नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


आन्तोन चेखभ
(रुस)

बिदाको गीत (नाटक)

पात्र :
भासिली स्भियत्लोभिडोफ : ६८ वर्षीय हास्य कलाकार
निकिता : सूत्रधार (अनुबोधक)

गाउँको कुनै नाटक घरको दृश्य । राति, नाटक सकिएपछिको समय हो । दायाँपट्टिबाट पुराना, रङ्ग नलगाएका ढोकाहरू हुँदै ड्र्सिङ–रुमतिर जाने बाटो देखिन्छ । बाँयाँपट्टि र पछाडिपट्टि, रङ्गमञ्चभरि झार–पात र फोहोर फालेको देखिन्छ । रङ्मञ्चको बीचमा उत्तानो पारेर राखेको एउट टुल देखिन्छ ।

भासिली : (हातमा मैनबत्ती लिएर, ड्रेसिङ्–रुमतिरबाट बाहिर आएर हाँस्दै) हेर्नुस्, यो बडो हास्यास्पद कुरा छ । यो वास्तवमा राम्रो जोक पनि हो । म त नाटक सकिएपछि ड्रेसिङ् रुममै निदाएँछु । सबैजना नाटकघरबाट आ–आफ्ना घर गइसक्दा पनि म त त्यहीँ घुरेर पो सुतिरहेको रहेछु ! मपनि कस्तो हुस्सु, मूर्ख थर्थरे बूढो । वास्तवमा मैले अलि पिएको पनि थिएँ । त्यसैले पनि होला, उभिएरै निदाएँको । म पनि कति बाठो, होइन त?

बूढा, तेरो लागि त्यही ठीक ! (कराएर बोलाउँछ) योगोर्का ! पेत्रुष्का ! तिमीहरू कहाँ मरेका छौ, हँ? पेत्रुष्का! पसार्रिरहेको होला मूर्दा, भुइँचालो आयो भने पनि उठ्तैन । (त्यो टुल सोझो राख्छ र त्यसैमा बस्छ । हातको मैन भैँमा राख्छ) खोई, कतै कसैको चालचुल सुनिँदैन । कुनै आवाज छैन । खाली थर्किएजस्तो, प्रतिध्वनिजस्तो सुनिन्छ । आज मैले येगोर्का र पेत्रुष्कालाई अलिअलि बक्सिस् दिएको थिएँ । मूर्दाहरूले मलाई सुइँकोसम्म नदिई कुलेलम् ठोकेछन् । गए होला घर, पिचासहरू, नाटकघरमा ताल्चा ठोकेर । (टाउको यताउति फर्काउँदै) मचाहिँ, मातेको छु । उफ ! आजको नाटक मेरै फाइदाका लागि राखिएको थियो, तर त्यसै खुसीमा मैले यस धोक्रोमा कति वियर र रक्सी धोक्र्याएँ, त्यो सम्झँदा पनि दिक्क लाग्छ । भगवान् ! मेरो जीउ त भत्भती पो पोल्दैछ त ! मुख पनि कति भारी, बीसओटा जिब्रा एउटै हाब्रोमा कोचिएजस्तो । कस्तो डरलाग्लो । वाहियात ! यो बूढो पापी फेरि मात्यो । उसलाई योसम्म थाह छैन कि ऊ केको खुसियाली मनाइरहेको छ ! उह, यो टाउको पनि फुट्छ कि क्या हो ! जीउ पनि थर्थरी पो काँप्दैछ त । मलाई त भकारीभित्रको चिसो र कालो कोठरीमा बन्द भएजस्तो लाग्छ । मलाई आफ्नै स्वास्थ्यको त्यती पर्वाह नभए पनि मैले बढ्दो उमेरको चाहिँ ख्याल राख्नैपर्छ । म बूढो मूर्ख जो हुँ ।

बुढेसकाल? मार गोली । मैले अझैपनि जवानै भएर स्वाङ् गर्न सक्छु, ध्वाँस लाउन सक्छु, छलछाम गर्न सक्छु । तर यो पनि सत्य हो, मेरो जिन्दगी अब बितिसक्यो । मैले आफूले बाँचेका अठसट्ठी वर्ष सम्झेर मेरा हत्केला चुम्नुपर्छ अब । ती अठसट्ठी वर्षहरू अब फेरि फर्कने छैनन् । मैले बोतल रित्याइसकेँ । अब त पीँधमा दुईचार थोपामात्र बाँकी छन् । थिग्रो मात्र । कुरा त्यै हो, भासिली बूढा ! (अगाडितिर हेर्छ) सम्झेर ल्यउँदा पनि उदेक लाग्छ । रङ्गमञ्चमा काम गरेको पनि पैँतालीस वर्ष पगिसकेछ । र यत्तिका वर्षमा, यस रङ्गमञ्चलाई मैले बत्ती निभेपछि रातको अँध्यारोमा हेरेको आज नै पहिलोपल्ट हो । पहिलोपल्ट । (अलिअलि उज्यालो भएतिर आउँछ) । कस्तो अँध्यारो ! केही पो देखिन्न त बा ! ऊ त्यो सूत्रधार उभिने ठाउँचाहिँ अलिअलि हो कि जस्तो देख्छु । उसको टेबल पनि ठम्याएँ । अरु त निस्पट । कालो । अनन्त सुरुङ्, श्मशानजस्तो । यहाँ त मृत्युको मात्र बास हुनसक्छ । स्स्स्स्स् कस्तो चिसो ! यो रित्तो मञ्चबाट त स्याँठ पो चल्छ त गाँठो, ढुङ्गाको सोतीबाट आएजस्तो । यो त भूतकै घरजस्तो भो लाग्छ त । चिसोले ढाड पनि तलदेखि माथि, माथिदेखि तल सिरिङ्ङै पारेर पो सेक्छ त ! (कराउँछ) योगोर्का ! पेत्रुष्का ! तिमीहरू कहाँ छौ, हँ? हैन केले मलाई यस्ता डरलाग्दा डरलाग्दा कुरा सोच्न लगाइरहेको छ हँ यहाँ? उही झोलले होला । मैले यो पिउने कामचाहिँ छोड्नुपर्छ अब । म त्यसै पनि बूढो मान्छे, धेरै बाँच्ने पनि होइन । यो अठसट्ठी वर्षको उमेर त यसो मठमन्दिर धाउने, तीर्थवर्त गर्ने समय हो । तर म? हे भगवान् ! म त कस्तो दूराचारी, बूढो जँड्याहा ! पागलको भेष लगाएर हल्लिरहेको छु । म कसैले यसो आँखा लगाएर हेर्न लायक पनि छुइनँ, सत्ते । मैले यी लुगा तुरन्तै फेर्नुपर्छ अब । अहो, कस्तो डरलाग्दो ठाउँ यो ! रातभरि यहीँ बसिरहेँ भने त म डरैले मर्छु । (ड्र्ेसिङ्–रुमतिर जान्छ । यसै बेला, सेतो, लामो ओभरकोटमा निकिता इभानिच ड्र्ेसिङ्–रुमबाट रङ्गमञ्चको दायाँ किनारमा आइपुग्छिन् । भासिलीले उनलाई देख्छ, डरले आत्तिएर चिच्याउँछ, र पछितिर हट्छ ।) होय, को हो? को हो त्यो? के खोजेको?(भैँमा खुट्टा बजार्छ) । को हो भनेको?

निकिता : म हुँ, सर ।
भासिली : म भेको को?
निकिता : (बिस्तारो उसको छेउ आउँदै) म हुँ, सर, म उद्बोधक निकिता । म नै हुँ, सर ।
भासिली : (लाचार भएर टुलमा बस्छ, लामो साँस फेर्छ र थर्थरी काँप्छ) हे भगवान् ! तिमी को हौ ? ए, तिमी निकिता नै हौ त? निकितुष्का? अनि तिमी यो बेला के गर्दैछौ यहाँ?
निकिता : म राति यहीँ ड्र्सिङ्–रुमका सुत्नेगर्छु । तर सर, कृपा गरेर अलेक्सी फोमिचलाई यो कुरा नभन्दिनू है ! मेरो बास बस्ने अरु कुनै ठाउँ छैन । साँच्चै भनेकी, अर्को कुनै ठाउँ छैन मैले ओत लाग्ने ।
भासिली : ए, तिमी नै रहिछौ, निकितुष्का । होइन त? एसो सोच त । अघि नाटक सकिएको तुरुन्तै पछि दर्शकले १६ पटक मेरो नाम पुकारे । मलाई लगाइदिन कति माला, र उपहार दिन केके कुरा लिएर आए । खुसीले सबै कति उन्मत्त थिए । तर अहले....यो बिचरो, मातेको बूढोलाई ब्यूँझाएर घर पुर्‍याइदिन मान्छेको एउटा छावासम्म पनि आएन । निकितुष्का, हेर म त बूढो मान्छे हुँ अठसट्ठी वर्षको बूढो । र, म अलि बिरामी पनि छु । मसँग एक्लै घर पुग्ने आँट छैन । (निकिताको गलामा ढल्किएर रुन्छ) तिमी मबाट टाढा नजाऊ, निकिता! म बूढो र असहाय छु ! र मलाई लाग्छ, मेरो अन्त्यको बेला आइसकेको छ । ओह, कस्तो भयावह । सम्झँदा पनि कति डरलाग्दो ।

निकिता : (प्रेमपूर्वक र सम्मानपूर्वक) आदरणीय गुरु, तपाईं यसबेला घर जानुपर्छ ।
भासिली : भो, म घर जान्नँ । मेरो घर छैन । छैन, कहीँ पनि छैन ।
निकिता : हैन गुरु, तपाईंले आफ्नै घर पनि बिर्सनुभयो कि क्या हो?
भासिली : बिर्सेको छैन, तर त्यो ठाउँमा म जान्नँ । त्यहाँ पनि म यहाँजस्तै एक्लो हुँ । मेरो भन्नु कोही पनि छैन । न स्वास्नी छ, न छोराछोरी छन् । म त, उजाड बगरमा बग्ने बतासजस्तो छु । म मरेँ भने पनि कसैले मेरो सम्झना गर्ने छैनन् । एक्लो हुनु भनेको कस्तो निस्सारपूर्ण अवस्था हो, निकिता ! कोही हौसला दिने पनि हुँदैन, मायाले सुम्सुम्याउने पनि हुँदैन र कहिलेकाहीँ अलिकति पिएको बेला मलाई प्रमपूर्वक ओछ्यानमा पुर्‍याउने पनि कोही हुँदैन । म कसको हुँ ? कसलाई छ मेरो आवश्यकता? कसले माया गर्छ मलाई? अहँ, कसैले पनि गर्दैन, निकितुष्का !
निकिता : (सुँक्सुकाउँदै) तपाईंका दर्शकले तपाईंलाई माया गर्छन्, गुरु ।
भासिली : मेरा दर्शकहरू गैसके । उनीहरू अहिले सुतिसके, र उनीहरूकै प्रिय हास्य–कलाकारलाई बिर्सिसके । भो, कसैलाई मेरो आवश्यकता छैन अब । मलाई कसैले पनि माया गर्दैन । मेरा स्वास्नी पनि छैनन्, छोराछोरी पनि छैनन् ।
निकिता : यस्तो दुःखी र निराश नहुनुस्, गुरु ।

भासिली : तरै पनि, म एउटा जिउँदो–जाग्दो मान्छे हुँ र म अझै जिउँदै छु । तातो र रातो रगत अझै पनि मेरा नशाहरूमा दौडिरहेको छ । त्यो रगत खानदानी रगत हो । म सम्भ्रान्त परिवारको मान्छे हुँ, निकितुष्का । मैले सेनामा पनि जागिर खाएँ । थलसेनामा थिएँ । तर पछि, रङ्मञ्चमा आएपछि उपेक्षाको यो हदसम्म गिर्न पुगेँछु । ओह, कस्तो लायकको युवा थिएँ ! सुन्दर, सबैको प्यारो, र सधैँ स्फुर्त ! त्यो सबै कहाँ गयो आज ? र आज आएर, बुढेसकालमा तिनीहरूको छायाँसम्म देख्दिनँ । सबै सबैलाई उमेरको यसै खाडलले खाइदियो । मलाई झल्झली सम्झना छ । मेरो पैँतालीस वर्षको रङ्गमञ्चीय जीवनले सबै खाइदियो । र अब जो बाँकी छ, त्यो पनि के जिन्दगी, निकितुष्का ! म मेरो विगतलाई स्पष्ट देखिरहेको छु, जसरी म तिम्रो अनुहार देखिरहेको छु । आह त्यो जवानी, त्यो विश्वास, त्यो जोश, ती महिलाहरूको माया, ती सुन्दरीहरू....निकितुष्का !
निकिता : गुरु, तपाईं यो बेला सुत्न जानु पर्ने हो ।
भासिली : जब म पहिलोपल्ट रङ्गमञ्चमा देखा परेँ, म जवानीले धपधप बल्दैगरेको जोशिलो युवा थिएँ । मलाई सम्झना छ, एउटी महिलाले मेरो अभिनय देखेरै मलाई मनपराउन थालेकी थिइन् । उनी सुन्दर थिइन्, कान्तिमती थिइन्, जवान, निर्दोष, पवित्र र गृष्मको प्रभातजस्ती चम्किली पनि । उनको मुस्कानले निष्पट कालो रातको अँध्यारो पनि भगाइदिन सक्थ्यो । म सम्झन्छु, म एकपल्ट उनको समुन्ने अहिले तिम्रोसामु उभिएजस्तै गरी उभिएको थिएँ । त्यो बेलाभन्दा सुन्दर तिनी कहिल्यै देखिएकी थिइन्न मेरो नजरमा । उनले मसँग आँखाले कुरा गरिन् । ओ, क्या हेराइ ! भो, म कहिल्यै बिर्सन सक्दिनँ त्यो दृष्टि, मरेर जाँदा पनि बिर्सन्नँ होला । कति सम्वेदनशील, कति कोमल, कति गहिरो । क्या जाजल्यवान, र क्या नवयौवना । बशीभूत र लट्ठ भएर म उनका सामु घुँडा मारेर थचक्कै बसेँछु । मैले उनीसँग मेरो जिन्दगीका खुसी भरिदिन भिक्षा मागेँ । उनले भनिन्, “तिमीले रङ्गमञ्च छोड्नुपर्छ ।” रङ्गमञ्च छोड्नुपर्ने । कुरा बुझेऊ? उनी एउटा कलाकारलाई प्रेम गर्नचाहिँ सक्ने, तर उसले अभिनय नछोड्दासम्म बिहे गर्नचाहिँ नसक्ने । त्यसदिन पनि म अभिनय नै गरिरहेको थिएँ । मलाई सम्झना छ, मेरो भूमिका एक मूर्ख, हास्यपात्रको नै थियो । अभिनय गरिरहँदा मलाई मेरा आँखा स्वतः खुलेको अनुभूति भयो । मलाई लाग्यो, मैले त्यस दिनसम्म पूजा गरेर ल्याएको र पवित्र ठानेको कलाकारिता फगर एक मिथ्या रहेछ, एउटा खोक्रो दिवास्वप्न पो रहेछ । म त एउटा नोकर रहेछु, मूर्ख रहेछु, अपरिचितहरूले उनीहरूको फुर्सदको आलस्यपूर्ण समयलाई मनोरञ्जनपूर्ण बनाउन प्रयोग गर्ने एक खेलौना पो रहेछु । मैले अन्ततः मेरा दर्शकहरूलाई पुनः बुझेँ, र त्यसै दिनदेखि उनीहरूको ताली, तिनीहरूका माला र तिनीहरूको जोशलाई विश्वास गर्न बन्द गरिदिएँ । हो निकितुष्का ! मान्छेहरूले खूब ताली दिए मलाई, मेरो फोटो किनेर लगे, तर म सबैका लागि फगत एक अपरिचित पात्रमात्रै रहेँ । उनीहरूले मलाई चिनेनन् । म उनीहरूका पैतालामुनिको धुलो मात्रै भएँ । उनीहरू मलाई भेट्न निकै उत्सुक रहे, तर आफ्नी छोरी वा बहिनी मलाई दिने हकमा मलाई एक अछुतभन्दा माथि कहिल्यै ठानेनन् । भो, तिनीहरूमाथि मलाई अब कुनै विश्वास छैन । कुनै पनि विश्वास छैन मलाई तिनीहरूमाथि ।
निकिता : ओह, गुरु । तपाईं कस्तो टिठलाग्दो देखिनुभएको ! तपाईंलाई देख्दा त मलाई असाध्यै डर लागिरहेको छ । घर जानुस् सर, प्लिज । ममाथि दया गरेर भए पनि जानुस् ।
भासिली : मैले दिनको उज्यालोमा भरपूर हेरेँ संसारलाई, र यही निचोड निकालेँ । निकितुष्का ! ती महिला....म त्यस दिनदेखि उत्भ्रान्त पथिकजस्तै भौँतारिन थालेँ । दिन दिन अन्धाधुन्ध तरिकाले बाँच्न थालेँ जिन्दगी । त्यसपछि त म, प्रहसन र निम्नस्तरको हास्यचरित्रमा मात्र देखिन थालेँ । यसले गर्दा मेरो दिमाग पुरै भत्किएर गयो । तर कुनै बेला थियो...म उच्चकोटीको कलाकार मानिन्थेँ । तर बिस्तारै बिस्तारै मैले मभित्रको कलालाई त्यसै तिलाञ्जली दिँदै लगेँ, र मूर्खहरूको भूमिका अपनाउन थालेँ । मेरो वास्तविक रुप पनि गुमाएँ, अभिव्यक्ति क्षमता गुमाएँ, र अन्त्यमा मान्छे भन्दा पनि ‘म्यारी एन्ड्रिउ’ जस्तो फगत एक हास्यपात्रमात्रै हुन पुगेँ । मलाई त्यस कालो खाडलले पूरै निलिदियो । आजभन्दा अगाडि मलाई यस कुराको यस्तो टट्कारो अनुभूति कहिल्यै भएको थिएन । तर आज...आज जब निद्राबाट म ब्यूँझिएँ, र मेरो बिगतलाई सम्झिँए, मेरो पछाडि अठसट्ठी वर्षको लामो कङ्काल उभिएको थियो, उमेरको । मलाई पहिलोपल्ट बूढो हुनुको पीडाबोध भयो । अब त सबै सकियो...सप्पै सकियो । (सुक्सुकाउँछ)
निकिता : फेरि, तपाईं पनि । सर, शान्त रहनुस् । भगवान् ! (बोलाउँछिन्) पेत्रुष्का ! येगोर्का !
भासिली : तर, त्यो बेला म कस्तो विलक्षण प्रतिभा थिएँ ! मसँग कस्तो शक्ति थियो, तिमी त्यसको कल्पनासम्म पनि गर्न सक्दिनौ । ओ, क्या वाककला थियो मेरो । म कति सुन्दर थिएँ, कति संवदेनशील पनि । मेरो छातीभित्र कति तारहरू झन्झनाउँथे (छाती पिट्छ) । ओ, सम्झँदा पनि निस्सासिएर आउँछ । सुन । पर्ख । मलाई अलि सजिलो गरी साँस फेर्न देऊ । अब सुन :

त्यस छुद्र इभानको छायाँ फर्कँदैछ यस बेला
मेरा ओठबाट विद्रोहको आगोलाई हावा दिँदैछ
म त मरिसकेँ, दिमित्री । तर त्यस आगोमा
बोरिस जल्नेछ, र मैले आँखा गाडेको
त्यसै राजगद्दीको छेउमा भष्म हुनेछ ।
भो, पुग्यो ! अबउपरान्त जारका सन्ततीहरू
ऊ त्यो, अभिमानी पोलिस रानीका सामु
लम्पसार गरेर निहुरिएका देखिने छैनन् ।

अलि मिलेन? (छिटोछिटो) पर्ख । किङ् लियरबाट एक टुक्रा सुन अब । हेर, आकाश कति कालो छ, छैन? पानी पर्न लागेको छ । गड्याङ्गुडुङ् गर्दैछ । हेर, कस्तरी चम्कँदैछ बिजुली । पूरै आकाश चिरिचएको छ । त्यसपछि...सुन ।

चल, बतास चल
चिरिदे आफ्नै गाला । चल, बगाइदे सबथोक !
बग, आँधी र तुफान र भिजाइदेऊ हाम्रा गजुर,
डुबाइदेऊ हाम्रा सबै पन्छीहरू ।
तिमी, उम्लँदा र विचारघाती ज्वालाहरू
तिमी बृक्षक्षेदक बज्रका दूत
मेरो सिरमा आगजनी गर !
अनि तिमी, ब्रह्माण्ड हल्लाउने गडगडाहट
विश्वको बाक्लो चक्रलाई ध्वस्त पारिदेऊ ।
प्रकृतिको सिर्जनालाई धराशायी पारिदेऊ
र मान्छेलाई कृतघ्न बनाउने सम्पूर्ण जैविक कोशिकाहरूलाई
निमिट्यान्न पारिदेऊ ।

(अधैर्य भएर) अब तिमी मूर्खका केही सम्वाद बोल । (टुलमा हिर्काउँदै) आऊ, मूर्खको भूमिका गर । छिटो गर, म धेरैबेर कुर्न सक्दिनँ । तिमीले त्यसो गरेपछि मलाई आफ्ना सम्वाद भन्न सजिलो हुन्छ ।

निकिता : (मूर्खको भूमिकामा उत्रँदै) ओ नंकल ! बाहिर बगेको वार्षत्को पानीभन्दा सुक्खा घरभित्रको दुई थोपा प्रशंसा राम्रो । हो, नंकल, छोरीको आशीर्वाद माग्नोस् । यस रातले न ज्ञानीलाई दया गर्छ, न मूर्खलाई ।

भासिली : हुँडल् हुँडल्, पाजी पेट ! थुक्, आगो ! ओकल् पानी !
पानी, बतास, बज्र आगो — कोही पनि मेरा छोरी होइनन् क्यारे !
हुन न म मेरो निर्दयताले तिमीलाई, तिम्रा अवयवलाई सताउने छैन
मैले राज्य दिएको पनि त होइन तिमीलाई, वा सन्तान मानेको पनि त होइन ।

आह, यी संवादहरूमा तिमीले टिप्नु पर्ने केही शक्ति छ, ज्ञान पनि छ । म निकै महान कलाकार जो हुँ । तर अहिले मेरो ध्याउन्न अर्के छ — मेरो गुमेको जवानी फिर्ता ल्याउनु छ । लौ, यो सुन । यो चाहिँ हेमलेटबाट । म सुरु गर्छु है त । हेरौँ , कत्तिको जम्छ । अँ, आयो आयो । सुन । (हेमलेटको अभिनय गर्दै) “रिकोर्डर हो? खै, म पनि हेरौँ न । खै, अलि यता आऊ त, मसँग । तिपाई किन हामीले गरेको कुराकानीभित्रको खासखुस सम्म पनि रिकोर्ड गर्न खोज्नुहुन्छ? मलाई भड्खालामा पार्न खोज्या हो?”
निकिता : प्रभू, मेरो जिम्मेवादी सारै कडा छ । त्यसैले मेरो प्रेम अलि अशिष्ट देखिएला ।
भासिली : खै, मेलै तपाईंको कुरा बुझिनँ । तपाईं यो बाँसुरी बजाउनुस् त?
निकिता : प्रभू, मलाई आउँदैन ।
भासिली : मेरो अनुरोध ।
निकिता : विश्वास गर्नुस्, मलाई आउँदैन ।
भासिली : मेरो हार्दिक अनुरोध छ तपाईंलाई ।
निकिता : मलाई त यसको केही पनि मेसो छैन, प्रभू ।
भासिली : यो झूठो बोल्नुजत्तिकै सजिलो छ । यी, यी छिद्रहरूमा औँला राख्नुस् र मुखले फू गरेर फुक्नुस् । त्यसपछि त यसबाट सुमधुर धून निस्कन्छ । हेर्नुस् त । यी हुन् प्वालहरू ।
निकिता : तर म यिनीहरूलाई मिलाएर परिचालन गर्न सक्दिनँ । मैले गर्दा त धूनै निस्कँदैन ।
भासिली : किन र? हेर्नुस् । मलाई कत्ति लज्जित पार्नुहुन्छ तपाईं? तपाईं मलाई बजाउन सक्नुहुन्छ । मेरा छिद्र कहाँ छन् थाह छ तपाईंलाई । मेरा रहस्यहरूको मुटु छाम्नुहुन्छ । मबाट मध्यमदेखि तार सप्तकका सबै सूर निकाल्नुहुन्छ, उत्कृष्ट सङ्गीत प्रवाह गर्नुहुन्छ । यो सानो यन्त्रमा निकै मीठो धून छ, उत्कृष्ट सङ्गीत छ । तपाईं यति पनि बजाउन सक्नुहुन्न? हैट, त्यो हुन सक्दैन । मलाई खेलाउनु तपार्इं यो यन्त्र बजाउनुभन्दा पनि सजिलो ठान्नुहुन्छ? मलाई जुन यन्त्रको नाम दिए पनि हुन्छ । तर, याद राख्नुहोस्, तपाई मलाईं तर्साउन सक्नुहुन्छ, तर खेलाउन सक्नुहुन्न । बुझ्नुभो? (हाँस्छ, ताली पडकाउँछ)

देख्यौ निकितुष्का? कहाँ छ यसमा बुढेसकालको छायाँ? हैट ! अहँ, म बूढो हुँदै हुइनँ । यो बूढ्यौलीको कुरा सब बकवास हो । मभित्र एक नयाँ शक्तिको सञ्चार भइरहेको छ गाँठे ! यो हो नि त जिन्दगी भनेको, स्फूर्ति भनेको, जवानी भनेको ! बूढेसकाल र प्रतिभा — यी दुई एकै ठाउँमा उभिन सक्दै सक्दैनन् । तिमी त लाटी जस्ती पो भयौ त, निकितुष्का ! एकै छिन पख ! भगवान्, अचम्म । सुन त । तिमीले यस्तो सुमधुर सङ्गीत पहिले कहिल्यै सुनेकी थियौ? (बाँसुरी फुक्दै)

स्स ! मधुर तरिकाले बजाउने !

जून अस्ताइसकेको थियो ।
उज्यालोको आभासम्म थिएन कतै
शिवाय केही ताराको मधुरो प्रकाश
जो माथि आकाशमा टिम्टिमाइरहेका थिए
र गुलाबी गुल्दस्तामा फुलेको ओलिएण्डरमा
उज्यालो चमक बर्साइरहेका थिए
यसको वरिपरि जूनकिरीहरू
उज्यालो बोकेर वरपर गरिरहेका थिए
वासनको उद्वेगपूर्व उछ्वास बोकेर ।

(ढोका खुलेको आवाज ।) हैन, के हो यो?

निकिता : पेत्रुष्का र योगोर्का आउँदैछन् क्यारे । साँच्चै, तपाईं विलक्षण मान्छे हो गुरु, असामान्य प्रतिभा ।
भासिली : (त्यो आवाजतिर फर्केर कराउँदै) केटा हो, आओ । मेरो नजिक आओ । (निकितालाई) आओ, हामी गएर नयाँ लुगा लगाऔँ । म बूढो हुँदै होइन । यो बुढ्यौलीको कुरो वाहियात हो । सब बकवास । (निस्फिक्री हाँस्छ) तिमी किन रुँदैछ्यौ निकिता? तिमी बिचरी बृद्ध हजुरआमा । के भयो तिमीलाई, हँ? हैट्, यसो गर्नु हुँदैन । हुँदैन है, हुँदैन । मलाई त्यसरी किन हेरेकी ? भो, त्यसरी नहेर । –निकिता भासिलीलाई अँगालो मार्छिन्) भो, नरोऊ तिमी । जहाँ कला र प्रतिभाजस्ता चीज हुन्छन्, त्यहाँ बुढेसकाल, एकाकीपन वा रोगले डेरा जमाउन सक्दैन । यहाँसम्म कि, मृत्युले सम्म पाइला पार्न सक्दैन...(यति भन्दाभन्दै आफैँ रुन्छ) होइन, तर त्यसो होइन निकुतुष्का ! अब त...अब त सबै सकियो । सबै । म कस्तो प्रतिभा हुँ? म त निचोरिएको कागती हुँ, फुटेको बोतल हुँ । अनि तिमी? तिमी रङ्गमञ्चकी बूढी मुसी...तिमी सूत्रधार । आऊ (दुवै मञ्चको एक किनारतिर जान्छन्) म कुनै प्रतिभा–स्रतिभा केही हुइनँ । म केवल फोर्टिनब्रसाको फौजमा हुन लायक मान्छे हुँ...तर, त्यसैका लागि पनि अब धेरै बूढो भैसकेँ ।

निकुतुष्का, तिमीले ओथेलो नाटकका यी हरफहरू सम्झेकी छ्यौ?

बिदा, बिदा, शान्त मन् । बिदा, सम्पूर्ण सन्तुष्टीहरू !
बिदा, युद्धोन्मत्त सैनिकहरू, बिदा ठूला समरहरू
जसले महोत्वाकांक्षालाई जिन्दगीको उद्देश्य बनाउँछन् ।
बिदा, हिन्हिनाइरहेका घोडाहरू ! बिदा चर्का बिगुलहरू
हौसला उमाल्ने ढोल–मादल, कानै छेड्ने मुरली
शाही पताका, युद्धका सम्पूर्ण तामझामहरू
महान युद्धको अभिमान, त्यसको तमाशा
र युद्धका सबै सबै वस्तुगत परिस्थितिहरू, बिदा !

निकिता : अहो, तपाईं साँच्चिकै विलक्षण प्रतिभा हो ।
भासिली : अब यो सुन :

जौँ, यहाँबाट टाढा जौँ हामी
जूनको छायाँमुनि, अब यो गौचरनमा अँध्यारो छाइसक्यो,
गतिमान बादलहरूले
साँझका सबै दुर्वल किरणहरू पनि पिइसके
जौँ, अब यहाँ जम्मा हुँदै गरेका बतासहरूले अँध्यारो बोलाउनेछन्
र मध्यरातको गहिराइले ढाक्नेछ, आकाशको स्निग्ध उज्यालो ।

(दुवै जना बाहिरिन्छन् । पर्दा खस्छ)

अनुवादः महेश पौड्याल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :