विश्वसाहित्य

फाँसी

A Hanging
जर्ज ओर्वेल

कुरा बर्माको हो । बिहानको समय थियो, बर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरीका बाहिर प्रतीक्षारत थियौँ । दुई लहर बार लगाएका कोठरीबाहिर लहरै खडा भएका थिए केही झुपडीहरू, जनावर राख्ने साना पिँजडाजस्तै । प्रत्येक कोठरीको लम्बाइ दस फिट र चौढाइ दस फिटजति थियो, र भित्रपटि एउटा तख्ताको खाट र पिउने पानीको एक पात्रबाहेक अरु केही पनि थिएन । तीमध्ये केहीभित्र फुस्रा मानिसहरू टुक्रुक्क परेर शान्त बसेका देखिन्थे भित्री बारभित्र, जिउभरि कम्बल ओढेर ।  यी ती अभियुक्तहरू थिए, जो आगामि एक वा दुईहप्ता भित्र दिइने भनिएको फाँसी पर्खिरहेका थिए ।

एउटा कैदीलाई भने कोठरीबाहिर ल्याइएको थियो । ऊ हिन्दु थियो, सुकेर निकै लुरो भइसकेको — कपाल खौरिइएको, र आँखा, तरल तरल, र अस्पष्ट लाग्ने । जुँगा भने निकै बाक्ला आएका थिए, उसको ख्याउटे जिउलाई सुहाउनेभन्दा निकै नै मोटा — हास्य चलचित्रको कुनै पात्रका ओठमाथिका जस्ता । छ जना अग्ला भारतीय सुरक्षाकर्मीले उसलाई घेराबन्दी गरेका थिए, र झुण्डाउनका लागि तयारी गरिरहेका थिए । तीमध्ये दुई जना आफ्ना राइफल र सङ्गीन तयार पारेर बसेका थिए, जबकि, अन्य केही भने उसका हातमा हतकडी लगाउन, हतकडीबाट फलामको साङ्ली घुसार्न र त्यसलाई उसको पेटीमा लगेर सिउरिन र उसका पाखुरालाई दाहिनेतिर लगेर कडासँग बाँध्नमा व्यस्त थिए । उनीहरू उसको अत्यन्तै नजिक थिए, उनीहरूका हात लगभग उसको टाउकोमाथि नै । बडो सचेताले भरिएको, कडा सुम्सुम्याइ थियो उनीहरूको उसमाथि — मानौँ, घरिघरि उनीहरू उसलाई छामेर यो सुनिश्चित गर्न खोजीरहेका थिए, कि ऊ त्यहीँ छ । लाग्थ्यो, ऊ जिउँदो माछो हो, र ती सुरक्षाकर्मीहरू त्यो माछो पुनः पानीमै जान्छ कि भनेर निगरानी गरिरहेका थिए । तर ऊ भने बिना कुनै प्रतिवाद उभिइरहेको थियो, र उसलाई बाँध्न प्रयोग हुँदै गरेका रसीका अगाडि आत्मसमर्पण गर्दै गइरहेको थियो । लाग्थ्यो, उसलाई त्यहाँ के भैरहेको छ भन्ने कुराको पत्तै छैन ।

आठ बजेको घण्टी बज्यो, र सँगै बज्यो बिगुल, जसको ध्वनि त्यहाँको विरान, पातलो र भिजेको वातावरणमा टाढाका ब्यारेकहरूबाट बग्दै आएको सुनियो । कारागारका अधिक्षक, जो हामीहरूबाट अलि पर, अलग्गै उभिएका थिए र आफ्नो लाठीले भैँका रोडा पन्छाइरहेका थिए, यो आवाज सुनेपछि टाउको उठाउन पुगे । उनी सैनिक चिकित्सक थिए, दाँत माझ्ने ब्रसजस्ता पातला जुँघा र खस्रो बोली भएका । “भगवानका नाममा अलि छिटो गर फ्रान्सिस्,” उनले बढो खस्रो आवाजमा भने । “यो मान्छे यो बेलासम्ममा मरिसक्नुपर्ने हो । तिमीले अहिलेसम्म तयारी गरिसकेका छैनौ?”

फ्रान्सिस, त्यहाँका प्रमुख जेलर, निकै मोटाघाटा द्रविड थिए । सेतो, व्यायाम पोषाकमा र सुनौलो रङ्गको फ्रेम भएको चस्मा लगाएका उनले हात हल्लाए, र भने, “हुहुहुन्छ, साब । हुन्छ ।” उनले भक्भकाउँदै भने, “स्सबै तयारी सकियो साब । जजजल्लादले पर्खिरहेको छ । अब हामी त्यत्यत्यैतिर जानेछौँ ।”

“उसो भए ठिक छ, अगाडि बढ । यो काम फत्ते नगरी अन्य कैदीलाई नास्ता पनि दिनु हुँदैन ।”

हामी फाँसीको तख्तातिर लाग्यौँ । कैदीका दुवैतिर दुई जना सुरक्षा कर्मी दायाँबायाँ पारेर हिँडे, राइफल भैँतिर छड्के पारेर । अन्य दुई जना ऊसँगै हिँडे, उसलाई हात र पाखुरामा बलियो गरी समातेर, एकैचोटि उसलाई धकेल्दै पनि, थाम्दै पनि गरेजस्तो । हामीहरू, न्यायधीष र अन्य, पछिपछि लाग्यौँ । हामी दस यार्डजति पुगिसकेपछि एक्कासि हाम्रो लश्कर रोकियो, बिना कुनै आदेश वा चेतावनी । ओह, एउटा भयानक घटना घटेको रहेछ — हाम्रा अघिल्तिर खै कताबाट हो, एउटा अजङ्गको कुकुर टुप्लुक्किएको रहेछ । त्यो कुकुर चर्को स्वरमा भुक्दै हामीतिरै जाइलाग्यो, र हाम्रा नजिकै आफ्नो सम्पूर्ण जिउ हल्लाउँदै उफ्रन थाल्यो । लाग्थ्यो, एकैचोटि यति धेरै मान्छे देख्दा ऊ निकै खुसी र उत्साहित भएको थियो । ऊ आधा एयरडेल र आधा पाह्रिया जातको कुकुर थियो, लामा रौँ भएको, ठुलो जातको । केही बेर हामी सबैलाई हे-यो उसले, अनि कसैले रोक्न नपाउँदै अभियुक्ततिर लस्कियो, र उफ्रेर उसको मुख चाट्न खोज्यो । सबै चकित परेर उभिइरहे । कसैलाई त्यस कुकुरलाई धपाउने सुद्धिसम्म सुझेन ।

“हैन कसले त्यस नर्केलाई यतातिर लस्किन दिएछ?” अधिक्षकले आक्रोषपूर्ण स्वरमा भने । “कसैले त समाओ त्यसलाई ।”

सुरक्षा घेराबाट एकजना सुरक्षाकर्मी दुगु-यो त्यस कुकुरतिर, तर कुकर उफ्रियो, नाच्यो र त्यसको निशानाबाट फुत्कियो । लाग्थ्यो, ऊ त्यहाँको सम्पूर्ण व्यवस्थालाई एउटा खेलको रुपमा लिइरहेको छ । युरेसियाका एकजना जवान जेलरले एक अँजुली रोडा उठाए र कुकुरलाई रोडाले हानेर खेदाउने चेष्टा गरे, तर ती प्रहारहरूलाई परास्त गर्दै त्यो कुकुर हामीहरूतिरै झनझन लस्कियो ।  यसको भुकाइ कारागारका भित्ताहरू छेडेर बाहिर निस्कियो । दुई सुरक्षाकर्मीको पहराभित्र रहेको कैदीले भने यी सबे कुरालाई बिना कुनै चासो हेरिरह्यो, मानौ ऊ सोचिरहेको हुँदो हो, यो पनि झुण्ड्याइने प्रक्रियाको एक औपचारिक पाटो हो । कसैले त्यस कुकुरलाई समाउनुभन्दा अगाडि धेरै मिनटसम्म यही प्रक्रिया भैरह्यो । त्यसलाई समाएपछि मेरो रुमाल त्यसको घाँटीमा घुसा-यौँ र तानेर बाहिरतिर लघा-यौँ । यती गर्दासम्म पनि त्यो कुकर काइँकाइँ कुइँकुइँ गरि नै रह्यो ।

अब फाँसीको तख्ता पुग्न त्यही चालिस यार्डजति हुँदो हो । मैले मेरो अगाडि हिँडिरहेको कैदीको डँडाल्नो हेरेँ – नाङ्गो, र फुस्रो । बाँधिएको हात लिएर ऊ निकै आलस्यका साथ हिँडिरहेको थियो, तर बढो  स्थिरताका साथ — आफ्ना घुँडा कहिल्यै सीधा नपार्ने एक भारतीयको हिँडाइजस्तो । उसका हरेक पाइलासँगै उसका मांसपेसीहरू आफ्नो ठाउँबाट चिप्लेजस्ता देखिन्थे, यसका लटा तल र माथि गरेर हल्लिन्थे, र उसका पैतालाले तल गिट्टीमा गहिरा छापहरू छोड्दथे ।  

एक पल्ट के भयो, छेउबाट दुई जनाले उसलाई दह्रोगरी समातेको भए तापनि ऊ बाटोमा देखापरेको खाल्डोबाट जोगिन केही कदम छेउतिर हट्यो । 

चाखलाग्दो त यो विषय थियो नै, तर त्यो घडीसम्म मलाई लागेकै थिएन, एक स्वस्थ र चेतनशील मान्छेलाई समाप्त गरिनु भनेको कत्तिको गम्भीर कुरा हो । जब खाडलबाट बँच्न त्यो कैदी अलिकति छेउतिर उफ्रियो, मलाई त्यस रहस्यको बोध भएर आयो—त्यो भन्न नमिल्ने अपराधको बोध—आफ्नो पूर्ण तरङ्गमा हेलिँदै गरेको जीवनलाई अनायसै सिध्याउने कुरको अपराधबोध । यो कैदी मरिरहेको थिएन । ऊ बाँचेको थियो, बाँच्नुको सही अर्थमा जीवित थियो । उसको शरीरका सबै अङ्ग सकुशल काम गरिरहेका थिए — पेटको पाचन प्रक्रिया सामान्य, छाला आफैँ नवीकृति भइरहेको, नङ बढिरहेको, र तन्तुहरू बन्दै नवीकृत भइरहेका । यी सबै सबै प्रक्रियाहरू यहाँ एक्कासि, एक विषद पागलपनका कारण समाप्त हुन गइरहेका थिए ।

उसका नङ बढि नै रहेका हुनेछन्, जब उसलाई तख्तामा उभ्याइने छ, र तख्ताबाट, एक सेकेण्डको दस भागभन्दा पनि कम समय जतिको जिन्दगी बोकेर उसलाई हावामा झुण्ड्याइनेछ ।  उसका आँखाले पहेँला गिट्टीहरू र खैरा भित्ताहरू देखे । उसको मस्तिष्कले अरुलेजस्तै सम्झ्यो,  आकलन ग-यो, अर्थ लगायो— यहाँसम्म कि बाटोको त्यस खोपिल्टोको बारेमासम्म सोच्यो । ऊ, हामीहरू सबै, त्यहाँ हिँडिरहेका मानिसहरूको समूहका सदस्य थियौँ — एउटै संसारलाई देख्ने, सुन्ने, अनुभूत गर्ने र बुझ्ने । र दुई मिनेटपछि, एक झट्काका साथ हामीमध्येको एउटा सदस्य गुम्नेछ र संसारबाट एउटा मन, एउटा अर्को सानो संसार हराउनेछ । 

फाँसीको तख्ता एउटा सानो खुला ठाउँमा थियो — कारागारको मूल मैदानभन्दा केही पर, निकै अग्ला र काँडादार झारहरूले पुरिएको ठाउँमा । इँटा उठाएर बनाइएको ठाउँ — एउटा झुपडीको तीन तिरका भित्ताजस्तो देखिन्थ्यो । भित्तामाथि काठका फल्याक राखिएका थिए, जसमाथि दुई खाँबा ठड्याएका र एउटा तेर्सो पारेर राखिएको थियो । तेर्सो खाँबोमा फाँसीको रस्सी झुण्ड्याएको थियो । जल्लाद, कपाल सेतै फुलेको अर्को अभियुक्त, कारागारका सेता पोसाक लगाएर तयारी अवस्थामा उभिएको थियो । हामीलाई देखेर ऊ दासत्वको भावसँग झुक्यो र आभिवादन ग-यो । फ्रान्सिसबाट आदेश पाउनासाथ दुई सुरक्षाकर्मीले अभियुक्तलाई अघिभन्दा निकै कडा रुपमा समाते र आधा घँचेट्दै, आधा तान्दै तख्ताको भ-याङ्बाट निकै गाह्रो गरी माथि चढाए । जल्लाद माथि चढ्यो र मिलाएर डोरीलाई अभियुक्तको घाँटीमा घुसा-यो ।

हामी पाँच यार्डजति पर पर्खिरह्यौँ । सुरक्षाकर्मीहरूले तख्ताको नजिकै एक गोलाकार बनाए, र उभिए । जब रस्सीको सुर्काउने ठाउँलाई घाँटीमा तयार गरियो, अभियुक्त भगवानको नाम लिँदै कराउन थाल्यो, “राम, राम, राम, राम ।” त्यो आवाज निकै उँचो, र पुनरावृत्त भइरहने किसिमको थियो, तर कुनै अत्यासपूर्ण वा डरको आवाज, वा प्रार्थना अथवा सहयोगको याचनाजस्तो भने थिएन । बरु त्यो स्थीर र लयबद्ध थियो, घण्टीको आवाजजस्तो ।

कुकुर त्यस आवाजको प्रतिक्रियामा केही चुइँकियो । तख्तामै उभिइरहेको जल्लादले आँटाको झोलाजस्तो कपासको एउटा सानो झोला निकाल्यो, र अभियुक्तको टाउको ढाक्नेगरी छिरायो । तर अभियुक्तको आवाज त्यस झोलालाई चिरेर बाहिर आइ नै रह्यो, “राम, राम, राम, राम!”

जल्लाद भैँमा उत्रियो, र हात लिभरमा राखेर तयारी अवस्थामा उभियो । समय निकै धिमा गतिमा व्यतित भएजस्तो लाग्यो । अभियुक्तको मुख छोपेको लुगाबाट उसको आवाज निरत्नर आइरह्यो, “राम, राम, राम, राम ।” ऊ एक क्षणका लागि पनि रोकिएको थिएन । अधिक्षक भने आफ्नो सिर आफ्नै छातीमा झुकाई लौरोले जमिनका गिट्टी कोट्याइरहेको थियो । सायद ऊ अभियुक्तको रोदन गनिरहेको थियो, मानौ उसले अभियुक्तलाई एक निश्चित सङ्ख्या सम्म — पचास, वा सय पल्ट — रुने अनुमति दिएको छ । सबैको रङ् फेरिएको थियो ।

भारतीयहरू सबै बिग्रिएको कफीजस्ता फुस्रा भएका थिए । एक दुई सङ्गीनहरू त बाङिगइसकेका पनि थिए । हामीले तख्तामाथि चढाइको त्यस अभियुक्तलाई हे-यो र उसको रोदनलाई सुन्यौ । प्रत्येक रोदन उसको जीवनको अर्को अन्तिम पलतिरको यात्रा । हो, हामी सबैका मनमा त्यसबेला यही विचार थियो — बस्, छिटो सकियोस् यो प्रहसन; छिटो सिद्ध्याइयोस् उसलाई, र समाप्त गरियोस त्यो घिनलाग्दो आवाज ।

एक्कसि, अधिक्षकले आफ्नो मन बनाइसकेको थाहा पाइयो । टाउको उँभो पारेर उनले आफ्नो लौरो एक तीब्र गतिमा हल्लाए र कडा स्वरमा आदेश दिए, “चलो!”

“खत्रक” गरेको आवाज सुनियो । त्यसपछि मूर्दाशान्ति । अभियुक्तको इहलीला सकिएको थियो; उसका घाँटीको डोरी आफैँमा बाङ्गिएको थियो । मैले कुकुरलाई छोडिदिएँ । ऊ कुदेर तख्ताको माथि उक्लियो, तर त्यहाँ पुग्नासाथ एक्कासि रोक्कियो, भुक्यो एकपल्ट र त्यस चौरको एक कुनातिर फर्कियो, र झारहरूको बीचमा उभिएर हामीलाई केही डराएको दृष्टिले हेर्न थाल्यो । हामी तख्ताको नजिक गयौँ र अभियुक्तको शरीरलाई निरीषण गर्न थाल्यौँ । ऊ आफ्ना खुट्टाका औँला भैँतिर फर्काएर झुण्डिइरहेको थियो । ती खुट्टा मन्द गतिमा घुमिरहेका थिए, पत्थरजस्तै मृत र गतिहीन ।

अधिक्षकले आफ्नो लौरोले नाङ्गो शरीरलाई एसो घोचे । शरीर यताउति हल्लियो, अलिअलि । “ल, ठीक छ,” उनले  भने । उनी तख्ताको मुनिबाट पछितिर आए, र गहिरो स्वाँस फेरे । उनको अनुहारबाट विषद दृष्टि एक्कासि हटिसकेको थियो । उनले आफ्नो हातको घडी हेरे । “आठ बजेर आठ मिनेट गएछ । भगवान, आज बिहानको काम पूरा भयो ।”

सुरक्षाकर्मीहरूले आफ्ना सङ्गीनहरू निशानाबाट हटाए, र त्यहाँबाट हिँडे । कुकुर, आफूले अगि उत्ताउलो व्यवहार गरेकोमा ग्लानिको भाव लिएर उनीहरूको पछिपछि लाग्यो । हामी त्यस फाँसीस्थलबाट बाहिर कारागारको अर्को ठूलो हलतिर लाग्यो, श्रापित कालकोठरी र तिनीहरूभित्र बन्द कैदीहरूकै छेउको बाटो भएर । अभियुक्तहरू, लाठीहरूले लैस सुरक्षाकर्मीको आदेशमा नास्ता खाइरहेका थिए । उनीहरू लामा लाइनमा टुक्रुक्क बसिरहेका थिए  । प्रत्येकका हातमा जस्ताको पात्र थियो, र दुई जना सुरक्षाकर्मीहरू बाल्टीबाट भात बाँड्दै हिडिरहेका थिए । लाग्थ्यो, फाँसीपछि सबैजना एउटा निकै आत्मीय र उल्लासमय वातावरणमा रामाइलो गरिरहेका छन् । हामी सबैजनामा काम सम्पन्न भएपछिको एउटा ठूलो राहतको अनुभूति भइरहेको थियो । सबैलाई गाऔँ गाऔँ, कुदौँ कुदौ वा हाँसौ हाँसो लागेको थियो । एकैचोटि, सबैजना एकआपसमा रमाइलोसँग गफगाफ गर्न थाले ।

मेरो छेवैबाट हिडिरहेको एउटा युरेसियाली केटो हामी हिडेतिरै आयो र भन्यो, “थाह छ सर्, त्यो हाम्रो साथी (उसको अर्थ, त्यही प्राणदण्ड पाएको कैदी) ले उसको पुनरावेदन रद्द भएको थाह पाएपछि उसको कोठरीको भुइँमै सुसु गरेको थियो । डरले । इ, लिनुस् न, सिग्रेट । मेरो यो सूर्ति राख्ने चाँदीको बाकस तपाईलाई मन परेन? मैले दुई रुपियाँ आठ आनामा किनेको, बाकसवालासँग । युरोपेली शैलीको छ, गज्जबको ।”

सबै हाँसिरेका थिए, तर कसैलाई थाह थिएन, हाँसोको विषय के हो ।

फ्रान्सिस भने अधिक्षककै छेउ हिँडिरहेको थियो, निकै चर्को स्वरमा कुरा गर्दै । “स्सर, सबै कुरा ठीकठाक ढङ्गबाट सससम्पन्न भयो ।  ससबै कुरा सकियो । अब ढुक्क! सससधैँ यस्तो कहाँ हुन्छ र? अहँ, हुँदैन । मैले कति घघघटना देखेको छु – डाक्टरले तततख्तामुनि गएर, टाँगमुनि चिहाएर कैदी मरे नमरेको सुसुसुनिश्चित गरेको । छ्या, कस्तो अवस्था त्यो त!”

“ज्यान फनफनी घुमाउने? छ्या, त्यो नराम्रो कुरा हो,” अधिक्षकले भने ।

“स्ससर, तिनीहरू जिद्दी भए भने झनै नराम्रो । एउटा मान्छे त कस्तो थियो — हामी उसलाई लिन जाँदा झ्यालखानाको छडीमा टाँस्सिएको । तपाई पत्यानुहुन्न होला, त्यसलाई निकाल्न छ जना सुराक्षाकर्मी लागे, प्रत्येक खुट्टा तान्न तीन–तीन जना । हामीले त उसँग तर्कै गर्नुप-यो । हामीले भन्यौँ, ‘दाइ, तिमीले हामीलाई दिएको सबै दुःख सम्झ त ।’ तर, उसले सुन्ने भा पो? अहो, सारै जब्बर मान्छे हो!”

मैले आफैँलाई पनि निकै जोडसँग हाँस्दै गरेको पाएँ । हुन त सबै जना हाँसिरहेकै थिए । यहाँसम्म कि अधिक्षक स्वयं पनि मन्द मुस्कानमै थिए । “तपाईहरू सबै बाहिर आएर केही पिउनुहोस्,” उनले भद्रतापूर्वक भने । “मेरो कारमा एक बोतल ह्विस्की छ । त्यसैले पुगिहाल्ला ।”

हामी कारागारको ठुलो जोरढोका भएको प्रवेशद्वारबाट बाहिर सडकमा निस्कियौँ  ।

एक जना बर्मेली न्यायधीषले अप्रसङ्ग भने, “माने, कुरामा कुरा नि,” र जोरजोरसँग हाँस्न थाले । हामी सबै उनीसँगै हाँस्न थाल्यौँ । त्यसबेला फ्रान्सिसले सुनाएको किस्साचाहिँ साह्रै नै हासउठ्दो लाग्यो । हामी सबै — स्थानीय र युरोपेली मिलेर — बढो सौहार्दपूर्ण वातावरणमा रक्सी खायौँ ।

मृत कैदी हामीबाट त्यही एक सय यार्ड जति परमात्र थियो ।

(बेलाइती लेखक जर्ज ओर्वेल (एरिक आर्थर ब्लेयर) ले उपन्यास, निबन्ध र समालोचना लेखेका छन् । बेलायती शासन कालमा उनले भारत र बर्मामा प्रहरी अफ्सरको रुपमा काम गरे । उनको लेखन सरस, जसमा सामाजिक विभेदको टट्कारो बोध र सर्वसत्तावादको खरो बिरोध छ । उनले खुलेरै प्रजतान्त्रिक समाजवादको वकालत गरेका छन् । बेलायती भएर पनि साम्राज्यवादको खुलेरै बिरोध गर्ने थेरै लेखकहरूमध्ये एक हुन्, ओर्वेल ।

ओर्वेलको ख्याति उनको प्रसिद्ध उपन्यास एनिमल फार्म मा टिकेछ छ भने, उनका अन्य पुस्तकमा उनले उत्तरी बेलायतको एक मध्यमवर्गीय परिवारमा बिताएका संस्मरण बोकेको द रोड टु विगान पायर (निबन्ध १९३७) तथा स्पेनको गृह युद्धमा उनले भोगेको यथार्थ समेटेको होमेज टु कटालोनिया (१९३८ संस्मरण) प्रमुख हुन् । २००८ मा द टाइम्स मेगिज्नले उनलाई १९४५ पछिका पचास महानतम बेलायती लेखकको सूचिमा दोस्रो स्थानमा सूचिक्रीत ग-यो ।

प्रस्तुत कथामा बर्मामा अङ्ग्रेजले एक स्थानीय बर्मेली कैदीलाई दिएको मृत्युदण्डलाई विषयवस्तु बनाएर बेलायती शासनको क्रूर दृष्टिमाथि कटाक्ष गरिएको छ । आफ्नो स्वतन्त्रता मागेकै कारण कसैलाई झुण्ड्याइएको घटनामा आधारित यो कथा निकै मार्मिक छ । )


अनुवादः महेश पौड्याल



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल