नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


अविनाश श्रेष्ठ

भोलिको गीत

चिनाउनुअघि नै गुरूबाले बाह्रखरी
आमाले मलाई चिनाइसक्नुभएको थियो :
रूख
चरा
आकाश
नदी
मान्छे

जङ्गल ।

रुखको साथी थियो चरा
चराको अभिभावक थियो आकाश
आकाशको आत्मीय नदी
नदीको आफन्ती थियो मान्छे
मान्छेको सहयात्री थियो जङ्गल
र जङ्गलले सुस्केरा काढ्दा थालिन्थ्यो शिशिर
गीत गाउँदा जङ्गलले
जताततै ढकमक्क फक्रिन्थ्यो वसन्त ।

वसन्तसित थियो— फूलहरूको अक्षौहिणी सेना
पुतलीहरूका हजारौं- हजार बटालियन
सुगन्धका अदृश्य पल्टनहरू
अनि इन्द्रेनीका रङ्गीन सेवा-पदक
छातीमा भिरेर
हाँसिरहेको हुन्थ्यो— सुकिलो वातावरण ।
मेरो बाल्यकाल
कुनै दन्त्यकथाको देश जस्तै सुकसुकाउँदो थियो ।
-- --

आज म
उमेरको उनन्चालीसौं मैनबत्ती बालेर
उभिएको छु फोहोरोको थुप्रो जस्तो पृथिवीमा
र खोज्दै छु
ती देवदूत जस्ता
रूख
चरा
आकाश
नदी
मान्छे

जङ्गल
कहाँ गए ?

कहाँ गए ती परीकथाका नायक जस्ता रूखहरू ?
रूखहरूमा फूल जस्तै फक्रेका देखिने चराहरू ?
चराहरूका गहनाले झलमल्ल सिँगारिएकी चिरयौवना आकाश ?
आकाशलाई छातीमा राखेर हिँडिरहने सङ्लो नदी ?
नदीलाई पुजेर नअघाउने तत्त्वद्रष्टा मान्छे ?
मान्छेको हत्केलामा सभ्यता राखिदिने जङ्गल ?
खै कता गए ?
-- --

थाहा छ
भोली मलाई
नाति-नातिनाले सोध्नेछन्
पनाति-पनातिनाले सराप्नेछन्
खनाति-खनातिनाले राक्षस कोर्नेछन्

मैले जोगाउन सकिनँ
उनीहरूको हिस्साका रूख
उनीहरूको भागका चरा
उनीहरूको अंशको
प्वाल नपरेको नीलो कञ्चन आकाश

मैले जोगाउन सकिनँ
आउने पुस्ताका लागि
चितुवा जस्ता जाँगरिला-फुर्तिला नदी
दानवताका दाँत उम्रनुअघिको सहिष्णुगोत्रीय मान्छे
आशीर्वाद जस्तै सधैं सँगसँगै रहनुपनर्ने जङ्गल ।
-- --

मेरो खनातिकी आमाले
आफ्नो नाबालक छोरालाई
सबैभन्दा पहिले चिनाउनेछिन्
दु:खजस्तै फैलिएको मरूभूमि
र भन्नेछिन् :

"बाबा !
तिम्रा जिजु-पुर्खा अदूरदर्शी पिचास थिए
तिम्रा च्याप्जु-पुर्खा मात्तिएका दैत्य थिए
तिमी मानिस बन्ने कोशिश गर्नुपर्छ बाबा !
मानिस बन्ने कोशिश गर ....।"







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु