नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अमर शाह

बेंगलोर, १९८५

बगैचाको शहर —बेंगलोर
सुन्दर पार्कहरूमा मुस्कुराउछ
चिल्ला सडकहरूमा चम्किन्छ
र, कुद्छ नयाँ मोडेलका गाडीहरूमा

सपनाको शहर—बेंगलोर
गोल्फ र टेनिसको खेलपछि
बिलासी रेस्टूराहरूमा थकाई मार्छ
र, बिसाउछ दिनभरको तनाव
सधै साँझ पार्टीहरूमा

सम्पन्नताको शहर— बेंगलोर
गगनचुम्बी भवनहरूबाट चियाउछ
लाम लाग्छ थियटरहरूमा
र, जम्मा हुन्छ सुसज्जित शोरुम वरपर

यस प्रकार विलासिताको शहर— बेंगलोर
कुनै नवागन्तुकको लागि
सुन्दर लाग्छ —
सम्भ्रान्त परिवारको बच्चा जस्तो
सुगन्धित लाग्छ—
मैसुर चन्दनको ताछेको टुक्रा जस्तो

तर, यो सबको प्रतिकूल
अर्को बेंगलोर —तिरस्कृत र कुरुप
नगर बसहरूमा उकुस–मुकुस यात्रा गर्छ
सुपथ मूल्य पसलहरूमा लडाई लड्छ
र, झगडा गर्छ सार्वजनिक धाराहरूमा
अनि लतारेर जिन्दगी दिनभरि
प्रायः —खालि पेट
प्रायः —बिना छत
सधै सडक किनारामा सुत्छ

साँच्चै त्यतिनै गन्ध आउछ
श्रीरामपुर र लक्ष्मण राव नगरको बेंगलोर
जति यो बास आउछ
एम्.जी. रोड र कमर्सियल स्ट्रीटमा
र, चित्कार गर्छ झोपडपट्टीको बेंगलोर
जति यो अट्टहास गर्छ हाइग्राउण्ड वरपर

यस प्रकार पुष्टी गर्छ
बगैचाको शहर बेंगलोरले पनि
यो एउटा साधारण अर्को शहर भएको
शहर—
जसको अनुहारका दुई पाटा हुन्छन
एउटा—जुन सधै बैभवमा तैरिरहन्छ
र, अर्को—जुन आफ्नै आशुमा डुबेको हुन्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु