कथा

हुरी आएको बेला

And the storm came…
दिलीप शाह

कवि–कलाकारको भाषामा भन्नुपर्दा आकाशले षोडसीको मुस्कान छरेको छ । बिहानीको सूर्यका लालिमायुक्त किरणहरुले पहाडको थुम्को सिनित्तै नुहाएको छ । थुम्कोबीचबाट खोला छमछम नाच्दै बगेकी छन् । वरिपरिको जङ्गलमा गाई, भैँसी पुच्छर हल्लाउँदै घाँस टिप्नमा मस्त छन् । नजिकैको एैसेलुको झाडीमा खरायोका जोडी कान ठाडा पारी टुक्रुक्क बसेका छन् । लहराहरुमा बॉदरको झुण्ड उफ्रिरहेका छन् । भाले मयूर नाचेर प्रियतमा रिझाउनमा व्यस्त छ । ढुकुर जोडी रुखमा गुँड बनाउनमा तल्लीन छन् ।      थरी–थरीका चराहरुको चिरबिरले वातावरण सङ्गीतमय छ । समग्रमा भन्नुपर्दा दृश्यावली मनोरम र चित्ताकर्षक छ ।          बीच– बीचमा पूर्वबाट बहने मन्द पवनले वातावरण अझ रोमाञ्चक र  मनोरम बनाएको छ । अझ यसलाई  विस्तार गर्नुपर्दा प्रकृतिको यो अनुपम चित्रलाई क्यामरामा कैद गर्न वा चित्रमा उतार्न कन्जुस्याइन् गर्न नहुने खालको छ ।
    यो शान्त, निर्मल, स्वच्छ वातावरणको बीचमा छाया र प्रशान्त खोलाको ढुङ्गामाथि बसेका छन् । दुवैले आफ्ना कपडा घुँडासम्म सारेका छन् र नाङ्गो खुट्टाले पानी चलाउ‘दै छन् । खुट्टा चलाइले पानीमा तरङ्ग उत्पन्न भएझैन् सामीप्यको बसाइले उनीहरुको मनमा एकसाथ कम्पन उत्पन्न भएको छ । कम्पन पारदर्शी हुँदाहुँदै पनि हालसम्म अव्यक्त छ । दुवै एकदम नजिक छन् । जीउको न्यानो र सुगन्ध महसुस गर्दैछन् । तर बोली घाँटीमा डल्लो परेर अट्केको   छ । यस्तो किन भएको छ भने दुवै जवान छन् र उनीहरुको छातीभित्र मायाको बीउ अङ्कुरण भएको छ ।
    ‘यस्तो एकान्त जङ्गलमा मलाई किन बोला’को ?’ छाया हिम्मत बटुलेर गुफा जस्ता गहिरा नीला आँखा नचाउँछे ।
    ‘त्यो पनि भन्नुपर्छ र ?’ प्रशान्त द्वेअर्थीय भाषा बोल्छ ।
    ‘म अन्तर्यामी हु‘ र ? अर्काको मन पढ्न सक्ने ।’ ऊ नाके स्वर निकाल्छे ।
    ‘चिसो बिहानीको हावा स्वास्थ्यवर्धक हुन्छ । तिमीलाई थाहा छैन ?’ ऊ कुरो मोड्छ ।
    ‘चिसै हावा खानु थियो भने गाउँनजिकैको पीपलचौतारीमा बसे भइहाल्थ्यो नि ।’ ऊ अझै कोट्ट्याउँछे ।
    ‘भन्नै पर्ने हो त ?’ ऊ छायाको हात पहिलोपल्ट स्पर्श गर्छ ।
    ‘लोग्नेमान्छेले स्वाङ पारेको सुहाउँदैन हो ।’ ऊ ठुस्किन्दै नखरा पार्छे ।
    ‘तिमी नरिसाउ ल ! हरपल, हरघडी, सपनीमा, बिपनीमा तिम्रो आकृति मात्र आउ‘छ । दिनमा भोक–प्यास लाग्दैन । रातमा निद्रा लाग्दैन । छटपटी, बेचैनी मात्र भइरहन्छ । तिमीले मायाको भिक्षा दिइनौ भने म त पागलै हुन्छु कि क्या ?’ ऊ गह्रौन् मन बिसाउँछ ।
    ‘ए, त्यस्तो हुन्छ ? मलाई जिस्क्याउन खोज्या होला ।’ ऊ प्रशान्तको मन छाम्छे ।
    ‘छाती चिरेर देखाउनु पर्यो त, हनुमान्लेझैँ ?’ ऊ गम्भीर  बन्छ ।
‘जिस्केको पो त । जिस्किन पनि नहुने ? मलाई पनि कहाँ चैन हुन्छ र ? तिमीलाई नदेखेको, नभेटेको दिनमा जीउमा घाम     लाग्दैन । दिनभरि अलिनो तरकारी खाएझैँ भइरहन्छ । कसैले बोलाए पनि झर्को लाग्छ । अशुभ कुरा मात्रै मनमा खेल्छन् । परेला बन्द हुनासाथ म तिम्रो अँगालोमा पुगिहाल्छु र गफिन थालिहाल्छु— ‘हाम्रो भविष्यको, हाम्रो परिवारको ।’ परेला उघ्रिनेबित्तिकै पुकारा गर्छु— ‘यो रातको समाप्ति कहिल्यै नहोस् । म अघिको सपनीमा जस्तै तिम्रो हातको सिरानीको तकिया बनाएर पल्टिराखुँ । तिमी मेरा जीउका प्रत्येक अङ्ग–अङ्गहरुमा प्यारले काउकुती लगाइराख । प्रेमको बर्सात गरिराख ।’ ऊ लजाउँदै आफ्नो शिर प्रशान्तको छातीमा लुकाउँछे ।
    ‘तिमीले यति भनेपछि मेरो जिन्दगी पाकेको बेल भयो । भन त छाया, तिम्रा विशेष इच्छा, चाहनाहरु के–के छन् ?’ ऊ सन्तुष्टि  ओढ्छ ।
    ‘मेरा आकाङ्क्षा, चाहनाहरु चट्टानजस्ता कडा र पहाडजस्ता ठूला छैनन् । अति सामान्य छन् जो आम मान्छेले देख्ने गर्छन् । मेरो सपनामा सानो तर चिटिक्कको सफा घर छ । घरको अगाडि आँगन छ । आँगनको बीचमा तुलसीको मठ छ । आँगन गोबरमाटोले लिपेको  छ । केटाकेटीहरुले घरभरि, कोठाचोटामा अबोध, निर्दोष हाँसो छर्नेछन् । मैले असल गृहिणी र तिमीले परिश्रमी लोग्नेको उपमा पाउनेछौ । तिमी दिनभरि पसिना चुहाएर लखतरान पर्दै सॉझमा घरको पेटीमा बसेको बेला म तिम्रा कपडा निकालेर मेरो एक हातले तिम्रो निधारको पसिना धोतीको सप्कोले पुछ्नेछु र अर्को हातले करुवाको चिसो पानी तिम्रो अन्जुलीमा खन्याउने छु । तिमी दुई अन्जुली थापेर सिङ्गै एक करुवा पानीले तिर्खा मेटाउने छौ ।’ ऊ पसिना पुछेको र पानी खन्याएको अभिनय गर्छे ।
    ‘अरु पनि केही .....।’ प्रशान्त थप जिज्ञासा राख्छ ।
    ‘रातमा म तिम्रो जिउ मिच्न थाल्नेछु । तिमी अनायास मेरो गर्धनपट्टिको भागमा समातेर आफूतर्फ तान्ने छौ र तिर्खाएका तिम्रा ओठहरु मेरो ओठमाथि राख्ने छौ । म पग्लेको धातुजस्तो तिम्रो जीउमा लुट्पुटिन्दै जानेछु । त्यसबेलासम्म म पूर्ण रूपले समर्पित भइससक्नेछु र तिमी मायाको सागरमा बिस्तारै–बिस्तारै डुबुल्की मार्न लाग्नेछौ । म उत्तेजनाले विक्षिप्त हुँदै तिम्रो जीउभरि नङ्ग्राले कोपर्न थाल्नेछु । अन्तमा तिमीले मेरो शरीरका नसा–नसामा मीठो दर्द उत्पन्न गर्नुका साथै विस्फोट पनि गराउनेछौ । विस्फोटमा म चरम सन्तुष्टिको चीत्कार फ्याँक्नेछु ।’ ऊ चेहरा पाकेको गोलभेन्न्डा बनाउँछे ।
    ‘यहाँनेर मायाको पटाक्षेप त हुने हैन ?’ प्रशान्त शङ्का     पोख्छ ।
    ‘शारीरिक माया भनेको वैवाहिक जीवनको एउटा मात्र पाटो हो, जुनबिना जीवन अधुरो र अपूर्ण हुन्छ । तर यो माया बढीसे बढी साठी वर्षसम्मका लागि होला । त्यसपछि के जिन्दगीमा पूर्ण विराम लाग्ने त ? कदापि होइन । जिन्दगीको उत्तरार्धमा लोग्ने स्वास्नीको माया अझ बलियो र प्रगाढ भएर जान्छ । भावनात्मक सम्बन्ध बढेर जान्छ । लोग्नेस्वास्नी वास्तवममै एक अर्काका अभिन्न अङ्ग    बन्छन् । त्यो पनि प्रेम नै हो । तर चोखो, निःस्वार्थ प्रेम । शारीरिक आशक्तिबिनाको प्रेम ।
    हो, त्यो बूढो उमेरमा म तिम्रो अर्धाङ्गिनी, सहयात्री हुन  चाहान्छु । तिमीलाई आवश्यकताअनुसार तातो–चिसोले सेवा गर्न चाहान्छु । मेरो अनुरोध छ— तिमी मेरो ससानो कुरा ख्याल राख । लोग्नेस्वास्नीबीचमा अथाह मायाप्रीती भयो भने मन सानो कुरामा पनि दुख्छ, फाट्छ, चिरिन्छ भन्छन् । कसैले संरक्षण दियो भने अझ बढी संरक्षण खोज्छ भन्छन् । म पनि मानिसै हुँ । ममा पनि कमजोरी होलान् । अवगुण होलान् । त्यसैले गल्ती गरेको बेला तिमीले मलाई हप्काऊ । गाली गर । हामीबीचमा फाटो आउन नदेऊ । तर मायाले है । होस गर ! खुकुरीले काटेको घाउ पुरिन सक्छ तर मन फाट्यो भने त जोड्ने कुनै मलम हुँदैन ।
स्वभावैले स्वास्नीमान्छेको मन कोमल हुन्छ । नौनीजस्तो    हुन्छ । हुन पनि किन नहोस् ? नारीले बॉड्नुबाहेक लिन त जानेकै हुँदैनन् । सानो हुँदा दिदीबहिनी बनेर दाजुभाइलाई स्नेह बान्ड्छिन् । जवान भएपछि लोग्नेलाई स्वास्नी भएर माया छचल्काउँछिन् । आमा भएपछि सन्तानलाई संरक्षक बनेर ममता खन्याउँछिन् । उमेर ढल्केपछि फेरि लोग्नेलाई बैशाखी भएर सहारा दिन्छिन् । यस्तो मन फाट्यो भने कस्तो होला ? भन त ।’ छाया विनीत स्वरमा अनुनय गर्छे ।
    ‘तिमीले त मलाई अहिले नै बूढो बनाइसक्यौ । त्यस्तो पाप नगर है ।’ प्रशान्त छायाको निधारमा हल्का चुम्बन गर्छ ।
    ‘अँ, हाम्रो सम्बन्धमा चिसोपन अथवा अविश्वास भन्ने चीजले कहिलै बास नगरोस् । वैवाहिक जीवनमा अविश्वास यस्तो क्यान्सर हो जुन रोगका कीटाणुहरुले चितामा मात्रै बिदा लिन्छन् । त्यो विकराल, उकुसमुकुस स्थितिको कल्पना गर त— सन्गै बसेका छौन्, संवाद छैन । सन्गै सुतेका छौन्, बोलचालसम्म छैन । एउटालाई अर्कोको बोली मन पर्दैन । हिन्डाइ मन पदैन । एउटै ओछ्यानमा सुतेर दीर्घायुको कामना गर्नुको सट्टा मृत्युको कामना गर्नु के उचित     होला ? मृत्युको कामना पनि सामान्य हो र ! बम विस्फोटमा परेर अथवा आतङ्ककारीको पन्जामा परी लास क्षतविक्षत भएको । छ्या..... सोचेर पनि जीउमा एक हात लामा कान्डा उम्रिन्छन् ।
मान्छे भनेको शङ्कालु प्राणी हो । त्यसमा पनि लोग्नेमान्छेले स्वास्नीमान्छेलाई निजी सम्पत्ति ठान्छन् । निजी सम्पत्ति भनेपछि आफूले मात्र भोग चलन गर्ने । तर स्वास्नीमान्छे पनि हाड मासुका जीव हुन् । उनीहरुलाई पनि रमाइलो गर्नुपर्छ । मनोरञ्जन       गर्नुपर्छ । साथीभाइ, आफन्तसन्ग हन्सिठट्टा, दिल्लगी गर्नु पाप हो र ? यस्तो मौकामा केही गरी शङ्काका कॉडाहरु उम्रिहालेछन् भने पनि आपसी संवाद र छलफलबाट कान्डा निकाल्न सकिदैन र ? किन नसक्नु ? जत्ति पनि सकिन्छ । तिमीले एउटा कुरा सोध्ने । मैले भन्किन्दै जवाफ दिने । तिमी मुख फुलाएर बस्ने । म गर्धन तानेर बस्ने । मैले बोलाउँदा तिमी चलाएको अरिङ्गालको गोलो हुने । म फलामको तातो बिन्ड हुने । भए न क्या सत्यानाश ! बिनासित्तिमा अमूल्य सम्बन्ध चौपट । तिमीले एउटा कुरा जान— लोग्नेस्वास्नी जब राति दुई ध्रुवतिर फर्किन्छन् र रातभरिमा कुनै सुलह हुदैन, तब जान त्यो पारिवारिक जीवनको अन्त हो ।’ छाया कक्षा समाप्तिपछिको थकित मास्टर देखिन्छे ।
    ‘हैन, तिमीले यति धेरै अनुभव कसरी बटुल्यौ हन् ?’ प्रशान्त छायाको नाकको टुप्पो बटार्छ ।
    ‘अब मेरो अन्तिम अनुरोध छ । जिन्दगी गुलाफको फूलको डसना होइन, जुन कुरा हामी दुवैलाई थाहा छ । हामी जे सोच्छौन्, त्यो नहुन सक्छ । जिन्दगी समथर बाटोमा हिन्डेको बेला त ठीक   छ । तर उकालो ओह्रालो लागेको बेलामा धेरै कुरा बिचार       पुर्याउनुपर्ने हुन्छ । बाटामा हिन्ड्दा सन्तुलन बिग्रिन सक्छ । लड्न सकिन्छ । अपाङ्ग हुन सकिन्छ । त्यो बेलामा हामी दुवै निराश, हतास हुनु हुँदैन । सम्झिनुपर्छ— यो त जिन्दगीको तीतो यथार्थ     हो । हामीले पचाउनैपर्छ । तिमीले अप्ठ्यारा समयहरुमा एक्लो महसुस गर्नेछैनौ । तिमीसन्ग मेरो आधा शरीर साथमा हुनेछ । जस्तोसुकै विकट अवस्थामा पनि तिमी पलायन हुने वा जिन्दगीसन्ग भाग्ने सोच बनाउने छैनौ किनभने भाग्ने काम कायरहरुले मात्र गर्छन् ।’ छायाको चेहरामा पसिनाका थोपाहरु चम्किन्छन् ।
    ‘मेरी चन्द्रमा ! मेरी गुलाफ !! तिमीले पढाएको पाठ म गायत्री मन्त्रसरि जप्नेछु ।’ प्रशान्त खित्का छाड्दै छायाको कानको लोती टोक्छ र उनलाई अन्गालोमा कस्छ ।
    ‘छ्या.....। कस्तो नकच्चरो । बिहा अगाडि ......। नाइ त्यस्तो गर्न हुँदैन के ! लाज लाग्छ के !’ छाया मुक्तकण्ठले खित्का छोड्छे ।
     ‘ए, लाटी ! कस्तो सपना देख्या ? बाहिर कोठामा हिजो भर्खर सोह्र साइतको लागि आएका बहिनीज्वाइन् सुतेका छन् । सुने पनि के भन्लान् ? मर्न नसकेकी ।’ छायाले आधारातमा खित्का छोडेको सुनेर आमा दबेको स्वरमा गालीका मकै भुट्छिन् र छायातर्फ धारेहात लगाउँछिन् ।
    ‘ए सॉच्चि ! अपाङ्गहरुलाई त सपना देख्ने अधिकार पनि त छैन । सपना त्यो पनि लोग्ने, केटाकेटी, घर, परिवारको । सपाङ्गहरुको पो हो यो सपना देख्ने नैसर्गिक अधिकार । म त जन्मजात लाटी । त्यसमा पनि अपाङ्ग । भगवान्ले श्रापनै दिनु थियो भने दिमाग पनि शून्य बनाइदिएको भए हुन्थ्यो नि । कस्तो बिडम्बना ! खुट्टा चल्दैनन्, दौड्न मन लाग्छ । कसैले आफूतर्फ हेर्र्दैनन्, मनमा त्यसै पनि काउकुती लाग्छ । यो मनले मीठो खाने भन्छ । राम्रो लाउने भन्छ । आँखा सुन्दर वस्तु हेर्न लालायीत     हुन्छन् । मजस्ता अपाङ्गका शरीरमा जवानीका चिह्नहरु नआए हुन्थ्यो नि ! मनले खोजेको मान्छे देख्दा मन उत्तेजित नभए हुन्थ्यो नि ! तर प्रकृतिको लीला । यो सब नचाहन्दानचाहन्दै पनि भएरै छाड्छन् । मेरी आफ्नै जन्म दिने आमाले त मेरा भावना बुझ्दिनन् भने अरूले खै के बुझ्लान् ?’ छायालाई सपना देखेकोमा ग्लानि र हिनताबोध हुन्छ । उनको आँखाको कुनाबाट गाला हुँदै तकियामा लगातार आँसुको भेल बगिरहेको हुन्छ ।

–स–मा–प्त–

साभार : श्रद्धासुमन (कथासङ्ग्रह)



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल