नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


वासुदेव अधिकारी

हावा मिल

हामी त
दही नभई ठेकीमा
मदानी घुमाउँदैनौँ
घुमाए पनि घ्यू निकाल्न सक्तैनौँ
(पहिला बुढाहरुले चाहिँ समुद्र मथ्थे रे)
तिमी भने हावामा मदानी घुमाउँछौ
त्यत्तिकै पङ्खा चलाउँछौ
र त्यहीँबाट शक्ति निकाल्छौ
प्रिय डच !
उहिल्यैदेखि
कति जानेका तिमीले ?
कति बुझेका तिमीले प्रकृतिलाई ?
अक्कलको गहिरो सुरुङमा पसिरहन
कति सुरिएका तिमी ?

चुपचाप हिडिरहँदा कान तान्न आउने
सुधा मानिसको गालामा
चडकन लाउँदै हिँड्ने बिरसिलो हावालाई
कसरी कज्याउन सकेका
कसरी मथ्न सकेका
कसरी छुट्याउन सकेका गुदी र बोक्रामा तिमीले ?
शक्ति हावाको गुदी हो
पोष हावाको प्राण हो
कति मजाले छोडाएका हावालाई
केराउ कोसा छोडाए जस्तो गरी
गुदी र बोक्रामा
गुदी निकाले पछि त
हावा आफैँ ढुन्मुनाइहाल्छ
निस्तेज भइहाल्छ
कति जानेका तिमीले हावालाई कज्याउन ?

कि हामीलाई पनि सल्लाह दिन्छौ ?
भय र अनिश्चयको हुण्डरी मथ्न
हावा मिल जडान गर्न !

३ फेब्रुअरी २०१२, पेरिस







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु