नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


बलराम अधिकारी

त्यो सधैँ मसँग छ

क्याम्पसगेटको दैलोमा उभिएको उसले मलाई रोक्यो— अरे यार, सधैँको यो रफ्तार किन ?
म क्याम्पसबाट बाहिरिँदै थिएँ । ऊ भित्र पस्नेमा थियो । तर पुरै भित्र नपसी दुई फक्लेटा भै खुलेको गेटको बीचमा उभिएको थियो । न भित्र, न बाहिर । झम्के साँझ— न दिन, न रात । नृसिंह अवतार कथाको परिदृश्य जस्तो । मैले भनेँ— कुनै रफ्तारमा हैन । यो त मेरो दैनिक गति हो ।
उसले मेरो गति शब्दलाई लियो र त्यसैमा अनुप्रास मिलायो— तिमी जीवनको गतिको कुरा गर्छौ, आफ्नो भने दुगर्ति ।
दुर्गति ?! के को ? उसको शब्द लिएर उसैलाई प्रश्न गरेँ ।
हेर न जिन्दगी । उसको आफ्नो जिन्दगी हेर्नका लागि मलाई अनुरोध गर्‍यो । तर हेर्दा त्यहाँ केही देखिनँ उसको दुर्गतिका कारण ।
ज्यानलाई ठीक छ नि ?
उसको जवाफ– छ ।
परिवार ठीक छन् नि ?
ठीक छन् । उसको जवाफ ।
मेरो प्रश्न — अनि बेठीक चैँ के छ ? जागिर?
उसको जवाफ— चलिराछ ।
अब ऊ आफ्नो अवस्था बेठीक हुनुको कारण खोज्न थाल्यो ।
बेहाल, बेठीक, खत्तम उसले हरेक भेटमा अधिक प्रयोग गर्ने शब्दहरु हुन् । यी शब्दहरू उसको थेगो भैसकेका छन् । मनोविश्लेषणले भन्छ— व्यक्तिले सोच्ने–रोज्ने–बोल्ने शब्दले उसको मनोदशा वोल्छ । यी शब्दहरुले म उसको मनोदशा बोलेको प्रस्ट सुन्छु ।
उसको वेलिविस्तार सुन्नतिर नलागी छिटोछिटो कोठा फर्किने सोच बनाएँ । उसको जीवन उही हेरोस् भन्नेमा म पुगेँ । दक्षिणतिर ओरालिएको धुलेबाटो ताकेँ । मलाई क्याम्पसबाट कोठासम्म हिड्नु थियो । हतार हैन तर हिड्ने बेला भने भैसकेको अघि नै हो । तिमीलाई त कुनै चिन्तै छैन ?!
अब साथी गफिन चाह्यो । ऊ मलाई पनि चिन्ताको भारि बोकाउने सोचमा देखियो । ऊ मेरो जीवन हेर्न तिर लाग्यो । उसको त्यो प्रश्न थियो या आश्चर्य । उसको ओठबाट फिस्सिएको हाँसो देख्दा भने ऊ मलाई उपहास गर्दोथियो भन्ने लाग्यो । मप्रतिको उसको जे जस्तो बुझाइ भए पनि त्यसलाई नकार्ने, पुष्टि गर्ने, अथ्र्याउने आवश्यक लागेन । म दक्षिण लागे । साँझको जूनलाई बायाँपार्दै साँधुरो गल्लीतिर मोडिएँ । गल्ली आडैमा धुम्धुम्ती ठडिएको भवन चढ्दै गरेको जून देख्दा गाउँको याद आयो । गाउँमा लागेको जूनको यादले जगजीत र चित्रा सिंहको गजल टाउकोभित्र मौन बज्यो –
हम तो हेँ परदेश मेँ, देशमे निकला होगा चाँद,
अपनी रातके छतपर कितना तनहा होगा चाँद ।

जति हिँडे पनि, जति हेरे पनि, जति चहारे पनि यो सहर, यहाँका गल्ली परदेश नै लाग्छ । मनोदेश उता गाउँमै छ । र पनि दुखी छैन मन यता । गाउँको जून सम्झेरै खुसी छु यो शहरमा । जून त जून नै हो— भित्र मनमा लुकेको भए पनि, बाहिर आकास टल्केको भए पनि ।
आकाश नै छेडुलाँझैँ गरी चुलिएका घरहरुले वायाँतिरको जून छेलिएको बेला उही अघिको साथिको याद आइरह्यो। मैले उसलाई म आफू दुखी नहुनको, दुखी नदेखिनुको रहस्य बताइन । आज मात्रै होइन अन्य भेटमा उसले भनेको सम्भिएँ । ऊ म दुखी देखिनुको प्रसंशक हो भन्छ । केही प्रचारक पनि मेरो स्वाभावको, आलोचक पनि । प्रायजसो भेटमा ऊ गम्भीर चिन्तकका रूपमा प्रस्तुतिन्छ । गमदार अनुहारले उसको भित्री जगतमा कुनै गम्भीर विषय चलिरहेको सङ्केत गर्छ । कविता रच्दो हो त ऊ नेपाली म्याथ्यू आर्नोल्ड बन्दो हो या कुनै टिएस इलियट । म यस चिन्तानन्द कविको चिन्तापूर्ण कविता निश्चिन्त भई पढ्दो हुँ । मौका मिले कतै पढाउँदो हुँ ।
प्रायः चिन्तामुद्रामा नै भेट्छु म उसलाई । यसलाई उसलाई आफ्नो पहिचान बनाउन खोजेजस्तो लाग्छ । संसारमा सबैजन सुखी, ऊ एकजन मात्र दुखी । संसारका सबैजनाको दुःख यही एकल जनले धारण गरेको छ झैँ लाग्छ ।
उसँगको भेटमा हुने गरेका चिन्तालाप र हास्यालाप केही सम्झँदै, केही कल्पँदै दक्षिण उक्लिरहेँ ।
ऊ भन्छ— बूढो भइयो ।
म भन्छु— पाको भइयो, अनुभवी भइयो ।
ऊ भन्छ— कपाल फुलि नै सक्यो ।
म भन्छु— फूलझैँ जीवन पनि फुलेकै राम्रो ।
ऊ भन्छ— अझै जागिर अस्थाइ छ ।
म भन्छु— जीवन नै अस्थाइ छ ।
ऊ भन्छ— जीवनमा केही उपलब्धि गर्न सकिएन ।
म भन्छु— जीवन नै उपलब्धि हो ।
ऊ भन्छ — अचेलका विद्यार्थी पढ्दै पढ्दैनन्।
म भन्छु— हाम्रा सर, मिसले पनि हामीलाई यस्तै भन्थे । भोली शिक्षक भएपछि यी विद्यार्थीहरुले आफ्ना
विद्यार्थीलाई पनि यहि भन्छन् ।
ऊ र मेराबीच हुने यस्ता चिन्तालाप र हास्यालाप केही यथार्थ हुन् भने केही मेरो आफ्नो कल्पनाका उपज ।
कोठामा पुगेपछि ऊ त्यस दिनको मेरो डायरी लेखनको विषय बन्यो । डायरीमा उसलाई लेख्ने निउँमा म आफैलाई लेख्न थालेँ ।
म यो चिन्तानन्द साथीलाई आफू दुखी नहुनुको कारण बताउँदिन । केवल टार्दै आएको छु । कहिले त प्रवचन दिने झोँकमा भनिदिन्छु — छोड यो अस्थाइ जीवनमा स्थाई खुसिको कुरा । तर म रहस्य खोल्दिनँ । मैले उसलाई भनेको छैन मसँग केही मेडिकेशन छ, मसँग केही मेडिटेशन छ । हुन त यसलाई मसँग विज्ञान छ, मसँग ध्यान छ भने पनि हुने हो । अङ्ग्रेजीमा मेडिकेशन र मेडिटेशन सँगै भन्दा निकै लय मिलेझैँ लाग्छ । अझ अर्को अचुक उपचार विधि पनि छ । यो पछिल्लो त मैले आजसम्म कसैलाई पनि भनेको छैन । डायरीमा लेख्ने बाहेक ।
मेरो खुसीको उपाय त्यति साहे असहज छैन । पहिलो उपाय बुद्धले सुझाएको हो भन्छन् । उनले पनि अरुबाट लिए हुनन् । म उनैसँग सहमत हुन्छु— दुख छ । हो छ । दुख भोग्छु, दुख देख्छु, दुख सुन्छु । विपनामा भोगे–देखे–सुनेका अधिकांश चिजमा दुख मिसीएको छ । काठामाडौँको हावामा धुलो–धुवाँ मिसिए झैँ । सपनामा पनि दुखै देख्छु । सपना आफैँ पनि त दुख हो शान्त निद्रा बिलोल्ने । दुखको कारण छ । मेरो दुखको कारण सोच्छु । दुख निवारणका उपाय छ । उपाय खोज्छु । दुखका बारेमा सोच्न छाडेर उपायको खोजी गर्छु ।
कहिलेकाहिँ बुद्धसँग विमति राख्छु । उनले भनेकोलाई उल्टाएर पनि हेर्छु — सुख छ । सुखी हुने उपाय छ । जे चाहिएको हो त्यसैको बारेमा सोच्नु, त्यसैलाई खोज्नु । खोजेको कुरा आनन्द हो, सुख हो भने दुखकाबारेमा किन सोच्नु, त्यतातिर किन लाग्नु ? वुद्ध विपर्यासको मेरो यो सोचले कहिले काम गर्छ, कहिले गर्दैन । बुद्ध चेत मैले उल्टाएर के उल्टिन्थ्यो ! तर यो लहडले पनि थोरबहुत काम चै गरेकै छ मेरो दैनिक जीवनमा ।
यो बुद्धचेत फ्रेन्च मनोविश्लेषणमा पनि उत्रेको पढ्छु । मनोविश्लेषक ज्याक लकाँले जीवनलाई डिस–इज (dis-ease) भनेछन् । लकाँसँग मेरो पुरै सहमती । अङ्ग्रेजीको डिस–इजलाई मनोविश्लेषणले दुइ अर्थमा खेलाएको छ । पहिलो, डिसइज अथवा अनइज । यसको अर्थ जीवन असहज छ भन्ने हुन्छ । शारिरिक असहजता, मानसिस असहजता, दिनको असहजता, रातको असहजता । यसको दोस्रो अर्थ डिजिज अर्थात् रोग भन्ने हो । यसले जीवन रोग हो भन्छ । जहाँ जीवन, त्यहाँ रोग । हरेक असहजता सूक्ष्म रोग । हरेक असजतामा, रोगमा केही केही मरणको अंश रहेको हुन्छ । यो असहजता र क्षणक्षणको मरण प्रकृयाको बोधमा नै यसको सहज उपाचार भेटिन्छ । यो असहजता छ दिनमा, रातमा । यस असहजतलाई स्वीकार गर्छु । स्वीकार गरेपछि हरेक असहजता सहज लाग्न थाल्छ । बानी परे पनि असहजता पनि सहज लाग्न थाल्छ ।
शरीरमा पीडा हुन्छ कहिले रोगले, कहिले थकानले । शारीरिक रोगले दिने पीडाका लागि मसँग मेडिकेसन छ । विज्ञानले दिएको छ । असाध्य बाहेक सामान्य रोगले दिने पीडाको उपचार गर्न सक्ने गरि म धनी छु । कुनै सरोकार नदेखाउने सरकारलाई १५ प्रतिशत ट्याक्स तिरेर म बाँचेको छु । त्यो पनि आनन्दले । आफ्नो शरिर प्रयोग गरेर सुख भोग्न सक्ने भएको छु । मानसिक पीडाको उपचारका लागि आध्यात्मले मलाई मेडिटेशन दिएको छ । म ध्यान प्रायः सेवन गर्छु । यसको न त कतै बिल तिर्नुपर्छ न त सरकारले पन्ध्र प्रतिशत ट्याक्स नै काट्छ ।
अब रह्यो, मेडिकेशन फेल भयो भने? मेडिटेशनले काम गरेन भने ? निको नै नहुने गरि शरिर पीडामा भयो भने ? शमन नै गर्न नसक्ने गरि पीडाले मन भेदन गर्‍यो भने ? त्यतिवेला म न त डाक्टरकोमा जाउँला, न त बुद्धकोमा । पीडा स्वीकार गर्नुबाहेक मसँग अब अर्को कुनै उपाय नरहला । त्यतिवेला म लकाँसँग सहमत रहुँला — मृत्यु असहज जीवनको सहज उपचार हो । मेरै शरिर भित्र छ यो । जुनकुनै वेला पनि यो सक्रिय हुनसक्छ । यसका लागि म आफू सक्रिय हुन नपर्ला । परे त्यहिवेला सोचौँला । यसका बारेमा धेरै सोच्नु पर्ने, योजना बनाउनु पर्ने पनि होइन । यो पृथ्वीको गर्वमा रहेको लाभा जस्तो आफै भित्र छ । मृत्युको कालो क्यानभासमा जीवनको धिपधिपे उज्यालोलाई प्रक्षेपण गरुँला । त्यो उज्यालो ननिभुन्जेल त्यसैमा रमाइरहुँला ।
जीवन सुखी हुनुका या कमसेकम दुखी नहुनुका केही त सहज उपायहरू छन् । तर मेरो साथि छ सधै डिसइज अर्थात् डिजिजमा रहने । न राम्ररी मेडिकेशन गर्छ । भन्छ— चलिराकै छ । न कहिल्यै मेडिटेसन नै । भन्छ— ध्यानका लागि समय नै कहाँ । घन्टौँ चिन्तीन सक्छ, गफिन सक्छ, तर पन्ध्र मिनेट ध्यानमा स्थिर बस्न समय छैन भन्छ । अर्को अन्तिम उपायका बारेमा त उसले कहिल्यै कल्पना समेत गरेको छ झै लाग्दैन । ऊ रुग्ण शरीरभित्रको रुग्ण मन लिएर अमर वाच्छु झैँ गर्छ । जीउने चिन्तामा पीडा बोकी कुद्छ । पीडा घटाउने हटाउने उपायहरु छन् झैँ नै गर्दैन । उसले सोचेझैँ लाग्छ — यो जीवनमा कमाउँछु, अर्को जीवन सुखले बाँच्छु ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :