कथा

अर्को क्षितिज

Another Horizon
उषा शेरचन

पाँच जना दाजुभाइमा सबैभन्दा कान्छो म । हामी दाजुभाइमा पनि उमेरको अन्तर निकै छ । मेरो ठूलो दाजु र ममा त झन् धेरै नै अन्तर छ । घरमा ठूलो दाजुको मात्रै विवाह भएकोले ठूली भाउजूले नै घरको सबै जिम्मेवारी वहन गर्नुहुन्छ ।
भाउजू आफ्ना छोराहरुलाई जति गर्नुहुन्छ त्यति नै माया मलाई पनि गर्नुहुन्छ । म पनि त भाउजूलाई असाध्यै माया गर्छु ।
गाउँभन्दा अलि पर एक घण्टाजति हिँडेर पुग्ने ठाउँमा खोलेको स्कुलमा मलाई भर्ना गरिदिनुभएको छ । त्यही पनि हाम्रो स्कुल छ महिना खुल्छ, छ महिना बन्द हुन्छ । जाडोमा हिउँ धेरै पर्ने हुनाले गाउँभरिका मान्छेहरु सबै आआफ्ना गधा र खच्चर लिएर पोखरा झर्छन् ।
भाउजूले बनाउनुभएको छुर्पी, जिम्बु, उवा, जौ, फापरको पीठो, सुकुटी मासु, सुकेको लसुन, डल्ले मुलाको धजरा, जडीबुटी र दाजुहरुले भोटबाट ल्याउनुभएको नुनको भारी गधा र खच्चरको पिठ्यूँमा बोकाएर जाडो लाग्नासाथ अथवा हिउँ पर्नअगावै हामी पोखरा झर्ने गर्छौं ।
गाउँ–गाउँ डुल्दै किनेर ल्याउनुभएको युँ र मुगाको व्यापार पनि गर्नुहुन्छ दाजुहरु ।
भाउजूको साथमा पोखरा आउनुहुने दाजुले चौबाटोमा पर्ने बर र पीपलको चौतारीमा गाउँबाट ल्याउनुभएको सामानहरु बेच्न राख्नुहुन्छ ।
भाउजू पोखरामा पनि जाँडरक्सी पारेरै बेच्ने गर्नुहुन्छ । त्यही रक्सी पार्ने ठाउँको भुङग्रोमाथि ओदान राखेर खानासमेत पकाउनुहुन्छ । पोखरा झर्दा भने हामीले दिनदिनै भात खान पाउँछौ । गाउँ हुँदा भने दाजुहरु गोठबाट घर आउने पालो पर्दा वा चाडबाडमा मात्र भात खान पाइन्छ ।
मलाई जन्माएपछि मेरी आमा बित्नुभएकोले म आमाको अनुहार त सम्झिन्नँ, तर मेरी आमा पनि मेरी भाउजूजस्तै हुनुहुन्थ्यो होला भन्ने कल्पना भने सधै“ गर्छु । त्यसैले पनि मलाई मेरी भाउजू आमाजस्तै लाग्नुहुन्छ । मेरी भाउजू असाध्यै जाँगरिली र राम्री भए तापनि धेरै घरधन्दा गर्नुपर्ने भएर हो कि ? उमेरभन्दा बूढी देखिन थाल्नुभएको छ ।
यत्रा दाजुहरु हुनुहुन्छ, किन अहिलेसम्म पनि विवाह नगरेर एक्ली भाउजूलाई यस्तरी दु.ख दिइरहेका होलान् कुन्नि ? ठूलो दाजुले जस्तै अरु दाजुहरुले पनि विवाह गरेर नयाँ भाउजू ल्याउनुभए त ठूली भाउजूलाई काममा सघाइदिन्थे नि ! एक्ली भाउजू घरधन्दा गर्ने कि रक्सी पार्ने कि ? खेतमा जाने कि हामी सबैलाई हेर्ने ? अहिलेसम्म पनि बच्चा पाउँदै हुनुहुन्छ फेरि ।
भाउजूका छोराहरुले भाउजूलाई आमा–आमा भनेको सुन्दा मलाई पनि आमा भनेर बोलाउन साह्रै नै मन लाग्छ । तर सबै दाजुहरुले ‘ऊ त तिम्री भाउजू हो आमा होइन नि’ भनेर सधै“ भनिरहनुहुने भएकोले आमा भन्न मन लागेर पनि मनलाई मारेर भाउजू नै भन्ने गर्छु । मुखै फोरेर आमा नभने पनि मन–मनले त आमा नै भन्ने गर्छु म त ।
हामी पोखरा झर्दा हामीसँगै हाम्री भाउजूकी असाध्यै मिल्ने साथी पनि आफ्ना छोराछोरी लिएर हामीसँगै पोखरा झर्ने गर्नुहुन्छ । उहाँकी छोरी र म गाउँको एउटै स्कुलमा सँगसँगै पढ्ने गर्छौं र पोखरा झर्दा पनि सँगसँगै हुन्छौँ । पोखरा झरेपछि स्कुल पढ्न जान नपर्ने हुँदा हाम्रो खासै काम हुँदैन । दिनभर भाउजूका बच्चाहरुलाई भुलाउने, डुलाउने र खेलाउने काम मात्रै हुन्छ ।
हामी कुटेको इँटाको धुलोलाई पीठो, पर्खालमा उम्रेका झारपातलाई तरकारी, ढुङ्गा र माटोलाई विभिन्न सामान बनाएर खेल्छौँ । मेरी साथीले रक्सी पार्ने र ढाँटेपाटेको खाना पकाएर हामी सबैलाई खान दिन्छिन् । हामी सबै मीठो मानीमानी खाएको अभिनय गर्छौं । कहिलेकाहीँ गट्टी पनि खेल्छौँ । साँझ परेपछि भने हामी प्रायः दुब्लिस (लुकामारी) खेल्छौँ । जुनेली रातमा त झन् आकासैभरि फुल उठेका मकैझैँ देखिने ताराहरु हेर्न खुब रमाइलो लाग्छ हामीलाई । आफू जता हिँड्यो त्यतैत्यतै हिँडेको जूनलाई आफूसँगै हिँडाइरहनुको आनन्द त झनै बेग्लै हुन्छ ।
मसँग र मेरी साथीसँग भएको पैसाले कहिले बदाम, कहिले सुन्तला, कहिले नजिकै पसलमा पकाउँदै गरेको तातोतातो सेल त कहिले मिठाइ–पसलबाट जिलेबी किनेर ल्याउछौँ । उनले नै हामी सबैलाई बरोबर भाग लगाएर खान दिन्छिन् । ओहो, जिलेबी खाएको दिन त हाम्रो मुख अघाउँदै अघाउँदैन । मलाई जिलेबी असाध्यै मनपर्ने कुरा उनलाई पनि थाहा भएको हुँदा जिलेबी खाँदाको दिन उनले आफ्नो भागसमेत काटेर मलाई बढी दिन्छिन्, पर्दैन भन्दा पनि मान्दै मान्दिनन् । उनी पनि मेरी भाउजूजस्तै मायालु र सबै प्रपञ्च मिलाउन जान्ने छिन् ।
यसरी छ महिना बितेको पत्तै नपाई फेरि हामी रमाइलो पोखरा छाडेर गाउँ फर्किने बेला भइसक्छ । भाउजू सधैँझैँ गाउँ फर्किने बेलामा अर्को साललाई चाहिनेजति सामानहरु ठूलो सन्दुकभित्र राखेर घरबेटी साहुनीकहाँ नै छाड्नुहुन्छ ।
दाजुचाहिँ गाउँबाट बेच्न ल्याएका बाँकी सामानहरु अन्नसँग
साट्नुहुन्छ । त्यही अन्न, हामीलाई चाहिने सामानहरु र गाउँगाउँ लगेर बेच्नुपर्ने आवश्यक खाद्यान्नहरु र अन्य सामानहरु धमाधम ठूलो ऊनको थैलीमा राख्दै मोटो सियोले बलियो गरी सिलाउनुहुन्छ ।
पोखराबाट गाउँ फर्किने बेलामा भाउजूले आफू र हामी सबैका लागि नयाँनयाँ लुगा हाल्नुहुन्छ । लामो कपालमा रातो झुम्के डोरीले बाटेर नयाँ लुगासँग घाँटीमा युँ र मुगाको माला लगाउनुहुँदा हाम्री भाउजू असाध्यै राम्री देखिनुहुन्छ, पूर्णेको जूनजस्तै । यसरी कोरीबाटी चिटिक्क परेकी भाउजूलाई देख्दा मलाई झन् बढी आमाको यादले सताउँछ ।
मेरी आमा हुनुभएको भए आमा पनि भाउजूजस्तै राम्री देखिनुहुन्थ्यो होला भन्ने मात्र सोच्छु । त्यसो त, भाउजूले मलाई आमाको कमी कहिल्यै हुन दिनुभएको छैन, र’पनि नभएको आमालाई भाउजूसँग दाँजीदाँजी घरीघरी किन यसरी सम्झिरहन्छु म आमालाई ?
यसो गरेर मैले मेरी भाउजूको अपमान त गरिनँ भन्ने अपराधबोधले ग्रस्त पार्दापार्दै पनि फेरि किन सोच्न पुग्छु आमालाई ? म आफैलाई पनि थाहा छैन, सायद भाउजूमा भाउजूको रुपभन्दा बढी आमाको रुप देख्ने भएर पो हो कि ?
आज हामी हाम्रो गाउँ फर्कने दिन !
दाजुले खच्चर र गधाहरुलाई सिँगारेर चिटिक्कै पारेर राख्नुभएको छ । बिहानै फिर्के खोलामा लगेर सबै खच्चर र गधालाई नुहाइदिनुभएर शिरमा रङ्गीचङ्गी ध्वजाजस्ता देखिने चमर सिउरिदिनुभएको छ, मुखमा पट्टी बाँधेर घाँटीमा गलङ्ग–गलङ्ग आवाज आउने घण्टी झुन्ड्याइदिनुभएको छ र गाउँमा लैजाने सामानहरु धमाधम खच्चर र गधाको पिठ्यूँमा चढाउँदै हुनुहुन्छ ।
मेरी भाउजूकी साथीले पनि आफ्ना छोराछोरीहरुलाई नयाँनयाँ लुगा हालिदिनुभएको छ । नभन्दै मेरी साथी आज त लुगा लगाएर देखाउन आएकी छिन् र सोध्दै छिन्— ‘इः म कस्ती देखिएकी छु हँ ?’
त्यसै त राम्री, आज त झन् नयाँ लुगामा झनै राम्री देखिएकी, पुतलीजस्तै !
खच्चर र गधाका घाँटीमा झुन्ड्याइएका घण्टीका गलङ्ग–गलङ्ग आवाज अघिअघि र त्यही आवाजको पछिपछि हामी रमाइलो मानीमानी हिँड्दै छौँ । साना फुच्चेहरुलाई भने दाजुले त्यही खच्चरमाथि चढाइदिनुभएको छ ।
हाम्रो गाउँ त्यति बाक्लो नभए पनि पातलो भन्न पनि मिल्दैन, तर सबै घरहरु छरिएर रहेकाले एउटा घरबाट अर्को घर पुग्न पाँचदस मिनेटजति त लाग्छ नै । कतैकतै भने बाक्लो हिउँ परेकाले होला सेतासेता गलैँचा ओछ्याएजस्तो देखिएको छ ।
हिमाल भन्नासाथ मान्छेहरु उत्तरदिशा मात्रै सोच्छन्, तर हाम्रो हिमालले घेरिएको गाउँबाट जता हेरे पनि हिमालै हिमाल देखिन्छ ।
हामी घर पुग्दा भेँडीगोठमा भएको दाइले छ महिनासम्म बन्द भएको घरको दैलो खोलेर लिपपोतसमेत गरेर राख्नुभएको रहेछ । घर–आँगन जताततै सफासुग्घर देखिएको छ । पुरानो दाउरा पनि बाँकी त थियो नै, त्यसमाथि नयाँ दाउरा थपेर चाङसमेत लगाइसक्नुभएको रहेछ ।
पोखराबाट हामीसँगै फर्किनुभएको दाजुले खच्चर र गधाको पिठ्यूँबाट धमाधम सामानहरु निकाल्दै हुनुहुन्छ । सामान स्याहार्नमा भेँडीगोठबाट आउनुभएको दाइले भाउजूलाई सघाउँदै हुनुहुन्छ ।
सामान स्याहारीवरी भाउजू खाना पकाउने तरखरमा लाग्नुभएको छ । पोखराबाट ल्याउनुभएको चामलको भात पकाउदै हुनुहुन्छ आज भाउजूले । त्यसैले त घरभरि भातको मगमग बास्ना आइरहेको छ । धेरै महिनापछि भात खान पाइयो भनेर हो कि, भेँडीगोठबाट आउनुभएको दाजुको मुहार साह्रै उज्यालो देख्छु तर त्यसको विपरीत पोखराबाट आउनुभएको दाजुको मुहार भने अँध्यारो देख्छु, किन हो खोइ ?
यतिका महिनासम्म पोखरामा भाउजूसँग बस्दा यसरी अँध्यारो मुख लगाएको त कहिल्यै देखिनँ, आज त साह्रै मलिन देख्छु, सन्चो नभएर पो हो कि ? न त्यत्रा खच्चर र गधाहरुलाई तह लगाउँदै ल्याउनुपरेकोले थकाइ लागेर पो हो कि ? त्यो भने मैले बुझ्न सकिनँ ।
भेँडीगोठको दाजुलाई घरमा देख्नासाथ उहाँ खुसी हुनुपर्नेमा झन् दुःखी भएझैँ पो लाग्यो । यतिका महिनापछि दाजुभाइ भेट्दा खुसी भएर रमाउनुपर्ने हो, तर किन हो दुबै रमाएझैँ लागेन ।
भेँडीगोठबाट आउनुभएको दाजुले यसपल्ट भेँडा–च्याङ्ग्रा चाँडै बिकेकाले चाँडै घर फर्किन पाएको र बेच्दा पनि निकै फाइदा भएकोे कुरा रमाई–रमाई सुनाइरहनुहुँदा पनि पोखरामा त्यत्रो महिना बसेर त्यत्रो व्यापार गरेर आउनुभएको दाइ भने केही नबोली चुपचाप सुनेर मात्र बस्नुभएको छ ।
पोखराबाट आउनुभएको दाजु त्यस्तो सन्चो नभएझैँ देख्दादेख्दै पनि किन फेरि भाउजूले आजै चौँरीगोठ भएको दाजुलाई खर्चपानी पुर्याइदिन अराउँदै हुनुहुन्छ ? दुईचार दिनपछि मात्रै चौँरीगोठको दाजुलाई घर जाने भन्नू भनेर अराउँदै पनि हुनुहुन्छ । यदि दुईचार दिनपछि मात्रै आउने भए आजै किन पठाउनुपरेको होला भाउजूलाई पनि !
हुन त सधैँ भाउजूले नै यसरी सबै दाजुहरुलाई को–को कहाँ जाने, पालो लगाइदिने गर्नुहुन्छ ।
— कुनचाहिँ दाजु गोठ जाने ?
— कुनचाहिँ भोट जाने ?
— कुनचाहिँ खर्क जाने ?
— कुनचाहिँ खच्चर र गधा लिएर व्यापार गर्न जाने ?
— कुनचाहिँ दाजु घर बस्ने ?
यति मात्रै कहाँ हो र !  कुनचाहिँ दाजुको पोखरा झर्ने पालो पर्यो भनेरसमेत भाउजूले नै भन्ने गर्नुहुन्छ । आहा, मलाई मात्र क्या मोज ! कहीँ जानु पर्दैन, सधैँ भाउजूसँगै बस्न पाउँछु ।
आजै पोखराबाट हामीसँग आउनुभएको दाइ खाना खाइवरी चौँरीगोठतिर लाग्नुभयो । भेँडीगोठबाट आउनुभएको दाजु मात्रै घरमा हुनुहुन्छ । उहाँ पनि केही दिन बस्नु भएपछि फेरि अर्को दाइलाई पालो दिन जानुपर्छ ।
सबै दाजुहरु एकैपल्ट घर बस्नुभएको मैले त आजसम्म देखेकै छैन । पालो–पालो गरेर एक जना मात्रै भाउजूलाई सघाउन घरै बस्नुहुन्छ । हो, यो कुरा भने मलाई एकदमै अचम्म लाग्छ ।
त्यसो त, घर बस्ने पालो परेको दाजुलाई मात्र सजिलो त कहाँ छ र ! फापर, उवा, जौ, छर्न जानै पर्यो । लसुन, आलु, डल्ले मुला, आदि रोप्न भाउजूलाई सघाउनै पर्यो । सन कोर्न जानै पर्यो । अन्नपानी पाक्ने बेलामा भ्याउने काम पनि गर्नै पर्यो, त्यति मात्र नभएर राति–राति भाउजूको कोठामा गएर भेँडा र च्याङग्राको ऊन कात्न सघाइदिनै पर्यो । मलाई त ऊन कात्नै आउँदैन । त्यसैले दाजुहरुलाई जस्तो रातिराति भाउजूको कोठामा पनि जानु पर्दैन मलाई ।
भेँडीगोठ बस्ने दाइले धेरै सुकुटीमासु बनाएर ल्याउनुभयो भनेको त चौँरीगोठबाट झर्नुभएको दाइले त झन् धेरै सुकुटी बनाएर ल्याउनुभएको रहेछ । आजै बिहान भेँडीगोठ बस्ने दाजु भेँडीगोठतिरै फर्कनुभयो, साँझ त फेरि अर्को दाजु टुप्लुक्कै घर आउनुभएको रहेछ ।
त्यसैले पो आज पनि भाउजूले भातै पकाउनुभएको रहेछ । साथै सुकुटीमासु, डल्ले मुलाको छोप, जिमु हालेको आलुको तरकारी आदि  दाजुहरुलाई जेजे खान दिनुहुन्छ, भाउजूले मलाई पनि त्यहीत्यही दिनुहुन्छ । कहिल्यै छुट्याएर दिनु हुन्न । कहिलेकाहीँ भात पुगेन भने पनि बरू भाउजू आफै ढिँडो ओरालेर खानुहुन्छ, तर मलाई भने भातै खान दिनुहुन्छ ।
हाम्रो स्कुल पनि खुलिसकेको छ । नयाँ मास्टरनी आउनुभएकोले नयाँनयाँ कुराहरु नै सिकाउनुहुन्छ । हिजो त उहाँले अच्चम्मकै कुरा भन्नुभयो— ‘हाम्रो गाउँमा धेरै राम्रा कुराहरु छन्, तर केही नराम्रा कुराहरु पनि छन्, जसलाई सुधार गर्नु जरूरी छ ।’ खोइ, हामीले त हाम्रो गाउँमा त्यस्तो नराम्रो कुरा केही देख्दैनौँ त ! सबै राम्रै मात्रै देख्छौँ त !’
           
                ८८८                
    हिजोआज दाइहरुले भन्दै हुनुहुन्छ— ‘छ महिना गाउँ छ महिना पोखरा गर्दागर्दै तँ पनि तरूनो हुँदै गएको छस् ।’
त्यस्तै गरी अरुले पनि भन्न थालेका छन्— ‘कति चाँडै हलक्क बढेर ठिटो देखिइसकिस् ।
हुन पनि हो कि क्या हो ? अचेल मलाई पनि भाउजूको साथीकी छोरीलाई देख्दा मन कस्तोकस्तो हुन्छ । पहिला–पहिला यस्तो भएजस्तो त कहिल्यै लागेन, जति सँगै खेले पनि । अचेल भने उनले जे भने पनि जे गरे पनि राम्रो लाग्छ । हेरिरहूँजस्तो मात्रै लाग्छ ।
उनको बानी–बेहोरा पनि हाम्री भाउजूसँग निकै मिल्छ । भाउजूकी साथीकी छोरी र म अझैसम्म पनि सँगै स्कुल जाने–आउने गर्छौं । तर जति सँगै बसे पनि, हिँडे पनि मन अघाउँदै अघाउँदैन । जति हेर्यो उति झन् राम्री, झन् हिस्सी परेकी लाग्छिन् ।
अचेल त झन् उनी स्कुल जाने मात्र होइन घरमा खाना बनाउने, आमालाई रक्सी पार्न सघाउनेजस्ता घरधन्दा सबै गर्न जान्ने भइसकिन् । अब त झन् ढिँडोसमेत ओराल्न जानेकी छन् । मसँग पनि पहिला–पहिलाजस्तो गफ गर्नै छाडेकी छन्, उल्टै बरू मलाई देखेपछि त झन् रातोरातो मुख पार्दै लजाएजस्तो पनि गर्न थालेकी छन् ।
हिजो त मैले उनलाई जिस्क्याएरै भनेँ पनि— ‘किन तिमी मलाई देखेर लजाएझैँ गछ्र्यौ अचेल ? त्यत्ति गफ पनि गर्दिनौ ! तरूनी हुन लागेर हो कि क्या हो !’ मेरो कुरा सुनेर उनी त ‘छ्या...’ भन्दै दौडेर भागिन् । उनले त्यसो गर्दा मलाई पनि कस्तोकस्तो लाग्यो । मनभित्र गहिरो मायाको मूल फुटेझैँ पो भयो मलाई ।
जतिजति ठूली हुँदै गइन् उतिउति झन् धेरै घरधन्दा गर्नुपर्ने भएर हो कि किन हो ? बेलाबेलामा स्कुलमा पनि गयल भइराख्छिन् । उनी स्कुल नआएको दिन मलाई पनि स्कुलमा बस्नै मन लाग्दैन । उनकै झझल्को आइरहन्छ । साह्रै नरमाइलो पो लाग्छ त मलाई । न्यास्रो लागेर कुनै पनि कुरामा मन टिक्दै टिक्दैन ।
आज पनि उनलाई स्कुलमा नदेख्दा मलाई नमज्जा लागेर आयो । कतिखेर भेटौँजस्तो भएर घर फर्किँदै गर्दा बाटोमै पर्ने उनको घरभित्र पसेँ । उनी घरमै रहिछिन्, उनलाई देख्नासाथ मैले सोधिहालेँ— ‘किन स्कुल नआएकी तिमी ?’
उनले लजाउँदै जबाफ फर्काइन्, ‘घरमा पाहुना लागेको छ, काम धेरै गर्नुपर्छ, त्यसैले स्कुल आउन भ्याइनँ ।’
जे होस्, उनलाई भेटेर र उनको मुहार देखेपछि मात्रै मलाई मनमा एक प्रकारको सन्तोष लाग्यो । उनलाई नदेखेसम्म, नभेटेसम्म मन एक तमासको भइरहेको थियो, बल्ल शान्त भयो ।
त्यहाँबाट फर्किंदा फर्किंदै उनले मलाई कर गर्दै भनिन्— ‘नुन–चिया, फापरको रोटी खाजा खाएर जाऊ !’
तर त्यहाँ म एक्लै भए पो त ! भाउजूका छोराहरु पनि सँगै छन् । त्यसैले त्यहाँबाट उम्कने प्रयास गर्दै भनेँ— ‘घरमा पनि भाउजूले खाजा तयार पारेर बाटो हेरिरहनुभएको होला । होस्, हामी जान्छौँ ।’
फर्किने बेलामा मेरा आँखा निकै बेरसम्म उनका आँखासँग जुधिरहे । मैले महसुस गरेँ, उनको र मेरो हेराइमा पनि निकै परिवर्तन आएको छ । उनी मेरो सामु पर्नासाथ गाला रातै पार्छिन् । उनका स्याउजस्ता राताराता गाला देख्दा मलाई पनि टोकिदिऊँ–टोकिदिऊँजस्तो मात्रै लाग्छ ।
स्कुलमा पनि मेरा आँखाले उनलाई नै खोजिरहेका हुन्छन् । मैले मनमनै सोचेको छु, बिहे गर्नुपरे म उनैसँग गर्छु, नत्र गर्दै गर्दिनँ । उनको बोलाइ र हेराइ देख्दा उनले पनि मलाई नै मन पराएजस्तो लाग्छ ।
अरु दाजुहरुले खोइ किन हो अहिलेसम्म पनि बिहे नै गर्नु भएन । कमसेकम मैले बिहे गरेर ल्याएँ भने त भाउजूलाई काममा त सघाउपघाउ पुग्छ । उनले पनि कामकुरो सबै जानेको हुँदा भाउजूले त्यति सिकाइरहनु पनि पर्दैन होला । उनी आएपछि भने बल्ल भाउजूलाई काममा केही हलुका होला ।
एक दिन ठूलो दाजुको घर कुर्ने पालो परेको मौका छोपेर भनेँ— ‘खोइ, हजुरले बाहेक अरु दाजुहरुले बिहे नै गर्नु भएन । मैले बिहे गरेर दुलही भिर्याएँ भने भाउजूलाई कामको बोझ केही हलुका हुने थियो ।’
मैले फेरि कुरो बढाएँ— ‘मलाई भाउजूको साथीकी छोरी असाध्यै मन पर्छ । सबै कामकुरो पनि जानेकी छिन्... ।’
तर मैले आफ्नो भनाइ पूरा गर्न नपाउँदै दाइ त सिंहजस्तै गर्जेर उल्टै मसँग रिसाउनुभयो— ‘के नचाहिने कुरो गर्छ यसले ? त्यसरी जुन पायो त्यही केटीलाई बिहे गरेर कहाँ ल्याउन पाइन्छ ?’
मैले पनि भनिदिएँ— ‘मैले बिहे गर्नुपरे उनैसँग गर्छु, नगरे कसैसित गर्दिनँ ।’
अझै घुर्की नै देखाउँदै भनेँ— ‘नत्र म पनि अरु दाजुहरुजस्तो बिहे नै नगरी बस्छु ।’
‘तर तेरो त बिहे भइसक्यो ।’ ठूलो दाइले मतर्फ हेर्दै मलाई आश्चर्यमा पार्ने कुरो गर्नुभयो ।
मैले तीन छक्क पर्दै सोधेँ— ‘कोसँग ?’
‘कोसँग हुनु नि ! भाउजूसँग ।’ ठूलो दाजुले सहजै भन्नुभयो ।
‘भाउजूसँग ?’ म तर्सें ।
‘हो, भाउजूसँग ।’ ठूलो दाजुले मलाई बुझाउन लाग्नुभयो— ‘जुन दिन मैले तेरी भाउजूलाई बिहे गरेर यो घरमा ल्याएँ, त्यसै दिनदेखि तँलगायत सबै भाइहरुको बिहे भयो उनैसँग ।’
यस्तो अप्रत्यासित वास्तविकताप्रति मलाई परिचय गराउँदै फेरि उहाँले सोध्नुभयो— ‘यो उमेरसम्म पनि थाहा पाएको छैनस् र भाउजू नै हामी सबै दाजुभाइकी साझा श्रीमती हो भन्ने कुरा ?’
अन्यौलमा मैले ठूलो दाजुको अनुहार हेरिरहेँ ।
ठूलो दाजुले फेरि भन्नुभयो— ‘हाम्रो परम्परा नै यस्तो, हाम्रो गाउँमा पुर्खौंदेखि चलिआएको चलन नै यस्तो हो भनेर पनि भनिरहनुपर्छ र, तँलाई !’
ठूलो दाइले यसो भन्नुहुँदा म त भीरबाट एकैपल्ट गुल्टेजस्तै भएँ । सोचेँ, म पनि कस्तो बुद्धू रहेछु जो आफ्नो समाजमा भएको परम्पराको समेत ख्यालै नराख्ने !
वास्तवमा, गाउँमा नजिकै घर छैन, अलि टाढा टाढै छ । फेरि यसबारे कसैसँग चर्चा–परिचर्चा गर्ने कुरो पनि भएन । हाम्रो समाजको परम्परा यस्तो हो भनेर कसैले पनि भनिरहन आवश्यक पनि ठानेनन् मलाई सायद । आफसेआफ जानिहाल्छ नि भनेर पनि होला, तर मैले पनि यसबारे हेक्का राख्नुपथ्र्यो, राख्न सकिनँ ।
अब पो मेरो बल्ल घैँटोमा घाम लाग्यो ।
— किन सबैका घरमा जति जना दाजुभाइ भए पनि एक्लाएक्लै स्वास्नीमान्छे हुँदा रहेछन् !
— हाम्रा अरु दाजुहरुले पनि अहिलेसम्म किन बिहे नगरी बसेका रहेछन् !
— यतिका दाजुभाइ भए पनि किन सँगै बस्दा रहेनछन् !
— किन नयाँ मास्टरनीले हाम्रो गाउँका केही नराम्रा कुराहरु पनि छन्, जसलाई सुधार गर्नुपर्छ भनेर भन्नुभएको रहेछ !
— त्यतिका दिन पोखरामा भाउजूसँग बस्दा अँध्यारो मुख लगाएको नदेखेको दाइ घर फर्केर अर्को दाइलाई घर बसेको देख्दा खुसी हुनुको साटो दुःखी भएर अँध्यारो मुख लगाउँदा रहेछन् !
— घर कुर्ने पालो परेका दाजुहरु रातिराति किन भाउजूको कोठामा ऊन कात्न जाँदा रहेछन् !
ओहो, पत्रे चट्टानजस्तै पत्रैपत्र उप्किरहेका छन् एकएक गर्दै दिमागबाट सबैसबै कुराहरु । जे भए पनि अरु दाजुहरु भाउजूभन्दा उमेरले कान्छो भए तापनि हाराहारीका झैँ देखिनुहुन्छ । तर म ? म त उहाँहरुभन्दा उमेरले धेरै कान्छो । लौ त भनौँ भने, छोराजस्तो अनि आमा उमेरकी भाउजूलाई स्याहार्ने त कल्पनासम्म पनि गर्न सक्दिनँ । साँच्चै नै स्याहार्ने कुरा त परै जावस्, परम्पराको नाउँमा आफ्नो नैतिकता कुनै पनि हालतमा गुमाउन सक्दिनँ, र गुमाउन चाहन्नँ पनि ।
आज पनि ठूलो दाजु त्यही कुरा दोहोर्याउँदै हुनुहुन्छ— ‘अरु दाजुहरुले चुपचाप भाउजूलाई स्वीकार गरेजस्तै तैँले पनि स्वीकार गर्नुपर्छ । तैँले मन पराएकी केटीलाई घर भिर्याउन पाउँदैनस् ।’
मेरी आमाभन्दा कुनै पनि अर्थमा कम नभएकी मेरी भाउजूलाई श्रीमती बनाउने कुरा बिपनामा त के, सपनामा पनि सोच्न सक्दिनँ म । दाइले कति सजिलै भन्न सकेका होलान् ?
‘पासो हालेर मरूँला बरू, भीरबाट हाम फालेर मरूँला, तर मेरी आमाजस्तै भाउजूलाई त कुनै पनि हालतमा स्वीकार्न सक्दिनँ म । एक सक्दिनँ, दुई सक्दिनँ, तीन सक्दिनँ ।’ ममा विद्रोह उम्रिन्छ ।
तर उहाँ झन् ठूलो स्वरमा भन्नुहुन्छ— ‘तैँले सक्दिनँ भन्दैमा हुन्छ ? हाम्रो परम्परा नै यस्तो हो, हाम्रो रीतिथिति नै यस्तो, घरको ठूलो दाइले जसलाई श्रीमती बनाएर घर भ्याउँछ , ऊ नै सबै दाजुभाइकी साझा श्रीमती हुन्छे ।
उफ् ! मान्छे पनि पशु हो र, सबैले बाँडेर लिने ! त्यसमाथि पनि अझ आमा उमेरकी भाउजूलाई श्रीमती भन्नुपर्ने ! सोच्दैमा पनि अपराधबोध हुन थाल्छ ।
‘उमेर चाहे जतिसुकै वर्षको फरक किन नहोस्, हाम्रो चलनै यस्तो छ, तँ एउटाले मात्रै नमानेर हुन्छ र ! नत्र हाम्रो घर भाँडिन्छ, हाम्रो सम्पत्ति बाँडिन्छ, हाम्रो त नाकै काटिन्छ, हामीलाई हाम्रो समाजमा मुख देखाउनै गाह्रो हुन्छ । हाम्रो त इज्जतै माटोमा मिल्छ ।’ मलाई सम्झाउन खोज्दै हुनुहुन्छ, ठूलो दाजु ।
यदि मैले मेरी आमा समानकी भाउजूलाई स्याहारिनँ भने मलाई घरबाट मात्र होइन गाउँबाटै निकालिदिन्छन् रे !
निकाले निकालिदिऊन्, मारे मारुन्, तर मर्नुपरे पनि, यो गाउँ नै छाडेर जानुपरे पनि म मेरी आमाजस्ती भाउजूलाई भने कुनै पनि हालतमा श्रीमती भन्न सक्दिनँ । म अडान लिएर बसेको छु ।
ठूलो दाजु एक्लैले मलाई सम्झाउन नसक्नु भएर होला, अरु सबै दाजुहरुलाई समाचार पठाउदै हुनुहुन्छ— ‘भरै यहाँ मुख चुठ्ने गरी आउनू !’
साँझ पर्दै जान थालेपछि एकएक गर्दै सबै दाजुहरु घर भित्रिँदै हुनुहुन्छ । काइँला दाइ मात्रै अलि टाढा जानुभएको रहेछ क्यारे, बल्ल पो आउँदै हुनुहुन्छ । यसरी सबै दाजुहरु एकै पटक घरभित्र यसरी जम्मा भएको पनि मैले मेरो जीवनमै पहिलो पटक देख्दै छु ।
सबै दाजुहरु भेला भएर मिटिङ बस्नु भएपछि मलाई बोलाएर एकै मुखले सम्झाउन थाल्नुहुन्छ— ‘हाम्रो समाजमा बाउबाजेदेखि नै चल्दै आएको परम्परा र चलन नै यस्तो हो, जसलाई तैँले पनि चुपचाप स्विकार्नै पर्छ ।’
एकछिनपछि माइला दाजु भन्नुहुन्छ— ‘अहिलेसम्म यो गाउँमा तैँलेजस्तो अनर्थको कुरा कसैले पनि गरेको छैन । यस्तो राम्रो परम्परालाई तोड्न खोज्ने पहिलो व्यक्ति तँ नै होस्, बुझिस् ? भाउजूलाई नस्याहारेर अरु केटीहरुको बारेमा सोच्नु त्यो झन् ठूलो पाप हो ।’
सबै दाजुहरुको कुरा सुनेर मलाई भाउन्नै होलाजस्तो भयो । तर के गर्ने ?
सबै दाजुहरुले कर गर्न थालेपछि मेरो शिर लाजले निहुरियो । उहाँहरुसँग त आँखा मिलाउनै सकिनँ भने भाउजूको अगाडि पर्ने हिम्मत गर्नसक्ने त झन् कुरै भएन । त्यसैले जुरूक्क उठ्दै प्रतिक्रिया जनाएँ— ‘बरू कोठाभित्रै लुकेर बस्छु, नखाई–नखाई मर्छु, अबदेखि स्कुल त के कोठाबाट समेत बाहिर निस्कन्नँ ।’
आफ्नो कोठामा ढोका थुनेर बसेँ । दाजुहरु सबै पालैपालो गरेर ढोका ढकढकाउँदै हुनुहुन्छ । तर म टसमस नगरी बसेको छु ।
दाजुहरुको केही सीप नलागेर होला अहिले त झन् भाउजूलाई नै पठाउनुभएको रहेछ । बाहिर भाउजूको स्वर सुनेपछि मलाई असाध्यै रून मन लाग्यो । भाउजूले बोलाइरहनुहुँदा समेत मैले ढोका खोल्नै सकिनँ । धेरै बेर ढोका ढकढकाउँदा पनि नखोलेको देखेर भाउजूले मलाई दङ्ग्याउँदै भन्नुहुन्छ— ‘यदि तिमीले कोठाको ढोका खोलेर खाना खान आएनौ भने म पनि केही नखाई भोकै सुत्छु ।’
यो कस्तो अप्ठ्यारो स्थिति ? ढोका नखोलूँ, मेरै कारणले मेरी भाउजू भोकै पर्ने, ढोका खोलूँ त भाउजूको अनुहार कसरी हेर्ने ? तैपनि मन बाँधेर ढोका खोलिदिएँ । भाउजूलाई अगाडि देखेर क्वाँ–क्वाँ रोएँ बच्चाझैँ । कोठाभित्र आएर भाउजूले सम्झाउन थाल्नुभएपछि भाउजूकै काखमा टाउको लुकाएर झन् धेरै रोएँ । यसरी भाउजूको काखमा टाउको लुकाएर रून पाउँदा मलाई लाग्यो— यो काख भाउजूको होइन आमाको हो, न्यानो र ममतामयी ।
भाउजू भन्दै हुनुहुन्छ— ‘नाताले तिमी मेरो देवर भए पनि मैले पनि तिमीलाई आफ्नो छोरासरह सम्झेकी छु । दाजुहरुका कुरालाई नराम्रो नमान ! हाम्रो समाजको रीति–रिवाज नै यस्तो छ । हामीलाई पनि यसरी सबै दाजुभाइकी साझा श्रीमती भएर बाँच्ने रहर त कहाँ लाग्छ र ! तर पनि बाँच्नै पर्छ, आफ्नो परम्परालाई धान्नै पर्छ ।’
उहाँ रहस्य खोल्न थाल्नुहुन्छ— ‘मेरा सबै छोराहरु पनि तिम्रा ठूला दाजुका मात्रै कहाँ हुन् र ? अरु दाजुहरुका पनि हुन्, कुनचाहिँ कसको हो भनेर मैले नै छुट्याइदिनुपर्छ ।’
म चुपचाप उहाँका कुरा सुनिरहन्छु । भाउजू फेरि प्रसङ्ग जोड्दै भन्नुहुन्छ— ‘मेरै साथीका छोराछोरीहरु पनि एउटै बाबुको मात्र नभएर सबै दाजु भाइहरुका हुन्, एउटी साथीका छोरीलाई तिमीले मन पराउँछौ रे भन्ने कुरा तिम्रो ठूलो दाइको मुखबाट सुनेँ । तर समाज र परम्पराका कुराहरु एकातिर छन् भने मनको कुरो अर्कातिर छ । मैले पनि तिमीलाई तिम्रा दाजुहरुको दर्जामा नराखेर छोराकै दर्जामा राखेकी छु, र त्यस्तै गरेर हुर्काएकी पनि छु ।’
दूध चुस्ने बालकझैँ म भाउजूको मुख हेरिरहन्छु, उहाँ भन्दै हुनुहुन्छ— ‘म यो घर दुलही भएर भित्रिँदा तिमी काखेबालकै थियौ । मेरो काखमा छाडेर तिम्री आमा यो संसारबाट बिदा हुनुभयो । मेरो माया र ममताको छहारीमै तिमी हुर्कियौ । मैले पनि बिर्सिसकेकी थिएँ, तिमी मेरो देवर हौ भन्ने नातालाई । अहिले आएर यो कुरा निस्कँदा तिमी जति दुःखी छौ त्योभन्दा धेरै दुःखी छु म पनि । तिमीले त मेरो काखमा रोएर आफ्नो मनको बह पोखेर हलुका भयौ तर म...!’ उहाँको आवाजमा सुँकसुँकाइ छ— ‘मैले मेरो बह कहाँ गई पोख्ने ? जति नै चोट लागे पनि, जति नै पिर परे पनि म आफ्नो पिर र व्यथा आफैभित्र लुकाएर बाँचिरहेकी छु ?
मभित्र प्रश्न उठ्छ— भाउजूजस्ता थुप्रै महिलाहरु यसरी नै कति बलि चढिरहेका होलान् ।
‘तिमीले यसरी ढोका थुनेर भोकै बस्दैमा तिम्रा दाइहरुको मन पग्लने त होइन नि ! तिमीलाई कुनै पनि हालतमा तिम्रा दाइहरुले तिमीले मनपराएकी केटीसँग बिहे गर्न दिने छैनन्, हाम्रो परम्परा तोडिन्छ भनेर । त्यसैले... ।’भाउजू मेरो सामु नयाँ मार्गको प्रारुप प्रस्तुत गर्नुहुन्छ— ‘तिमीले उसलाई भगाएर लैजाऊ ! यो गाउँदेखि टाढा धेरै टाढा कुनै सहरतिर गएर आफ्नो छुट्टै घर संसार बसाऊ ! तिमीहरु दुबै अलिअलि भए पनि पढे–लेखेका छौ । उतै सहरतिर काम खोजेर आफ्नो जीविका चलाऊ ! म गोप्य रुपमा तिम्रो मद्दत गरूँला, अहिलेलाई चुपचाप खाना खान हिँड !’
त्यो नयाँ मार्गको प्रारुपलाई उहाँ अझ विस्तृत बनाउनुहुन्छ— ‘भोलि साँझ मैले तिम्रा दाइहरुलाई अलि बढी नै रक्सी र छ्याङ खान दिउँला । उनीहरु मातेपछि तिमी सुटुक्कै निस्केर मेरो साथीकी छोरीलाई भगाएर लैजाऊ !’
मेरा आँखाबाट झरेको आँसु वात्सल्य भरिएका औलाहरुले पुछिदिनुहुन्छ ।
भाउजूको अपार माया र स्नेहले मेरो मन भरिएर आउँछ । साँच्चै कति ज्ञानी र बुझ्ने हुनुहुन्छ मेरी भाउजू ! भाउजू होइन मेरी आमा । मेरो मनभित्र भाउजूप्रति झन् बढी श्रद्धा उर्लिएर आउँछ ।
साँच्चै भाउजूको कुराले बल्ल मन केही हलुका हुन्छ अनि उठेर भाउजूको पछि–पछि लाग्छु । नभन्दै, दाजुहरु मलाई नै पर्खेर बसिरहनुभएको रहेछ । भाउजूले हामी सबै दाजुभाइलाई लहरै राखेर खाना खुवाउनुहुन्छ ।
तर मेरो मनमा लागिरहेको हुन्छ— मैले रोजेकी केटीलाई भगाएर भाउजूलाई नस्याहारेपछि दाजुहरु र गाउँलेहरु सबैले मलाई यो गाउँमा कहिल्यै फर्कन दिने छैनन् । यस्तो सोचले मलाई भाउजूप्रति झन् बढी माया जागेर आउँछ ।
आज दिनभर पनि दाजुहरुले मलाई फकाइरहनुभएको छ । म भने केही नबोली चुपचाप सुनेर मात्रै बसिरहेको छु ।
साँझ परेपछि भाउजूले सबै दाजुहरुलाई तीनपानीको कडा रक्सी र अलि बढी नै चर्को छ्याङसँग मीठो–मीठो परिकार खान दिँदै हुनुहुन्छ । दाजुहरु सबै एकैपल्ट घरमा जम्मा भएर लहरै यसरी खानुभएको पनि कहिल्यै देख्न पाएको थिइनँ ।
उहाँहरु सबै भाउजूको हातले बनाएका मीठामीठा परिकारहरु मीठो मानी–मानी खाँदै हुनुहुन्छ, मानौँ मेरो अघोषित विवाह–उत्सवको भोज हो त्यो ।
भाउजूले सम्झाएपछि मैले पक्कै मानेँ हुँला भन्ने कुरामा सबै दाजुहरु ढुक्क भएझैँ देखिनुहुन्छ । मेरो मन भने अन्तै उडिरहेको छ ।
— यसरी एउटै श्रीमतीलाई सबैले भोग्नुपर्दा एक आपसमा ईष्र्या लाग्दैन होला त !
— भाउजूले पनि सबै दाजुहरुलाई बराबर माया बाँड्न सक्नुहुन्छ होला त !
— भाउजूलाई कुनै दाजुको बढी कुनैको कम माया लाग्न पनि त सक्छ होला नि !
— मान्छेको मनलाई समेत वस्तुझैँ बाँडिनुपर्दा उहाँलाई कति पीडा हुँदो हो !
— दाजुहरुलाई पनि यसरी सबैले एउटै श्रीमतीलाई बाँडेर बस्नुभन्दा त एक्लाएक्लै श्रीमती भिर्याएर आफ्नो छुट्टै घर–संसार बनाउन पाए कस्तो हुँदो होला भन्ने लाग्दै लाग्दैन होला त !
— आफ्ना सबै इच्छा र आकाङ्क्षालाई परम्पराको नाउँ दिएर बाँच्नुपर्दा के सबै जना खुसी हुनुभएको होला त !
— सबैकी साझा श्रीमती भएर बाँच्नुपर्दा भाउजूलाई कहिल्यै ग्लानि भएन होला त !
— एकपछि अर्को प्रश्न पहाड भएर उभिरहेको छ मसामु, तर कुनै पनि प्रश्नको उत्तर भने छैन म आफैसँग ।
दाजुहरु ढुक्कैसँग रक्सीले मातेर निदाउनुभएपछि भाउजूको सल्लाहबमोजिम नै म सुटुक्कै निस्कन्छु मेरी भाउजूको साथीकी छोरीलाई भेट्न ।
म मेरा सबै समस्याहरु उनीसामु राख्दै भन्छु— ‘हामी आजै यहाँबाट भाग्नुपर्छ ।’
मेरो कुरा सुनेर उनी अलिक हडबडाउँछिन् । उनी मसँग जान डराउँछिन् । मैले उनलाई धेरै सम्झाएपछि मात्रै सहमति जनाउँदै उनी टाउको हल्लाउँछिन् ।
सुस्तरी म उनको कानमा भन्छु— ‘तिमी निस्कँदै गर ! म भाउजूलाई भेटेर आइहाल्छु ।’ फेरि उनलाई ढाडस दिँदै भन्छु— ‘तिमी कत्ति पनि डराउनु पर्दैन, तिम्रो लागि त म छु नि ! बरू छिट्टै निस्केर तलको गुम्बानिर मलाई पर्खनू है !’
अनि म आफ्नो घरतिर मोडिन्छु ।
भाउजू पनि मेरै बाटो हेरेर पर्खिरहनुभएको रहेछ । मेरो हातमा केही नगद राखिदिँदै भाउजू भन्नुहुन्छ— ‘जाऊ कान्छा जाऊ, यो गाउँमा अब तिमी कहिल्यै फर्केर नआऊ !’
उहाँका आँखामा आँसु डबडबाइरहेको हुन्छ ।
आँसुमिश्रित त्यो बिदाइमा म केही सोच्नै सकिरहेको हुँदिनँ । एक्कासि मेरो मन भक्कानिएर आउँछ । म मेरी पूजनीय भाउजूलाई आमा नै सम्झेर गोडामा ढोग दिन्छु । उहाँको आशीर्वाद थापेर कहिल्यै नफर्कने गरी गाउँबाट सदा सदाका लागि ओझेल हुन्छु ।
...



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल