निबन्ध

मृत्यु सौन्दर्य

Beauty of Death
मोमिला

    कति कुरा गर्नु जीवनको ! बिहान अनि साँझहरूको !!
    कति कुरा गर्नु सभ्यताको ! उत्थान अनि पतनहरूको !!
    कति कुरा गर्नु समाजको ! धर्मात्मा अनि पापीहरूको !!
    कति कुरा गर्नु विश्वको ! युद्ध अनि सम्झौताहरूको !!
    पढ्न मन नपरेरै पढ्न परे जस्तै त हो !
    किन कुरा नगर्नु आफ्नै छायाँ मृत्यु सौन्दर्यको !...!!


    ग्रीष्मको उष्ण मौसम, झरीको शीतल शीतल बाछिटाहरूको रोमाञ्चक चित्रकारी भरिएका पर्दाहरू लहराइरहँदा र बेलाबेलामा तिनै पर्दाले उघारेका झ्याल बाहिरका दृश्यहरूको मादकता आँखाले मस्त पिइरहेकै बेला जब आँखाको पर्दा झर्छ र निद्रादेवीको शरणमा पर्छ; तब आँखाभरि टाँगिएको त्यो अघिको दृश्यमा निष्पट्ट कालो पोतिए पनि, मौसमका रङ्गहरू जता उडे पनि या मायाको फेर जता अल्झे पनि उसलाई कुनै फरक पर्देन । साँच्चै, जीवनमा निद्रा आफै मृत्युसरह लाग्छ । त्यही निद्राभित्र पनि सपनामा कयौँ पटक मैले, म आफै मरेको देखेकी छु—

 

    “आजै र राती के देखेँ सपना मै मरी गएको
बतासबिनु हाँगाको फूल भैँ झरी गएको”

 
    सपनाभरि नै पृष्ठभूमिमा दुरुस्त त्यही मृत्युगीत बजिरहेको थियो । त्यतिखेर म पुतलीसँगै च्याउको छाता ओढ्ने फुच्ची त थिइनँ र उन्मत्त जवानीको महसुस पनि थिएन । उडान भर्न तैयार पखेटा लागिसकेको तर उड्न नसकेको पंक्षीजस्तो धरमर सपनामा थिएँ, म; जसलाई आफ्नो गुँडको सिमानाबाट बाहिरिएपछि पुनः गुँडमा पस्ने इजाजत हुन्न । बरु, सम्पूर्ण जवानीमा रहेको नारायण गोपालको आवाजमा त्यो गीतले मलाई बारबार बेस्सरी चिमोटिरहन्थ्यो । मानौँ, त्यही गीत सुन्दासुन्दै मूल बाटो छेवैको विशाल वृक्षमुनि आनन्दले शान्तिमा सुतिरहे जस्तो आफ्नै लासभित्र प्रवेश गर्न म भने भरमग्दुर प्रयास गरिरहेकी थिएँ । म त मरेको रे ! तर, त्यहाँ मेरो मृत्युका नाममा कोही पनि रोएका थिएनन् । मृत्युको कुनै आलाप थिएन । सबै आ-आफ्नै गन्तव्यतिर हिँडिरहेका थिए । कुनै घटना भए जस्तै थिएन । बिस्तारै बिस्तारै कहाली लाग्दो सन्नाटा छायो । त्यो सुनसान सुनसानमा आफ्नै लास रुँगिरहँदा आफै छटपटिरहेकी थिएँ । उकुसमुकुस जस्तो कसो कसो डराइरहेकी थिएँ; हडबडाइरहेकी थिएँ । त्रासदीपूर्ण बादलले मस्तिष्क डम्म ढाकेको थियो— यदि लास भएको म उठिनँ भने !...!! सायद, म त्यो लास छिटोभन्दा छिटो ब्युँतेर अरू जस्तै चलायमान भएको हेर्न चाहन्थेँ; गन्तव्यतिर हिँडेको हेर्न चाहन्थेँ अर्थात् सायद म अस्तित्वको भोकले रन्थिनिएर पुनर्जिन्दगी चाहन्थेँ । त्रासदीपूर्ण हडबडमै या भनौँ सास्ती सास्तीमै ब्युँझदा त तातो तातो बगरमा नग्नता लुछिएसरि पसिनै पसिनाले म निथ्रुक्क भिजेको रहिछु ...। यद्यपि म दुरुस्त थिएँ । फेरि पनि सन्देहमा आफैलाई स्पर्श गरेँ, चिमोटी हेरेँ— मरेको रहिनछु । एक अर्थमा आफूलाई बाँचेको पाएर मेरो अस्तित्वसुलभ मन ढुक्क भयो र बिपनामा त परै जाओस्, सपनामा पनि कहिल्यै मर्न नपरोस् है ! भन्ने आफैसँग ढिट सर्त राखेर बाँकी जिन्दगीको खुला आँखाका सुन्दर सुन्दर सपनामा डुबिरह्यो मन...। आहा ! भ्रमिल सपना ! तर कति रोचक सत्य !

 

    ओहो ! सुन्दर सुन्दर सपना खोज्दै सहर पसेको पनि दुई दशक बितिसकेछन् । रूपवान् सपना खोज्दाखोज्दै, घामपानी झेल्दाझेल्दै फोहरको थुप्रो जस्तो आफ्नै भत्किएका सपनाहरूको डङ्गुर सामुन्ने जिन्दगी कत्तिसारो विरूप भैसकेछ, पत्तै पाइएन । आज, वर्तमानमा निसास्सिएकै बेला त्यही भत्केका सपनाहरूको फेर समाउँदै सपना जहाँबाट प्रारम्भ भएथ्यो त्यतैतिर वेग मारिरहेछु । तिन दिनको झरी रोकिएर भरखर खुलेको आकाश, यतिखेर साँझ डुबेर जुनेली रातको मादकता उदाइसकेको छ । गन्तव्यतिर सररर बढिरहँदा पछाडि सरिरहेका काला पहाडहरू अनि पहाडमाथि जिन्दगीको साक्षी जन्ती जस्ता रुखहरूका लस्कर अचानक टक्क रोकिन्छन् । त्रिशूली नदीको किनारै किनारको यो सङ्गीतमग्न जुनेलीमय जन्तीमनको यात्रामा अकस्मात् पहाड खसेर बाटो थुनिएछ, हामी यात्रुहरू बसभित्रै थुनिएका छौँ । बिस्तार बिस्तारै पहाडमाथिका जन्ती जस्ता रुखका लस्करहरू मलामीमा बदलिएर स्थिर भए जस्तो लाग्दछ । बसभित्र सबै साथै छौँ, तर सबै अपरिचित छौँ । यसबेला कतै पहिरोले दुई पहाडको बिचमा छङछङी बगिरहेको छेउको नदीको बाटो नै थुनिदिए आँखाले नभ्याउने गरी रेल बनिसकेको मोटरगाडीहरूको लस्कर र त्यो लस्करमा चलमलाइ रहेका हजारौँ जीवनको इहलीला बाढीभेलसँगै एकै ठाउँमा समाप्त हुने छ । हुन त एक पटक समाप्तिनु छँदै छ । फेरि पनि पहिरो जाँदै गरेको पहाड मुन्तिर यस्तरी सीमान्त जोखिममा धुस्रेफुस्रे बिल्कुल आफन्तहीन बाँचिरहेको विरूप जिन्दगीको पनि किन कत्तिसारो माया लागेर आउँछ ? बाटोको पहिरो पन्छाउँदा पन्छाउँदै झन्डै सिङ्गो रात त्यहीँ गुज्रिएको थियो । यसरी भोक, प्यास, त्रास र अजनबी पीडा झेलेरै पनि जिन्दगीले वेग मारिरह्यो, सँगसँगै पानीहरू किनारमा ठोक्किँदै गर्दा साथमा सङ्गीत, समय र किरणहरू पनि बगिरह्यो । बिहान हुँदा उज्यालो फैलिएर चरीको चिरबिरसँगै आस्थाका गजुरहरू प...र क्षितिजमा देखिन थाले ।

 

    ...जसरी त्यागमै जीवन बिताएका इच्छामृत्युको वरदान प्राप्त भीष्म पितामह जस्ता महाभारतकै अति दृढ पात्र समेत मृत्युकै वाणमाथि सुतिरहनु पर्दा पनि कति समय त सांसारिकतामै अल्झिरहन्छन्; त्यसमा हामी सामान्य मान्छेको त के कुरा र ! फेरि पनि तोल्स्तोयको कथामा जस्तो मान्छेलाई कति जमिन चाहिन्छ, दौडेर नापिरहनु छैन मलाई...!! उनले मेरो चेतनाको स्पेसमा नमेटिने गरी उहिल्यै उत्तर भरिदिइसकेका छन् । फेरि मलाई स्थाई जमिन पनि चाहिन्न । अन्ततः खरानीमाटो बनेर जमिनकै हिस्सा बन्ने छु ।

 

    अँ प्रसङ्ग बदलिन्छु—
    गाउँ पुग्दा देख्छु— भुइँकुहिरोले कहिले  छोपिने र कहिले उघ्रिने वस्तीमा उहिल्यै मेरो सपनाको पङ्ख उम्रेको घर उस्तै, घरभित्र टाँसिएका तस्बिरहरू उस्तै, घरपछाडिको बाँसझाङ् उस्तै, बस्तीको पुछारमा रहेको मन्दिर उस्तै, मन्दिर नजिकैको ठुलो पिपलको वृक्ष उस्तै, वारि पारिका विशाल लम्पसार सुते जस्ता पहाडहरू उस्तै, तमोरको बहाब उस्तै, सल्लेरीको सुसाइ पनि उस्तै र रानीवनको परिचित सुगन्ध पनि अझै उस्तै । मानौँ, विकास अर्थात् सबै सबै एउटा पुरानिँदै गएको स्टिल फोटो जस्तै रोकिएको छ र मात्र जिन्दगीजस्ता जिन्दगीहरू हावाको झोक्कासरि कहिलेकाहीँ स्टिल फोटोबाट निस्केर चलमलाउँछन्, भागदौड गर्छन् । मानौँ, गन्तव्य विहीन उही पुरानो एउटै उचाइमा पाइलाहरू उक्लिरहेछन्-झरिरहेछन्...। फेरि पनि कुन्नि कस्तो एउटा विश्वास पानी बनेरै आँखामा अल्झिरहेछन्...!

 

    यस्तै बेतुकको जिन्दगीबाट पनि भड्किएका कोहीकसैका इच्छाहरू उसैको साँझको प्रथम पेगमा डुबुल्की मारिरहेको हेर्न कहिलेकाहीँ म उत्सुक हुन्छु । यस्तो लाग्छ, जीवनको मूल विषयबाट भड्किएर अचानक आइलागेको सहायक विषयझैँ मन्द विषका रूपमा अन्जानमै ऊ मृत्युलाई स्वागत गरिरहेछ..., तर ऊ कुरूपभन्दा कुरूप जिन्दगी पनि मृत्युका नाममा सचेत भाक्न भने कुनै पनि हालतमा चाहँदैन ।

 

...त्यसैले त हो, जिन्दगीले दिएका घाउहरू सहलाउन नसक्दाका थुप्रै थुप्रै रेखाङ्कित पीडाको क्षण पनि कसैको घृणाको बोझिल आवाजलाई सङ्गीत मानेर म झुमेको छु । बरु, जिन्दगीसँग स्वेच्छिक अवकाश लिएर उद्धृत पुरानो मौसममा रमेको छु । कयौँ पटक विपनाको उकुसमुकुसबाट मुक्त भएर सपनाको प्रियतामा फर्केको छु । यसरी जीवनका अस्तव्यस्त संवेदनहरूसँग लुकामारी खेल्दाखेल्दै लास पनि देख्न नपाएर एकाएक गुमेको सर्वप्रिय आफन्तझैँ या आकाशमा उडिरहने चराहरू एकाएक गायब भएझैँ म पनि आफैले सधैँ हेर्ने गरेको आकाशको निलो गहिराइमा एकदिन चुपचाप चुपचाप समाधिस्थ हुने छु । यतिखेर मेरो त्यो मृत्युमय दिनको कल्पनातीत क्यानभासमा जीवनभन्दा परको चित्रकारिता भरिरहेछु— त्यो दिन जाडोलाई भरखरै बिदाइ गरेर गर्मीको आभास दिइरहे जस्तो नयाँ ऋतुलाई निमन्त्रण गरिरहेको प्रथम पुलकित क्षण होस्, रातलाई बिदाइ गरिरहेको मिरमिरे उज्यालो होस्, निलो आकाश, कताकति बादलका टुक्राहरू, क्षितिज प...र परसम्म रङ्गिएको होस् । म नरहूँ केही छैन, तर म नरहेको दिनमा जताततै मैले सोचे जस्तै जिन्दगीको छाप रङ्गियून् ! अर्थात् मेरो जलिरहेको चिताबाट निस्किएका बादल जस्ता धूँवाका आकार आकारका नृत्यमग्न झुप्पाहरू नीलो आकाशको पृष्ठभूमिका स्पष्ट देखिँदै बिलाऊन् ! ता कि मृत्युले पनि हर उज्यालोमा आफ्नो छायाँसरि जिन्दगीसँग कृतज्ञता जाहेर गरिरहून् !!

 

फेरि पनि यतिखेर, म त्यो अस्तित्वसुलभ त्रासद सपना सम्झिरहेछु र आफैलाई प्रश्न गरिरहेछु—“आखिर मृत्युको त्यो शालीन सौन्दर्यलाई म किन सपनामा पनि स्वीकार गर्न सक्तिनँ ?” जबकि चेतनाबाहेक मृत्युले हामीसँग खोसेर लग्ने केही होइन; शरीर पनि यसै छाडिदिन्छ । फेरि चेतनाबिना पीडा कहाँ र ! केवल आनन्दै आनन्द ! र-पनि हामी मृत्युको सौन्दर्यबाट किन विमुख छौँ ?

 

    कतिखेर त विपरीत परिस्थितिहरूबिच बाँच्दै जाँदा उही पीडापहाडको फेदीमा बसेर चिच्याउन मन लाग्छ— “भो चाहिँदैन मलाई जालो जस्तो जेलिएको बाँच्नै गाह्रो जिन्दगी !” तर त्यसबेला पनि जिन्दगीलाई घुक्र्याउँदै जिन्दगीकै नाममा उही पहाडलाई कति कति भीरफूलहरू चढाएकी छु, उही पहाडमा ठेस लागेका ढुङ्गाहरूलाई देवतै मानी ढोगेकी छु । जिन्दगीका नाममा भनेजति सुनेजति सारा सारा आदर्शहरू भाकेकी छु । भ्रम नै सही, कहिले त करिब तिन करोड जिन्दगीका लागि तेत्तिस कोटी देवताको छत्रछायाँ सम्झँदा मात्र पनि पूर्णतः मृत्युप्रुफ लाग्छ जिन्दगी ! अब त जिन्दगीका नाममा जिन्दगी नै दाउमा राख्नुदेखि बाहेक गर्नुपर्ने, सम्झनुपनेँ बाँकी नै के होला र ! फेरि पनि सृष्टिलाई सदा सुन्दर बनाई राख्ने प्रकृतिको दूरदर्शी सत्य मृत्युको शालीन सौन्दर्यलाई जीवन किन बारबार अस्वीकृत गरिरहन्छ ?

 

    कहिलेकाहीँ मृत्युबिना मात्र जीवनको कुरूप भीड सम्झँदा पनि कहाली लाग्छ । हुन सक्छ यसैले कहिले केवल विरोधमा आफ्नो योग्यता देख्ने त कहिले ढुङ्गाको अमुक भाषण प्रिय मान्ने मान्छे चाहेर या नचाहेर जीवनमा बितन्डा मच्चाइरहन्छ र अचेतमै अन द स्पट सहज मृत्यु बरण गर्छ कि त मृत्युको सीमामा ठोक्किएर झस्कन्छ । हुन सक्छ, उसलाई मृत्युको सुन्दरताले भन्दा जीवनको विसङ्गत कुरूपताले आकर्षित गरिरहन्छ । यसैले होला जीवनमा भेलबाढी पसेर जति वितन्डा मच्चाए पनि, जति नै तहसनहस पारे पनि, भेलबाढीले जीवन नै जति हुत्याए पनि, जति नै ठोक्कर र घाउ दिए पनि या स्वयम् बाढीमा बग्दै रहे पनि चेत रहेसम्म मान्छे जीवनको पुकारा गरि नै रहन्छ अर्थात् जीवनको मोहकताबाट भाग्न सक्दैन, मान्छे ! अझ भनौँ, परीक्षाफल हात लागिसकेको पुरानो उत्तर पुस्तिकाका प्रश्नोत्तरहरू पढेर पनि आफ्नो भङ्गिमा बदलिरहन्छ, मान्छे ! र त्यसैमा रमाउन पनि चुक्दैन, मान्छे !

 

किन होला ! आखिर वरण नगरी सुख नपाइने मृत्युको शालीन सौन्दर्य पनि मान्छे चेतनाले नै ग्रहण गर्न सक्दैन ? भन्न सकिन्छ, मृत्युलाई सबैले सहज स्वीकार गर्ने हो भने संसारको रोमाञ्चक गतिशीलता नै स्थिर हुने डर छ मान्छेलाई ! साँच्चै मृत्युसँग लडिरहँदा जिन्दगी बाहेक जीवनका सारा प्राप्तिहरू गुमाउन तत्पर रहन्छ, मान्छे अर्थात् जीवनका सारा आकाङ्क्षा र प्राप्तिहरू दाउमा राख्नु परे पनि विनाअफसोस मृत्युको बदला ऊ जिन्दगी नै रोज्छ । मृत्युका अगाडि ऊ विल्कुल अहम्हीन कति त्यागी बन्छ ! कति निष्पृह बन्छ ! कति शालीन, कति भव्य, शुद्ध र बुद्ध बनिदिन्छ ! वास्तवमै मृत्युलाई नजिकबाट स्पर्श गरेर फर्केको मान्छे आफूलाई जीवनको सबैभन्दा महान् मर्मज्ञ नै ठान्दा हुन् । कतै यो देशको भाग्य पनि पीडाको चरमोत्कर्षमै त छैन ! कतै यहाँ महा प्रलयको प्रतीक्षा भइरहेको त होइन ! कतै पीडाको त्यो उत्कर्ष नै स्वार्थका नाममा मिल्न नसकेका हाम्रा नेताहरूको मिलन बिन्दु हुने त होइन ! सायद...! (यहीँनेर २०७२, बैशाख १२ को महा भूकम्प...!! सारा मानव संरचनाहरूलाई अस्तित्वको हाँक दिँदै हजारौँ हजारौँ मृत्युहरू हत्केलामा लिएर धरती काँपिन् । स्वार्थ र लिप्साका अग्लाइहरूसामु खुचिङ्को भावमा रूखहरू नाचे, महलहरू खित्का छाडेर हाँसे । त्यतिखेर देशको सच्चा नायकत्व निभाउन नसकेका हाम्रा नायकहरूले के सोचे होलान् !...!!, तर अफसोसको कुरो— नेपाल आमाले अबोध सन्ततिहरूको वियोग खप्नुपर्यो । )

 

अझ भनौँ— स्वयम् आफू नगएको र नदेखेको स्थान हो, मृत्युको संसार ! र आफूले अनुभूत नगरेको सत्य हो, मृत्युको शालीन सौन्दर्य ! यसैले अजनवी संसार छिचोल्न सचेत डर मान्छ, मान्छे । अर्थात् मान्छेका लागि चेतनाका नाममा बुद्धि विलासको विषय नभएर केवल अन द स्पट स्वीकार गरिने सत्य पो हो कि, मृत्यु ! तर अन्य कुराहरू यथावत रहेमा...!

 

तर, अन्य कुराहरू यथावत नरहँदा—

 

अर्थात् क्रान्तिपछिको सम्भावित प्राप्ति र शान्तिको आदर्शमा झुलिरहेको मानिसले युद्धको विशेष सौन्दर्य सोच्नुलाई निश्चय नै कुनै अन्यथा मान्न सकिन्न । जबकि युद्धको परिणाम अन्ततः विनाशकारी नै हुन्छ, तर पनि दासताको भड्किलो रङ्गले तिर्मिर्याएपछि होस खुलेको मानिस, आफू अन्यायमा पिल्सिरहेकै बेला पिल्स्याउनेको झिलमिल जिन्दगी देखिरहेको मानिस, पर्खाल भेदन गरी पसेको विशेष सङ्गीतको मूच्र्छनामा पुलकित तर पर्खालभित्रको स्वतन्त्रताले हरक्षण डसिरहेको मानिस, कयौँ दिनदेखि भोकले रन्थनिरहेको मानिस या भनौँ जीवनका नाममा पलपल मरिरहेको मानिस या बन्द भाँडाभित्र गुम्सिन बाध्य मानिसको परिणति त आखिर विष्फोट हुनु नै हो; जसले युद्धको सौन्दर्यभन्दा प...रको सौन्दर्य स्विकार्न मन्जुर गर्ला त ! अर्थात् भिजेको मानिसलाई बर्सात्सँग केको डर ! यसरी कारणहरूकै थाकमाथि उभिएर सचेत आवाजमै युद्धको सौन्दर्यात्मक रक्तबर्सातमा भिजेर जीवनलाई अन्तिम पटक रङ्गाउनु या युद्धको सौन्दर्य स्वीकार गर्नु भनेको एक अर्थमा मृत्युको सौन्दर्य सचेत स्विकार्नु हो । यद्यपि यसमा जीवनको मोहभन्दा जीवनको असह्य पीडाको पल्ला भारी हुने गर्दछ; जसलाई सायद ऊ मृत्युको रिहर्सल नै ठान्दछ ।

 

यसरी मृत्युको सौन्दर्य सचेत स्वीकार गर्नु भनेको सत्यमा जीवनको अराजक सौन्दर्यमाथि विश्वास गर्नु पनि त हो ! हुन त यहाँ कुनै सत्य प्रमाणित गरेर विजेता बन्नु पनि छैन । यद्यपि जीवन बाँच्दै र बुझ्दै जाँदा राम्रो लाग्ने भ्रमिल सौन्दर्य या भ्रमिल जीवनभन्दा पे्रमिल कुरूपता या प्रेमिल मृत्यु नै पो कता हो कता आफ्नो लाग्ने रहेछ ! अर्थात् राम्रो लाग्नु र आफ्नो लाग्नुमा त एउटै पूर्ण दिनको उज्यालो र अँध्यारो पहेली जत्तिकै अलग रहेछ ! अर्थात् भनौँ, नदेखिने भए पनि प्रेमभित्रै लुकेको घृणाको वीजसँगको झिनो दूरीले फरक पारेको विपरीत ध्रुवीय सत्य जत्तिकै भयानक पनि रहेछ !  


किनकिन आज बाँच्दै गरिएका जीवनका मेरा यी पहेलीहरू, स्वीकृति-अस्वीकृतिहरू, प्राप्ति-अप्राप्तिहरू अनि सम्बन्धहरू अन्धकार रातको निमन्त्रण गरिरहेको साँझको क्षितिजीय सुन्दर सूर्यास्त दृश्य जस्तै लाग्दछ । यतिखेर मेरा यी रेखाङ्कित संवेदनहरू सूर्यास्त जस्तै देखिने तर उज्यालो दिनको आमन्त्रण गर्ने बिहानीको क्षितिजीय सुन्दर सूर्योदयको दृश्य हो भन्ने भ्रमिल सौन्दर्यबाट विल्कुल मुक्त छन् भन्ने विश्वास छ मसँग । मेरो यो विश्वासको उन्मुक्त उडानमा पङ्ख भाँचिनु अनि पश्चात् कतै घस्रिनु र पुनः पङ्ख जोड्दै उड्नु भनेको कथाले कौतुहलता प्राप्त गर्नु जस्तै या कुरूपताभित्रको सौन्दर्यपूर्ण आकर्षण झैँ  बक्ररेखीय मूच्र्छनामा सङ्गीतमग्न प्रेमिल उच्छ्वास त जरुर हो नै ! र लागिरहेछ, हिजोआज म मृत्युको शालीन सौन्दर्यभन्दा मृत्युको अराजक सौन्दर्यलाई प्रेम गर्दो रहेछु ।


तर, यो जिन्दगी केवल मृत्युको रिहर्सल भूमि भए नि या जिन्दगी केवल छोटो दूरीको साथ हो भन्ने बुझेरै पनि मृत्युको पृष्ठभूमिमै गुलाफका पत्रदलहरूको रङ्ग र भङ्गिमा बदलिरहने रोमाञ्चक शास्त्रीय नृत्यसरि मलाई उही जिन्दगीको सम्मोहनले तानि नै रहेछ ..., र हरपल उत्सुक म, हस्ताक्षर गरेर मृत्युका नाममा जिन्दगी, लागेँ सरल भएर बगेको तरल जिन्दगीतिरै...! जहाँ मृत्युको अराजक सौन्दर्यसँग जरुर मेरा आँखा जुध्ने छन् ! हामी कसिलो अँगालोमा बाँधिने छौँ र एकाकार हुने छौँ !!

 

(वैशाख १२—१८)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल