अन्तर्राष्ट्रिय रोग नै हो । के तिमी विश्वास गर्छौ मार्था ? मेरो देशका कैयौँ गाउँहरू त बिलकुल रित्ता भएका छन् आजकल । यो ब्यथा आजको मात्र हैन, निकै पहिलेदेखि नै देश छोड्ने अभियान चलिरहेकै छ । निकै अघि नै कवि मीनबहादुर विष्ट यसरी दुखेका छन् आफ्ना कविताभरिः
    काँधमा रातो रुमालले बीचमा टपक्क बाँधेको झोला र
    कम्मरमा वर्षौंदेखि शान नलगाई खिया परेको खुकुरी भिरेर
    थला परेका बूढा बाआमालाई
    मुर्दाघरजस्तो घर रुङ्न अह्राउँदै
    पियारीहरूलाई साथमा लिएर
  हिँडिरहेछन् तन्नेरी छोराहरू जनम ठाउँ छोडेर
                         (मीनबहादुर विष्ट, साला पहाड में क्या है ?)

कोही सहर, कोही, अरब र कोही बेलायत, अमेरिकातिर भासिदिँदा मेरो देशका थुप्रै थुप्रै गाउँहरू एक्लोपनले कहालिँदै आफ्ना गाउँबासीको सम्झनामा आँसुको पोखरीमा डुबेका छन् । कवि विष्टलाई जस्तै चिमोटेको छ कवि श्यामललाई पनि हाम्रा रित्ता गाउँहरूको क्रन्दनले । उनको रित्तो गाउँले बोकेको यथार्थको सामना गर्न मलाई निकै मुस्किल भयो प्यारी मार्था । केही बेर त नबुझे जस्तो गरेँ । तर त्यो नमिठो सत्यलाई कति बेरपो म उपेक्षा गरिरहन सक्छु र ! त्यो स्याङ्जाको आक्राङ गाउँ (गुरुङ गाउँ) को घाउ देशैभरिका अरू गाउँहरू पनि दुख्दैछन् । श्यामलको रित्तो गाउँ पढिरहँदा निकै दुख्दै सम्झिरहेँ लीला गुरुङ, सुब्दार्नी आमै, कमिनी दिदी र गाउँ कुरिबसेका वृद्धवृद्धाहरूलाई । छोरी अन्माएपछिको घरजस्तै रित्तो रित्तो भएको छ गाउँ आजकल । मार्था, हुनसक्छ तिमीले छाडेको तिम्रो गाउँ पनि उस्तै खाली र निरश होला । तिम्रो प्रतीक्षाका सुस्केराहरू बाटाभरि बिछिएका होलान् ।

मलाई विश्वास छ हाम्रो रित्तिएको गाउँहरूको ओइलिएको खुसीलाई हरियो हसाउन फर्कनेछन् सबै विदेसिएकाहरू आआफ्नै थान थलोमा । मलाई विश्वास छ मार्था तिमी पनि आफ्नो एक्लिएको गाउँलाई साथ दिन छिट्टै फिर्ने छौ तिम्रै जामोइस्कमा ।

तिम्रो सम्झनाको उज्यालाहरूले मलाई भैरवडाँडाको उचाइमा मात्र हैन चित्लाङ भन्ज्याङ्को मानेमा फहराइरहेका लुङ्दरहरूको फर्फराहटसँगै पनि पछ्याइरहेछ । रित्ता गाउँहरूले बिलकुलै रित्तो बनाएको मनमा बिस्तारै आशाका बिरुवाहरू उम्रिन थालेका छन् । तिम्रो हजुरबुवाको बलिदानले अस्तित्वमा ल्याएको पोल्यान्ड र हाम्रा दिदीबहिनी दाजुभाइहरूको रगतले भिजेको मेरो देशको माटोमा उर्वरताको सुनौले उषा चाँडै नै मौलाउने छ मार्था । जामोइस्ककी मार्था चाँडै आउनेछ त्यो उज्यालो दिन ।

बिदा आजलाई ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल