कथा

तेस्रो रङ्ग

Third Colour
उषा शेरचन

मभित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ कसले देख्ने ! मभित्र निरन्तर गइरहेको पहिरो कसले बुझ्ने ! त्यसलाई न कसैको सामु देखाउन सक्छु, न त भन्न नै सक्छु । म कुन मानसिक अवसादबाट गुज्रिरहेछु भन्ने कुराबाट बेखबर मेरा परिवारले मेरो विवाहको लागि दबाव दिइरहेका छन् र केटीका फोटोहरु हेर्न कर गरिरहेका छन् ।

हुन पनि विवाहयोग्य लक्का जवान छोरो, त्यसमाथि पनि हामी राजपुतहरु विवाहलाई समेत आफ्नो आन, वान र शान सम्झिने हाम्रो समुदाय । म हेर्दामा पनि निकै ह्यान्डसम देखिन्छु । त्यसमा पनि धनी बावुको एक्लो छोरो पढाइमा पनि उतिकै तेज । कुनै पनि बाबुआमाले आफ्नी छोरीका लागि छान्ने वरको क्राइटेरियाभन्दा धेरै माथि देखिने मेरो व्यक्तित्व । अथवा यसो भनौं, कुनै पनि युवतीले प्रायः सोच्ने सपनाको राजकुमार । टल’ डार्क’ ह्यान्डसममाथि पनि सम्पन्न घरको एक्लो वारिस । तर अफसोच ! बाहिरी रुपमा हेर्दा म जेजस्तो देखिन्छु त्यसको ठीक विपरीत छ मभित्रको व्यक्ति जोसँग मबाहेक अरु कोही दोस्रो व्यक्ति परिचित छैन । मलाई जन्म दिने मेरी जननीसमेत अनभिज्ञ हुनुहुन्छ मभित्रको व्यक्तिसँग भने अरुको त झन् के कुरा भो र !

आज घरमा चहलपहल चर्कै छ । मेरा लागि भनेर ल्याइएका विवाहयोग्य कन्याका एक से एक सुन्दर फोटो छान्न जुटिरहेका छन् मेरा दिदीहरु । दिदीहरु एकएकको फोटो हेर्दै टीका-टिप्पणीका पर्रा छाडेर हाँस्दै पनि छन् भने मेरा बुबा र आमा गर्वले छाती चौडा पार्दै छोरीहरुले गरेका टीका-टिप्पणीमा होमा हो मिलाउँदै हुनुहुन्छ । तर बिचराहरुलाई के थाहा, मेरो संसार भने नितान्त बेग्लै छ भन्ने कुरा ! जतिजति उहाँहरु खुसी हुँदै कन्या छान्न तल्लीन हुनुहुन्छ; उतिउति म झन् भित्रभित्रै पीडाले आहत भएर छटपटाइरहन्छु, दुःखको अथाह सागरमा हेलिइरहन्छु । जति प्रयत्न गर्दा पनि त्यो खुसीमा सामेल हुन सक्दिनँ ।

आखिर मेरा दिदीहरुले मेरा लागि मात्र नभई परिवारका लागि समेत योग्य कन्याको फोटो मेरो अगाडि तेस्र्याइदिए । दिदीहरुको मन राख्नकै लागि मैले पनि मन लागी-नलागी हेरे मात्र, केही प्रतिक्रिया भने जनाइनँ । मेरो मौनतालाई सहमति सम्झेर हो वा बुबाआमालाई मेरो विवाह गर्ने हतार भएर हो, छानेकी कन्यालाई हेर्न जाने समय मिलाइदिन आग्रह मात्र गर्नु भएन कि मिति नै तोकेर ल्याइदिनसमेत अनुरोध गर्नुभयो ।

म भने मानसिक छटपटीले रातभर पटक्कै निदाउन सकिनँ । रात होइन सिङ्गो युग नै काटेझै भयो ।

लमीले कन्या हेर्न जाने मिति र समय तोकेको दिनदेखि बुबाआमाको भुइँमै खुट्टा छैन । फुरफुर भएर सिमलको भुवाझै खुसीले उडिरहनुभएको छ । आफूहरुले सोचेजस्तै घरान र आफ्नै स्तरसुहाउँदी, पढेलेखेकी सुशील मात्र नभई अति सुन्दर कन्या हेर्न जाने सपना बुन्दैमा व्यस्त हुनुहुन्छ । अझ बुबाआमाभन्दा पनि हजारौं गुणा बढी उत्सुक त मेरा तीन जना दिदीहरु देखिन्छन् । नदेखिऊन् पनि किन ? तीनतीन जना दिदीहरुको एक्लो भाइ जो परे म । 

तर म भने आफैभित्र मच्चिरहने युद्धसँग पराजित भएर थकित छु । घाइते मनका पीडाहरु कहाँ गई पोखूँ म ! बलि दिन तयार पारेको बोको जस्तो भएको छु । यी सबै कुराबाट बेखबर मेरा परिवारजनहरु भने बुहारी भित्र्याउने कल्पना मात्रले पनि रोमाञ्चित भएका देखिन्छन् । 

आफ्नो छोरालाई देखेर केटी पक्षले केही टीका टिप्पणी गर्ने अवसर नै नपाओस् भन्ने सोचेर आमाले दिदीहरुलाई मेरो तयारीमा विशेष ध्यान पु-याउन निर्देशन दिनुभएको छ । 

मेरा दिदीहरु पनि कहाँ कम छन् र ? उनीहरु पनि एक से एक दामी साडी र गहनाले सिँगारिएर आएका छन् । मानौ उनीहरु मेरा लागि कन्या हेर्न नभई आफै कन्या भएझै खुब ठाँटिएर आएका छन् । मेरा तीनै जना भेनाजुहरु पनि एक से एक घरानियाँ र सम्पन्न हुँदा कोहीभन्दा कोही कम हुनुहुन्न नै । घरको वातावरण हर्ष र उल्लासमय छ, तर म भने न त उल्लासित हुन सकेको छु, न त उहाँहरुले देखिरहनुभएको मीठो सपनालाई तोड्न नै सक्ने अवस्थामा छु, न त कन्यालाई हेर्न जाने मुडमा नै छु ।

 

बुवाले ढिलो हुन लागेको सूचना प्रवाह गर्न नपाउँदै आमाले मेरो पक्षमा वकालत गर्दै हुनुहुन्छ— ‘केटी हेर्न जाने कुरा हो, तयार हुन केही समय त लागिहाल्छ नै । हजुर पनि कस्तो हतारिनुभएको ! सबै दिदीहरु मिलेर भाइलाई तयार पार्दै छन् ।’

म लाचार कठपुतली बनेर दिदीहरुको चाहना अनुरुप आफूलाई सजाइरहेको छु । तर म प्राणै नभएको प्लास्टिकको ‘म्यानीक्वीन’ जस्तो लागिरहेको छु । शरीरको तापक्रम झन्झन् तलतल झर्दै शून्य डिग्रीमा पुग्दै छु । 

आमा त मेरी जननी’ मलाई साह्रैसाह्रै माया गर्नुहुन्छ । नगर्नु पनि किन ! तीनतीन जना छोरी जन्मेपछि बल्लबल्ल जन्मेको छोरो म ! हाम्रो समाजमा छोराको महङ्खव कति हुन्छ भन्ने कुराको ज्ञान मेरी आमालाईभन्दा बढी अरु कसलाई होला ! मेरी आमाले छोरी मात्र जन्माउँदा सुन्नुपरेका कटुवचनका तीखा बाणले कतिपटक घायल हुनुभएको र छोरा नजन्माउँदासम्म भोग्नुपरेका अपार पीडाहरुबाट पटक-पटक आहत भएको व्यथाहरु आमाकै मुखबाट धेरै पटक सुन्दै आएको छु । तर छोरीछोरी नै जन्मे पनि बुबाबाट पाएको माया र सान्त्वनाले मात्रै आफूलाई सम्हाल्न सकेको कुरा पनि आमा बारम्बार भनिरहनुहुन्छ ।

म भने बुबाभन्दा आमाकै नजिक छु । आमाले मलाई प्राणभन्दा प्यारो गर्नुहुन्छ, तर म आमालाई आफ्नो समस्या भन्न सक्दिनँ ।

म के गरौ ? कसो गरौ ? कसलाई भनौ मेरा मनका कुराहरु ? बुबालाई भन्ने त कल्पनासमेत गर्न सक्दिनँ म । दिदीहरुलाई भनूँ भने पनि उहाँहरुको सपना ऐनाझै भुइँमा झरेर चकनाचुर हुने डर छ । हे भगवान् मलाई यो कस्तो मोडमा ल्याएर पछारिदियौ उठ्नै नसक्ने गरी ?

केटी हेर्न सगुनका सामानसहित सबै तरखर गर्दै भ-याङ ओर्लंदै हुनुहुन्छ । मेरो मन भने झन्झन् उदासीको खाडलमा जाकिँदो छ । मझधारमा फसेको डुँगाझै ढलपल-ढलपल गर्दो छ । 

म दिदीहरुको निर्देशन अक्षरशः पालना गर्दै पाइला अघि चाल्दै छु र मनमनै सोच्दै छु, कन्या हेर्न जाने कार्यक्रममा त दिदीहरु यति बिध्न उत्साहित हुनुहुन्छ भने विवाहको दिन झन् के के पो गर्नुहुन्छ होला !

सानोसानो जन्तीजस्तै देखिने गरी हाम्रा गाडीहरु मेरै छाती चिरेजस्तै गरी सडकको छाती चिर्दै गुड्न थाल्छन् । जतिजति कन्याको घरको दूरी नजिकिँदै छ; उतिउति मेरो मनको दूरी भने झन्झन् बढ्दो छ ।

कन्या पक्षको घर के भनौँ ! महलै भने पनि भो, दुलहीझै सिँगारिएको छ । हाम्रो स्वागतार्थ घरका सबै बुजु्रक ढोकामै उभिएका छन् । सबैले दुबै हात जोडेर नमस्कार गर्दै हामीलाई भित्र लगे । म आफ्नो गह्रौ पाइला सकेसम्म हलुको पार्ने प्रयत्नमा लागिरहेको छु ।

मभित्र उठिरहेको पीडाको शूल कम से कम मेरो अनुहारमा नछल्कियोस् भन्ने सोचाइबाट पनि रन्थनिरहेको छु । 

हामीलाई बडो आदर र सत्कार गर्दै बैठक कोठाको सोफामा बसाए । लमीले सबैको परिचय गराए ।

खोजेजस्तै र सोचेजस्तै वर पाउन सकेकोमा प्रसन्नता व्यक्त गर्दै आफ्नी कन्या पनि कोहीभन्दा कम नभएको कुरा अवगत गराउन पनि चुक्दैनन् उनीहरु । तर मेरो ध्यान भने जति नै प्रयत्न गर्दा पनि त्यतातिर जान सकेको छैन । म आफ्नै दुबिधाको माकुरे जालोमा अल्झिएँ । 

पर क्षितिजबाट पूर्णचन्द्र बिस्तार बिस्तार धर्तीमा ओर्लेजस्तै गरी आफन्तको सहारा लिएर पर भ-याङ्गवाट एउटी परी ओर्लंदै छिन् । कुनै दन्त्यकथाकी राजकुमारीझै देखिने उनको रुप लावण्यले मन लोभिनुको साटो झन्झन् विदीर्ण भएको छ । मेरा परिवारका सबै सदस्यहरु फोटोमा देखेकोभन्दा हजार गुणा राम्री साक्षात् अप्सरा देखेर आँखा पनि झिमिक्क नपारीकनै हेरिरहेका छन् ।

मभित्र भने ज्वारभाटा उठिरहेको छ— कसरी आफ्ना कुरा उनीसमक्ष राख्ने भनेर ?

उनले के सोच्लिन् ?

भनूँ, के भनूँ ? नभनूँ, कसरी नभनूँ ? उनको सुन्दर मुहारजस्तै उनको सुन्दर भविष्यसँग खेलवाड गरेर अँध्यारो कुवाभित्र धकेलिदिनु पनि त महापाप हो । उनको पाइला हामीतिर जतिजति बढ्दो छ उतिउति निराशाको कालो बादलले मेरो अनुहारलाई ढाक्न खोज्दै छ । जति उज्यालो बनाउँछु भनेर सोच्छु; उतिउति झन् तुवाँलाले ढाकेजस्तै गरी मेरो अनुहारको रङ मलिन भएर जान्छ ।

पारिचयिक आदान-प्रदानको क्रमभरि उनले आफ्नो मृदुमुस्कानको जादु छर्दै वातावरणलाई नै धपक्क बालिरहिन् । मेरो अनुहार भने बेट्री सकिन लागेको लाइटझैँ भएको छ । उनी मेरो अँध्यारो अनुहारलाई पुलुक्क हेर्छिन् र चुपचाप उभिइरहन्छिन् ।

 

केटाकेटीबीच घनिष्टता बढोस् भन्ने चाहनाले हामी दुबैलाई एकान्तमा कुरा गर्ने अवसर दिइन्छ । बल्लतल्ल जेलबाट मुक्त हुन पाएको कैदीझै त्यहाँबाट उम्केर भाग्न पाएकोमा एकैछिन भए पनि सन्तोषको सास फेर्छु । छिनभरमै कन्याको कोठामा पुग्नुपर्दा भने एउटा कैदखानाबाट मुक्त हुन नपाउँदै अर्को कैदखानामा पुगेझै लाग्छ ।

 

म चुपचाप जड बनेर उनको कोठाभित्र उभिरहेको छु । बोल्ने कुनै शब्द नै नभेटेर मूर्तिवत् भएको छु ।

 

धन्न, कन्या सुन्दरी मात्र होइन फरासिली पनि रहिछिन् र’पो त लज्जाको घुम्टो आफैले उघारिन् र भनिन्- ‘यता बस्नुहोस् न सजिलो गरेर !’


उनले देखाएको स्थानमा चुपचाप बसिदिन्छु ।


— ‘हजुरको मुहार साह्रै मलिन देख्छु । मलाई देखेर खुसी हुनुको साटो झन् बढी दुःखी हुनुभएझैँ देख्छु । सन्चो छैन कि कसो ?

प्रत्युत्तरमा म केही भनौ जस्तो भएर फेरि पनि चुपै बस्छु ।


— ‘साँच्चै त्यस्तो केही खास कारण छ भने मलाई भन्नुहोस् ! अझै पनि केही बिग्रेको छैन । तपाई मलाई अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ ।’


यति भनेपछि भने बल्ल मुख खोल्ने साहस पलाउँछ ममा । म भन्छु- ‘मेरो परिवारका सबै सदस्यहरु तपाईंलाई देखेर दङ्ग हुनुहुन्छ । साँच्चै नै तपाईं कुनै परीभन्दा कम सुन्दर हुनुहुन्न । मेरो दुर्भाग्य नै भनौ अब, म भने तपाईंलाई स्विकार्न असमर्थ छु । तपाईंको सुन्दर भविष्यलाई अन्धकारको सुरूङभित्र धकेल्न चाहन्नँ । तपाईं मभन्दा हजार गुणा बढी योग्य वरको लागि योग्य कन्या हुनुहुन्छ । मैले तपाईंलाई होइन बरू तपाईंले नै मलाई अस्वीकार गरिदिनुभएर यो बाँधिन लागेको बन्धनबाट मुक्ति दिनुहोस् !’

‘यसको कुनै ठोस कारण जान्न सक्छु होला म ! आश्चर्यमिश्रित स्वरमा प्रश्न पुनः दोहो-याउँछिन् ।


म विनम्रतापूर्वक भन्छु- ‘मेरो एउटा असाध्यै मिल्ने साथी छ, जसलाई म सर्वाधिक माया गर्छु । ऊबिना बाँच्ने कल्पनासमेत गर्न सक्दिनँ । मेरा परिवारका सदस्यहरु भने यस कुराबाट अनभिज्ञ हुनुहुन्छ । मैले मेरो परिवारसँग यी कुराहरु राख्न नसकेर नै तपाईंको सहारा खोजेको । तपाईं पनि आफ्नो भविष्यलाई अन्धकारतिर नधकेल्नुहोस् । तपाईंलाई मैले यसो भनेर तपाईंको भावनामाथि खेलवाड गर्न र तपाईंको मनमा चोट पु-याउन खोजेको भने अवश्य होइन । कृपया यति मात्रै बुझिदिनुहोस् कि तपाईंजस्ती बत्तीस लक्षणले युक्त अप्सरा मजस्ताका लागि भने कदापि हुँदै होइन । तपाईंको लागि म हर दृष्टिकोणबाट अयोग्य छु । त्यसैले मलाई अस्वीकार गर्नुहोस् ।’

केटी पनि छक्क परेरै सोच्न थाल्छिन्, होइन यो कस्तो खालको लोग्नेमान्छे रहेछ ! मजस्तो केटीलाई देखेर मनभित्र खुसीको हजार दिया बाल्नुको साटो उल्टै अस्वीकार गर्दै छ । कलेजतिर मेरो एक झलक पाउनको लागि होडै लागेर मरिहत्ते गर्छन् कस्ताकस्ता मै हुँ भन्नेहरुसमेत । मैले कुनै केटाहरुलाई भाउ नै नदिए पनि बत्तीमा पुतली झुम्मिएजस्तै गरी झुम्मिन आउँछन् मेरा वरिपरि, मेरो प्रेममा सहिद हुन । तर आज त्यसको ठीक विपरीत मेरो परिवारले पनि चाहेको र मैले पनि सहमति दिएको व्यक्तिले भने मलाई नै अस्वीकार गर्दै छ । यहाँ त बिल्कुलै उल्टो गङ्गा बगिरहेको छ । त्यस्ती कुनचाहि युवतीले यिनको मन हरेको होला त ! मजस्तीलाई पनि अस्वीकार गर्न बाध्य बनाउने ... ! सायद अन्तरजातीय भएकोले पो हो कि परिवारलाई भन्न नसकेर नै मेरो सहारा लिन चाहेको ? आदि-इत्यादि, कन्याको मनमा प्रश्नको ओइरो लागिरहन्छ । 

हामी दुईबीचको कुराकानी हाम्रो परिवारले निर्धारण गरेको समयभन्दा बढी भयो क्यार । मेरी माइली दिदी हाँस्दै कन्याको कोठाभित्र आइन् र हामीलाई तल बोलाएको सूचना दिँदै आफ्नै साथ लिएर गइन् ।

म आफ्नो निर्णय सुनाउने हिम्मत गर्न सक्दिनँ । मेरो परिवारले पनि मेरो सुझाव लिन आवश्यक ठान्दैन । दुबै परिवारको अनुहारभरि प्रसन्नताका लहरहरु उर्लिरहेका छन् ।

सबैको आँखा छलेर सुटुक्क कन्यालाई हेर्दै म अनुनय गर्छु, अघिको कुरालाई सार्वजनिकीकरण गरिदिनका लागि । तर किन हो कुन्नि उनी जड बनेर निहुरिरहन्छिन्, केही बोल्दै नबोली । 

निकै बेरसम्म खानपानको कार्यक्रम जारी रहन्छ । तर मलाई भने विषजस्तो लाग्छ ।

अब हामी खानपान सकेर बिदाबारी भएर जाने क्रममा छौँ । दिदीहरु आ-आफ्ना कारमा श्रीमानको साथमा जानुको साटो मसँग जाने भन्दै मेरै कारभित्र पस्छन् । म जतिजति यी सब कुराहरुबाट भाग्न खोज्छु; उतिउति मेरै फेरो समातेर मेरै पछिपछि लागिरहन्छन् । एक छिन भए पनि उम्किएँ भनेर सोच्नसमेत नपाउँदै फेरि दिदीहरु मेरै पछिपछि लागिरहेका छन् । दिदीहरुलाई पनि के चाहियो अब मलाई जिस्क्याएनन् मात्र कि कन्याको रुपरङ आदि इत्यादिबारे तारिफको पुलनै बाँधिरहे । अनि विवाहमा साडीले मात्र नपुग्ने रे साडीको रङ म्याचिङ हुने गहनासमेत चाहिने माग पनि राखे । भाइको विवाहमा माइतीबाट पाउने उपहारको मूल्य बेग्लै हुन्छ चेलीहरुलाई । बिचरा दिदीहरु ! मेरो विवाहको तयारी कसरी गर्ने, के-के गर्ने, ककसलाई निम्त्याउने भनेर योजना बनाउन थाले ।

हामी घर पुग्नुअगावै बुबा, आमा र भिनाजुहरु घर पुगेर विवाहबारे नै चर्चा-परिचर्चा गरिहनुभएको रहेछ । दुलाहालाई बाहेक सबैलाई विवाहको रङ चढिसकेको छ । मेरी आमा भनेजस्तै बुहारी भित्र्याउन पाउने कल्पना मात्रैले पनि त्यसैत्यसै प्रफुल्लित देखिनुहुन्छ । त्यस्तो रहरमा जन्मिएको एक्लो छोराको विवाहमा कुनै कसर बाँकी नरहोस् भनेर मनमनै दृढ सङ्कल्पित जस्तै देखिनुहुन्छ । बुबाको त झन् के कुरा सबै मिलेर कतै दोस्रो विवाह गर्न बाध्य पार्ने त होइनन् भन्ने आशङ्काले घेरिरहेको बेला जन्मेको छोराको विवाहमा के कमी हुन दिनुहुन्छ होला त !

कठै ! मेरा बुबा, आमा र दिदीहरुको यो सुन्दर सपना पलभरमै चकनाचुर हुने सोचबाट म भित्रभित्रै धमिराले खाएको खोक्रो रुखसमान भइरहेको छु ।

ओहो ! मभित्रको घाउ पाकेर फुट्न मात्र बाँकी छ ।

म के गरुँ, आफैसँग विवश छु ! लाचार छु !

म यस्तो हुनु मेरो रहर पनि त होइन, सायद बाध्यता या फेरि मेरो नियति । दिग्भ्रमित छु आफै ।

रातरातभर सोचेरै काटें आज पनि । मन बेचैन छ, कसरी पोखूँ मनभित्रको यो व्यथा ? यसरी सबैलाई कुहिरोको काग बनाएर बस्नुभन्दा खुल्नुमा नै सबैको भलाइ देखें । आखिर एक न एक दिन त यो पर्दा उठ्नु नै छ । जति ढिलो ग-यो उति झन्झन् जटिलता मात्र बढ्ने सोचेर कन्याको घरको फोनमा नम्बर घुमाएँ ।

‘हेल्लो ! कसलाई खोज्नुभएको होला ? उताबाट उही कन्याको सुमधुर स्वर गुन्जियो ।

‘ए ! मैले पनि तपाईंलाई नै खोजेको ।’ म फलाना बोलेको भन्दै आफ्नो परिचय दिएँ । ‘आज पनि मैले तपाईंकै बारेमा सोचेर रात बिताएँ, तपाईंको परिवारको बारेमा मेरो परिवारको बारेमा र हामी दुबै जनाको भविष्यको बारेमा ।’

— ‘हजुर, हजुर म सुन्दै छु । भन्नुहोस् न त के-के सोच्नुभयो ?’

— ‘मेरी आमासँग म असाध्यै निकट भएर पनि खुल्नै सकिनँ । अरुले मेरो समस्या नबुझे पनि आमाले त अवश्य बुझ्नुहुन्छ होला भन्ने विचार हुदाँहुँदै पनि मैले भन्ने साहस जुटाउन सकिनँ र तपाईंलाई फोन गरेको । मेरो मात्रै जीवनको सवाल भए कुरा बेग्लै हुने थियो, तर अब मेरो जीवनसँग तपाईंको भविष्य पनि जोडिन लागेपछि तपार्इंको भविष्यलाई बर्बाद गर्न मेरो आत्माले नदिएकै कारण मैले तपाईंको सहारा लिन चाहेको । तपाईंलाई मैले त्यसै दिन अस्वीकार गर्न आग्रह गरेको थिएँ, तर किन हो तपाईं चुपचाप बसिदिनुभयो ।’

— ‘के कारणले गर्दा होला ?’ ‘तपाईंले मसँग यो सम्बन्धलाई अस्वीकार गर्न आग्रह गर्नुभएको ? भन्नुहोस् न त, म पनि मेरो परिवारलाई सम्झाउने प्रयत्न गरूँला ।’

म असमञ्जसमा परे“, कसरी भन्ने होला ?

उनले के सोचेर हो, भन्न थालिन्- ‘भन्नुहोस् न त, कुन केटी हो ? कसकी छोरी हो ? कहाँकी हो ? कहाँ बस्छे ? जसले गर्दा तपाई सम्बन्ध जोड्नपूर्व नै भत्काउन चाहनुहुन्छ ?’ प्रश्नको ओइरो नै बर्साइन् उनले ।

मैले भने- ‘बडो धैर्यपूर्वक सुन्न सक्नुपर्छ । कुरो अर्कै छ; जुन कुरालाई तपाईंले पचाउन नसकेर मलाई घृणासमेत गर्न सक्नुहुन्छ सायद । घृणा गर्दैमा सत्य लुकाएर लुक्ने पनि होइन, एक न एक दिन उद्घाटित भई नै हाल्छ । यो धर्तीमा जन्मेर जे-जे नियति भोग्न अभिशप्त हुन्छौँ हामी, त्यो न त हाम्रो हातमा नै हुन्छ’ न त जन्म दिने बुबाआमाकै हातमा हुन्छ, हुनसक्छ भने केवल त्यो सृष्टिकर्ताको मात्र ।’

उनले अधैर्य हुँदै भनिन्- ‘ओहो ! भूमिका मात्रै धेरै नबाँधेर खुलस्तै बताइदिनुहोस् न कुन केटीको लागि तपाईंले मलाई अस्वीकार गर्न खोज्नुभएको ?’

प्रत्युत्तरमा मैले भने- ‘केटी होइन केटा हो ।’

‘हँ... !’ अविश्वास र आश्चर्यमिश्रित स्वर गुन्जियो- ‘के... रे ? केटी नभएर केटा पो ! मैले गलत सुने कि क्या हो !’

— ‘हैनहैन... यहाँले सही नै सुन्नुभएको हो ! हो, केटी साथी नभएर केटा नै साथी हो, जसबिना म आफूलाई अपूरो र अधुरो सम्झन्छु । ऊबिना म बाँच्नै सक्दिनँ ! अथवा यसो भनौ हामी दुबै एकअर्काबिना बाँच्ने कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले त आग्रह गर्दछु यो विवाहलाई तपाईं अस्वीकार गर्नुहोस् भनेर ।’

कन्या पक्षबाट विवाह अस्वीकार भएको खबरले हाम्रो परिवारभित्र ठूलै भुइँचालो जानु स्वाभाविकै भयो । भित्री कारण खोतल्दै जाँदा मेरो परिवार लज्जाबोधले पानीपानी हुनु पनि अस्वाभाविक भएन । मेरो परिवारको प्रतिष्ठामै कालो पोतियो । 

आफ्नै घरबाट अस्वीकृत भएँ म । बुवाको प्रतिष्ठाको अगाडि आमाले समेत घुँडा टेकिदिनुभयो र आफ्नो ममताको समेत गला रेटिदिनुभयो । चुपचाप बुबाको आदेश पालना गर्नुबाहेक अर्को विकल्प रहेन मसँग । खुट्टामा बाँधेर राखेको वस्तुझै लाचार हुदाँसमेत मलाई जन्म दिने मेरी जननी जसले मलाई यो उमेरसम्म आफ्ना ममताको आँचलभित्र लुकाइरहनुभयो, मेरो खुसीमा मभन्दा बढी खुसी भइदिने, मेरो दुखमा मभन्दा बढी दुःखी भइदिने मेरी आमाको मनबाट भने म कदापि अस्वीकृत हुनेछैन भन्ने मेरो विश्वासको सगरमाथा त्यतिबेला गर्लम्मै ढल्यो, जुनबेला बुबाले मलाई घरबाट तुरून्तै निस्कने आदेश दिइरहँदासमेत मेरी आमा केही नबोली चुपचाप उभिरहनुभयो । 

यसरी मैले गर्दै नगरेको गल्तीको सजाय भोग्न अभिशप्त भएँ म । 

 

के म यस्तो भएर जन्मनु मेरै भूल हो त ! मेरै गल्ती हो त ! यो मेरो तेस्रो रङ मेरो कमजोरी नभएर मेरो परिचय हो, मेरो पहिचान हो भन्ने प्राकृतिक वास्तविकतालाई स्विकार्नुको साटो उल्टै म उहाँहरुको आँखामा बिझाउने कसिङ्गरझैँ भएँ । आफूलाई जन्म दिने बाबुआमाको माया-ममतामा समेत भेदभाव सहन बाध्य भएँ म । आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित भएँ म ।

अहिले म सहरदेखि टाढा... धेरै टाढा मेरो परिवार, मेरो आफन्त र मेरो समाजको मुखै नदेख्ने ठाँउमा गुमनाम जिन्दगीको छाता ओढेर मेरो ब्वाइफ्रेन्ड अर्थात् मेरो त्यही केटा साथीसँग जीवन यापन गर्दै छु । हाम्रो छुट्टै संसारभित्र हामी एकदमै खुसी छौ, सुखी पनि छौ र पनि घर परिवार विशेष गरी आमाको यादले भने मनभित्र कताकता बिझाइरहन्छ ।



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा गतिविधिहरू

फोटो ग्यालरी

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल