कथा

एउटा माया यो, एउटा माया त्यो !

My two loves…
इल्या भट्टराई

अलार्म घडीको कर्कश टिरिरिर्र आवाजले झल्याँस्स निद्रा बिउँझियो । ए कस्तो
निधाईछु ! अघिसम्म सुतेकोजस्तै लागेको थिएन । कुन बेला निधाईछु  ! बाबुलाई अहिले कस्तो छ कुन्नि राति त भुङ्ग्रोजस्तो तातो थियो । ओहो ! ज्वरो अझै हनहनी आइरा’छ । ऊ निस्लोटै परेको छ । “के गर्ने होला ? अब काममा कसरी जाने होला ? राति त पानीपट्टि हाल्दा हाल्दा बल्ल ज्वरो झरेको थियो । बिहानीपख फेरि आएछ । एका बिहानै ज्वरो यत्रो छ !”

छोरालाई एक्कासि आएको ज्वरोले म फञ्याक फञ्याक हुन पुग्छु । एकातिर छोरालाई यत्रो ज्वरो आएको छ । उतातिर मैले काममा नगई पनि हुन्न । हरे ! भगवान् मलाई किन यस्तो फास्टोमा पारिदिएको हो ? जे होस् पहिला त बच्चाको डाक्टरलाई नै देखाउनु पर्यो । धन्य यही टोलमै हुनुहुन्छ बच्चाको डाक्टर । घरमै देखाउन गए पनि केही भन्नु हुन्न । राम्ररी हेरिदिनु हुन्छ ।

तर भर्खर बिहानको पाँच मात्रै बजेको छ । सात नबजी त कसरी लानु ! बरु पहिला यिनीहरूलाई जाउलो पकाइदिनु पर्यो । त्यति भयो भने दिउँसो सानीले पनि त ख्वाईदिन
सक्छे । उसले पनि त खानु पर्यो । अब के गर्ने ! काममा नगई हुदैँन । बाबुलाई त्यसकै जिम्मामा त छोडनु पर्ला । आज एकदिन ऊ स्कूल जान्न !

मनले नचाहँदा नचाहँदै पनि अनायासै लोग्नेलाई संझिन्छ । “बैगुनी ! मेरो त लागेन लागेन , आफुले जन्माएका सन्तानको पनि कस्तो माया नलागेको ? हामी सप्पैलाई छोडेर के ठूलो भाग खान पाउँछु भनेर त्यस्ती त्यो पातर्नीको पछि पछि लागेर जान सकेको ? के हाम्रो कैल्यै पनि संझना आउँदैन होला उनलाई ? यस्ता यी नाबालक सन्तानहरूलाई हुर्काउन मलाई कत्ति गारो भा’छ भन्ने लाग्दैन होला उनलाई ?”

छोरोको बिसन्चोको पीडाले, त्यस्तो अवस्थाको छोरोलाई दस वर्षकी छोरीको जिम्मामा छाडेर आफुलाई काममा जानै पर्ने बाध्यताको विवशताले, यस्तो बिरामी छोरोलाई अर्की नाबालक छोरीको जिम्मामा छाडेर जाँदा आइपर्न सक्ने संभावित दुर्घटनाको अत्यासले, अनि लोग्नेले गर्दा समाजको अगाडि आफु असफल पात्रको रूपमा दरिन पुगेको ग्लानिले हेला मेरा आँखाबाट बलिन्द्र धारा आँसु बग्न थालेका छन् ।

“भगवान् ! मेरो के दोष थियो र तिमीले मलाई यस्तो परिस्थितिमा पार्योउ ? आइ.ए.सम्म पढेकै थिए । उनको घर राम्ररी चलाइदिएकै थिएँ । छोराको ठाउँमा छोरा, छोरीको ठाउँमा छोरी पाइदिएकै थिएँ । अनुहार हेर्दा पनि सबैले रामै्र भन्छन् । फेरि किन ... किन उनी अर्कातिर लाग्न पुगे ? आखिर ममा त्यस्तो अपुग के नै थियो र ?”

“पैला मलाई त्यस्तो माया गर्ने मान्छे । आखिर दशा लागेपछि के लाग्दो रै’छ र ! पछि पछि त मेरो मुखसम्म हेर्न छाडेका थिए । मलाई देख्नै नहुने । बाबुसंग तर्सिएर छोराछोरी मैसंग
टाँसिन्थे । त्यही भएर होला तिनीहरू पनि उनको आँखामा बिझाउन थाले । र त केही मायामोहै नराखेर सबैको माया चटक्क चुँडाएर गए ।”

“उनलाई त रमाइलै भएको होला, हामीलाई पो मर्नु न बाँच्नु भा’छ त । लोग्नेले छोडेको भने पछि त सबैले हेप्ने ! मलाई त मलाई, यी साना बच्चाहरूलाई पनि समाजले बाँच्न गारो पार्दो रै’छ । धन्य दाइले यस्तो राम्रो जागिर मिलाई दिनु भयो र पो ! न त के पो हुन्थ्यो हाम्रो अवस्था ! यत्रो अभिभारा ममाथि सुम्पिंदा घर चलाउन दिएको दुई चार हजार रुप्पे भन्दा बाहेक केही दिन वास्ता गरेनन् । उही गहनाहरू थिए र पो , हैन भने त पेटी कै बास हुन्थ्यो । पापी ! आफुले पाएको छोराछोरी हुर्काउने जिम्मा लिनु पर्ने होइन ?”

डाक्टर साहबले त राम्ररी नै हेरिदिनु भयो । तै टाइफाइड होइन भन्ने कुरो गर्नु भयो । रुघाकै ज्वरो भए पनि, ज्वरो निकै धेरै भएकोले उहाँले बाबुलाई एन्टिबायोटिक औषधिनै ख्वाउनु पर्छ भन्नु भयो । ६, ६ घन्टाको फरकमा सात दिनसम्म ख्वाउनु पर्ने रे । त्यो ख्वाउँदा एक मिनेटको पनि फरक पार्नु हुँदैन रे । होइन भने पछि पछि यसले छुँदैन रे । त्यही भएर डाक्टर सा’बले “ख्वाउने भए समय मिलाएर ख्वाउनू, होइन भने बरु ख्वाउँदै नख्वाउनू”भनेर बारम्बार भन्नु भएको थियो ।

यत्रो ज्वरो छ, अब औषधि नख्वाएर के गर्नु ! आफु घरैमा बस्ने भए त लौ पनि भन्नु, आफैं दिनभरि बाहिर हीँडने भए पछि त यसलाई जसरी भए नि ठीक त पार्नै पर्यो नि !

तर बिचरी सानी आफैं त त्यस्ती बालख छे । यसले आफु भन्दा दुई,चार वर्ष कान्छो भाइको हेरचाह कसरी गर्ली ? ठिक्क टाइम मिलाएर औषधि कसरी ख्वाउली ? हरे ! यतिखेर बाबुचाहीँ भइदिएको भए बिदा लिएर पनि छोरो स्याहारेर त बस्थे नि ! काम गर्ने ठाउँमा आज सबै कुरो भनेर भोलिदेखि त म पनि छुट्टि लिन सकिहाल्थेँ नि ! उनीहरूलाई केही नभनी एक्कासि छुट्टि बसिदिनु पो हुन्न । त्यस्तो कुरामा यिनीहरू सारै कडा छन् । फेरि “जागिर छोड” भन्न बेर लाउँदैनन् । यै भा’को जागिर पनि गयो भने, पेटमा पटुकै बाँधे हुन्छ ।

यस्तो राम्रो जागिर फेरि काँ पाउनु ! दाइले पनि मारी हाल्नुहुन्छ नि ! म जस्ती आइ. ए. मात्र पढेकीले महिनाको सात हजार पाउँछु । यति धेरै पैसा त यहाँ कस्ता कस्ताले त
पाउँदैनन् । उही मेरो काम उनीहरूलाई सारै मन परेर त हो नि ! हुन पनि सिंगै घरको जिम्मा लिइदिएकी छु । उनको छोराको आमै भइदिएकी छु । बिचरा मेरा छोराछोरी पो टुहुराजस्ता भएका छन् ।

यस्तै बेलाको लागि त होला नि लोग्ने स्वास्नी एउटा रथको दुई पाङ्ग्रा हुन् भनेको । अहिले उनी भइदिएको भए, छोरा उनलाई जिम्मा लाएर म ढुक्कसंग काममा जान्थेँ ।
अहिले के गर्ने होला ? आफुले ख्वाउँदा त बाबुले बल्लतल्ल औषधि खायो, दिउँसो दुईबजे छोरीले के गरी ख्वाउली ! बरु मेडमलाई सबै कुरो भनेर आज एकदिन चाँडै छुट्टि दिनुस् भन्नु पर्ला । विदेशी भए पनि आखिर उनीहरू पनि  मानिसै त हुन् । गारो साँघुरो बुझ्छन् नि । उनको काखमा पनि त सानो छोरो छ । आमाको ममता उनमा पनि त छ । मैले पनि त आफ्नो छोरो बिर्सिएर उनको छोरो स्याहारिदिएकी छु ।

छोरीलाई जाउलो खान दिएँ । अलिकति दिउँसो खाजालाई राखिदिएकी छु । बाबुलाई आज एकदिन जाउलो नदिनू भन्नु भयो डाक्टर सा’बले । एक पाकेट दूध ल्याएर उमालिदिएँ । अहिले बाबुले खान मानेन । एकछिन्पछि “ख्वा है नानी” भनें । त्यसले कसरी उमाल्छे कुन्नि ! उमाल्दा हात पो पोल्छे कि ? फेरि बाबुलाई तात्तातै पो ख्वाइदिन्छे कि ? नउमालेर ख्वाई भने यस्तो बिरामी बच्चा , झन् पेट बिग्रियो भने के गर्नु ? माथि घरबेटी दिदीलाई भनु“ कि क्या ?

भन्न त भन्नु, तर तिनले के मान्लिन । सारै पो चढेकी छिन् । लोग्नेले छोडेको भनेर मलाई कम्ति कुरा सुनाउँदिनन् । कम्ति हेप्दिनन् । त्यसमाथि मेरो जागिर र मेरो कमाई देखेर उनी त्यस्सै त्यस्सै मसंग रिसले भुतुक्क हुन्छिन् । त्यस्तीलाई कसरी भन्नु ? झन् केही तलमाथि पर्यो भने के गर्नु ?

औषधिले हो कि निधारको तातो केही घटेजस्तो छ । नौ बजे काममा नपुगी हुन्न । घडीअनुसार चल्न पर्ने उनीहरू, ढिलो गरेको त मनै पराउँदैनन् । त्यही समयको ख्याल नगर्ने भएर नेपालीहरूले उन्नति गर्न नसकेको भन्छन् ।

बिहान उठेदेखि बाबुले छोडेकै छैन । यस्तो ल्याङ्फ्याङ् भएर गयो भने त मार्छन् । छोरीलाई भाइको जिम्मा दिएर आफु ठीक पर्दैछु । म काममा जान लागेको बुझेर ऊ भएभरको बल झिकेर रुन थाल्छ । हातको इसाराले आऊ आऊ गर्दैछ । मन कटक्क काट्यो । एकै छिन त्यसलाई छातीमा टा“सेर “म्याउँ म्याउँ बिराली यतातिर आऊ...” भनेर गाइदियो भने एकै छिनमा लुटुक्क निधाउँथ्यो । तर के गर्नु अब त एकछिन् पनि ढिला गर्नु हुँदैन ।

छोराको त्यस्तो टिठ लाग्दो अनुहार देखेर मनमा गाँठो परेर आउँछ । “हरे भगवान् ! यतिखेर बाबुचाहीँ संगै भइदिएको भए पनि हुने नि । छोराछोरी कति झ्याम्मिन्थे ,बाबुसंग । उनी पनि छोराछोरी भनेपछि हुरुक्कै हुन्थे । तर खोई, के भइदियो के ! छोराछोरीलाई छिसिक्क केही भयो भने पनि संसारै खस्याजस्तो गर्ने मान्छे ! अहिले वर्ष दिन हुन लाग्यो खोज खबरसम्म पनि केही छैन । होइन आफ्नै सन्तानको पनि यसरी चटक्कै माया मार्न सक्दा रहेछन् हगि, लोग्ने
मान्छेले ! साँच्चै हो रहेछ, सौतेनी आमा आएपछि बाबु पनि सौतेनी नै हुँदो रहेछ ।

मनमा आज जसरी भए पनि मालिक्नीसंग रोई कराई गरेर छुट्टी लिन्छु भन्ने गुन्दै म काममा पुगेकी थिएँ । काम गर्ने ठाउँ धन्य टाढा छैन । यहीँ चपलीबाट बाँसबारीसम्म त हो । माइक्रो बस, ट्याम्पु जति पनि पाइन्छन् । तैपनि आज एकछिन् ढिलो त भईहाल्यो । ९ बजेर दस मिनेट गई सकेको रै’छ । मन डरले ढक्क फुल्यो – “लौ मार्छिन अब !”

उनको बच्चा ९ बजे उठ्ने भएकोले सधैं मैले ठीक ९ बजे त्यहा पुगिसक्नु पर्ने आदेश पाएकी थिएँ । बच्चोको दिसा पिसाब गराउने, उसलाई न्वाई ध्वाई गरिदिने, अनि उसलाई पेटभरि दूध ख्वाएर फेरि सुताइवरी सर र मेडमको लागि बार्ह बजेको लागि लन्च तयार पार्नु पर्छ मैले ।

मेडमसंग झस्झस्ती भेट भयो । “ढिलो गर्यौ नि आज ?” उनको स्वरमा गुनासो मिसिएको जस्तो लाग्यो । मैले आफ्नो कुरा राख्नै सकिनँ । डर लाग्यो । आउँदा आउँदै के भन्नु, एकछिन पछि भन्छु ।

“सरस्वती, आज तिमीले हाम्रोलागि लन्च बनाउनु पर्दैन । फ्रिजमा हिजोको के छ यस्सो हेरेर तिमी केही खानू । अँ, आज सर र म एउटा कार्यक्रममा नगरकोट जान लागेका छौं । हामीलाई फर्किन अलि ढिलो हुन्छ होला । हामी नआउन्जेल तिमी बाबुलाई हेरेर बस है । बरु पछि म तिमीलाई गाडी मै घर पठाई दिउँला । अनि तिम्रा केटाकेटीका लागि पनि यहीँ केही पकाएर लग्नू । घर गएर पकाउन ढिला होला । तिम्रा बच्चाहरू भोकाउलान् । तिम्रा बच्चाहरू त स्कूलमै हुन्छन् नि त्यतिबेलासम्म ? केही असजिलो त हुँदैन हगि ? लौ म गएँ है त । सर गाडीमा बसिसक्नु भयो । बाबु पनि उठेकोजस्तो छ, हेर त्यसलाई ।”

मेडमले भनेका कुराहरू सुनुन्जेल अत्यासले मेरो मुटु बेसरी ढुक्ढुक् गरिरह्यो । आँखाअगिल्तिर छोराले टिठलाग्दो अनुहार लाएर हातको इसाराले आऊ, आऊ, भनेको दृश्य नाचिरह्यो । अब के गर्ने ? सानी छोरीको भरमा मात्रै त्यस्तो बिरामी छोरालाई कसरी छोड्नु, केही तलमाथि पर्यो भने ?

 छोराको स्याहार गर्न जाउँ भने मेडमलाई नभनी त्यस्तरी हीँड्दा उनीहरूले राम्रो मान्दैनन् । उनीहरू रिसाए भने यति राम्रो यो जागिर पक्कै जान्छ । यतिका पैसा पाइने जागिर फेरि मलाई कसले देला ? उहाँ अमेरिकामा कस्ता कस्ता पढेका आईमाईहरू पनि यही जागिर गरेर बसेका छन् रे !

फेरि पैसा मात्रै हो र दिउँसोको भात पनि म यहीँ खान पाउँछु । उब्रेपाब्रेका खानेकुराहरू पनि मेडमले छोराछोरीको लागी लगिदिनू भनेर दिनुहुन्छ । त्यही भएर त मैले दुवैलाई बोर्डिङ्मा हाल्न सकेकी छु । यही मेरो दुःख देखेर त दाइले छोरीको स्कूलको खर्च बेहोरिदिनु भएको छ । बल्लतल्ल पाएको यस्तो राम्रो जागिर छोडें भने दाइ पनि रिसाउनु होला । भा’को एउटा दाइ पनि रिसाउनु भयो भने मलाई कसले हेर्ला ? लोग्नेले त छोडे छोडे, दाइ पनि रिसाए मैले के गर्नु ?

के गरुँ म ? आजै दिउँसो चाँडै घर फर्किउँला भन्ठानेको, झन् आजै अबेरसम्म बस्नु पर्ने भयो । बाबुलाई बिहानै त्यत्रो जरो थियो दिनभरि त्यस्ती सानीको भरमा के गरी छोड्ने होला ? अब के गरुँ म ! कल्लाई बोलाएर बाबुलाई हेरिदेऊ भनुँ !

भरङ्ग भएको मनले केही सोच्नै सकेन । उता कोठामा बच्चा बिउँझिएर अघिदेखि रोइरहेको रै’छ । कस्तो सुन्दै सुनिनँ । गार्डहरूले भने बच्चाको वास्ता गरिनँ, बच्चालाई रुवाएर राखेँ भनेर भरे फेरि कुरा लाइदिन बेर छैन ।

बच्चाले न्यापीभित्र दिसा पिसाब गरेको छ होला । त्यो सफा गरेर उसलाई नुहाइदिनु पर्छ । सफासुग्घर पारेर एक बोतल दूध खुवाएपछि बच्चो फेरि निधाउँछ, त्यतिखेरै यस्सो एकपल्ट घर पुगेर आउँ कि....फेरि थाहा पाए भने त .....

बच्चो रोइरहेको छ । जन्मेदेखि आफैंले स्याहारेकोले होला मलाई यो बच्चोको पनि निकै माया लाग्छ । हातखुट्टा फाल्दै चिच्याएर रोइरहेको बच्चोलाई बोकेर छातीमा टा“स्दै म गुन्गुनाउन थाल्छु “म्याउँ म्याउँ बिराली ....”। यता यसलाई फकाउँदै छु । उता मन आफ्नै छोरानिर पुगेको छ । के गरुँ म ....

यता मेरो छातीमा टम्म भएर ६ महिनाको यो माया टाँसिएको छ । अनि मेरो मनभरि टम्म भएर मेरो बिरामी छोराको माया टाँसिएको छ । अहिले चाहेर पनि म आफ्नो बिरामी छोरालाई आफ्नो छातीमा टाँसेर उसको लागि गीत गुन्गुनाउन सक्दिन । पैसाको निम्ति यतिखेर आफ्नो बिरामी छोरालाई पनि टाढा पारेर मैले अर्काको छोरालाई छातीमा टाँस्न बाध्य हुनु परेको छ ।

अर्काको छोरालाई अंगालोमा बेरेर छातीमा टाँस्दै, मनमा आफ्नै छोराको कल्पना गर्दै म आफ्नै छोरालाई मनभरि टाँसेर गुन्गुनाउँदै छु –म्याउँ म्याउँ बिराली....। मेरा हातले अनायासै त्यो मायाको झझल्कोमा यो मायाको पिठ्यूँ सुमसुमाउन थाल्छ । “गरिमा–२०६३,पौष”

२०६४ । ४ । २३
४४६, दोःचा मार्ग, महाराजगंज, काठमाडौं



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल