नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अरुणा वैद्य

दिनलाई पुर्‍याएर फर्कँदा

धर्तीभरि बचेखुचेको उज्यालो बटुलेर दिन
ककनीको डाँडापारिबाट फर्कँदो थियो
र हामी,
फर्कँदो दिनलाई पुर्‍याएर फर्कियौँ ।
दिन—
प्रकृतिको अवैतनिक तर
महा वफादार कर्मचारी,
बूढो हुन लागेको आफ्नो जवानीलाई
अझै थेग्न खोज्दै
अवकाश प्राप्त भएरै पनि
सन्तुष्ट सन्तुष्ट हुँदै
अझै रक्तिम तरुण हुँदै
ढल्किँदै ढल्किँदै ओझेलियो ।
दिनभरिमा भन्दा त्यतिखेर
निस्तेज सौन्दर्यमा ऊ अझ राम्रो थियो
थाकेको थियो सायद, सौम्य थियो,
उसमा राप थिएन, ताप थिएन
तर ऊसँग अझै
अब ज्यानै फाले पनि कसैलाई
पैँचो समेत नदिने
उज्यालोको अन्नपूर्ण कलश नै थियो
र हेर्दा हेर्दै ऊ
अरण्य पहाड हुँदो गयो ।
उसलाई पनि—
‘घर टाढो छ, साँझ पर्नुअघि नै आइपुगोस् बाबु’
भनेर आमाले भनेकी थिइन् कि !
निस्कन लाग्दा—
‘फर्किँदा ढिलो नगर्नुस् है, कर्फ्यूले समाउला !’
भनेर आमाले भनेकी थिएन् कि !
र उसले
‘जान्छु है !’ पनि भनेन
‘भोलि भेटुँला !’ भनेर वाचा पनि बाँधेन ।
हामी अवाक् अमुक मुग्ध
भएभरको उज्यालो बटुलेर जाने
उसलाई न समात्नै सक्यौँ
न उसलाई पछ्याउनै सक्यौँ
बरु, कता कता धीमा आवाजमा
उसले बोलेजस्तै लाग्यो—
‘ए मूर्ख मान्छेहो !
मेरो विदा किन गर्छौ ?
म डुबेको किन हेर्छौ ?
बिदा त मैले तिम्रो गरेँ
र मभन्दा तिमीहरू अझै सुन्दर छौ,
धेरै सुन्दर !
आफूलाई जतन गर !’






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु