कथा

हुलाकी

Hulaki
महेश पौड्याल

लोग्ने मलेसियाबाट फर्केको एक सातापछि नै ऊ स्वर्गे भई । ऊ “ऊ” मात्रै थिई । नामले उसलाई कसैले चिन्दैनथ्यो । हदै भए उसलाई रामअवतारकी “दुल्हन” सम्म भन्थे मान्छेहरू । 

 

तराईका हुन् उनीहरू । माथि, सुलबुङ्मा एउटा किराना पलस खोलेका थिए । त्यसताका, आजकोजस्तै पहाडमै भए पनि धेरैजसो किराना पसल तराईबासीले नै सञ्चालन गर्थे । लोन्ने बजारबाट सामान खेप्थ्यो । उसकी दुलही पसल चलाउँथी । बिहे भएको छ महिना नबित्दै लोग्ने मलेसिया भासिएको थियो, व्यापारको सारा बोझ आफ्नी बूढी आमा र दुलहीका काँधमा छोडेर । मलेसियाबाट आएको नियुक्ति पत्र रामअवतारसम्म ल्याएर पढिदिएको “हुलाकी” ले नै थियो ।

 

दुई वर्षपछि रामअवतार घर फर्कियो । ऊ फर्केको एक महिना नपुग्दै उसकी दुलही मरी । 

 

गाइँगुइँ चल्योः यो हत्या हो । छिमेकको एक जनाले दाबी गर्थ्यो, उसले अघिल्लो रात, मध्यराततिर कोही रोएको चर्को आवाज सुनेको थियो कतै । तर बिहान प्रहरीले निर्णय सुनायोः आत्महत्या । 

 

त्यो अन्तिम निर्णय थियो । बिजुलीबत्ती र सडक नपुगेको सुलबुङ्मा त्यसताका चट्ट इस्त्री लगाएका खाकीका लुगमा, काँधमा बन्दुक बोकेर हिँड्ने प्रहरीलाई अचम्मको विषय मानिन्थ्यो । त्यस्ता प्रहरीको निर्णय आएपछि सबैले “ठीक हो” भने, र लाशको दाहसंस्कार गरियो । हुलाकीलाई टेबुलमुनिको अन्तर्कथा थाह थियो, तर उसले चूँ बोलेन । रामअवतारले मलेसियाबाट पठाएका धेरै चिठीलाई उसैले  त पढिदिएको थियो आखिर । यस्तो एउटा चिठीमा लेखिएको थियोः “म फर्कंदासम्म सबै कुराको व्यवस्था मिलाइसक्नू । आमालाई पनि भनेको छु । व्यवस्था भएनभएको उहाँले पनि हेर्नुहुन्छ ।”

 

दुलही धेरै रोएकी थिई हुलाकीसँग अनि भनेकी थिई, उसका बाआमाले दाइजो दिन सक्दैनन् । हुन त हुलाकी उसको कोही पनि थिएन, तर उसले सम्झाउँदै भनेको थियो, “धैर्य गर बहिनी । भगवान दाइना हुन्छन् ।”

 

हुलाकीलाई यस्ता कैयन कथा थाह थिए । उसलाई पुराना र नयाँ प्रेमप्रसङ्गको बारेमा थाह थियो । सम्बन्ध, अवाञ्छित गर्भाधान, सम्भावित छोडपत्र, जग्गा विवाद, ज्यान मार्ने धम्की, सेनामा भर्ती खुलेको खबर, वैदेशिक रोजगारको खबर, सरकारमा पदपूर्तिको सूचना, सरुवा, टाढाका कलेजमा परीक्षाफल प्रकाशित भएको खबर....आदि । तर हुलाकीले आवश्यक नपर्दासम्म कुनै कुरा कसैसँग बाँड्दैनथ्यो । 

 

हुलाकी — हो, यही थियो उसको नाउँ, त्यस भेगमा । ऊ हुलाक विभागमा काम गर्थ्यो । उसलाई जागरिले नै यस्तो नाम दिएको थियो । त्यस जागिरमा अनेक जोखिम थिए । ती दिन, नेपालमा राजतन्त्र थियो । राजा बीरेन्द्र प्रजातान्त्रिक छविका राजा मानिन्थे, र उनको शासनमा आम जनताका छोराछोरी पनि सहजै सरकारी सेवामा प्रवेश पाउँछन् भनिन्थ्यो । हुलाकीले चिनेको कोही थिएन मन्त्रपरिषद वा दरबारमा । त्यसताका हुलाकी हुनका लागि आवश्यक ठानिएको प्रारम्भिक शिक्षा राम्रै थियो उसको, तर उसले सहजै जागिर पाएको भने थिएन । पटक पटक बसेको थियो चाँजमा, र पटक पटक उतीर्ण भएको पनि थियो उच्च अङ्क ल्याएर । तर अन्तरवार्तामा सधैँ फालिन्थ्यो । एकपल्ट जब उसको नाउँ एक नम्बरमै निस्कियो र उसलाई फाल्ने कुनै तर्क भएन प्रशासनसँग, उसलाई नियुक्त गरियो र सुलबुङको दुर्गम भेगमा पठाइयो । 

 

त्यसताका सुलबुङ कुनै पनि हुलाकीका लागि कठिनाइको पर्याय थियो । घरहरू त थुप्रै थिए, तर पहाडमा छरिएका । एक र अर्को घरबीचको दूरी कम्तीमा आधा घण्टाजतिको पौदल बाटो । सदर हुलाक घर तल इलाम बजारमा थियो, र त्यहाँ पुग्न कमसेकम तीन घण्टा ओरालो, अनि फेरि चार घण्टा उकालो जानुपर्थ्यो ।

 

नियुक्ति पाएपछि हुलाकी श्रीमती र तीन छोराछोरी लिएर हिँड्यो सुलबुङतिर । उसको परिवारलाई त्यहाँसम्म ल्याउन गाउँ विकास समितिका अध्यक्षले तल इलाम बजारसम्म बलिया घोडा पठाइदिएका थिए । माथि सुलबुङमा भने उनीहरूलाई सुलबुङ माविको प्राङ्गणमा भव्य स्वागत गरियो । हुलाकी र उसको परिवारलाई शाही स्वागत दिइयो, र हुलाकीलाई विधिवत् रुपमा एउटा तीनकोठे घरमा भित्र्याउने। एउटा कोठो हुलाक घर, र अरु दुईवटा उसको परिवारको वासस्थान । घरको दक्षिणपट्टिको भिरालो बगान खोस्रेर तरकारी र फलफूल लाउने अनुमति पनि उसले पायो । 

 

मैदानतिर हुर्केको परिवारका लागि सुलबुङ एक कठिन भूगोल थियो । हुलाकीलाई लाग्यो, विश्वको सबैभन्दा कठिन मौसम छ सुलबुङ्मा । माथि, टाकुरामा माइपोखरी चिसोमा जमेर ढुङ्गो बनेको थियो, र नदीहरू तिर्कातिर्कीमा सीमित भएका थिए । माइपोखरीको किनारमा ध्यानस्त देउताहरू पनि उदास थिए, हिजोआज भक्तहरू नैवेद्य लिएर आउन छोडेका थिए । पर, कञ्चनजङ्घा चाँदीको सिर उठाएर पार्वतीय सम्भयताको गौरवगाथा सुनाइरहेका देखिन्थ्यो । तर यस्ता चाँदीको सिर भएका पर्वत हेर्ने समय हुलाकीसँग कहाँ थियो र! त्यहाँको भूगोलसँग सम्झौता गर्नै कठिन भइरहेको थियो उसलाई ।

 

हुन त सुलबुङमा हुलाक सेवा आएको धेरै भएको थियो । कोही कोही त राणा कालमै आएको पनि भन्थे । तर राणा कालमा मान्छेहरूलाई धेरै आवतजावत गर्ने स्वतन्त्रता थिएन । त्यसैले चिठी लेख्ने आवश्यकता पनि खासै थिएन । फेरि, आम जनतालाई शिक्षा वर्जित थियो र धेरैजसोले अक्षर चिनेका हुँदैनथे । त्यसैले चिठी लेखिँदैनथे, र हुलाकीको पनि खासै अर्थ थिएन । तर २००७ सालमा राणा शासनको पतनपश्चात, र ३६ सालको आन्दोलनपछि मानिसहरूको हिँड्डुल देशभित्र र बाहिर ह्वात्तै बढ्न थाल्यो तर स्वभावैले चिठीको उपादेयता बढेर गयो । 

 

हुलाकीको नियुक्ति यस्तो बेलामा गरिएको थियो । काठमाडौँबाट प्रकाशित एउटा पत्रिकाले त त्यो “चिठीहरूको युग” भएको घोषणासमेत गर्थ्यो र मासिनहरूले विश्वास पनि गरे । पढेलेखेका युवाहरूको समूह आइरहेको थियो समाजमा । अनौपचारिक शिक्षाका अभियन्ताहरू गाउँगाउँसम्म पुगेर धेरैलाई कखरा सिकाइरहेका थिए । नेपालले सम्बन्धहरू बाहिरका मुलुकतिर पनि विस्तारित गरिरहको थियो । बाहिर काम गर्न ईच्छुक धेरै युवाहरू खाडी देश, भारत र मलेसियातिर हान्निने क्रम बढ्न थालेको थियो । उनीहरूका लागि चिठी पठाउनु र प्राप्त गर्नु अनिवार्य हुन थालेको थियो ।

 

हरेक दिन, एकाबिहानै हुलाकी इलाम बजारका लागि निक्सिन्थ्यो । दूधको भारी बोकेर ओरालो हिँडेका खच्चडको काफिला, र तिनका घाँटीमा टिङ्टिङ् बज्ने घण्टी र फौजी पारामा बज्ने पदाचापहरूको सङ्गीत उसको बाटोका सहयात्री बन्ने गर्दथे । तिनीहरूमै मिसाउँथ्यो उसले आफ्ना एकरुप पाइलाहरू, जो आफ्नै गतिमा हुलाक खुल्ने १० बजेको समयभन्दा एक निमेष ढिलो नहुने गणनामा अगाडि बढिरहेका हुन्थे । उसलाई लाग्थ्यो, चिठीहरू सही समयमा हात पार्नसक्दा बढी प्रभावकारी हुन्छन् । अपेक्षित समयभन्दा पनि अगाडि पु-याउन सक्दा तिनीहरूको प्रभाव अझ दोब्बर हुन्छ । जति ढिला गयो, उती तिनीहरूको महत्व घट्दै जान्छ, र अझ विलम्भ भए त्यो कौतुहलता मेरेर जान्छ भन्ने उसको विश्वास थियो । 

 

११ बज्दा ऊ उकालो लागेको देखिन्थ्यो । उसका काँधमा खाकीको उही पुरानो र गौरवशाली हुलाकी झोला हुन्थ्यो । फेरि पनि, खच्चड र तिनका मालिक उसको बाटोका सहयात्री बन्ने गर्थे । उसलाई घरिघरि लाग्यो, ऊ र ती खच्चड एकै हुन्ः दुबै अरुहरूकै भारी बोक्छन् । 

 

ऊ हिँड्दा, हुलाकको खाकीको झोला यताउति हल्लिन्थ्यो । सरकारले दिएको त्यो झोला आफूसँग रहँदा हुलाकी आफू सरकारको मान्छे भएको गौरवबोधले पुलकित हुने गर्दथ्यो । यस तुलनात्मक विशिष्यले उसलाई रमाइलो अनुभूति गराउने गरेको थियो, यद्यपि यसै कारण उसमा घमण्ड भने कहिल्यै पलाएन । ऊ सधैँ हुलाकीकै पोशाकमा हिँड्थ्यो, र उसको टोपी सधैँ उसको शिरमा कञ्चन्जङ्गाजस्तै लाग्थ्यो । 

 

झोलाभरि कौतुहलता बोकेर हुलाकी मध्यदिनमा सुलबुङको स्कुल पुग्थ्यो । खाना खानतिर पनि नलागी ऊ सीधै हुलाक घर रहेको कोठामा पस्थ्यो, र गाउँलेले कहिल्यै सुइँको नपाएका कार्यालयीय कामकाज सिध्याउँथ्यो । रेजिष्ट्री पत्र र मनी ओर्डरका सूचनाहरू बहीखातामा सूचिक्रीत ग-थ्यो, सायद । 

 

आफ्नो सरकारी झोला भिरेपछि हुलाकीलाई सुलुबुङ्मा छुट्टै शक्तिको अनुभूति हुन्थ्यो । त्यो बेला गाउँमा टेलिभिजन छिरेकै थिएन । मानिसहरू “फिलिस” रेडियो कानमा टाँसेर उनीहरूले बुझ्ने भाषा बोल्ने आफ्नो प्रिय स्टेशन रोडियो नेपालबाट समाचार सुन्थे । अक्सर राजा र ठूलाबडाका बोली पनि सन्थे । उनीहरू सबैका घरमा राजारानीका फोटा टाँसिएका त हुन्थे, तर उनीहरूलाई थाह थियो, राजारानी पनि सुलबुङ्का उनीहरूजस्तै बढ्थे, र उनीहरूका अनुहार उमेरसँगै फेरिन्थे । उनीहरूलाई, त्यसैले पनि थाह थिएन, त्यो बेला राजा बीरेन्द्र र रानी ऐश्वर्याको अनुहार ठ्याक्कै कस्तो थियो । तर यसको उत्तर हुलाकीको झोलभित्र थियो । ऊसँग भर्खरै छापिएका हुलाक टिकट थिए, जसमा मौसुफहरूका नवीनतम अनुहारहरू अङ्कित थिए । गाउँबासीहरू त्यसै पनि ऊबाट टिकट किन्थे र राजारानीको अनुहार हेर्थे । झोलाभत्रि राजा र रानीका फोटा भएपछि त हुलाकीको शक्ति नै अर्कै हुन्थ्यो । 

 

त्यो युग नै त्यस्तै । मान्छेहरू ठुल्ठूला समाचारमा खासै ध्यान दिँदैनथे । उनीहरूलाई देशमा हुँदैगरेको जनमत सङ्ग्रह, सोभियत संघको विघटन, वा कोसोभोको युद्धमा चासो थिएन । उनीहरूलाई चासो थियो लोग्ने–स्वास्नीको कुटाकुट, सलहले बालीमा पु-याएको नोक्सान, कसैका करेसाबारीछेउ देखिएको मृग, अथवा कुनै किसानकी छोरीले मुखियाका छोरासँग परालको कुन्यूँका पछाडि एकपछि बस्दैमा बस्न गएको गर्भ आदि समाचारमा । 

 

यस्ता समाचारहरूको सबैभन्दा विश्वस्त श्रोत फेरि पनि उही हुलाकी हुने गर्थ्यो । भनिन्थ्यो, उसले तल सदर हुलाक कार्यलयमा कतारमा कुनै मोटर दुर्घटनामा परेर मेरेको युवाको बारेमा एउटा टिलिग्राम पढेको थयो । हुलाकमा देशभरिका समाचार सुन्न पाउँथ्यो ऊ । उसले कञ्चन्पुरबाट बम्बई पुगेर उनीहरूले थाह नपाएको बिमार “एड्स” लागेर मरेको कुनै जवानको बारेमा अथवा डोटीका कुनै दलितको छोरो चौध वर्षको उमेरमा बङ्गलोर पसेर पाँच वर्षपछि घर फर्कँदा बिमल कम्पनीका लुगा लगाएर घर फर्केको, र फर्कँदा दिदीको बिहेका लागि रुपियाँ र बाबुका लागि फिलिप्स रेडियो अनि आमाका लागि उनले भकिअमिलो र भट्मास बेच्न महेन्द्रनगर जाँदा किनेको, “छम्मक छम्मक डोटी राम्रो रैछ भिनाजू” भन्ने डेउडा गाउने क्यासेट बजाउनका लागि रेकर्ड प्लेयर किनेर ल्याएको खबर पनि सुनेको थियो । 

 

बाहिर बस्नेहरू घरमा स्वास्नीलाई चिठी पठाउँथे । छुट्टिएर बस्नुपरेको पीडाले उद्वेलित ती पुरुषहरूका चिठीमा धेरै भावूक अभिव्यक्तिहरू हुन्थे, जसले कहिलेकाहीँ कामुकताको किनारै किनार अश्लीलतालाई पनि स्पर्श गरेका हुन्थे । तर यी आइमाईहरू प्रायजसो निरक्षर नै हुनेहुँदा यिनका चिठी हुलाकीले नै पढिदिनु पर्थ्यो । धेरैपटक पढ्दापढ्दै ऊ कतै रोकिन्थो, पढिसकेको शब्दलाई दोहो-याएर अलि सँच्याउँथ्यो । कतिपय मान्छेहरू कमजोर हृदयका हुन्छन् भन्ने उसलाई थाह थियो र आफ्नो सन्तानले राइस मिलको फितामा बेरिएर दाइने हात गुमाएको खबर सुनेर बेहोश हुनसक्छन् भन्ने राम्रै बुझेको थियो । उसले धेरैका चिठी पढ्नु पर्थ्यो, र त्यसैले धेरै कुरा बुझेको थियो । 

 

उसलाई कतिका प्रेमप्रसङ्गबारे थाह थियो, लिनुदिनु बारे जानकारी थियो ।  जन्म र मृत्यु, युद्ध र शान्ति, सीमा र अतिक्रमण, हराएकार भेटिएका, अर्थात प्राय “सबै” कुराको जानकारी हुने गर्दथ्यो उसलाई । धेरैका गोपनीयता थाह थियो, र गोपनीयता थाह हुने हर कोहीजस्तै ऊ “शक्तिशाली” थियो, यद्यपि उसले यस शक्तिको दुरुपयोग भने कहिल्यै गरेन । 

 

सुलबुङको हरेक घर उसको आफ्नै घरजस्तो थियो । ऊ सबै परिवारको विश्वासपात्र जो थियो । ठूलासाना सबै खाले जमघटमा ऊ अनिवार्य निम्तारुमा पर्दथ्यो । ऊ बीचमा बसेर कथा हाल्थो, अचम्मको देशका अचम्मका कथा, युद्ध वा शान्तिको समयका कथा, नजिक र टाढाका देशका कथा । वयष्कहरू चाख मानेर कथा सुन्थे । महिलाहरू उसले यत्तिका कुरा कसरी जानेको होला भनेर चकित पर्दथे । बालबालिका भने अलि पर बसेर डर र चाख मानेर उसलाई हेर्थे, मानौँ ऊ बेलायतको कुनै चिडियाघरबाट भर्खरै सुलबुङमा ल्याइएको ढेडूको बच्चो हो । 

 

ऊ काम गरिरहेको मान्छे थियो, र उनका अनुहारमा सधैँ आत्मगौरव र सन्तुष्टीको आभा देखिन्थ्यो । उसको अनुभावमा तक्मा बनेर आएका ती कथा ऊ सबैलाई सुनाउँथ्यो । 

 

तर, समयसँगै सुलबुङको अनुहार फेरियो । इलामसँग यस गाउँलाई जोड्ने सडकमा कालोपत्रे लाग्यो । त्यहाँको माध्यमिक विद्यालय अब उच्च माध्यमिक विद्यालय बन्यो । खच्चड विस्थापित भएर गाडीले ओसार्न थाले दूध, र गाउँलाई माकुराको जालोले जसरी जेले बिजुलीका तारहरूले । बिस्तारै टेलिभिजन भित्रियो गाउँमा, राजारानीका अनुहार अब टिकटबाट टिभीका पर्दामा सरे । बिस्तारै टिलिफोन पनि आयो, र तल रातो ढ्वाँङ्ग्रोमा आइपुग्ने चिठीको सङ्ख्या दिनदिनै घट्न थाल्यो । हुँदाहुँदा चिठीको सङ्ख्या शून्यमा झर्यो । टेलिफोन आएको एक दशक बित्दा-नबित्दै सबैका हात हातमा मोबाइल आइपुग्यो, र कतार वा मलेसिया भन्नु यहाँ — ईः, यहीँनेर — औँलाकै टुप्पोमा आइपुगे । जब इन्टरनेट आयो, हुलाकी डाइनोसर हुनपुग्यो । 

 

हुलाकी सुलबुङ आएको तीस वर्ष भयो । उसको घर, आज आएर एउटा एकलाशको घर बन्न पुग्यो । उसको एकमात्र छोरो बाहिर थियो, र दुई छोरीमध्ये कान्छीले खोई कसलाई हो एस.एम.एस लेखेर पोइला हिँडी रे । 

 

हुलाकी दिनभरि आफ्नी श्रीमतीले पोहोर हिउँदमा बुनेको परालको गुन्द्री ओछ्याएर आँगानका बस्न थाल्यो । उसलाई अब हतारहतार बिहानै इलाम बजार हान्निनु आवश्यक थिएन । अब त उसलाई हप्तामा एकपल्ट गए पनि हुन थाल्यो । आखिर गाउँ फर्किनै रित्तै हात न हो ! आक्कलझुक्कल एकदुई चिठी आउँथे, ती पनि धागोले बानेका । बर्मा र पूर्वोत्तर भारतमा बाक्लै बस्ने नेपालीहरू अझै पनि अरु सञ्चारको सुबिधा नहुँदा मरुमराउको समाचार यसै गरी धागो बाँधेका चिठीमार्फत पठाउँथे नेपालमा भएका आफन्तलाई । आठ सालतिर साम्प्रदायिक थिचोमिचोबाट जोगिन अथवा मलिलो माटो कमाएर धानको भात खान मुग्लान पसेका यी नेपालीहरूका अझै धेरै गोतियार यतै त थिए, नेपालमै । काल गति परेर, कोइला खानीमा पुरिएर, अथवा बस्तुभाउ हेर्न जाँदा बाघले खाएर कोही मर्दा यसरी खबर पठाइन्थयो । 

 

यस्ता चिठी बोक्नुपर्दा ती मेरे जानेहरूप्रति सहाभूति जागेर आउँथ्यो हुलाकीलाई, अनि अलिकति सहानुभूति आफैँप्रति पनि जागेर आउँथ्यो । थाकका थाक चिठी बोक्ने ऊ, आज धागो बाँधेका यी मृत्युसूचक चिठीमा आफ्नो जीवन र परिचय खोज्न विवश थियो । 

 

परिवर्तन यतिमा मात्रै सीमित थिएन । सातसालपछिका अक्कलझुक्कल साम्प्रदायिक घटनालाई छोड्दा शान्तिको सम्राज्यकै युगौँदेखि चिनिएको सुलबुङमा आजभोलि हिंसाका घटना बढ्न थालेका थिए । किशोरी गर्भवती हुने, बालबालिका सम्मले स्कुलमै आआफ्ना मोबाइलमा अश्लील चलचित्र हेर्ने आदि पनि सुनियो । गृहिणीहरू टाट्नामा भोका पाडाबाछा छोडर टेलिभिजन वरिपरि अड्डा जमाएर बस्न थाले । युवाहरू चाडबाडमा बाहेक गाउँमा देखिन छोडे । गाउँ भन्नु नै स्कुले केटाकेही, दूधे बालबालिका, बूढाखाडा र अपाङ्गहरूको घर बन्न पुग्यो । यो सबै देख्दा हुलाकीको मुटु कटक्क खान्थ्यो, र ऊ सोच्थ्यो, अब उसले आफ्नै जिन्दगीलाई च्यात्नुपर्छ र समाप्त पारिदिनुपर्छ । 

 

तर उसले सजिलै त्यसो गर्न पनि सकेन । उसले हजार पीरहरूबाट जोगाएर यहाँसम्म ल्याएको हो जिन्दगीलाई, सजाएको हो सुखदुखले, आफ्ना मात्रै होइन, पूरै गाउँबस्तीकै । उसले यति सजिलै कहाँ चुँडाउन सक्थ्यो त्यो मृदु जिन्दगी । असम्भव ! तर उसको पीर बढ्दैगयो । समय फेरिएसँगै हुलाक सेवा धरासायी हुनपुग्यो । 

 

सरकारी सेवामा पुगेपछि कामबाट भाग्न सकिन्छ भन्नेहरूका लागि गतिलो चुनौति बनिरह्यो हुलाकी । ऊ फरक थियो । काम नै उसको परिचय थियो । यसै परिचयले उसलाई सम्मन र स्वाभिमान दिएको थियो । तर आज, उसको सम्मुख कुनै काम थिएन । तलब त पाइरहन्थ्यो ऊ, र भत्तासत्ता पनि आउँथ्यो बिना कुनै रुकावट । तर ती तलबभत्तामा आत्मा थिएन । कामबिना, त्यस भेगमा उसको कुनै नाम थिएन ।

 

त्यो साल, त्यस गाउँमा हुने अधिकांश जमघटमा हुलाकीलाई बोलाइएन । काम नभएपछि ऊ घरघर जान पनि छोडेको थियो । फलतः घरघरको कथा उसको हातबाट पनि छुटिसकेको थियो । 

 

एक दिन दिउँसो, सदर हुलाक कार्यलयबाट घर फर्कंदा ऊ जोगमाईको किनारमा थचक्क बस्यो । नदी टाकुराबाट बेफ्वाँक बगिरहेथ्यो, उँधोतिर निरन्तर । नदीको शीतल पानिमा उसले आफ्नै अनुहार पनि आज फरक देख्यो । ऊ धेरैबेर बस्यो किनारमा, आफ्नै छायाँलाई हेर्दै । लाग्यो, पानीभित्रको जस्तै पानीबाहिरको ऊ पनि अब फगत एक छायामात्र हो । उसको यथार्थ र मिथ्याबीचको यो नगण्य दूरी बितेका केही वर्षमा अझ साँगुरिँदै गएर ब्लेडको धारजतिमात्र भएको थियो, र कसैले जोर लगाएर दिएको एक लात्तीले त्यो पूर्णतः भत्किन सक्थ्यो ।  

 

उसलाई यही क्षण एक लात हान्न मन लाग्यो जिन्दगीलाई ताकि ऊ त्यस विराट सत्यमा समाहित होस्, पानीभित्रको आफ्नै छायाँसँग एकाकार होस् र पानीसँगै छालहरूमा बगोस् सागरतिर जहाँ सुलबुङको कोही पनि आजसम्म पुगेको छैन सायद । जोगमाई र निकटतम समुद्रको दूरीको धेरैलाई हेक्का थिएन, र जसलाई थियो, उनीहरूलाई थाह थियो, यो दूरी भनेको सजिलो दूरी थिएन । 

 

धेरैबेर बसिरह्यो हुलाकी, नदी किनारमा । सतहमा हल्लिरहेको पानीमा उसको आकृतिले विभिन्न आकार लियो । बतासले हल्लायो त्यस आकृतिलाई घरिघरि । कहिलेकाहीँ पौडँदै आएको माछाले काट्यो, सायद । जब घाम डुब्न लाग्यो पारि पश्चिममा, पानीमुनिको उसको छायाँचित्रमा अलि अलि लालिमा चढ्यो, र यो रङ्ग धेरैबेरसम्म अविछिन्न रहिरह्यो । यो रातो रङ्ग उसलाई परिचित झैँ लाग्यो, तर यो डुब्दैगरेको घामबाट आएको हो भन्ने कुराको ज्ञान पनि थियो उसलाई । यो सम्झँदा सिरिङ्ग भयो उसको ज्यान । 

 

साँझ झमक्क पर्दा हुलाकी उकालो लाग्यो । त्यसदिन चाँदीको टोपमा टल्कने सुदूर टाकुरामा कुनै चासो भएन उसलाई । उसले चढ्दैगरेको उकालो आझ बढी नै ठाडो र चिप्लो महसूस भइरह्यो उसलाई । 

 

एकदुई पल्ट त चिप्लेर लढ्यो पनि । पछिल्लोपल्ट लढ्दा उसको घुँडामा राम्रैसँग चोट लाग्यो । 

 

तल, खौँचमा सुसाइरहेको जोगमाई पनि नरामाइलो लाग्यो उसलाई आज । लाग्यो, ऊ कुनै मृत्युगीत गाइरहेको छ, व्यथाको कारुणिक धून सुनाइरहेको छ, र मर्दै गरेको कुनै मानिसले सुदूर इतिहासको कुनै गर्तमा निकालेको आर्तनादको प्रनिध्वनि सुनाइरहेछ । 

 

घर पुग्यो हुलाकी । खाना खान मन लागेन । ऊ सीधै कोठामा गयो, र ओछ्यानमा पल्टियो । उसकी स्वास्नी छेउमा आएर बसी । उसले सहजै थाह पाई, आज उसको लोग्नेलाई सञ्चो छैन ।

 

“बाटोमा लढेँ । चोट लागेको छ घुँडामा ।”

 

हुलाकीले सुरवाल तानेर देखायो । स्स! कत्रो घाउ ! रानीमासु देखिनेगरी पिल्सिएको । रगत जमेको थियो वरिपरि । यो देख्ने जो कोहीको पनि आङ् सिरिङ्ङ हुनसक्थ्यो । स्वास्नी कुदेर भित्र पसी, अलिकति बेसार र तोरीको तेल ल्याई, र लेप बनाएर लगाइदिई । 

 

“आज म खाना खान्नँ ।”

 

“किन? जेठीले हाम्रै बारीबाट गोल्भेँडा र काँक्रा टिपेर सलाद बनाएकी छ — तपाईलाई मनपर्ने ।”

 

“हाम्रै बारी? यहाँ केहीँ पनि हाम्रो छैन, मिना । केही पनि ।”

 

स्वास्नीले यताउति हेरी । उसले कुरा बुझिन । 

 

“हेर मिना । यहाँ केही पनि हाम्रो होइन । अब सुलबुङमा हाम्रो भोग पुग्यो । हामी एक साताभित्र यो ठाउँ छोडेर हिँड्नेछौँ ।”

 

यो सूचनाका लागि मिना कुनै पनि हिसाबले तयार थिइन । तर पनि उसले केही भनिन । उसले विद्रोह गरिन । बिहे गरेदेखि आजसम्म उसले कुनै कुरामा पनि विद्रोह गर्नु परेकै थिएन । 

 

हुलाकीका घरमा बँचेका केही दिन र रातहरू शताब्दीजत्तिकै लामा भएर बिते । हुलाकी पिँढीमा बस्थ्यो, र उँधोरित हेर्थ्यो ।  उसको घरको दक्षिणपट्टिको बारीमा निर्भीक उभिएका आँप, सुन्तोला र अम्बकका रुख थिए । उसले तीस वर्ष अगाडि सुलबुङ् आएकै साल आफँैले रोपेका रुख थिए ती । 

 

यी रुखमा पनि उसलाई विशेष प्रिय थियो आँपाको बोट । यसको बिरुवा उसले भारतको कूचबिहारमा हुलाकसम्बन्धी एक कार्यशालामा जाँदा किनेर ल्याएको थियो । त्यसताका कूचबिहारमा भारतकै सबैभन्दा मीठा आँप पाइन्छन् भन्ने गरिन्थ्यो । घर फर्केपछि, रापेको एक साता पनि नबित्दै उसले पालेको एकामत्र गाई गोल्मूले किचेर यो बिरुवा घाँटीमुनि प्याट्ट भाँचिएको थियो । उसलाई यो बिरुवा पुनः जोड्न कत्रो हम्य परेको थियो । कपडाले काम्रो बाँधेर, ऊ दिनैपच्छिे स्याहारमा जुटेको थियो । केही समयपछाडि, पुराना पात ओइलिएर पुनः दुईवटा नयाँ कोमल पात पलाएपछिमात्रै ढुक्क भएको थियो ऊ । यी दुई पात उसलाई उसको मुटुका दुई पाटाजस्तै लागे । आज त्यही आँप, उसको करेसा बारीमा उसको निश्वार्थ अभिभावकत्वको तक्माको रुपमा खडा छ । उसलाई गर्व थियो यस रुखमा, र उसको दाबी थियो, यस रुखमा फलेका आँप सुलबुङ्कै उत्कृष्ट हुन् । 

 

उसको खरले छाएको छानोको किनारभरि गौथली र भँगेराका सयौँ छिमल सन्तती हुर्केको उसले देखेको थियो । ती चराहरूले त्यो छानो उनीहरूकै भएको कहिल्यै दाबी गरेनन् । जब उडेर क्षितिजपारि जाने याम आयो, उनीहरू हुलाकीका लागि विगतका केही सम्झना छोडेर उडे । ती दिन सम्झँदा हुलाकीलाई लाग्थ्यो — अहो, कति प्रिय थियो जिन्दगी, त्यसताका । 

 

एक दिन, बुधवार पारेर हुलाकीले सबै सरसामना पोका पार्न लगायो । सोम खेली बुध घर, उसले सुनेको उखान थियो । 

 

जब पोका–पन्तुरा तयार भए, हुलाकीको परिवारले घर छोड्यो । जाँदाजाँदा हुलाकीले अन्तिमपटक हेर्यो आफूले तीस वर्षसम्म आफ्नो मानेर बसेको घरलाई । यत्तिका दिन आश्रय दिएको त्यहीँ घर आज उसलाई निकालिरहेको थियो । 

 

जाने बेला उसलाई बिदा गर्न कोही आएन । थिए र केवल दुई थान खच्चड र तिनीहरूका मालिक, उसले सामान बोक्न बोलाएका । सुलबुङ स्कुलका चौकिदार पनि एकै छिनमा आइपुगे, त्यस घरको चाबी जिम्मा लिन । 

 

ओरालो लाग्यो हुलाकीको काफिला । यो दृश्य हेरिरहेको एउटा गाउँलेले आफ्नी श्रीमतीलाई भन्यो, “हिँडे, हेर ! क्या जिन्दगी थियो उनीहरूको । अब त फगत बुख्याँचा भए ।”

 

एकैछिनमा हुलाकीको परिवार तल कतै तुवाँलोमा छेल्लियो । त्यसपछि उनीहरू कहाँ गए, कसैलाई थाह भएन । कसैले सोधन पनि । खच्चडवालाले खबर ल्याए, उनीहरू तल बरबोटेमा छोडेर फर्केका हुन् । हुलाकीका बारेमा यही नै अन्तिम सूचना थियो त्यस गाउँले सुनेको । 

 

चौकिदार बूढाले सफा गर्न भन्दै घर खोले । एक कुनामा हुलाकीले आफ्नो सरकारी पोशाक फ्याँकेको रहेछ । चौकिदारले यसका खल्ती छाम्छुम गरे, र दुईवटा पुराना चिठी निकाले । पहिलो ४६ सालतिरको रहेछ, कुनै अज्ञात मान्छेले किशोर नाम गरेको गाउँलेलाई लेखेको । यसमा लेखिएको थियोः “तेरी स्वास्नी हिजो जन्माएको छोरो तेरो होइन मेरो हो । हाम्रो चक्कर थियो भन्ने तैँले थाहै पाइनस् ।” हुलाकीले त्यो चिठी लुकाएरै राखेको रहेछ । धन्न अहिले त  किशोर आफ्नी स्वास्नी र छोरो लिएर क्यानाडा गइसकेको थियो, र उसलाई यी सम्पूर्ण कुरा थाहै भएन  । 

 

दोस्रो चिठी पचास सालतिर छत्रे भन्ने महिला बेचबिखनको दलालले लेखेको रहेछ, जसलाई पछि प्रहरीले समात्यो । उसले हुतुलुङकी जुनठूलीलाई लेखेको रहेछः “जुनठूली, १३ गते, १० बजे, नारानथानमा लुती, तारा, ठूलीबुइनी र जानुकालाई लिएर आइपुग्नू । टिकट तयार छन् । हामी लखनऊ जान्छौँ, अनि त्यहँबाट १५ गतेका दिन जेरुसलेम उड्छौँ ।”

 

यी चिठी हेरेपछि चौकिदार कुदेर गाउँ विकास समितिका अध्यक्षलाई भेट्न गए । उनीहरूले त्यस घरमा थप खोजतलास गर्ने निर्णय लिए । हुलाकी सुत्ने गरेको खाटमुनि, चपाइएर फालिएका वा च्यातेर टुक्रा टुक्रा पारिएका धेरै चिठीहरूका अवशेष भेट्टिए । अध्यक्षले आज बुझे, सुलबुङ किन त्यति शान्त रह्यौँ, गएका तीस वर्ष ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल