नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


अमर शाह

कुरुक्षेत्र

—नआ नै त कसरी भनौँ ? आउने भए गाडी नल्याउनू......
काकाको छोराले कुरा चपाएन । नआए हुन्थ्यो भन्ने उसको आशय प्रष्ट थियो ।
तर, मैले आफ्नो निर्णय बदल्न सकिनँ । करिब बीस बर्षपछि आफू जन्मेको दुर्गम गाउँ जाने चाहना मभित्र शक्तिशाली रूपमा मौलाउन थालेको थियो र केही महिना यतादेखि म सपनासमेत गाउँमै पुगेको देख्न थालेको थिएँ ।
त्यसो त त्यो गाउँसँग आफूलाई जोड्ने नाता भएको घरखेत बुवाआमा बितेपछि बेचेर मैले करिब बीस बर्ष पहिले नै चुडालिसकेको थिएँ, तर पनि जन्मेको ठाउँ पुग्ने रहर उम्रेर म हैरान थिएँ ।
—तिमी पागल हुन थाल्यौ,...........गाउँमा के छ र जाने ?
मेरो योजना श्रीमतीलाई मन परेको थिएन ।
—के छ भनेर होइन, म जन्मे हुर्केको गाउँ छ भनेर हो.... .......
म उसलाई सम्झाउन खोज्थेँ र भएको बाबुको सम्पत्ती नासेकोमा पछुतो पनि गर्थेँ ।
—अनि हिजोआज जे हाल छ त्यो........ भो, पर्दैन जानू ...... ......
राप्ती अञ्चलका पहाडी जिल्लाहरूमा चर्केको द्धन्दबारे पढेसुनेकीले सशङ्कित हुन्थी ।
—फौजका लागि म कर्मचारी हुँ र केटाहरूका लागि स्थानीय......... आफ्नै गाउँ जान डराउने किन ?
उसलाई सम्झाउने बहानामा म आफूलाई समेत सम्झाइरहेको हुन्थेँ ।
अत्यन्त साधारण र गुमनाम मेरो जन्मगाउँ माओबादी आन्दोलनका कारण हिजोआज चर्चाको शिखरमा थियो र मलाई गाउँ पुग्ने चाहना जगाउने एउटा बलियो कारण त्यो पनि थियो । क्रिया—प्रतिक्रियाबिना सयौं बर्षसम्म मरेको बस्तीसरह बाँचेको मेरो गाउँमा साच्चै के फरक आयो र अहिले यति धेरै चर्चामा छ, म आफै हेर्न चाहन्थेँ ।
कार्यालयको गाडी लग्न सक्ने भए पनि दाइको आदेश मानेर मैले बसबाटै जाने निर्णय गरेँ, र लामो अन्तरालपछि एक बिहान आफ्नो जन्मस्थलतिरको यात्रा नेपालगञ्ज बसपार्कबाट छुटेको एउटा थोत्रो बसबाट सुरु गरेँ ।

बसका दुई तिहाइभन्दा बढी यात्रु भारतबाट काम गरी फर्कन लागेका कालापारे थिए र बसभरि महिनौँ ननुहाएको शरीरको अमिलो गन्ध र चुरोट बिडीको धुवा बुङ्बुङ्ती उडाइरहेका थिए ।
पहाडमा खेती बाहेक अर्को रोजगारी नभएकोले जमिन नहुने वा कम जमिन हुनेले परिवार बचाउन कालापहाड जानै पर्थ्यो । दश बाह्र बर्ष उमेर पुगेपछि कालापहाड जाने, एक दुई बर्षमा आठ दश हजार कमाएर फर्किने र बीचमा परिवारले थपेको ऋण तिरेर फेरि कालापहाड जाने— राणाकालदेखि चलेको यो सनातन चलन मैले गाउँ छोड्दा पञ्चायत कालमा समेत थियो र प्रजातन्त्रमा पनि कायमै रहेछ, बसमा पसेपछि प्रष्ट भयो ।
—कति बर्षपछि फर्कँदै छौ ?
म आफू छेउको एउटा तन्नेरीलाई केर्न थाले ।
—तीन बर्ष भयो हजुर..........
—कमाइ नि ?
—के हुन्थ्यो ! .....पेट पाले, बचाएको पैसाले घरकाले पेट पालेको ऋण तिर्न सके भाग्य हुन्थ्यो........
उसको भनाइ सपाट थियो ।
कालापहाड जानेले कमाएर ल्याउनेभन्दा बढी घरका परिवारले जिउ पाल्न ऋण थपिसकेका हुन्छन । ऋण गरेर पेट पाल्नु वास्तवमा दलदलमा उभिनु जस्तै हो, जति निक्लने प्रयास गयो त्यति भासिँदै जाने ।
पिच बाटो भएकोले नेपालगञ्जबाट तुल्सीपुर, दाङसम्मको यात्रा खास कष्टप्रद थिएन । बसभरि मानिस, सामानको कोचाकोच, चुरोट बिँडीको धूँवा तथा पसिनाको गन्ध । म पत्रिका पल्टाएर पढे जस्तो गर्न थालेँ । तुल्सीपुरपछिको यात्रा भने कष्टप्रद हुनथाल्यो । तुल्सीपुरबाट कपुरकोटसम्मको कच्ची बाटो साँघुरो र सातो जाने खालको उकालो थियो ।
—पत्रिका नलिनुभए हुन्थ्यो दाइ......
कण्डक्टर पत्रिका देखेर डरायो ।
—किन ? यो समाचार पत्र न हो.....
मैले आश्चर्य प्रकट गरे ।
—दुख दिन सक्छन् । हामीलाई त के छ र, अप्ठेरो तपाईँलाई पर्ला ....... ....
सहरमा बिक्री हुने पत्रिकाहरू राप्ती अञ्चलका पहाडी जिल्लामा पुग्न नपाउने कुरा पढेको थिएँ कच्याक कुचुक पारेर पढिरहेको पत्रिकालाई खोल्सातिर फालेँ । म अनाश्यक खतरा मोल्ने पक्षमा थिइनँ ।
कपुरकोटमा यात्रु र सामानको कडा जाँच भयो । जाँच कतिपय अन्तर्राष्ट्रिय सीमाहरूमा भन्दा कडा भएको मैले महसुस गरेँ । जाँच चौकीमा झोला, बोरा र बाकसहरू खोलिँदै थिए ।
—के हुन्छ र यसरी जाँच्नुपर्ने ? मैले टिप्पणी गरेँ ।
—भारतमा तालिम पाउँछन्, यता आएर आतङ्क मच्चाउँछन्....... माओबादी यस्तै त हुन्छन्........
प्रहरीसँग बिबादमा अल्झिन म चाहन्नथेँ , उत्तर दिनु जरुरी ठानिनँ । पत्रपत्रिकामा जे पढ्थेँ त्यो भने झूठो रहेनछ, प्रत्यक्ष देखेँ ।

बसको अन्तिम बिसौनीमा ओर्लेर अढाइ घन्टाजति हिँडेपछि मेरो गाउँ आयो । म करिब बीस बर्षपछि गाउँ फर्कँदै थिएँ र मन एक तमासले प्रफुल्ल हुँदै थियो ।
गाउँको सिरानमा मैले प्राथमिक कक्षासम्म पढेको स्कुल थियो जुन आज पनि भौतिक रूपमा लगभग त्यस्तै हालतमा थियो । स्कुलनजिक केही चिया पसल थपिएका थिए भने नजिकै सुरक्षा बेस पनि बसेको थियो ।
—चिया पिऊँ है !
झोला र आफूलाई मैले बेञ्चमा बिसाएँ ।
स्कुलमा हामी अधिकांश समय खेलेरै बिताउथ्यौँ र धूलो माटोले रङ्िगएका र सिलाइ तथा टाँक टुटेका कपडा लिएर साँझ घरमा जान्थ्यौँ । एकदेखि पाँच कक्षासम्म पढाउने एकै जना गुरु थिए, नारायण उपाध्याय जो आधाभन्दा बढी समय बसेकै ठाउँमा निदाउने गर्थे । हामीलाई पढ्न अह्राएर उनी निदाउँथे र जब बिउँझन्थे निद्रा खल्बलिएको झोँकमा हल्ला गर्ने जतिलाई गोरु चुटेझैँ चुट्थे ।
—सर कहाँसम्म नि ?
चिया पसलेको उत्सुकता पोखियो । पहाडमा नयाँ मानिसको घर र जात सोधिनु सामान्य थियो भने मेरो लवाइ, झोला र चस्माले मलाई ‘सर’ बनाउनु पनि स्वभाविक नै थियो ।
—धुल्खर्क, ..... घरसम्म...... ......
—कस्को छोरा हजुर ?
ऊ आश्चर्यमा पर्‍यो । आफूलाई चिनाउन मैले बुवाको नाम लिएँ ।
—सुनेका त हो बाबु,...हजूरहरू यता नआउने र हामीहरू जान नसक्ने...कसरी चिन्नु र खै...!
उसको बोलीबाट आत्मीयता तप्किरहेको अनुभव मैले गरेँ ।
—के छ , ठिकै छ यतातिर ?
कुरा गर्न मात्र मैले कुरा झिकेँ ।
—के ठीक हुनु ? देखिहाल्नु भो, एकातिर यो फौज छ अर्कोतिर..., हामी त चेपुवामा छौँ ।
चिया पसलबाट म काकाको घरतिर लागेँ । काकाको घर गाउँको पुछारमा थियो, खोलाको किनारमा र पूरै गाउँ छिचोलेर मात्र त्यहाँ पुग्न सकिन्थ्यो । गाउँ दुईवटा डाँडामा विभक्त थियो—पूर्वतर्फको डाँडामा पानी चल्ने जातिका घर र पश्चिमतिरको डाँडामा पानी नचल्ने जातिका । दुई डाँडाको बीच एउटा खोल्सो थियो जहाँको घना फलाटको बन बीस बर्षमा लगभग सकिइसकेको थियो ।
गाउँमा खासै फरक केही थिएन । केही घर बनेका थिए भने केही घर भत्केका थिए र अलग अलग दुई डाँडामा छरिएर बसेका लगभग एकसय बीस पच्चीस घरहरू शोकमग्न मलामीजस्ता निशब्द झोक्राइरहेका थिए ।

म पुग्दा काका पेटीमा बसेर ‘ट्वार’...‘ट्वार’ तमाखु तान्दै थिए । म पुगेँ र ढोक दिएँ । काकाको घर मूल घर थियो र म जन्मेको घर पनि । परिवारका सबै जम्मा भए र सन्चो बिसन्चो सोध्ने तथा एक अर्कोलाई लुकाएर आँसु पोछ्ने काम हामीले सक्यौँ ।
—हामी र गाउँलाई सम्झेर त आइस बाबु, तर गाउँ भने बस्नै नसकिने छ ...
काकाको तमाखु तनाइ चलिरह्यो ।
—हिजो दार्माकोटमा दुईजना मरे भन्छन् पुलिसको गोलीले, यो महिना मात्र छ सात जना मरिसके यतै वरपर...दाइले थप्यो ।
—कलि हो बाबै कलि, मान्छे नसकिएसम्म यो महाभारत के रुक्थ्यो ?
काका उठे र पिसाव गर्न गए ।
—हजुरहरूलाई त दुख दिएका छैनन् अहिलेसम्म....?
मैले दाइलाइ सोधेँ ।
काकाहरू जातिले ठकुरी, आर्थिक रूपले बर्षभरि खान पुग्ने र संस्कारले सामन्त भएको तथा दाइ पञ्चायत कालमा प्रधानपञ्च भएकोले के गरे भन्ने थाह पाउने उत्सुकता ममा थियो ।
—बहुदलपछि राजनीतिमा कतै नलागेकाले अहिलेसम्म त केही गरेका छैनन्, तर त्यसै छोड्लान जस्तो भने छैन ।
दाइले लुकाएर राखेका चारपाच वटा पम्प्लेट देखायो, जसमा जनयुद्धको बयान र त्यसलाई सहयोग, समर्थन गर्न अपील थियो । पर्चाहरू अलग अलग सङ्गठनको नाममा थिए तर सार भने सबैको एउटै थियो ।
—हाम्रो गाउँका कति जना छन त्यतातिर ?
सयौँ बर्षदेखि मरे जसरी चुपचाप रहेको मेरो गाउँमा यो सब हुनु मेरा लागि कल्पनाभन्दा परको कुरो थियो र वास्तविकतालाई म अझै पचाउन सकिरहेको थिइनँ ।
—एघार बाह्र जना त जङ्गलनै पसे । अरू को–को लागेका छन् भन्न सकिन्न, तेरो साथी पद्मे भने नेता छ यो भेगको..........
मैले पद्मेलाई सम्झेँ । पाँच कक्षासम्मको ऊ मेरो अत्यन्त मिल्ने साथी थियो । बाबुआमाले पढाउन नसकेपछि स्कल छोडेर कालापहाड र गाउँ गर्ने गथ्र्यो र दश बर्षजति पहिले नेपालगञ्जमा मलाई भेटेको पनि थियो ।
अध्ँयारो राम्रोसँग नछिप्पिदै खाना खाएर ढोका थुन्ने काम भयो र लालटिनको काँपिहेको पहेँलो उज्यालोमा धेरै रातिसम्म हामीले घर ब्यवहारका कुरा उधिनिरह्यौँ । सुख—दुख, सञ्चो—बिसञ्चो र पुराना घटना—दुर्घटना कुराकानीका स्वाभाविक बिषय त थिए नै, तर कुरा जता पुर्‍याउन खोजे पनि बर्तमान अशान्ति र द्धन्दमा ठोकिन पुग्थेँ ।
—कलि लाग्यो ...यो ठाउँ अब बस्न लायक भएन
काका सबभन्दा पहिले सुत्न जानुभयो ।
—बस्न साँच्चै गाह्रो हो दाइ ?
मैले दाइलाई कोतरेँ ।
हाम्रो सन्तानका धेरैले बसाइँ सरे पनि दाइले गाउँ छोड्न मानेको थिएन र म उसको मनस्थिति मार्फत त्यो भेगको परिस्थिति नाप्न चाहन्थेँ ।
—चन्दा र अनाज दिँदा बिद्रोहलाई सघाएको हुने, पुलिसलाई बास दिँदा सुराकी भइने .......हामी त चेपुवामा छौँ...
दाइ चिन्तित थियो ।
—सुख नभए पनि भोकै, नाङ्गै जनता शान्तिले बाँचेका थिए, तर अब न सुख छ न शान्ति । दिनदिनै गोली, दिनदिनै बम र सधैँ अब के हुन्छ भन्ने त्राश, तँ नै भन् न बस्न सकिन्छ त शान्तिले ?
यो ठाउँप्रति मोहभङ्ग भएको कुरा उसले लुकाएन ।
ड्याम.......ड्याम.....ड्याम...... बन्दुक पड्केको आवाज आयो र पल्लो गाउँ बेरुखेतको सिरानमा झलमल्ल उज्यालो चम्केको हामीले देख्यौँ ।
—केटाहरूले फेरि जुलुस र फायरिङ्ग गरे............यस्तो भइरहन्छ........
त्यो सबप्रति बढी उत्सुकता उनीहरूले देखाएनन् ।
—नराम्रो के गरेका छन् त केटाहरूले ?
माओवादीलाई गर्ने दाइको सम्बोधन ‘केटाहरू’ मैले पनि पैँचो लिएँ ।
—नराम्रो भन्नै पर्ने त केही गरेका छैनन् अहिलेसम्म, तर...
दाइले फौज माओबादी द्वन्द्व र गाउँलेले पाउने सास्तीको फेहरिस्त दियो ।
रात धेरै छिप्पिएपछि मात्र हामीहरू सुत्यौँ ।

आएको थाहा पाएर अर्को दिनदेखि मानिसहरू मलाई भेट्न आउन थाले । गाउँ छोडेको बीस बर्ष बढी भए पनि आत्मीयतामा फरक आएको मैले महसुस गरिनँ । बीस बर्षपहिले छोडेको गाउँमा मलाई माया गर्ने यति भेरै थिए भने बीस बर्षदेखि बसिरहेको सहरमा मलाई साच्चिकै आत्मीय ठान्ने बीस जना पनि थिएनन् । गाउँ र सहरको यो फरक मैले अनुभव गरेँ ।
—गस्तीमा हिँडेको...पानी पाउन...
म पुगेको चौथो दिन बिहान ब्रस गरिरहेको बेला ...‘ढप’... ‘ढप’... बुट बजार्दै हतियारबन्द पच्चीस तीस जना प्रहरीहरू आँगनमा आइपुगे र पानी मागे । यो आगमन अपेक्षित त थिएन तर पानी नदिने कुरा हुन्नथ्यो ।
—तपार्इँ अस्ति आउनुभएको होइन ? जागिरे मानिस यता नअल्मलिनुभए राम्रो... वातावरण राम्रो छैन ।
म आएको जानकारी उनीहरूसँग रहेछ । स.ई. हो वा इन्स्पेक्टर, उनीहरूको नाइकेले सल्लाह वा धम्की के दिन खोजेको हो मैले छुटयाउन सकिनँ ।
—किन, आउन नपाइने छ र ?
उसको भनाइबाट आएको धम्कीको गन्ध मलाई मन परेन ।
—तपाईँलाई थाहै छ यो ठाउँको स्थिति,... हामीले सबैलाई वाच गर्नुपर्छ कर्मचारी होस् वा.......
उसले कुरा लुकाउन वा बढी प्रष्ट पार्न चाहेन । उनीहरू धेरै पर पुग्दासम्म पनि उनीहरको बुटको ‘ढप’ ‘ढप’ मैले सुनिरहेँ ।
साँझपख दाइ अलि बढी नै गम्भीर देखिन्थ्यो ।
—गाउँ छोड्नैपर्ने भयो अब.......
काँपिरहेको लालटिनको उज्यालोमा उसको अनुहार पनि काँपिरहेको प्रष्ट देखिन्थ्यो ।
—किन ?
कुनै नयाँ घटना दुर्घटनाको पूर्वानुमान मैले गरेँ ।
उसले खल्तीबाट एउटा कागज निकाल्यो । त्यो उसलाई नै सम्बोधन गरिएको हस्त लिखित पत्र थियो । मैले सरसर्ती पढेँ । चिठीमा जनयुद्धको शुरुदेखि न बिरोध न समर्थनको नीति अपनाएर बिरोध नगरेकोमा धन्यवाद दिइएको थियो र युद्ध निर्णायक मोडमा पुगेको अबस्थामा अब तटस्थता हुन नसक्ने भएकोले खुलेर सहयोग/समर्थन गर्न आह्वान पनि गरिएको थियो । जनताको पक्षमा खुलेर नलागे...
—अब ?
मैले उसलाई प्रश्नको सियोले घोचेँ ।
उसले कुनै उत्तर दिएन । छोड्छु भन्नु सजिलो थियो तर साच्चिकै गाउँ छोड्नु भने गाह्रो थियो र उसको ठाउँमा जो भए पनि निर्णय—अनिर्णयको सँघारमा उभिनै पर्थ्यो ।
—केटाकेटी सार्ने व्यवस्था गर्नुपर्‍यो, म पनि जान्छु नेपालगञ्ज तँसँग पर्सि..... यो गाउँ बस्न नसकिने भयो ........
मैले उतिर हेरेँ । लालटिनको पहेँलो उज्यालोमा काँपिरहेको उसको अनुहारमा विभिन्न भावहरू आइरहेका थिए, गइरहेका थिए ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :