कथा

सुनौलो सपना र अँध्यारो गल्ली

Golden Dreams and the Narrow Lane
हरिहर खनाल

बिहान सबेरै उठ्नुपर्छ । पाँच बजेको हाराहारीमा । त्यति नगरे काममा समयमा पुगिन्न । समय घर्केपछि काममा जान राधेश्यामका लागि कत्ति पनि राम्रो लाग्दैन । ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो । ठगेर खानु र चोर्नुमा के अन्तर छ ? ऊ त्यो अन्तर हेर्ने प्रयत्न गर्छ । एक हिसाबले ती दुवै उस्तै कुरा हुन्, नामका मात्र फरक । ऊ त्यस्तै ठान्छ । त्यसलाई त्यस्ता कुराहरू पटक्कै मन पर्दैनन् । त्यसैले अलिकति चाँडै उठ्नु परे पनि उसलाई त्यो कुराले कुनै असर गर्दैन । आधा घन्टामा त ऊ तन्दुरुस्त भइसक्छ । उसले लुगा लगाई सक्तानसक्तै शकुन्तला उसको टेबुलमा एक कप तातो चिया राखिदिन्छे । हुन त ऊ एकाबिहानै शकुन्तलालाई उठाएर दु:ख दिन चाहँदैन । त्यो काम भरसक आफैँ गरूँ भन्ठान्छ, तर आफैँले चिया बनाएर नदिएसम्म शकुन्तलाको मन मान्दैन । हिउँद–बर्खा एकनासले काममा लागिरहनु कम पट्यारलाग्दो कुरा होइन । तर राधेश्यामलाई त्यसको कामप्रति एक प्रकारको लगाव छ । त्यो बिनाहिचकिचाहट, सधैँ एकनासले तल्लीनतापूर्वक आफ्नो काममा लागिरहन्छ ।

 

बिहान गाउँको पब्लिक क्याम्पसमा तीनवटा क्लास लिइसकेपछि ऊ पहिलो ड्युटीबाट मुक्त हुन्छ । नौ बजे घर पुगेपछि ऊ एकछिन त्यत्तिकै आराम गर्छ । राजु स्कुल जान थालेको यसपालि तीन वर्ष पुग्यो । त्यो स्कुल ड्रेसमा ठाँटिएर घरबाट निस्किएको दृष्य राधेश्याम र शकुन्तला दुवै जनालाई खुबै राम्रो लाग्छ । कहिलेकाहीँ त्यसकी बहिनी सिर्जना पनि दाजुसँगै स्कुल जान्छु भनेर उसलाई पछ्याउन खोज्छे । भर्खरै तीन वर्षमा हिँड्दै गरेकी सिर्जनाका लागि आमाको काख छाडेर स्कुलको बाटो लाग्न केही समय अझै कुर्नुपर्छ । तर राजुलाई भने त्यो झन्झट अब छैन । नर्सरी र केजी सजिलै पास गरेको उसलाई स्ट्यान्डर्ड वन झनै राम्रो लागेको छ । अझ त्योभन्दा पनि राम्रा उसका साथीभाइ छन् र त्यहाँको वातावरण छ । त्यसैले हुन सक्छ, स्कुल जाने भनेपछि ऊ सधैँ निकै रमाउँछ ।

 

राधेश्याम दिउँसोको समयमा एउटा सरकारी क्याम्पसमा पढाउँछ । साँझ छिमेकी पब्लिक क्याम्पसमा स्नातकोत्तर तहमा कक्षा लिनका लागि भर्खरै नियुक्त भएको छ । क्याम्पसको कामबाट निर्लिप्त भएर घरतिर फर्कंदा घाम क्षितिजपारि लुकिसकेको हुन्छ । राधेश्याम आफ्नो काम, कर्तव्य र उठबसप्रति बढी नै सजग छ । झन्डै चार किलोमिटर परको क्याम्पसमा पढाएर फार्कंदासमेत ऊ साँझ आठ बजेभन्दा ढिलो भएको अझसम्म रेकर्ड छैन ।

 

शकुन्तला घर समाल्छे । राधेश्याम बाहिरतिर काम गरेर परिवारका लागि चारो जुटाउँछ । उसले उच्च शिक्षा हासिल गरेको छ । शकुन्तलाचाहिँ इन्टरमिडियट पास गरेपछि अघि बढ्न सकिन । हलक्क बढेकी छोरी, राधेश्यामजस्तो एउटा होनहार युवक फेला पारेपछि उसका बाबुआमाले नाइनास्ती गर्न सकेनन् । बिहेको लगत्तै उसले घर समालेर बस्नुपर्यो त्यसपछि त्यसको अध्ययनमा व्यवधान आइपर्यो ।

 

राधेश्याम उसका समकालीन अरू युवकभन्दा भिन्दै प्रकारको एउटा होनहार युवक थियो । त्यसैले हुन सक्छ, शकुन्तला उसको जीवनमा आएको एउटा अलग्गै प्रकारको मोडमा उभिएर पनि ऊ खुसी थिई, सुखी थिई ।

 

त्यो त उति बेलाको कुरा हो । त्यसपछिका दिनमा छोराछोरी र घरगृहस्थीले एउटा नयाँ बान्की लिइसकेका थिए । त्यसको सञ्चालन र संवर्धनको रथ हाँक्ने सारथि स्वयम् शकुन्तला थिई । राधेश्याम त केवल आफ्नो कर्तव्यपथमा लागेको अर्जुन मात्र थियो ।

 

तिनीहरूको एउटा सानो घर थियो, थोरै खेतीपाती थियो र सानो परिवार थियो । राधेश्याम इलममा लागेको थियो । एउटा प्रतिष्ठित पेसामा संलग्न थियो । गाउँघर र वरपर सबै मानिसहरू उसलाई आदरपूर्वक सम्बोधन गर्थे । मानिसहरूले कल्पना गरेकै जस्तो तिनीहरूको एउटा सुन्दर संसार, एउटा सुखी परिवार थियो । तिनीहरूको जीवन अरूहरूका लागि र तिनीहरूकै लागि पनि सुखी र सम्पन्न थियो । सम्पन्न यस अर्थमा थियो कि तिनीहरूका सीमित आकाङ्क्षा थिए । तिनीहरूसित जे थियो त्यसैमा सन्तुष्ट थिए ।

 

राधेश्याम आज सदाको भन्दा केही ढिलो घर फक्र्यो । सधैँको समयमा नआएपछि शकुन्तलाले ऊ आउने बाटोतिर आँखा बिछ्याई । धेरैबेरसम्म कुनै साइँसवद आएन । सधैँ सात बज्दानबज्दै आँगनमा मोटरसाइकलको घाइँघुइँ सुनिन्थ्यो, त्यो आज भएन । सडक दुर्घटनाका अवाञ्छित खबर दिनदिनै सुन्ने गरेका शकुन्तलाका कानले कतै आज पनि त्यस्तै क्यै सुन्न पर्ने त होइन भन्ठानेर त्यसको मन भित्रभित्रै असाध्यै तड्पियो । तर राधेश्याम हेलचेक्य्राइँ गरेर सवारीसाधन हाक्ने मानिस होइन भन्ने कुरा उसलाई राम्ररी थाहा थियो । त्यसैले उसको मन अलिकति आश्वस्त भयो ।

 

रातको नौ बज्न थालेको थियो । राजु र सिर्जना दुवै निदाइसकेका थिए, शकुन्तला भने टिभी हेरेर समय धकेल्ने चेष्टा गर्दै थिई । त्यसका आँखा टिभीको स्क्रिनमा भए पनि मन भने राधेश्यामको वरपरै चक्कर लगाइरहेको थियो ।

 

बाहिर सडकमा देखिएको उज्यालाले त्यसका आँखा एकाएक त्यतै तान्यो । घरनजिकै आइपुगेपछि मोटरसाइकल उसको आँगनतिर सोझियो । बल्ल त्यसको मुटुको धड्कन अलि शान्त भयो ।

 

“कहाँ जानुभएको थियो यति अबेलासम्म ?” आँगन टेक्न पाउँदानपाउँदै राधेश्यामको अनुहार ताकेर उसले सोधी ।

 

“कहिलेकाहीँ कामको सिलसिलामा ढिलो भइहाल्छ नि ।” मोटरसाइकल ग्यारेजतिर धकेल्दै राधेश्यामले उत्तर दियो ।

 

“रातबिरात ढिलो आउँदा हामीलाई अत्यास लाग्दैन कि क्या हो ? कि बिहानै खबर गरेर जानुपर्छ ढिलो हुन्छ भनेर ।” शकुन्तला आत्मीय भावमा बोल्दै थिई ।

 

“काम बन्लाजस्तो छ । आज त्यो मान्छेलाई भेटेर आएको ।” खाना खाँदाखाँदै राधेश्यामले भन्यो ।

 

“के काम ?” कुराको केही भेउ नपाएझैँ शकुन्तलाले भनी ।

 

“त्यै क्या त्यै, एच्.एस्.एम्.पी.को काम ।” राधेश्यामले अलिकति क्लु दिँदै भन्यो । “तनहुँतिरको एजेन्ट रहेछ त्यो । मान्छे पक्का छ रे । दाम लिएपछि काम पनि पक्का गर्ने ।” उसले सम्झाउने शैलीमा शकुन्तलालाई भन्यो ।

 

एच्.एस्.एम्.पी, अर्थात् हाइली स्किल्ड म्यानपावर । केही समयदेखि यस कार्यक्रमअन्तर्गत मानिसहरूको कल्पनाको स्वर्ग बेलाइत जानका लागि पढेलेखेका मानिसहरूसमेत छँदाखाँदाको राम्रो जागिरलाई तिलाञ्जली दिएर दिलोज्यानले त्यतातिर लागेका थिए । सुरुमा अनिच्छा जाहेर गरे पनि साथीभाइको उक्साहटमा लागेर राधेश्यामले त्यसको मनलाई निकै चञ्चल बनाइरहेको थियो । केही दिन पहिले कुराको प्रसङ्गमा उसले शकुन्तलालाई पनि त्यो कुराको अलिकति सङ्केत गरेको थियो । शकुन्तलाले कुरा बुझी । राधेश्यामको अनुपस्थितिमा त्यसले घरव्यवहार कसरी चल्ला भन्ने कुराको लेखाजोखा गरी । त्यस्तो कुराको कल्पना गर्दा त्यो एक पटक भित्रभित्रै निकै डराई ।

 

“पर्दैन भो त्यो अर्काको देशमा हेलिन । यहीँ ठीक छ हाम्रा लागि ।” त्यसले अलिकति आत्तिएको स्वरमा भनी ।

 

“ल हेर, तिमी पनि अहिल्यै हिँडिहाल्न लागेझैँ गर्न थाल्यौ । पहिलो कुरा त हाम्रो प्रारम्भिक प्रयास हो यो । कामै हुनका लागि त कता हो कता । दिल्ली धेरै टाढा छ । अहिल्यै किन आत्तिनुपर्यो ?” राधेश्यामले सम्झाउने प्रयत्न गर्यो ।

 

मानिसले आँटेपछि त्यसलाई पुर्याउन ऊ हरसम्भव प्रयत्न गर्छ । राधेश्यामले शकुन्तलालाई जेजे भनेर फुल्याए पनि त्यसले उसको मुराद पुर्याएरै छाड्यो । विगत तीन वर्षदेखि खाइनखाइ गरेर सञ्चित गरेको एक लाख पचास हजार रुपियाँ एजेन्टलाई बुझाएपछि उसको बाटोमा हरियो बत्ती बल्यो । काठमाडौँस्थित बेलाइती राजदूतावासको भिसा सेक्सनले उसको प्रवेशाज्ञा मिलेको खबर गर्यो । त्यो खबरले राधेश्यामलाई निकै प्रफुल्लित बनायो ।

 

प्रवेशाज्ञा मिलेपछि घर फर्केको राधेश्यामले शकुन्तलालाई धेरै कोणबाट सम्झायो । बेलाइत पुगेपछिको समयको रुमानी कल्पना गरेर उसले शकुन्तलालाई एउटा सुन्दर सपना देखायो । केही वर्षभित्रै काठमाडौँमा एउटा राम्रो घर, एउटा गाडी र राम्रो बैङ्क ब्यालेन्स । त्यसपछिको सुखी जीवन । कल्पना गर्दिन भन्दाभन्दै पनि शकुन्तलाको मनको एक कुन्तरमा त्यस कुराले आकार ग्रहण गरिहाल्यो । छोराछोरीलाई राम्रो स्कुलमा पढाउनेदेखि आफ्नो भविष्यको सुन्दर कल्पनाले उसको मनलाई निकै चञ्चल तुल्यायो ।

 

भोलिपल्ट स्थानीय रुटमा चल्ने टेम्पो घरनजिकै पुगेपछि रोकियो र त्यसबाट राधेश्याम उत्रियो ।

 

“मोटरसाइकल खै त ?” उसलाई देख्नेबित्तिकै शकुन्तलाले सोधी ।

 

“अब त्यसको के काम ?” लगभग प्रसन्न मुद्रामा त्यसले भन्यो, “दिएर आएँ आज ।”

 

“कसलाई ? किन ?” शकुन्तलाले फेरि प्रश्न दोहोर्याई

 

“बेचेँ के । के गर्ने अब त्यो, आफू जाने भएपछि ?” उसले त्यसरी नै भन्यो । शकुन्तलालाई भने केही हराएझैँ केही लुटिएझैँ लाग्यो । त्यसको मन भित्रभित्रै कुँडुलियो । त्यसको अनुहारको भावसमेत फेरियो ।

 

शकुन्तलाले बाहिरभन्दा हुन्न भने पनि त्यसको भित्री मनमा सम्भावित उज्यालो र सम्पन्न भविष्यको रेखा कोरिइसकेको थियो । त्यसले थोरतिन शङ्कालु भाव व्यक्त गरेकी भए पनि एक पटक गए जाउन् न त भन्ने नै ठानेकी थिई । त्यसैको आडमा यतिसम्म काम अगाडि बढिसकेको थियो । तर आज भने उसलाई निक्कै नरमाइलो लाग्यो । हिजो–अस्तिको तुलनामा तिनीहरू दुवै कम बोलिरहेका थिए । दुवैको अनुहारको भावभङ्गिमा पनि प्रस्टै देखिने गरी फेरिएको थियो । राधेश्याम दराज र टेबुलका घर्रातिर रहेका कागजपत्र र अरू यावत् चिजलाई सुव्यवस्थित गर्नमा तल्लीन थियो । शकुन्तला खाटको डिलमा बसेर त्यो हेर्नमा व्यस्त थिई । राधेश्याम त्यसरी तल्लीनतापूर्वक काममा लागिरहँदा यता शकुन्तला भने उसको अनुपस्थितिमा घर–व्यवहारमा आइपर्ने सम्भावित असजिला दिनहरूको कल्पनामा डुबेकी थिई । खुट्टो उचालिसकेको लोग्नेलाई रोक्न सक्ने त्यसले कुनै उपाय देखिन । त्यो प्रकट रूपमा उसको भावना पोखेर राधेश्यामको चित्त दुखाउन पनि चाहन्नथी । दोधार मनस्थितिमा रुमल्लिएकी शकुन्तला दिक्क मानेर खाटको छेउमा यत्तिकै पल्टिई ।

 

सबै कुराको बन्दोबस्त मिल्यो । राधेश्याम हिँड्ने दिन पनि आइपुग्यो । घर छोड्ने समय जतिजति नजिकिँदै थियो त्यै अनुपातमा ती जोई–पोइको मन पनि विचलित हुँदै गैरहेको थियो । तिनीहरूको मनमा पीरको जेजस्तो हुन्नरी मच्चिएको भए पनि प्रकट रूपमा भने तिनीहरूले एकअर्कासित त्यो कुरा भन्न सकिरहेका थिएनन् । राजु र सिर्जना पनि निकै नरमाइलो मानिरहेका थिए । त्यस्तो समयमा राधेश्यामले तिनीहरूलाई अलिकति मिठाई र अलिकति पैसा दिएर फुल्याउने प्रयत्न गथ्र्यो ।

 

बिदा हुने बेलामा शकुन्तलाले अलिकति आँसु बगाई । राधेश्यामले पनि त्यसको मन थाम्न सकेन । शकुन्तलाका आँखामा आँसु देखेपछि त्यसका आँखा पनि रसाए । उसले पनि अलिकति आँसु बगायो । त्यसपछि तिनीहरू दुवैले मनमनै बिदाइका हात हल्लाएर बिदा भए ।

 

रातको आठ बजे उसको जेट विमानले गौचर एयरपोर्टको धावनमार्ग छाडेर आकाशको अँध्यारोलाई चिर्दै निरन्तर अगाडि बढ्न थाल्यो । राधेश्यामको विमान रातको निष्पट्ट अँध्यारोलाई चिर्दै आकाशमार्गमा हेलिएको थियो । उसलाई लाग्यो, ऊ पनि उसको विमानझैँ अँध्यारो भविष्यको अथाह गर्ततिर लगातार बगिरहेको छ । गैरहेको छ ।

 

भोलिपल्ट बिहान स्थानीय समयअनुसार सात बजे ऊ ग्याटविक विमानस्थलमा उत्रियो । बिहानको कलिलो घाममा बेलाइतको आकाश छ्याङ्ग खुलेको थियो । इमिग्रेसन पार गरेर आगमनद्वारबाट बाहिर निस्कनेबित्तिकै ऊ एउटा निकै ठूलो कभर्डहलमा पुग्यो । त्यसको दाहिनेतिरको लङमा मानिसहरू आफन्तहरूलाई रिसिभ गर्नका लागि आतुर भएर तिनीहरूका आँखा आगन्तुकहरूतिर बिछ्याइरहेका थिए । त्यो भीडमा उसले त्यसका आँखा फिँजाएर कुनै परिचित मान्छे देखिन्छ कि भनेर खोज्ने प्रयत्न गर्यो, तर बिरानो त्यो मुलुकमा एक जना पनि परिचित मानिस देखिएन।

 

उसले सुरेन्द्रलाई सम्झियो । मानिसहरूको त्यो भीडमा कतैतिर कुनै ठाउँमा उसको प्रतीक्षामा, उसलाई स्वागत गर्नका लागि ऊ पर्खेर बसिरहेको भए कति जाति हुँदो हो ? उसको मनको एक कुनामा यस्तो सोचाइ आयो ।

 

“मैले उसलाई खबर गरेको भए ऊ पक्कै पनि मलाई लिन यहाँसम्म आउँदो हो ।” यस्तो सोचेर ऊ भित्रभित्रै निकै कुँडुलियो ।

 

“मेरै सुद्धि उस्तै ।” बिरानो ठाउँमा आउने भएपछि मैले आफैँ खबर गर्नुपर्ने । त्यसले आफूलाई आफैँले गाली गर्यो ।

 

मानिसहरू आइरहेछन्, गइरहेछन् । उसले अब के गर्ने होला । कता जाने होला । केही भेउ पाउन सकेन । पकेट डायरीको एक छेउमा उसले सुरेन्द्रको फोन टिपेको थियो । आफन्तलाई लिन त्यहाँ पुगेकी एउटी नेपाली चेलीलाई देखेर त्यसको मनमा अलिकति आशाको त्यान्द्रो पलायो । ऊ त्यो केटी नजिकै गयो र आफ्नो परिचय दिँदै सुरेन्द्रलाई भेट्न कुनै किसिमले सहयोग गर्न सक्छिन् कि भनेर सोध्यो । संक्षेपमा भलाकुसारी गरेपछि त्यो महिलाले त्यसको सेल फोनमा सुरेन्द्रको नम्बर थिची ।

 

“यस् प्लिज, सुरेन्द्र स्पिकिङ ।” फोनको पल्लो छेउबाट आवाज आयो ।

 

“हेलो सुरेन्द्र, म राधेश्याम बोलेको ।” राधेश्यामले सहज लवजमा भन्यो ।

 

“को राधेश्याम ।” अलिकति तटस्थ भावमा उसले प्रश्न गर्यो ।

 

“म क्या म । तिम्रो साथी राधेश्याम । नेपालबाट भर्खरै आइपुगेँ । ऐले ग्याटविक यएरपोर्टमा छु ।”

 

सुरेन्द्रले बुझिहाल्यो । केही दिनपहिले फोनमा कुरा हुँदा बेलाइत जाने प्रयत्न गर्दै गरेको कुरा राधेश्यामले उसलाई बताएको थियो । एकैचोटि बेलाइत पुगेर उसले फोन गरेको सुनेर ऊ तीनछक पर्यो ।

 

“ए, राम्रो । खुसी लाग्यो । बेलाइतमा तिमीलाई स्वागत छ ।” सुरेन्द्रले औपचारिकता निभायो ।

 

“सुरेन । मलाई लिन आऊ न । म अलमलमा परेँ । तिमी कहाँ छौ ?” राधेश्यामले अनुरोधको शैलीमा भन्यो । त्यसको कुरा सुनेर सुरेन्द्र छक्क पर्यो । तै पनि उत्तर त दिनै पथ्र्यो । उसले फोन कानतिर लगेर टाँस्यो ।

 

“हेर राधेश्याम, यो सम्भव छैन । तिमीले आफू आउने दिन यकिन गरेर मलाई पहिले नै किन जानकारी नगराएको ? अहिले यति बेला आएर तिमी एक्कासि लिन आउनू भन्दै छौ । यो सम्भव छैन । म सेन्ट्रल लन्डनको पश्चिमी भाग ओइम्लीमा बस्छु । यहाँबाट तिमी भएको ठाउँमा पुग्न मात्रै कम्तीमा पनि साढे दुई घन्टाको ड्राइभिङ छ । त्यसैले यो सम्भव छै । एनी वे, त्यहाँबाट तिमी ट्रेन समातेर आऊ, म भिक्टोरिया स्टेसनमा तिमीलाई पर्खुंला । त्यहाँ पुगेपछि मेरो सेल फोनमा मलाई सम्पर्क गर्नू ।” सुरेन्द्रले विस्तारमा भन्यो ।

 

राधेश्याम बिलखबन्दमा पर्यो । त्योभन्दा बाहेक अरू उपाय पनि थिएन । ऊ जसोतसो ग्याटविक टर्मिनलबाट बाहिर निस्कियो र ट्रेनको प्रतीक्षामा प्लेटफर्म कुर्न थाल्यो ।

 

पहिलोपल्ट लन्डन टेकेको राधेश्यामका लागि हरेक कुरो नयाँ र नौलो थियो । कल्पना गरेभन्दा अलि फरक जीवनपद्धति र व्यवहारको तौरतरिका । त्यो त्यसै निसास्सिएर उकसमुकुसमा परेको थियो । प्लेटफर्ममा स्वचालित मसिनबाट अरूले टिकट लिएको देखेपछि उसले पनि थोरैतिन सोधखोज गर्यो र ट्रेनको टिकट लियो । प्रवेशद्वारमा रहेको पोलमा टिकट छुवाएपछि ढोका खुल्यो र ऊ भित्र छिर्यो ।

 

हरियो घाँसका मैदानहरू, हरियो रङ्गका बुट्यानहरू र हरिया फाकटहरू, ठाउँठाउँमा देखिने झुरुप्प परेका बस्तीहरू, क्षितिजसम्म छ्याङ्ग खुलेको नीलो आकाशको किनारालाई क्रमश: पछिल्तिर धकेल्दै पश्चिमतिर दौडेको रेल झन्डै दुई घन्टापछि भिक्टोरिया स्टेसनको १६ नम्बर गेटमा पुगेर रोकियो । अरू यात्रुहरूका लहरमा मिसिएर राधेश्याम पनि त्यो आनन्ददायक यात्राको अन्त्य गर्दै तल झर्यो ।

 

नयाँ ठाउँको नयाँ परिवेश, अलिकति असजिलो महसुस गर्दै प्लेटफर्मका कुनाकाप्चा छामिरहेका राधेश्यामका आँखा विपरीत दिशातिरबाट ऊतिर आउँदै गरेको सुरेन्द्रमाथि परे । त्यसको अनुहार खुसीले धप्प बलेर उज्यालो भयो । एकअर्काका नजर जुधेपछि तिनीहरू झनै प्रफुल्ल भए र एकअर्कालाई अङ्कमाल गरे ।

 

प्लेटफर्मबाट बाहिरिएपछि सुरेन्द्र पार्किङ एरियामा राखेको उसको कारतिर बढ्यो । राधेश्याम उसको पदचाप पछ्याउँदै गयो । सुरेन्द्रले नजिकै पुगेपछि रिमोटको स्विच थिचेर कारको ढोका खोल्यो र ड्राइभिङ सिटमा बस्यो । राधेश्यामलाई पछाडिको सिटमा बस्नका लागि ढोका खोलिदियो । वातानुकूलित कार निकै आरामदायी थियो ।

 

नयाँ ठाउँको नयाँ परिस्थिति र यावत् चिजहरूसित एकाकार हुन राधेश्याम प्रयत्नरत थियो । सुरेन्द्रले सेन्ट्रल लन्डनको मुटु चिर्दै खरानी रङ्गको त्यसको मर्सिडिज बेन्जकार पश्चिम दिशातिर हुइँक्यायो ।

 

इङ्लिस च्यानलको पश्चिमपट्टि देखिने झलक्क हेर्दा बुटजुत्ता आकारको बेलाइतको नक्साभित्रको वास्तविक धरातल देखेर राधेश्याम दङ्ग परिरहेको थियो । सफा चौडा सडकहरू, आवासक्षेत्रका एकैनासे घरहरू, प्राय: सुनसान लाग्ने बाटाहरू र केही किलोमिटरको अन्तरमा भेटिने ठूलठूला हरिया पार्कहरू । लन्डन पुगेको केही दिनसम्म सुरेन्द्रको पाहुना भएर बसेको राध्येश्यामले त्यहाँको वातावरण, आफ्नो देशको वातावरण भन्दा निकै फरक भएको पायो । धुवाँ छैन, धुलो छैन मानिसहरूको भीडभाड छैन । हल्लीखल्ली छैन । वातावरण नै बिलकुलै भिन्दै ।

 

सुरेन्द्र बेलुकी रात निकै घर्किएपछि घर फर्कन्थ्यो र लगत्तै कम्प्युटरमा बस्थ्यो । त्यो भोक लागेपछि फ्रिज खोल्थ्यो र खाने कुरा झिकेर माइक्रोवेभमा तताउँथ्यो, इच्छाअनुसारको ड्रिङ्कस् लिन्थ्यो र फेरि कम्प्युटरमा जोतिन्थ्यो । त्यो ओछ्यानमा पल्टिँदा मध्यरात कटिसक्थ्यो । त्यति बेलासम्म राधेश्याम भने मस्त निद्रामा सपना देखिरहेको हुन्थ्यो ।

 

चार–पाँच दिन बितेपछि राधेश्यामको थकाइ पनि पूर्ण रूपमा मेटियो । सुरुका केही दिनसम्म त्यसको समयमा केके नमिलिरहेको जस्तो लागिरह्यो त्यसलाई । घाम आकाशमा माथि नै हुँदा त्यसलाई निद्राले छोप्थ्यो । बिहान भने ऊ सबेरै बिउँझन्थ्यो । सुरेन्द्र भने त्यति बेला निद्रामा मस्त घुरिरहेको हुन्थ्यो । सुरेन्द्र बिहान अबेला, लगभग दश बजेतिर उठ्थ्यो, बाथरुम पसेर फ्रेस भैसकेपछि किचेनतिर छिथ्र्यो र ब्रेकफास्ट लिएपछि फेरि उही पुरानो रुटिन पछ्याउँदै हतारहतार बाहिर निस्कन्थ्यो र कार घुइँक्याएर कामतिर दौडन्थ्यो ।

 

आइतबार भने त्यसको ड्युटी अफ हुन्थ्यो । त्यसैले ऊ त्यो दिन पूर्ण आराम गथ्र्यो । कहिलेकाहीँ बिदा मनाउन ऊ सी साइड जान्थ्यो । त्यो आइतबार उसले राध्येश्यामलाई सी साइड लिएर जाने योजना बनायो ।

 

सेन्ट्रल लन्डनको बाहिरी किनाराबाट निस्केर सफा चौडा भीमकाय सडकमाथि बगिरहेको नदीजस्तै लाग्ने कारहरूको हूलमा मिसिएर तिनीहरूको कार पनि सडकमा बग्न थाल्यो । तिनीहरूले हरिया फाकटहरू, सहरजस्तै देखिने ससाना गाउँहरू, वनजङ्गलहरू र बाटामा पर्ने कैयौँ कुराहरूलाई पछि धकेल्दै गए र झन्डै तीन घन्टापछि तिनीहरूको कार ब्राइटन पुगेर रोकियो ।

 

नीलो समुद्र अगाध जलराशिले भरिएर पृथ्वीको सतहमा ढलपल ढलपल गरिरहेको थियो । राधेश्यामले उसको जीवनमा साँच्चैको समुद्र देखेको त्यो नै पहिलो घटना थियो । त्यो त्यसको सुन्दरता देखेर मन्त्रमुग्ध भयो । समुद्रको किनारमा अर्धनग्न नरनारीहरू बेफिक्री सूर्यस्नान गरिरहेका थिए । हेर्न पनि असहज लाग्ने किसिमको थियो तिनीहरूको त्यहाँको पहिरन र अवस्थिति । राधेश्यामलाई त्यो सबै देखेर किञ्चित् असजिलो महसुस भयो । तर कसैले कसैको कुनै वास्ता गरिरहेको थिएन । उसले पनि बिस्तारै त्यसलाई सहज किसिमले लिने प्रयत्न गर्यो ।

 

“सुरेन, तिमीले मलाई यहाँ जसरी आश्रय दिएर राखेका छौ, त्यसका लागि तिमीलाई धन्यवाद छ । तर हेर भाइ, खाँदाखाँदैको जागिर र आफ्नो परिवार छाडेर यो सात समुद्रपारि आउने मेरो उद्देश्य तिमीलाई थाहा नभएको पनि होइन । म यसरी तिम्रो पाहुना भएर बेकारमा कति दिन बसूँ ?” राधेश्यामले धेरै दिनपछि फुर्सतमा भेटेको सुरेन्द्रसित लामै गुनासो गर्यो ।

 

“हेर राधेश्याम, तिमीले सुरुमा मैले भनेको पत्याएनौ । मानेनौ र मैले सुक्खै नपाएर तिमीलाई यहाँ आएको खन्डमा सकेको मद्दत गरौँला भनेको हुँ । तर हेर, बेलाइतमा रूखका बोटमा पाउन्ड फलेको सपना देख्ने तिमीहरूको सोचाइ शतप्रतिशत गलत छ । हुँदाखाँदाको जागिर छाडेर नहिँड भनेकै थिएँ मैले । तिमीले मेरो कुरा सुनेनौ । कतै मैले तिमीलाई रोक्न खोजेँ कि भन्ठान्यौ । हेर्नकै लागि पनि तिमी यहाँ आउन खोज्यौ । अब तिमी यहाँ आइसकेका छौ र यहाँ के रहेछ त्यो देखि पनि सकेका छौ । तिमी प्रोफेसर साहेब । तर तिम्रो त्यो प्रोफेसरी त्यहीँको लागि हो । यहाँ त्यसको कुनै अर्थ छैन । तिमीजस्ता मान्छेहरू यहाँ धेरै छन् । ती सबैले गर्ने भनेको म्यानुवल वर्क नै हो । त्यो पनि त्यति सरल छैन । अब तिमी त्यै पनि गर्न तत्पर हुन्छौ भने म तिम्रो लागि सानोतिनो काम खोज्ने प्रयत्न गरौंला ।” सुरेन्द्रले राधेश्यामको अनुहारमा आँखा अड्याएर लामै भाषण गर्यो । राधेश्यामले कोलको बीचमा परेर निचोरिँदै गरेको कागतीको गेडाजस्तै महसुस गर्न थाल्यो आफूलाई ।

 

फुर्सतको समयमा जतिसुकै कुरा गरे पनि कामको समयमा भने सुरेन्द्र बिलकुलै फेरिएको रूपमा देखा पर्छ । ठीक समयमा उठ्ने, ठीक समयमा घरको काम भ्याएर ठीक समयमा जागिरमा जाने । त्यसको नियमित जीवन देखेर राधेश्यामसमेत आजकल यो ठाउँमा समयको कति धेरै महत्व रहेछ भन्ने कुरा अनुमान लगाउन थालेको छ । उसले केही भन्न पाउँदानपाउँदै सुरेन्द्र तयार भइसक्छ र हतारहतार गाडी हुइँक्याएर घरबाट बाहिरिन्छ । त्यसपछि सुरु हुन्छ राधेश्यामको त्यही एकाङ्गी जीवन । यन्त्रवत् घुमिरहेको घडीको लङ्गुरजस्तो समय । त्यो सबै हेरेर, भोगेर राधेश्याम त्यसै त्यसै वाक्कदिक्क हुन थालेको छ ।

 

“भोक लागेको बेलामा तिमी आफैँ तयार गरेर खान सक्छौ ।” उसको पाहुनाका रूपमा त्यहाँ बस्न पुगेको उसको साथी राधेश्यामलाई खाना खाने समयमा स्टोर र फ्रिजका खाने कुराहरू देखाउँदै सुरेन्द्रले भनेको थियो ।

 

जीवन यन्त्रवत् हुन पुगेको छ । काम क्यै छैन । साथीको घरमा पाहुना भएर बसेको छ । उठ्नु, खानु र सुत्नु । उसको काम नै त्यत्ति मात्र भएको छ । उसको साथी समय भएपछि काममा गइहाल्छ । घरमा बसिन्जेल पनि त्यो कि कम्प्युटरमा व्यस्त हुन्छ कि टिभीमा । बोलाएको बेलामा बोल्छ, बस । तर झर्को मान्दैन । राधेश्याम भने अधिकाङ्श समय एक्लै हुन्छ ।

 

उसलाई सजिलो पनि छ, एक किसिमले हेर्दा । झन्डै बीस वर्ष पहिले बेलाइत पसेको उसको साथी सुरेन्द्र यति बेला बेलाइती नागरिक भइसकेको छ । उसका जहान–छोराछोरी सबै नै बेलाइती नागरिक । उसको राम्रो व्यवस्था छ । घर छ । स्वास्नी, छोराछोरी छन् । छोराछोरीको कलेजमा यति बेला बिदा छ र यति बेला तिनीहरू आमासँगै तिनीहरूको पुख्र्यौली थलो घुम्नका लागि नेपालको भ्रमणमा पुगेका छन् । सुरेन्द्र भने उसको घर–ब्यवहार चलाएर बसेको छ । उसको व्यवसाय भनेको त्यही रेस्टुरेन्ट हो । बेलाइत पुगेको केही समयपछि उसले पनि घट्ट पिस्न सुरु गरेको थियो । एउटा इन्डियनको होटेलमा काम गर्दागर्दै केही वर्षपछि त्यो काममा त्यसले दक्षता हासिल गर्यो र त्यो अवधिमा केही दाम पनि जम्मा गर्यो । त्यसैको बलमा उसले वर्क पर्मिट पायो । त्यही नै उसका लागि स्थायी रूपमा बेलाइत बस्ने एउटा माध्यम बन्न पुग्यो । केही समयसम्म अरूको कामदारका रूपमा बसेको उसलाई त्यहाँबाट सिकेको सीपले त्यै किसिमको काम गर्नका लागि निकै सघाउ पुग्यो । अहिले ऊ त्यही प्रकारको आफ्नै काममा व्यस्त छ ।

 

बिहान १० बजे घरबाट निस्केपछि सुरेन्द्र बेलुकी १२ बजेपछि मात्र घर पुग्छ । ऊ घर पुग्दा राधेश्याम मस्त निद्रामा परिसकेको हुन्छ । भोलिपल्ट बिहान धरतीमा भुकभुके उज्यालो खस्न थाल्दानथाल्दै राधेश्याम बिउँझन्छ । यसो हेर्छ, देख्छ, वातावरण बिलकुलै निर्जन छ । झ्यालबाट बाहिर हेर्छ । देख्छ, सडक सुनसान छ । वातावरण पनि बिलकुलै सुनसान छ । सडककिनारमा दुवैतिर निजी गाडीहरू लहरै पार्किङमा राखिएका छन् । नजिकै एउटा ठूलो अपार्टमेन्ट भवन छ । त्यो पनि सुनसान छ । अल्लि परतिर त्यस्तै प्रकारको अर्को अपार्टमेन्ट छ । होला, त्यसको प्रत्येक फ्ल्याटमा मानिसहरूले आफ्नो आवाद विस्तार गरेका होलान् । तर बाहिरबाट हेर्दा त्यो पनि सुनसान छ ।

 

राधेश्याम बस्ताबस्ता वाक्क, दिक्क हुन्छ । सुरेन्द्रको बैठक कोठामा ठूलो फिलिप्स टि.भी. छ । त्यो नीरस समयलाई धकेल्न ऊ रिमोट थिच्छ । बि.बि.सी.का मात्रै थुप्रै च्यानल छन् । न्युज च्यालन, इन्टरटेनमेन्ट च्यानल, पार्लियामेन्ट च्यानल आदि आदि । अरू पनि थुप्रै च्यानल छन् । तर ती कुनै पनि च्यानलले उसको मनलाई धेरैबेरसम्म स्थिर राख्न सक्तैनन् ।

 

आज दिउँसो उसले एउटा होम कलिङकार्ड किनेर ल्यायो र घरमा फोन गर्यो । राजु र सिर्जना सुतिसकेका रहेछन् । शकुन्तला पनि सुत्ने तर्खर गर्न लागेकी । सुरुमा सामान्य भलाकुसारी भयो । कुरा गर्दै जाँदा दुवैका गला अवरुद्ध भए । शकुन्तला त सुँक्कसुँक्क समेत गर्न पुगी ।

 

“आउनोस्, घर फर्कनोस् । कामै नपाएपछि कति दिन बेइलमी भएर बस्नु ? क्यै बिग्रिएको छैन अझै । हाम्रो घर छ । जग्गा–जमिन छ । तपाईंको जागिर पनि यति चाँडै त गइसकेको छैन होला नि । सुख–दुख सँगै बाचौँला, सँगै मरौँला ।” शकुन्तलाले राधेश्यामलाई सम्झाई । हो जस्तो पनि लाग्यो, तर उसले तुरुन्तै फर्किइहाल्ने कुरामा स्वीकृति जनाएन । त्यसको मन निकै आन्दोलित भइरहेको थियो । त्यति राम्रो तीन–तीन ठाउँमा पढाउने काम छाडेर, भएभरको साँगा बिगारेर ऊ एउटा सुनौलो सपना बोकेर अनिश्चयको एउटा अँध्यारो गोरेटोमा टेकेर घरबाट हिँडेको थियो । गाउँघरको इतिवृत्त उसलाई राम्ररी थाहा थियो । त्यहाँका मानिसहरूको प्रवृत्तिसित पनि ऊ पूरै परिचित थियो । अरूका कुरा काट्न पाउँदा तिनीहरू खुबै प्रसन्न हुन्थे ।

 

“ठूलो भाग खान गएको थियो, यी देख्यौ, दुई दिन पनि बस्न सकेन र फेरि फर्केर आइपुग्यो ।” ऊ फर्केर घर गएको खन्डमा मानिसहरूले उसप्रति गर्ने टिप्पणी यस्तै हुनेछन् भन्ने उसले अनुमान गर्यो ।

 

सुरेन्द्र उसको एकदमै मिल्ने पुरानो साथी भएको हुनाले आजसम्म उसलाई बस्न खानको कुनै समस्या परेको थिएन । उसले प्रेमपूर्वक भनेको थियो, “तिम्रो काम नमिलेसम्म तिमी निसङ्कोच यहाँ बस । काम पाएपछि एउटा सुर गरौँला ।” राधेश्यामलाई ढाढस दिँदै सुरेन्द्रले यसो भन्यो । तर त्यसरी कति दिन निर्वाह चल्नु ? केही दिनपछि सुरेन्द्रको परिवार पनि नेपालबाट फर्कनेछ । त्यसपछि उसको बसाइ पक्कै पनि अहिलेकै जस्तो सरल र सुगम हुने छैन भन्ने कुराको कल्पनाले त्यो भित्रभित्रै झन् अत्तालियो । के खानु, बस्नु र सुत्नु नै जिन्दगी हो ? उसले यसरी सोच्यो । उसले के सोचेर घरबाट हिँडेको थियो, अहिले के हुँदै छ, त्यो देखेर राधेश्याम अत्यन्त पीडित भयो ।

 

बस्ताबस्ता थकित भएको राधेश्याम खुट्टा तन्काउन भनेर घरबाट बाहिर निस्कियो । पाँच मिनेटजति हिँडेपछि ऊ एउटा पार्कको प्रवेशद्वार नजिक पुग्यो । “न्युटन इकोलोजिकल गार्डेन ।” प्रवेशद्वारसँगै एउटा हरियो बोर्ड टाँगिएको थियो । प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै उसले देख्यो, देब्रेतिर एउटा ठूलो झाडी छ र त्यहाँ काला जङ्गली ऐँसेलु लटरम्म फलेका छन् । अल्लि परतिर हरिया स्याउ हाँगा लच्काएर तलतिर झुन्डिइरहेका छन् । सोझै अगाडि बढेपछि अल्लि परतिर एउटा ससानु चिल्ड्रेन पार्क छ र त्यो भन्दा पर निकै ठूलो जमिनको हिस्सामा किसिमकिसिमका फूलका बिरुवाहरू र नर्सरीका ड्याङ छन् । बीचमा प्लास्टिकको दुईपाखे छानु भएको एउटा लामो ग्रिनहाउस छ । त्यति ठूलो संरचनाभित्र पनि मानिसको भने कुनै सङ्केत छैन । केही चराहरू चिरविर गर्दै रूखको एक हाँगादेखि अर्कोमा भुर्र उड्दै गएको देखिन्छ । बस्, त्यो भन्दा केही छैन । बिलकुलै निर्जन । त्यो निर्जन ठाउँमा बस्न त्यसलाई झन् अत्यास लागेर आयो । त्यो त्यहाँ पुगेको केही समयपछि एउटा कुइरे युवक त्यै बाटो भएर लमकलमक गर्दै अगाडि बढ्यो । त्यो त्यसरी जाँदा नितान्त आफ्नै धुनमा थियो र त्यसले यताउता हेर्दासम्म हेरेन । त्यो नीरस ठाउँका मानिसहरूको जीवनशैली, शिष्टता र संस्कृति देखेर त्यसलाई झनै दिक्क लाग्यो । उसको गाउँघरमा भएको भए त्यसरी बाटोमा भेट भएको अपरिचित मान्छेले पनि कुनै न कुनै बहानामा उसित कुरा मिसाउँथ्यो र बाटो लाग्थ्यो । यहाँ त्यो आत्मीयता खै ? बेलाइतको जीवनपद्धति देखेर त्यसैत्यसै दिक्क लागेर आयो उसलाई ।

 

सुरेन्द्र साबिकसरह त्यै समयमा घर फक्र्यो । ऊ घरभित्र छिर्दा सधैँ ओछ्यानमा मस्त निदाइरहेको हुन्थ्यो राधेश्याम, तर आज भने ऊ कम्प्युटरको स्क्रिनमा जब् अपच्र्युनिटीका विज्ञापनहरू हेरिरहेको थियो । सुरेन्द्रले उसको अनुहार पढ्यो र मनस्थिति पनि बुझ्ने प्रयत्न गर्यो । एकैछिनको निरीक्षणपछि ऊ आज धेरै मुडअफ छ भन्ने कुरा उसले सजिलै अनुमान लगायो ।

 

बाथरुमबाट फ्रेस भएर किचेनमा पसेको सुरेन्द्रले फ्राइड प्राउन, बदाम र चिकेनका परिकार अनि स्याम्पेन लिएर बैठकमा भित्रियो ।

 

“सुन साथी, आज अलिकति इन्ज्वाय गरौँ । भोलि मैले मेरो ड्युटी अफ मिलाएको छु । हामी भोलि कतै घुमौँला । आज तिम्रो विषयमा अलिकति सोचेर पनि आएको छु ।” अन्तर्मुखी स्वभावको सुरेन्द्र आज अलिकति बढी नै खुलेर बोलेको थियो । राधेश्यामलाई ती कुनै पनि कुराहरूप्रति चाख लागिरहेको थिएन । एक हिसाबले हेर्दा सबै कुराप्रति वितृष्णाभाव जागिरहेको थियो यसमा । तर सुरेन्द्रको आग्रह टार्न नसकेपछि ऊ बस्यो र त्यसपछि ती दुवै जना खान र पिउनमा व्यस्त रहे ।

 

“सुरेन, सात समुद्रपारिको यो बिरानो मुलुकमा तिमीले मलाई आश्रय दियौ । त्यसको लागि तिमीलाई धन्यवाद छ । तर हेर साथी, म यसरी शरणार्थी भएर कति दिन बसूँ ? मलाई पनि कुनै न कुनै काम त खोज्नुपर्यो नि ।” अल्कोहलको अलिकति मात्रा पेटमा परेपछि अलि बढी निर्धक्क भएर बढो भावुक शैलीमा राधेश्यामले भन्यो । त्यसका कुरा ध्यानपूर्वक सुनिसकेपछि प्रत्युत्तरमा सुरेन्द्रले भन्यो :

 

“हेर राधेश्याम, तिमी एक जना प्रोफेसर मान्छे । जस्तोसुकै काम गर्ने कुरा पनि भएन । तिम्रो योग्यताअनुसारको काम पाउन सम्भव पनि छैन । जस्तोसुकै काम गर्ने हो भने म तिमीलाई भोलि नै काममा लगाउन सक्छु ।” सुरेन्द्रले बिनाहिचकिचाहट भन्यो ।

 

सुरेन्द्रका कुराले उसका मनमा अलिकति आशाको टुसो पलायो, तर त्यो जे पनि काम गर्नका लागि मानसिक रूपबाट तयार भैसकेको थिएन । तथापि उसले त्योसित सोध्यो, “जस्तो पनि कामको अर्थ के हो ?”

 

“मैले एउटा इन्डियन रेस्टुरामा तिम्रा लागि अलिकति कुरा गरेको छु । गर्ने नै हो भने भोलि म कन्फर्म गर्न सक्छु ।” सुरेन्द्रले त्यसको मन छाम्न खोज्यो । राधेश्याम निकै दोधारमा पर्यो । त्यसको एउटा मनले भन्यो, मर्नुभन्दा बौलाउनु निको भन्छन्, हुन्छ भनौँ कि त ? तर त्यसको अर्को मनले त्यो कुरा पटक्कै स्विकारेन । बाघले घाँस खाएको कुरा उसलाई थाहा थिएन । हुनु र नहुनुको द्वन्द्वमा फसेको त्यसको मनले त्यो काममा हात नहाल्ने निधो गर्यो ।

 

“त्यसबाहेक अरू क्यै हुन सक्तैन ?” राधेश्यामले सुरेन्द्रको अनुहारमा आँखा अड्याएर सोध्यो ।

 

“सेक्युरिटीमा जाने ? तर त्यसका लागि पनि पहिले तिमीले अल्पकालीन तालिम लिनुपर्छ । अनि काममा लाग्नुपूर्व तिमीले पिन अर्थात् पर्सनल आइडेन्टिफिकेसन नम्बर लिइसक्नुपर्छ । सुरुमा बेलाइती समाजमा एड्जस्ट हुनका लागि अलि झन्झटै छ ।” सुरेन्द्र यस पटक अलि बढी उदार भएर कुरा गरिरहेको थियो ।

 

भोलिपल्ट सुरेन्द्रले राधेश्यामलाई सेन्ट्रल लन्डन घुमाउन लग्यो । तिनीहरू भूमिगत रेलमार्ग भएर हाइडपार्क स्टेसन पुगे । रेलबाट बाहिर निस्केपछि मुसाका दुलाजस्ता सुरुङमार्ग हुँदै र दायाँ बायाँ घुम्दै लामो विद्युतीय भरेङबाट माथि उक्लेपछि तिनीहरू भूमिगत स्टेसनबाट बाहिर खुला आकाशमा निस्के । तिनीहरूले देखे, दाहिनेतिर भर्खर बढारकुँडार गरेर राखेजस्तो एउटा विशाल चउर फैलिएको थियो र त्यसको बीचोबीचमा यो छेउदेखि त्यो छेउसम्म पुग्ने चिल्ला फराकिला सडकहरू थिए । छुट्टी मनाउन त्यहाँ पुगेका मानिसहरूका झुन्ड यताउता छरिएर हिँडिरहेका थिए । सुरेन्द्र र राधेश्याम तिनीहरूझैँ नै मानिसहरूका हूलमा मिसिएर पार्कभित्र प्रवेश गरे ।

 

झन्डै पन्ध्र मिनेटको पैदल बाटो हिँडेपछि तिनीहरू पार्कको उत्तरपूर्वी कुनामा पुगे । त्यहाँ, गिटी ओछ्याइएको एउटा खस्रो पिचतिर औँल्याउँदै सुरेन्द्रले राधेश्यामलाई स्पिकर्स कर्नर देखायो । त्यसपछि तिनीहरू त्यहाँबाट निस्केर बकिङ्घम प्यालेसतिर सोझिए । तिनीहरू जता जता गए पनि राधेश्यामको मनमा भने द्वन्द्वको एउटा ठूलै भुमरी चलिरहेको थियो । तिनीहरूले बेलाइतकी रानीको दरबार अगाडिपट्टिको स्क्वायरमा अवस्थित फाउन्टेनको किनारामा बसेर केही स्न्याप फोटो खिचे । त्यसपछि तिनीहरू सेन्ट जेम्स पार्कतिर लागे ।

 

त्यो पार्कको बीचमा रहेको लाम्चो आकारको सानु तलाउ र त्यसको किनारको चउरमा थरीथरीका हाँसहरू खेलिरहेका थिए । मानिसहरू प्रकृतिका वरदान ती चराहरूको उन्मुक्त खेल मन्त्रमुग्ध भएर हेरिरहेका थिए । केही पर्यटक भने त्यो मनमोहक दृष्यलाई आफ्ना क्यामरामा लुकाउन तँछाडमछाड गरिरहेका थिए । ती दुवै पार्कको बीचतिर पुगेपछि एकछिन अडिएर पछाडितिर फर्केर हेरे । खैरो रङ्गको बकिङ्घम प्यालेस निकै सुन्दर देखियो । त्यसपछि तिनीहरूले पूर्वतिर फर्केर हेरे । लन्डन आई थेम्स नदीको पूर्वी किनारामा उभिएर बिस्तारै घुमिरहेको थियो ।

 

सेन्ट जेम्स पार्कबाट बाहिरिएर ट्राफलगर स्क्वायर पुगेपछि एकछिनसम्म घुमघाम गरेर तिनीहरू टेन डाउनिङ स्ट्रिटको बाटो हँुदै लन्डन ब्रिजतिर लागे । केही माथि पूर्वतिर टावर ब्रिज, केही तल पश्चिमतिर पार्लियामेन्ट स्क्वायर । थेम्स नदी त्यसका दुवै किनारामा भीमकाय भवनहरू बोकेर मन्द गतिमा बगिरहेको थियो । त्यै समयमा तिनीहरूले क्विन एलिजाबेथ सेइलिङ म्युजियम नाम दिइएको सेतो रङ्गको एउटा पुरानो तर निक्कै ठूलो जहाज थेम्स नदीको पश्चिमी किनाराको सतहमा निश्चल तैरिरहेको देखे । थेम्स नदीमा खुला छत भएका अरू ससाना पानी जहाजहरू पनि पर्यटक बोकेर ओहोरदोहोर गरिरहेका थिए ।

 

रहँदा–बस्ता डेढ महिना समय त्यसै चिप्लिएर गएछ । त्यो अवधिमा राधेश्यामको मन छटपटी र बेचैनीमा तड्पिएर निकै बोझिलो बनेको थियो । उसले अब राम्ररी बुझिसकेको थियो, लन्डन मानिसहरूका लागि एउटा स्वप्न सन्सार थियो, तर उसलाई भने त्यो केही पनि लागेन । त्यसका मनमा त्यसको घरसन्सार, त्यसका स्वजनहरू, त्यसका आफ्ना साथीभाइ र आफ्नो गाउँठाउँ, त्यहाँको आत्मीय भाव र यावत् चिज असाध्यै प्रिय लागे । ती सबै कुराहरूले घरीघरी आएर त्यसको मन चिमोट्न थाले । सुरेन्द्रको परिवार पनि नेपालमा छुट्टी मनाइसकेर अब चाँडै नै लन्डन फर्कने कुरा उसले सुरेन्द्रबाटै सुनिसकेको थियो । उसलाई लाग्यो, उसका भविष्यका दिनहरू अवश्य पनि सरल हुने छैनन् । धेरै सोच विचार गरिसकेपछि उसले घर फर्कने निर्णय गर्यो र फिर्ती टिकट कन्फर्म गर्नका लागि टिकट बुकिङ एजेन्ट अफिसमा फोन गर्यो ।

 

एक दिन सुरेन्द्र अगिपछिको भन्दा केही छिटो घर फक्र्यो । ऊ घर पुगेपछि देख्यो, राधेश्यामले उसको लगेज कसिसकेको थियो । त्यसको त्यो चाल देखेर ऊ दङ्ग पर्यो ।

 

“के हुँदै छ राधेश्याम ?” उसले छक्क परेको मुद्रामा उसलाई प्रश्न गर्यो ।

 

“भयो सुरेन । मलाई पुग्यो । म आज जाँदै छु । सक्छौ भने मलाई एयरपोर्टसम्म पुर्याइदेऊ ।” त्यसो भनिरहँदा त्यसको स्वर गम्भीर थियो, तर दृढ पनि थियो । उसले बिस्तारै भावुक मुद्रामा थप्यो:—

 

“म मेरा प्रियजनसँगै दु:खसुख गर्दै मेरै माटोमा मर्न चाहन्छु । भो, भयो, मलाई यहाँको यो वैभव चाहिएन । मलाई त यो चकाचौँध भन्दा मेरै गाउँघरको सरलता राम्रो लाग्यो । म यहाँको यो बिरानो वातावरणलाई, यो वैभवलाई यहीँ छाडेर जाँदै छु ।” त्यसो भनिरहँदा राधेश्याम निकै शान्त र दृढ भइरहेको जस्तो आभास भयो सुरेन्द्रलाई ।

 


हिथ्रो विमानस्थलको डिपार्चर गेटबाट भित्र छिर्ने बेलामा ती दुवै साथीहरूले एकअर्कालाई अङ्कमाल गरे । सुरेन्द्रका आँखाबाट अनायासै आँसु झरेछ, त्यो देखेपछि राधेश्यामले पनि उसको मन थाम्न सकेन । अघि भर्खरसम्म जून छरिएको त्यसको अनुहारलाई पनि कालो बादलले ढपक्कै ढाक्यो । त्यसका आँखा रसाए । त्यसले बलैसान्ती त्यसलाई दबाउने प्रयत्न गर्यो र हात हल्लाउँदै इमिग्रेसनको बाटो लाग्यो ।
रातको लगभग दश बजेको हुँदो हो, कतार एयरवेजको बोइङ जेट विमान झन्डै चार सय यात्रुहरू बोकेर बेलाइतको आकाशलाई चिर्दै लगातार दक्षिण–पूर्वतिर हानियो ।

 

धापासी, काठमाडौँ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल