नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


चन्द्रमा पौड्याल

रुन्चे रोग

ऊ एउटा सानो जस्ताले छाएको टहरामा बस्छे । उसका कोठाभित्रका प्रायः सबै क्रियाकलापहरू मेरो कोठाको झ्यालको सिसाबाट छर्लङ्ग देखिन्छ । आज पनि बिहान उठ्नासाथ झ्यालको पर्दा उघारेँ । सानी नौ महिनाकी छोरीलाई खाटमा सुताएर अलि ठूलो छोरो लिएर ऊ कतै काम गर्न निस्किएकी हुनुपर्छ ।कोठामा त्यही सानी नानी मात्र मस्त निदाइरहेकी म देख्छु ।
अकस्मात एउटा नमीठो सम्झनाले मेरो मुटु नै चिमोटे जस्तो हुन्छ । पर्दा उघारुँ कि बन्द गरुँको दोसाँधमा म पर्छु । उकुस–मुकुसले विगत ६ महिनादेखि आजसम्मका कुराहरू सम्झन बाध्य हुन्छु ।
ऊ बस्ने टहरोलाई म एउटा सामान्य कोठाको रूपमा भन्दा पनि एउटा चरम रूपले श्रम शोषण हुने नमूना गृहको रूपमा लिन्छु । त्यो कोठामा बस्नेले घरबेटीलाई महिनैपिच्छे भाडा गनेर बुझाइरहनु पर्ने झन्झट छैन । तर दिनका हरेक पलपलमा आफ्नो श्रम घरका सबै मान्छेका सेवामा दान गर्नुपर्छ । कोठाको वास्ताविक बहाल भन्दा सयौँ गुणा बढी मूल्यको श्रमदान गरेर आजित भएपछि कतिले यो च्याम्बर छोडेर कुलेलम ठोकेका छन् भने कतिले यही सहादत प्राप्त पनि गरेका छन् । यसरी वीरगति प्राप्त गर्नेको शव उठाउने खर्च नभएर निःशुल्क शववाहनको व्यवस्था गर्नु परेको तीतो यथार्थ पनि मेरा अगाडि ठिङ्ग उभिएकै छ ।
आजभन्दा करीब ६ महिना अगाडि यो टहरो अकस्मात् खाली भयो । यसले घरबेटीलाई नराम्रो आघात पुर्‍यायो । आफ्नो घरको कामको लागि एउटा सिन्को पनि भाँच्न नसक्ने यो परिवारका व्यक्तिहरूको लागि यो भन्दा ठूलो विपत्ति अरु के नै हुन्थ्यो र । टहरो भरिएको बेला घरबेटीहरू बिहानदेखि राती १२ बजेसम्म भोज र पार्टीमै व्यस्त हुन्थे । घरको आँगन विभिन्न किसिमका सवारी साधनहरू कार, ट्याक्सी, मोटरसाइकल, स्कुटर आदिले भरिभराउ भएको हुन्थ्यो भने राष्ट्रकै ठूला तथा सम्माननीय पदाधिकारीहरू, नेता, पत्रकार तथा साहित्यकारहरूको जमघट हुने गथ्र्यो । घरका व्यक्तिहरू पनि सबै उच्चस्तरका सरकारी कार्यालयमा जागिरे छन् । कोही राजनीतिज्ञ भने कोही पत्रकार छन् । उनीहरू प्रायः वर्षको एक/दुई पटक युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता विश्वका आधुनिक र चरम विकसित राष्ट्रहरूको भ्रमणमा निस्कने गर्छन् । यी घरका महिला, पुरुष सबै समानताको दृष्टिकोणले सबै क्षेत्रमा समान रहेको आभाष हुन्छ । यति आधुनिक र सम्भ्रान्त परिवारको नजरमा मध्यम र निम्न मध्यम वर्गका मान्छे भुसुनो बराबर नै ठहरिन्छन् । त्यसैले उनीहरूसँगको हाम्रो सम्बन्ध कोठा भाडा बुझाउने र सामान्य हाईहेलोमा सीमित रहेको छ ।
एकदिन बिहानै बग्रेल्ती सामानहरूले टहरो खचाखच भरिएको देखेँ । असरल्ल सामानहरू मिलाउन भित्र–बाहिर गर्दै एउटी २५/२६ वर्षकी लरक्क परेकी महिला पिठ्यूँमा करिव ३ महिनाको बच्चा च्यापेर हस्याङ्फस्याङ् गर्दै गरेको देखेँ । आफैँ काम लगाएर खाने जस्तो जीउडाल र बान्की परेकी त्यो भर्खरकी सुत्केरीले यो घरको सारा बुहार्तन कसरी पार पाउन सक्ली भन्ने सोचेर धेरै पिरिएँ ।
सामानहरू मिलाएर अलि ठूलोचाहिँ छोरालाई स्कुल पुर्‍याउन ऊ त्यसरी नै अतासिंदै बाहिरिई । म पनि आफ्नो काम गर्न लागेँ । अलि सन्चो नभएकोले त्यसदिन अफिसबाट बिदा लिएकी थिएँ । दिउँसो नुहाएर घाम ताप्दै गर्दा ऊ पनि बच्चालाई तेल लगाउन म बसेकै नजिक आई । सोधखोज गर्दै जाने क्रममा थाहा भयो ऊ पनि मेरै गृहजिल्लाकी चेली रहिछ । उसको श्रीमान् नेपाल प्रहरी जवान रहेछ ।उसको साना दुईटा छोरा छोरी रहेछन् । यसो भन्दै उसले त्यो सानी बच्चीलाई घाममा सुताएर मजाले तेल लगाई दिई । मैले रमाइलो मानेर हेरिरहेँ ।
“के गर्नु मिस ! बुढोको तलव जोगाउनका लागि मैले पनि अलि–अलि सक्दो काम गर्नुपर्‍यो भनेर यस्तै आफूले जानेको घरको काम गर्ने गर्छु । फेरि फुच्चेको स्कुल फिस पनि तिर्नुपर्छ । पुलिसको तलव जाबो कति हुन्छ र । यो घरमा बस्दा भाडा तिर्नु पर्दैन त्यतै वचत हुन्छ, खाना पनि मलाई पुग्ने दिन्छन् रे, अरु दुईटा घरमा पनि भाडा माझ्ने लुगा धुने र घर पुछ्ने काम गर्छु । हजूरलाई नि काम गर्न गाह्रो छ भने मलाई ‘गर’ भने हुन्छ म गर्दिन्छु’ । नानीका ढाडमा तेल घस्दै ऊ बोलिरही ।
उसको हाउभाउ बिचार गर्दा मलाई ऊ एकदम स्पष्टवक्ता जस्तो लाग्यो । यसरी नै दिनप्रति दिन ऊ मसँग नजिकिँदै गई । दशैँ आउन लागेको समय थियो । त्यो जस्ताको छानो चिसिन थालिसकेको थियो । त्यसले अरुलाई भन्दा पनि त्यो सानी दूधे नानीलाई असर गर्न थालिसकेको थियो । नानी जतिबेलै रुन मात्र थाली । उसलाई घरधन्दाको चटारोले नानी समाएर दुध चुसाउने फुर्सद हुन छोड्यो । उसको त्यति राम्रो ज्यान दिनप्रति दिन सुकेर त्यान्द्रो जस्तै भयो । कलकलाउँदो अनुहारमा चाउरीका रेखा स्पष्ट देखिन थाले ।
उसले एक दिन मसँग दुखेसो पोख्दै भनी, “बेकार आएछु म यहाँ । छोराछोरी नि बिस्याहार भए । म पनि सुकेर यस्ती भएँ । सबैले खाइसकेपछि उब्रिएको चिसो तरकारी अलिकति राखेको हुन्छ । मरिमरि मीठो बनाएर मासु पकाइदिन्छु । त्यसको त बास्ना मात्र मेरो भागमा पर्छ । लोग्ने पनि मेरो त उस्तै छ । केही दुःख पोख्यो भने उल्टै कुटाइ खानुपर्छ । अर्की ल्याउँछु भनेर धम्क्याउँछ । तलव पनि सबै मासेर सक्छ ।तास खेल्छ । रक्सी खान्छ । उसले तलव जोगाउनु हो भने मैले यसरी दुःख गरिरहनु पर्ने थिएन । यी छोराछोरीलाई धेरै पढाउन सक्छु कि भनेर मैले यो दुःख बेसाएको नत्र त गाउँमै बस्दा मलाई आनन्द थियो ।”
उसको फतफत सुनेर नरमाइलो लाग्यो । खानेकुरामा त्यसरी विभेद गर्छन् भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । म उनीहरूलाई भौतिक सुख सुविधाले मात्र होइन विचारले पनि धेरै समृद्ध र सम्पन्न होलान् भन्ने ठान्थेँ । त्यस्तै उसको श्रीमान् नेपाल प्रहरीमा जागिरे, उसको हालत त्यस्तो, तामाका मुनाजस्ता छोराछोरीको बिजोग सम्झँदा मेरो मनभित्रबाट चस्केर आयो । उसको एकोहोरो गन्थन सुनिरहेँ । म केही बोलिनँ ।
मेरो कोठामा मीठो चोखो पकाएको बेला सधैँ उसलाई पनि एक भाग लगाउन थालेँ । दिउँसो घरमा बसेको दिन खजा पनि उसलाई बोलाएर दिने गरेँ । उसको छोराको बेलुकाको खाना प्रायः हामीसँगै हुन्थ्यो । ऊ सानी नानी च्यापेर कोठामा फर्कदा कम्तीमा १० बजिसकेको हुन्थ्यो । ऊ यसरी नै हामीसँग नजिकँदै गई । ऊ नानी सुताएर काममा जाँदा हामीलाई नानी हेर्दिनु भनेर जान्थी । नानी उठेर रुन लागेपछि उठाएर घामको न्यानोमा म राखिदिन्थेँ । असाध्यै जाडो बढेको थियो । त्यो जस्ताको छानोचिसिएर टहराको वातावरण पनि असाध्यै चिसो थियो । बच्चीलाई मेरै कोठामा ल्याएर हिटरमा सेकाउने काम पनि मैले गरेँ । दाउरा किनेर सबै जना भएर बाहिर आगो बालेर ताप्यौँ । त्यसले पनि उसलाई धेरै राहत मिल्यो ।
न्यानो हुने उपचार जति गरे पनि काठमाडौँको पुस, माघको ठण्डीले त्यो सानी नानीलाई गाँज्न छोडेन । ऊ एकोहोरो बिरामी भइरही । उसलाई कहिले रुघाखोकी ज्वरोले सताउथ्यो भने कहिले झाडापखाला जस्तो एकदमै नथामिने पातलो दिसा सलसली बग्थ्यो । एकपछि अर्को विरामीले बच्ची सुकेर त्यान्द्रोजस्तीभई भने ऊ पनि नानीका पीरलेझनै जीर्ण बन्दै गई । उसको लोग्नेको नाकमुख देख्न छोडियो । उसले फोन गरेर धेरै बोलाई आफू र बच्ची दुवै विरामी भएको कुरा पनि बताई तर ऊ आएन । ड्युटी दिनरातको छ, आउन मिल्दैन भनेर ऊ पन्छिइरह्यो ।
औषधि उपचार गर्ने खर्च नभएपछि उसको त्यस्तो हालत हेरिरहनुभन्दा उपचार खर्च उसका हातमा हामीले नै राखिदियौँ । ऊ रुँदै भन्दै थिई, “धेरै गुन लगाउनु भयो । पछि लोग्नेले तलव ल्याएपछि म तिर्छु । मेरो भाग्य रहेछ भने मेरी छोरी बाँच्छे, नभए मर्छे जे भए पनि एकचोटी डक्टरकोमा चाहिँ लैजान्छु ।” त्यसै दिन उसको लोग्नेको फोन नम्बर मागेर हामीले नै फोन गरेर उसलई घरमा बोलायौँ । लोग्ने आएपछि नानीको उपचार भयो । विस्तारै ठीक हुँदै गयो । ऊ पनि सामान्य अवस्थामा आई । बिस्तारै चिसो पनि घट्दै गयो । तर उसको काम गराइमा जोतिनुपर्ने अवस्थामा सहजपन कहिल्यै आएन । चित्त नबुझेको कुरामा कुनै बेला फुर्सद भयो भने मसँगै दुखेसो पोख्न आउँथी । उसलाई मन हल्का हुन्छ भन्ने बिचारले म पनि उसका गुनासाहरू सुनिदिन्थेँ ।
उसकी नानी नौ महिना लागिसकेकी थिई । उपचार पाएपछि उसको तौल पनि राम्ररी बढेको थियो । म त उसलाई उचाल्न नसक्ने भएकी थिएँ । किनभने म पनि आठ महिनाकी गर्भवती थिएँ । सुरु सुरुका दिनमा मैले उसकी नानी बोकेर डुलाएर उसलाई काम गर्न सहज बनाउँथे । तर आजभोलि आफ्नै शरीरको अप्ठ्यारोपनले गर्दा मैले उसकी नानी बोक्न, खेलाउन छोडेको एकडेढ महिना नै भइसकेको थियो । चार–पाँच दिन अघिदेखि नै मैले उसलाई राम्ररी भेटेकी थिइनँ । कामको चटारोले होला ऊ पनि मेरो कोठामा आएकी थिइन । म पनि सन्चो नभएर कोठाबाट बाहिर निस्किएकी थिइनँ । हिजो दिउँसो ऊ नानी लिएर मेरो कोठामा आई । एकछिन नानी भुल्याइदिनु न मिस ! म घरबेटीका लुगा धुइदिन्छु । २/३ घन्टा लाग्छ होला भन्दै थिई । मैले आफूलाई बिसन्चो भएको, खाना केही नखाएको कुरा गर्दै नानी उचालेर बोक्न सक्दिनँ भनेँ । उसले पनि आफ्नी नानी बिरामी भएको र बिहान फुक्ने मान्छे बोलाएर फुकेपछि अलि ठीक भएको कुरा गरी ।
नानी पिठ्यूमा बाँधेर भए पनि कपडा धुनु पर्‍यो । के गर्नु हजूरलाई नि सन्चो रहेनछ भन्दै ऊ बाहिरिई । म केहीबेर आराम गरेर कोठा बाहिर निस्किएँ । मधुरो घाम लागिरहेको थियो । एकछिन घाम ताप्दै म बाहिरै बसेँ । घरबेटीबुबा आफ्नो मोटर पुछिरहेका थिए । उनले मलाई आराम भए नभएको जानकारी मागेर यस्तो बेलामा आफ्नो ख्याल गर्नुपर्छ भन्ने कुरा गरे ।
“अमेरिकामा बस्ने पाहुनाहरू आउनु भएको छ । आफू अमेरिका जाँदा बस्ने ठाउँ पनि उहाँहरूकैमा हो । त्यसैले नेपाल आएको बेला त आफूले सकेको स्वागत सत्कार त गर्नै पर्‍यो नि ! त्यही भएर आज खाना खाने गरी आउनु भएको । अब दुईटा मोटर लिएर घुमाउन लानुछ” भन्ने कुरा घरबेटी बा’ले मसँग भनी सक्न नपाउँदै एउटा ठूलो सम्भ्रान्त जस्तो देखिने जत्था घरको माथिल्लो तलाबाट हामी बसेको आँगनमा आइपुग्यो ।
त्यो हुलमा मैले घरबेटी आमा र उहाँका दुई जना छोरी बुहारीलाई मात्र चिनेँ । अरु अपरिचित नै थिए । औषधि खानुपर्ने भएकोले म कोठाभित्र पस्न लागेकी थिएँ । घरबेटी आमा परबाट बोल्दै थिइन् “ए ! तपाईलाई एउटा कुरा भनौँ भन्या थियो ।”
म ढोकै छेउ टक्क अडिएँ, “के कुरा भन्नोस् न !” उनी म तिर फटाफट आइन् । उनको अनुहार खुसी भएको हो कि रिसाएको हो । अरु बेला पनि मलाई छुट्याउन गाह्रो पथ्र्यो । हिजो पनि त्यस्तै भयो । आधा हाँसो र आधा रिस सहितको मुहार मेरो नजिकै आइपुग्यो । नजिकै आएर उनले भनिन्– “तपाईको पेटमा भएको बच्चा छोरा हो ?” त्यो हाम्रो घरमा काम गर्नेकी नानी अबदेखि तपाईले नहेर्दिनु, नबोलाइदिनु है ! त्यो बच्चीलाई तपाईको ‘रुन्चे’ लागेको हुनुपर्छ । विचरी त्यसले दिनैपिच्छे धामी बोलाउनुपर्दा असाध्यै दुःख पाई । त्यो नानी पनि रोएको रोएकै गर्छे । ल ! आजैदेखि त्यसलाई नछुइदिनु होला । त्यो बच्ची रोएकोले हामीलाई पनि असाध्यै “डिस्टर्व” भएको छ क्या !”
उनको त्यो भुटेको हाँडीमा मकै पड्किएजस्तो आवाजले म स्तब्ध भएँ । पनि भएभरको साहस बटुलेर भनेँ– “म्याडम, छोरा हो कि छोरी हो? हामीले हेरेका छैनौँ, कसरी त्यस्तो हुन्छ र ?”
“पक्कै छोरा नै हुनुपर्छ ।” उनले चोर औँलो ठड्याउँदै भनिन्–“नत्र त्यो फुच्ची किन त्यसरी रुन्छे त ? उसलाई भन्न अप्ठ्यारो हुन्छ भनेर मैले नै भनिदिएकी हुँ । अबदेखि त्यो नानीलाई नछुइदिनु नि !” ‘हुन्छ’ को सङ्केत सूचक टाउको हल्लाएर म कोठाभित्र छिरेँ । भाउन्न भएर ढल्छु कि जस्तो लाग्यो । मेरो गर्भमा रहेको शिशुलाई केही नहोस् भन्दै भगवान्सँग प्रार्थना गरेँ ।
त्यही हिजोको कुराले रातभर राम्ररी निद्रा परेन ।
यस्तै कुरा सोचेर झ्याल बाहिरतिर टोल्हाउँदै गर्दा त्यो बच्ची पनि बिउँझिएर रुन लागी । सधैँ जस्तो हो भने म उसलाई लिन कोठाबाहिर पुगिसक्थेँ । तर आज उसलाई झ्यालको सिसाबाट हेर्न पनि मलाई राम्ररी आँट आएको छैन । कसैले देखिरहेको पो छ कि जस्तो एक खालको अज्ञात डर मेरो मनमा लागिरहेको छ । बच्ची सायद मेरै प्रतिक्षा गर्दै रोइरहेकी होली । ऊ झन्–झन् चर्को आवाज निकालेर रुँदै थिई । उसलाई सुताएको खाट अग्लो थियो । त्यो चकचके नानी बामेसर्दै मैले हेर्दा हेर्दै खाटबाट डङ्ग्रङ्ग्रै लडी । टाउको नराम्ररी भुइँमा ठोकियो । ऊ चिच्याइ–चिच्याइ रोइरहेकी छ । टाउको नराम्ररी ठोकिएको छ । तर म किंकर्तव्यविमूढ भएर झ्यालबाट हेरिरहेकी छु । बच्चीले पनि सायद मलाई सम्झिरहेकी छ होला । तर म भने हिजोको चोर औँला ठड्याएर दिएको कडा चेतावनी सम्झेर दोधारमा उभिइरहेकी छु । मन पग्लेर नानीका आँसुसँगै तपतप चुहिरहेको छ । म के गरौँ ? बच्चीलाई उठाउन जाउँ कि नजाऊँ ?






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु