कविता

मजदुर दैनिकी

Prole’s Journal
हिमाल घिमिरे

ठूलो साँझ परेपछि
घामको अस्तु पटुकामा बाँधेर
एउटा मान्छे घर फर्किन्छ
अँगेनामा त्यही अस्तुले आगो पार्छ
एक नाङ्लो दुःख निफन्छ
भुलुक्क पसिना उमाल्छ
र, उज्यालोको मृत्यु उत्सव मनाउँछ !

भालेको डाकमा
हिजो खरानीमा छोपि राखेको अगुल्टो
झिक्छ र सल्काउँछ सुर्ती
सुर्ती तान्दै हिँडेको ऊ
आउँछ बस्तीभरि घाम बोकेर
त्यसबेला— ऊ आफै घाम हो कि भन्ने भ्रम हुन्छ !

दिनभरि, दिनभरि, जिन्दगीभरि
ऊ हिँड्छ ढाडमा घाम बोकी
कहिले राख्छ डोकोमाथि
कहिले चैँ बोरामाथि
कतिबेला त काँधमा रोखेको पनि देखिन्छ
जसरी भए पनि पूर्वदेखि पश्चिम
उसैले हो बोकी लगेको घामलाई
थाहै नदिई मान्छेहरूलाई
बिसाए झैँ गरेर देब्रे डाँडाको चौतारामा
डाँडा उँधो छोडी पठाएको उसैले हो !

यस्तो बलशाली मान्छे हो मजदुर
जसले घडीका काँटा बोकेर हिँड्छ ।
तर समय बोक्ने घडीको पनि आयु हुन्छ
जब मजदुर बूढो हुन्छ दुनियाँ काँप्छ
बोक्दै गरेको घाम बिसाइदिने हो कि
वा आफूसितै लैजाने हो
—यस्तै किसिमको डर हुन्छ !

तर खै के के कारणले हो
न त ऊ मर्नै सकेको छ
न त ऊ बाँच्नै सकेको छ
घडीको काँटा झैँ यता र उता
उसले एउटै दैनिकी बाँचेको छ !



अतिथि चित्रकार

सङ्गीत र कविता वाचन

मूर्तिकला

हाम्रा सम्मान र पुरस्कारको प्रोफाइल