नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


भुपेन

बूढो नोट

मेरा धेरै सपना अधुरै छन्, तर म बन्द बाकसभित्र थुनिएको छु !
बन्द बाकसभित्र निस्सासिनुको पीडा भोग्नुभएको छ ? म अहिले भोग्दैछु ।
तपाईं मसँग असहमत पनि हुनुहुनेछ कि– म बोल्न सक्छु ! तर म आज बोल्नेछु । तपाईंलाई म सत्य सुनाउने छु । एउटा लामो यात्रापछिको थकाइ म निस्सासिएर मेट्दैछु । म जीवनभर मान्छेको दास भएर बाँचें । आज यो बन्द बाकसभित्र भए पनि मेरो स्वतन्त्रता फुकेको छ । मसँगै मान्छेहरूले सर्वाधिक मन पराएको पुस्तक महाभारत बाकसमा लखतरान परेको छ । मैले सुनेअनुसार महाभारतमा भिष्म भन्ने एक पात्रको कथा छ । जो जिन्दगीभर आफ्ना प्रतिज्ञाको बन्दी भएर जीवनको उतरार्द्ध​मा मजस्तै निस्सासिएको मृत्यु पाउँछ । सबै कुरा गलत देख्दादेख्दै पनि गलतका पक्षमा उभिन बाध्य हुन्छ । मेरो जीवनलाई पनि त्यस्तै बाध्यताहरूले कुल्चेर यो निस्सासिदो परिवेशमा ल्याइपुर्‍याएका हुन् ।

त्यो मृत्यु यो बन्द बाकसभित्र छिर्न सकेको छैन । मभित्र कैयन् मान्छेका पसिनाको गन्ध अटाएको छ । यिनै थरिथरि पसिनाका छापले मलाई मेरो जीवनयात्राका पत्रहरूलाई केलाउन मद्दत पुर्‍याउँछ । यद्यपि मेरो जन्मदाताको हातको स्पर्श म अहिले स्पष्ट सम्झिन सक्दिनँ । म लावारिस ! जिन्दगीभर दास भएर बाँचें । प्रत्येक मान्छेको यौवनकालजस्तै मेरो यौवनले पनि कैयन् तिता–मीठा स्पर्शको अनुभूति संगालेको छ ।

मलाई अझैं पनि स्पष्ट याद छ त्यो क्षण ! जब मलाई बोकेर हिडेको त्यो युवकले बेश्याको कोठरीमा रात बिताएको थियो । र मेरै सहाराले उसले जीवनको परमसुख पाउन सकेको थियो । त्यस युवकले मलाई त्यो बेश्याकहाँ छोडेर गएको रातपछि त्यसैगरी त्यहाँ थरिथरि अनुहारका कैयन् युवा तथा वृद्धहरू रात बिताएर गए । त्यो बेश्या आफ्नो प्रत्येक अँध्यारो रात ती परपुरुषलाई सुम्पिन्थी । र हरेक बिहान ती पुरुषहरूसँग आफ्नो रातको मूल्य बटुल्थी । उनीहरू गएपछि मलाई छातीमा टाँसेर भक्कानो छुटाएर रुन्थी । सम्झेर ल्याउँदा उसको छातीको न्यानो रापले मेरो हृदयलाई अहिले पनि पगाल्न थाल्छ । म त्यो समय बेश्यासँगै आफूलाई पनि निक्कै कमजोर र निरिह भएको पाउँथें । उसका आँसु पुछिदिन मन लाग्थ्यो ।

तर म आँसु पुछ्न बनाइएको थिइनँ !
म कैयन् ठाउँ घुमेको छु । धेरे मान्छेहरूसँग यात्रा गरेको छु । महलमा साँघुरिएको उज्यालोदेखि झुपडीमा झाङ्गिएको रातको मिठास मैले भोगेको छु । मालिकको घरमा कामदार दुब्लाएको र पाल्तु कुकुर मोटाएको देखेको छु । मन्दिरको वरिपरी सयौं हात फिजाउने भिखारीहरूलाई धूलो चटाउँदै मन्दिरभित्रको मूर्तिसामु आफूलाई चढाइ मागेर लज्जित भएको अनुभूति संगालेको छु । मलाई धेरै समय मेरा मालिकहरूले जीवनजलभन्दा अत्तर र मदिरामा खर्चिएका छन् । हरेक हिउँद फाटेको लुगाले चिसो छल्दै छोराछोरीको भविष्यलाई न्यानो बनाउन कैयन् बाउआमाले मलाई खर्चेका छन्, पछि तिनै बाउआमालाई भविष्यमा आफ्नो महलभित्र भित्र छिर्न नदिन ढोकाको ताल्चा किन्नमा मलाई खर्चिने सन्तानको दास भएको अनुभव मैले भोगेको छु । दिनभरि साधुवादको पाठ पढाएर हरेक रात आफ्ना ब्रह्मचर्यले युवती चिथोर्ने धर्मगुरुहरूको नङ्ग्रा बनेको छु ।

बेश्यासँगको लामो सहयात्रापछि म एउटा चिकित्सककहाँ पुगें !
चिकित्सक दिनरात उसकहाँ आइपुग्ने बिरामीहरूको चेक जाँच गर्थ्यो । उस्तै अनुहारका बिरामी मान्छे आफ्नो पीडाको पहाड त्यो चिकित्सकको टेबुलमा बिसाउँथें । म सहजै चाल पाउँथें । नोट राखिएको पन्तुर फुकाउँदा उनीहरूको अनुहारले साँझको छाक टार्ने चिन्ता बोल्थ्यो । उनीहरूमध्ये धेरै अपुग पैसाले गर्दा त्यो डाक्टरलाई उपचारमा सहुलियतका लागि हार गुहार गर्थे । तर मेरो चिकित्सक मालिकको त्यो क्षणिक समय ती गरिब बिरामीको महिनाभन्दा निकै महङ्गो हुन्थ्यो । चिकित्सक औषधि लेखिएको पर्चा उनीहरूको हातमा थमाएर थप उपचारका लागि फेरि आउन आग्रह गर्थ्यो । तर तीमध्ये धेरै बिरामीहरू फर्किएर आएनन् । हरेक बिहान म तिनै आउँछु भनेर गएका बिरामीहरूको पर्खाइमा बस्थे । तर उनीहरू फर्किन्नथें । साँझ तिनै नोटका सहारामा डाक्टर महङ्गा–महङ्गा कण्डम र कामसूत्रका आसनले भरिएका सिडी लिएर श्रीमतीलाई खुसी तुल्याउँथ्यो । म सोच्थें– म कति कमजोर छु । विवश छु । कैयन् संवेदना र भावना ममा ठोकिएर दिन रात यसरी नै आत्महत्या गर्छन् । मलाई त्यो समय त्यो डाक्टरको गोजीबाट उफ्रिन मन लाग्थ्यो । उसको सफा गोजी च्यातेर ती मैलिएका गोजीहरू पुग्न मन लाग्थ्यो । मलाई ती मयल परेका पन्तुर सुन्दर लाग्थे । हारगुहार गर्न मन लाग्थ्यो– ‘म यो कठोर दासताबाट मुक्त हुन चाहन्छु ।’

तर मसँग आवाज थिएन ।
एक समय म विकट गाउँमा पुगें ।

मेरो मालिक गाउँको साहु महाजन थियो । उसकहाँ आइपुग्ने प्रायः मानिस परैबाट झुकेर आइरहेको म देख्थें । एकदिन साँझको समयमा मेलौ कछाड लगाएर एउटा किसान आफ्नी गर्भवती श्रीमतीसहित मेरो मालिककोमा आइपुग्यो । केही समयपछि उसले घरमा अन्नपात सकिएकोमा हारगुहार गर्दै मेरो मालिकसँग ऋण माग्यो । उसको त्यो मलीन र टिठलाग्दो अनुहार देख्दा निकै दयालाग्दो थियो । तर मेरो मालिकको कठोर मनलाई त्यो किसानको हारगुहारले पगाल्न सकेन ।

‘तिमीसँग बन्धकी राख्नका लागि के छ ?’ मालिकले सोध्यो ।
‘केही छैन मालिक । भएको जति तपाईंसँगै छ’ उसले भन्यो ।
‘अनि केही नभएर कसरी तिर्छस् त ऋण डाम्ना ?’
‘मालिक म परिश्रम गर्छु । अर्को साल जसरी नि तिर्छु ।’
मालिकको मन फेरिएन । उसले केही सोच्न थाल्यो । यद्यपि मालिक्नीले चलाख थिइ । उसले जुक्ति निकाली ।
‘ऊ तेरो श्रीमतीको पेटमा भएको बच्चा बन्धकी राखेर जा ।’

किसानले आफ्नी श्रीमतीको अनुहार केही समय हेर्‍यो । तर केही बोल्न सकेन । उसकी श्रीमतीले टाउको भुइँतिर झुकाइ र आफ्नो पेटलाई सुम्सुमाइ । र अन्ततः मालिकको इच्छा अनुसार किसानले पेटको बच्चा गिर्वी राख्न बाध्य भयो । कठोर दासताहरूको श्रृङ्खलाबाट दिक्क भएको म । मेरै कारण फेरि आज कसैको जिन्दगी यो संसारमा पाइला नटेक्दै दास बन्दै थियो । त्यो समय म आफैलाई धुजा–धुजा पार्न मन लाग्यो । आफ्नो सारा वंश विनास गर्न मन लाग्यो ।

तर मसँग हातखुट्टा थिएनन् !
समय कोल्टे फेर्दै गयो । म बूढो बन्दै गएँ । मान्छेका चिन्तन बदलिदै गए । बूढो मानिसझैं मेरो आकार पनि चाउरिन थाल्यो । विभिन्न मान्छेको हातको मयल अनि जिब्रोको थुकले मेरो सुन्दरताको महत्व बिलाउँदै जान थाल्यो । म कमजोर पनि बन्दै गएको थिएँ । मानिसको खोसाखोसले मेरो स्पात आकार बाङ्गिन थाल्यो । केही पत्र त च्यातिनै थाले । म लामो समय ठूलाबडाहरूको निस्सासिने महलमा बिताएँ । जहाँ म सधैं च्यापिएर बाँचें । मान्छेले मान्छेलाई च्यापेझैं । म आफै पनि मेरा आफन्तहरूबाट च्यापिएँ । करोडौंको गन्तीमा म एउटा च्यापिएँ ।

मेरा केही सुखका क्षण पनि छन् !
मैले निकै समय पछाडि पसिनाका गन्ध सुँघ्न पाएँ । जुन मेरा पूर्वमालिकहरूको शरीरबाट आउने अत्तरको गन्धभन्दा निकै फरक थियो । उसले मलाई निकै नै धैर्यताका साथ सुमसुम्याएको थियो । र मलाई कति नदुख्ने गरी धैर्यताले पट्याएर गोजीमा राखेको थियो । साँझ घरमा लगेर मेरा च्यातिएर छुट्टिन थालेका शरीरका पत्रहरूलाई पहिलोचोटी निकै ध्यान दिएर जोडेको थियो । र आफ्नी आमालाई बुझाएको थियो । मैले त्यस दिन पहिलोपटक कोही प्रिय भेटिएको महसुस गरें । यसअघिका प्रायः मेरा मालिक हतार र हतासको यात्रामा हुन्थे । उनीहरूले मलाई प्रेमले कहिल्यै सुम्सुम्याउन भ्याएनन् । उनीहरूलाई मेरो छुट्टिन थालेको शरीरको बचाउ गर्ने फुर्सद कहिल्यै भएन । म त्यस दिन असाध्यै खुसी भएको थिएँ । त्यो बिर्जबहादुरको पहिलो कमाइ थियो शायद । उसकी आमाले मलाई निकै प्रेमले पट्याएर सन्दुकमा राखेकी थिइन् । मैले धेरै पछि मिठो स्पर्श पाएको थिएँ । त्यही रात ओछ्यानमा खोक्दै पल्टिरहेका आफ्ना पतिको निधार सुम्सुम्याउँदै ती बूढी गुनगुनाइन्, ‘भोलि नै हस्पिटलमा पुगेर तिम्रो लागि खोकीको औषधि किन्छु ।’

मलाई त्यस्ता क्षण असाध्यै प्रिय लाग्थे । जब मेरो दासताले भए पनि कसैलाई सुखको अनुभूति दिलाउँथ्यो ।

जुन समय म लुटिएँ !
त्यो रात मेरो मालिक स्वास्नीले रतिरागमा सामेल हुने अनिच्छा देखाएपछि विरक्तिएर मदिरा किन्न भट्टी पसलतर्फ जाँदै थियो । बाटोमा हिडिरहँदा कसैले उसलाई पछाडिबाट हिर्कायो । मेरो प्रिय मालिक भुइँमा खस्न पुग्यो । मलाई त्यस युवकको अनुहार स्पष्ट याद आउँछ । जसले मेरो भूतपूर्व मालिकबाट लुटेर त्यस रात मलाई आफ्नो बनायो । त्यो रात म निक्कै तर्सिएको थिएँ । डरले मैले युवकको छातीमा टाँसिएर त्यो रात बिताएँ । र उसले एक निमेष पनि म माथिबाट आफ्नो हात हटाएन । रातभर मलाई सुमसुम्याइरह्यो । भोलिपल्ट त्यो युवक मलाई बोकेर हिड्यो । उही पुरानै बाटो जहाँ मेरो मालिक लुटिएको थियो । र मेरो मालिकको हातमा मलाई पुनः थमाएर आफ्नी छोरीलाई आफूसँगै लिएर गयो । मैलेपछि बुझें मेरो भूतपूर्व मालिक लुटिनुको कारण । अघिल्लो रातदेखि त्रसित मेरो मनलाई मैले त्यस दिन निकै शान्त भएको पाएँ । मलाई पुनः त्यो युवकको छातीमा टाँसिन मन थियो ।

तर मेरो मौनता कसैले सुनेन ।
पोहोर सालमात्रै हो घरमा बूढी आमा र भर्खरै सुत्केरी भएकी श्रीमतीलाई छाडेर मेरो प्रिय मालिक रामे दमाइ मलाई र आफ्नो परिवारको फोटोलाई खल्तीमा घुसाएर विदेश उडेको थियो । र विदेश पसेको साँझ उसले मलाई बाकसभित्र बन्द गर्‍यो । यद्यपि रामे दमाइ हरेक साँझ पर्सबाट परिवारको फोटो निकालेर छातीमा टाँस्ने गर्थ्यो । र दिनभरिको थकाईलाई ऐया र आत्था गर्दै हरेक रात घर फर्किने समयको गन्ती घटाउ गर्थ्यो ।

तर एक दिन रामे दमाइ ब्यूँझिएन । उसले बाकस उघारेन । कोही अर्कैले उघार्‍यो । ...पछि थाहा पाएँ ऊ कहिल्यै नब्यूँझिने गरी निदाएछ । रामे दमाइसँग उसका सपनाहरू पनि निदाएछन् । कहिल्यै नब्यूँझिने गरी । मलाई मेरो प्रिय मालिकलाई ब्यूँझाउन मन थियो । तर मसँग आवाज थिएन ।

यस्ता कैयन् अनुभव छन्, जो म यो थकित अवस्थामा अहिले सुनाउन भ्याउदिनँ । तर मसँग केही प्रश्न छन् ।

‘अब यात्रा सकिएको छ सायद । मलाई बोक्न कसैले कष्ट गर्ने छैन । मेरो जीवनको अर्थ कति भयो । अनि मेरो मूल्य केले निर्धारण गर्छ ? वस्तु या त्यसको उपयोगले । ती पुरुषहरूलाई रतिरागका लागि चाहिने कण्डम र त्यो बेश्याका लागि छाक टार्न चाहिने एक मुठ्ठी सागको मूल्य एकै थियो । तर मलाई धेरै कण्डम किन्नहरूले नै खर्चिए । मेरो उपयोग निकै सस्तोमा भयो । आफ्नो इनार भरिएर पोखिनै लाग्दा पनि मेरा भूतपूर्व मालिकहरू किन यति बिघ्न तिर्खाएका ? बिस्तरामा थन्किएको वृद्ध मानिसजस्तै म पनि थन्काइएको छु यो बन्द बाकसभित्र । यद्यपि म अझैं पनि बाहिर निस्कन चाहन्छु । म त्यो युवक, जसले मलाई धैर्यताका साथ सुमसुम्याएको थियो । उसको छातीमा पुनः टाँसिन चाहन्छु । उसका अधुरा सपना पूरा गर्न खर्चिन चाहन्छु आफूलाई । पुनः त्यो बेश्याको छातीमा टाँसिएर पग्लिन चाहन्छु । उसका ती रात किन त्यति सस्ता भएका होलान् ? रामे दमाइलाई उसको निन्द्राबाट ब्यूँझाउन चाहन्छु । सोच्दैछु, मेरो प्रस्थानपछि ती बूढाले खोकीको औषधि खाँदै होलान् ? मलाई फेरि पनि उस्तै गरी लुटिन मन छ । म बोल्न चाहन्छु ती मालिकहरूसँग । ती कठोर मालिकहरूसँग आफ्नो दासताको मूल्य मागेर आफूलाई खर्चिन चाहन्छु भोक, शोक र रोगहरूमा । मैले जीवनभर किन यति कठोर दासता भोगें ? मान्छेले जिन्दगीभर किन आफूलाई मेरो र मलाई आफ्नो दास बनाइरह्यो ? म मानिसलाई सुन्दर संसार देखाउने आँखालाई सुरक्षा दिने परेला थिएँ कि अन्धकारमा अल्झाउने कालोपट्टी ?’
म एक बूढो नोट ! जो जीवनको उतरार्द्धमा छु ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु