नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


गोमा देवी शर्मा

जालो

(लेखिका मणिपुर विश्वविद्यालय भारतबाट स्नातक र स्नातकोत्तर तह दुबैमा स्वर्णपदक प्राप्त गरेपश्चात अहिले भारतीय नेपाली साहित्यको इतिहासमा विद्यावारिधि गर्नुभएको छ । उहाँको यो कथा सन् २००६मा सिक्किमबाट प्रकाशित “विचार” मासिक पत्रिकामा प्रकाशित भएको थियो । कथाको विरोधमा मणिपुरको कट्टर ब्राह्मणवादले उहाँविरुद्ध सामाजिक कारवाही गर्ने चेष्टाले उहाँका घरमा हुने कुनै पनि यज्ञ वा कार्जेमा यजमानी नगर्ने र मे २००७ मा भएको उहाँको विवाहलाई बहिष्कार गर्ने उर्दी जारी गरेको थियो । तर यस उर्दीका बावजूद त्यस विवाहमा मणिपुरको कुनै पनि विवाहमा नदेखिने दुर्लभ प्रकारको जन–उपस्थिति देखिएको थियो । पूरातनवादी ब्राह्मणवादको दलदलमा किच्चिएको मणिपुरेली नेपाली समाजले अन्ततः लेखिकको क्रान्तिकारी कदमको समर्थन गरेको पाइयो । यस अर्थमा यस ऐतिहासिक कथालाई अझ बढी पत्रपत्रिकमा प्रकाशित गरिनु पर्ने आवश्यकता हामीले महसूस गरेका छौं । भारतको अनेपाली वातावरणमा लेखिएको हुनाले कथामा केही अनेपाली शब्दहरू परेका हुन सक्छन्, तिनीहरूलाई मैलिकताका लागि यथावत राखिएको छ – सम्पादक)

धनमायाले बल्ल–तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार–चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक स्वर्गको आनन्द दिने क्रममा आँखाअघिका चार–चारवटा आत्माको जीवन डढेको थाहै भएन ।
मनबहादुर — धनमायाको लोग्ने — सोझो, मिहिनेत, मजदूरी गरेरै भए पनि आफ्नो परिवार पाल्दै थियो । चार छोराछोरी र घर जहान । पैसा नकमाए पनि खान लाउन कमी थिएन । परिवारको गाढी सम्यमित रुपमा चल्दैथियो तर दैबको लीला कसले बुझ्ने ! सेना र उग्रवादीहरूको हानाहान पर्दा बीचमा परेछ बिचरो, चुराचाँदपुरको घनघोर जङ्गलमा । दुइवटा गोलीले जङ्गलमा घास काट्दै गरेको मनबहादुरलाई आफ्नो निशाना बनाएछन । अरुपनि परे दुर्घटनामा, तर त्यस विपत्तिमा कसले कसको गणना गर्ने ?
धनमायामाथि बज्रपात पर्‍यो । अरू घाइतेहरूकासाथ मनबहादुरलाई पनि अस्पताल पुर्‍याइयो । माइतीले दिएको एक तोलाभरको माडवारी बन्दक राखेर उसले आफ्नो लोग्नेको अपरेशनका निम्ति पैसा जोड्ने अठोट गरी । ऊ एकाबिहानै आफ्नो दुखेसो महानन्द पण्डितजीकहाँ पोख्न पुगी ।
पण्डितजीले माडवारी हातमा लिएर तौलेझैं गर्दै भने – “दुइ पटक ढाल परेको सुन, त्यति राम्रो छैन, तर धर्म–अइनले परेका घरी गरीबको मदत गर्नु भन्छ ..... अहिले भाउ पनि त्यति छैन ....”
धनमायाले गुरुजीका वचन बीचैमा काट्दै भनी — “आठहजार छ अरे, दया गरेर मलाई त्यही हिसाब दिनुहोस् ।”
“तिम्रा कुरा त ठीकै हुन् तर, माल ‘सेकेण्ड हेण्ड’ परेको हुँदा चार हजार लैजाऊ ।” धनमायाको उत्तरको प्रतीक्षै नगरी गुरुजीले खल्तीबाट झिकेर पाँच–पाँच सयका नोट चार हजार गनी दिए ।
उसको विवाद गर्ने समय थिएन, त्यही पनि दैबले जुराएको सम्झी, रुमालमा पोको पारेर अस्पतालतिर लागी । यता पण्डितजीले आज विहान–विहानै लक्ष्मीमाता खुशी भएको कुरा आफ्नी सहधर्मिणीलाई सुनाए ।
मनबहादुरको अपरेशन भयो । छातीको गोली निकालियो । दुइवटा अपरेशन एकैचोटी हुँदा ज्यानको खतरा हुने डरले डाक्टरहरूले पेटको अपरेशन तीन दिन पछाडि गर्ने सल्लाह दिए ।
धनमाया सोझी भए पनि हिम्मतीली । उसको अर्को अपरेशनका निम्ति आफ्नो माइतीले दिएको नौगेडी बन्दक राखी पैसाको बन्दोबस्त गर्ने निर्णय गरी । भोलिपल्ट महानन्द गुरुजीले डेढतोलाको नौगेडी पाँचहजारमा राखिदिएर ऊमाथि ठूलो उपकार गर्नुभयो ।
अपरेशन भयो, सफलताको कुरा डाक्टरहरूले जनाए । दुई दिन, तीन दिन गर्दै दस दिन बिते, मनबहादुरको होश फर्केन । सहरको बसाई, चर्को महँगाई । औषधि, धर्मशालाको खान–पीनको प्रबन्ध, डाक्टरी आदेश – “एक्सरे करना है, इ.सी.जी. करना है, सीटी स्क्यान ......” अन्य कति हो कति, मानौ प्रत्येक पल प्रत्येक बोली पैसा मै निवास गर्छ ।
दुई महिना बिते, तर मनेको होश फर्केन । हल गोरु गए, खेती गयो । धनमायाले हिम्मत हारिन । ऊ गर्दा हुनेसम्म गर्दै गई, तर डाक्टरहरू पनि बिकाउ हुँदारहेछन् । जेब भरिदिए रोगीको इलाज राम्रोसँग हुने, नत्र केही भन्नै नसकिने । त्यसैले होला डाक्टरहरू अब मनबहादुरतर्फ कम ध्यान दिन लागे । सोधे – “ठीक हो जाएगा, इन्तजार करो” भन्छन् । अन्त्यमा उनीहरूले भगवानको भरोसा दिलाउँदै घर लैजाने सल्लाह दिई मनबहादुर नामको रोगीबाट छुटकारा लिए ।
मृत्युको प्रतीक्षामा परेको आफ्नो लोग्नेको स्थिति देख्दा आज धनमाया पहिलो चोटी हिक्का छाडेर रोई । घरमा रोगी हेर्न आउने–जानेहरूको ताँती । “कठैबरी बिचरा”, “सोझो थियो”, “दैबको खेल”, आदि शब्दहरू सुनिन्छन् । भीडमा कसैले मृत्युञ्जय जाप गर्नुपर्छ, भन्ने जनायो । धनमायाले फर्केर हेरी, पण्डित लक्ष्मीनारायण उभिनुभएको थियो । प्रश्नवाचक दृष्टिले उसले पण्डितजीतर्फ हेरीरही ।
“मृत्युञ्जय जाप अति शक्तिशाली हुन्छ । त्यसले कालका मुखमा परेकालाई जीवन दान दिन्छ” । धनमायाले मानौ अँध्यारोमा ज्योति पाई । आँसु पुछ्दै भनी — “त्यसको विधि के हो गुरुजी ?”
“एक लाख जाप गर्नुपर्छ । एकजना पुरोहितले भ्याउँदैन । पाँचजना चाहिन्छन् । त्यसको चिन्ता तिमीले नलेऊ । परेका घरी म मद्दत गर्छु । तिमीले भोलि आवश्यक सामग्रीहरू तयार पार्नु ,” भन्दै गुरुजीको प्रस्थान भयो ।
दुईदिने जाप सिद्धियो । ब्राम्हणहरू पण्डितजीलगायत उहाँको तेह्र, दश र पन्ध्र वर्षे छोरा र एघारवर्षे भतिज । क, ख, पूर्ण रूपमा छुट्याउन नसक्ने, झन् संस्कृतको त के गति होला ? तर भनाई छ — ब्राम्हण वाक्य अशुद्ध हुँदैन ।
कर्म सिद्धिएपछि गुरुजीको निर्देशन अनुसार प्रत्येक ब्राम्हण देउताहरूले फल–फूल, दूध, मेवा–मिठाईको फलाहार साथै प्रतिदिनको दक्षिणा डेढ–डेढ सय रुपियाँ पाए । चाँडै रोगीको होश फर्कने आश्वासन दिँदै गुरुजी र उहाँको टोलीको प्रस्थान भयो ।
मनबहादुर तेल सिद्धिएको बत्तीसरह आजभन्दा भोलि, भोलि भन्दा पर्सी झन् क्षीण हुँदै गयो । धनमायाका मनमा निराशाको बादल अझै कालो हुँदै गयो । उसको आशामा बेमौसम तुषारो पर्‍यो । उसले अनेक पटक ईश्वरलाई याद गरी । गोविन्दजीको भाकल गरी, तर ईश्वर पनि बहिरो भएछ क्यार ...... ।
हल्चल बन्द भएपछि सबैले बैतरणी गर्नु सुझाव दिए । महानन्द गुरुजी अघि सर्नुभयो । उहाँ बाहेक त्यस नाउलाई किराना लगाउने को ?
“के के चाहिन्छ गुरुजी ?” बलिन्द्र आँशु झार्दै धनमायले सोधी ।
“चामल, टपरी, भेटी आदि त चाहिन्छ नै, एउटा दुहुना गाई पनि चाहिन्छ ।”
“दुहुना गाई ?!” धनमायाले केही विस्मत नजरले गुरुजीतर्फ हेरी ।
“नत्र कसरी मानिस वैतरणी नदी पार हुन्छ त ? ती नदी अति विशाल छन् । आत्मा गौमाताको बलिष्ठ पुच्छरको सहायताले मात्रै नदी पार हुन्छ । स्वर्गलोक जान नदी तर्नुपर्छ । गाई दान नगरेसम्म आत्माले कहिल्यै पार पाउँदैन । ” गुरुजीले मानौ आफ्नै आँखाले देखेर आएको झैं “वैतरणीको आँखोदेखी” व्याख्या गर्नुभयो ।
आफ्नु स्थिति प्रस्ट्याउँदै धनमायाले भनी – “घरमा त एउटा मात्रै दुहुना गाई छ । त्यो पनि दानमा दिए मेरा दूधमुखे बालकहरूलाई के खुवाउनु ?”
स्थिति बुझेर केहीबेरसम्म सोचेपश्चात गुरुजीले समस्याको समाधान प्रस्तुत गर्दै भन्नुभयो — “त्यसको इन्तजाम म आफैं मिलाउँला ।”
उसले ठूलो सास फेरी र गुरुजीतर्फ प्रश्नवाचक दृष्टिले हेरी रही ।
“एउटा दुहुना गाई मेरै घरमा छ । अस्ती गाहाकी आउँदा पाँच हजार दिन्छौं भन्दा दिइनँ । मनवहादुरलाई पार लगाउन दैबले त्यसैलाई जुराएको रहेछ । भैगो चारहजार दाम गरौं अरू .......
“चार हजार ........!!!”
“तिम्रा निम्ति एकहजार कम !”
त्यस बाध्यताबाट उम्कने बाटो खोज्दै धनमायाले विन्ती चढाइ, – “बाछीले हुँदैन गुरुजी ?”
गुरुजीले शान्त भावमा भन्नुभयो – “वैतरणी पार गराउन बाछीले कहाँ सक्छ र ? यो लोक पनि सुध्रेन, परलोक त सुधार्नु पर्छ । हाम्रो धर्मले आत्माको मुक्तिका लागि यसै गर्नुभन्छ । धर्मबाट मुख मोड्नु हुँदैन ।”
मनबहादुरको वैतरणी कर्म भयो । चारहजार कबोलमा ल्याएको गाई कार्य सिद्धिएपश्चात् गुरुजीलाई नै सुम्पिइयो ।
वैतरणी गरेका पाँच दिनपश्चात् रोगीले यसलोकबाट छुट्कारा पायो । धनमायाको आशाको त्यान्द्रो निर्दयतापूर्वक चुँडियो । उसको मानसिक स्थिति कस्तो भयो होला भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ ।
धर्मको कानून सवैले मान्नै पर्‍यो । तेह्रवर्षे छोराको कपाल मुडियो । जसलाई पितृश्राद्ध के हो भन्ने ज्ञानै छैन, उसले पितृलाई तर्पण दियो । समाधान रुपी भनाई छ, “उल्टो–सुल्टो जस्तो जपे पूरा हुन्छ काम ।”
दशौंको कोरो ढिकुरो फुट्यो । गुरुजीले धनमायालाई आफूसामु बोलाउँदै भन्नुभयो – “भोलि बाह्रौं हो । शास्त्रका वचनअनुसार मृत आत्माको नाउँमा नारायणबलीको कर्म हुनुपर्छ ।”
“नारायणबली .....?”
“अँ, अनि त्यसका लागि अलि सामग्रीहरू चाहिन्छ ।”
“गुरुजी, आजसम्म मैले जान्दा, हाम्रो घरपरिवारमा त कसैको पनि यो कर्म गरेको बुझिन नी” – धनमायले कातर स्वरमा भनी । अबुझहरूलाई शान्त भावमा बुझाई लोकहित गर्नुनै पुरोहित, पण्डितहरूको धर्म हो । गुरुजी धनमायालाई बुझाउँदै भन्नुहुन्छ, – “नारायणबली सबै मृतात्माको हुनुपर्छ । उहिले नजान्दा गरेनन् होला । तर धर्मशास्त्रको वचन उल्लङ्घन गर्नु सय गाई मारेको पाप बराबर हो । शरीरमा जनै लगाईलगाई मर्नु आत्महत्या गर्नु बराबर हो । मने पनि जनैमै मरेको हुँदा उसको आत्माको मुक्तिका लागि नारायणबली गर्नु अनिवार्य छ ।”
एघार दिन, गरुड्पुराणका काल्पनिक बासले आत्तिएकी धनमायालाई आखिरकार महानन्द गुरुजीका सन्धिपत्रमा हस्ताक्षर गर्न करै लाग्यो । बाह्र हात नाघेर भित्तामा कसरी हार्ने ? तर छ–छवटा तामाका गाग्री, पाँचवटा अरु ब्राम्ह्णहरू ! दानदक्षिणा, अन्य आवश्यक सामग्री ....... गुरुजीले धनमायाको मन अनुहारमा पढेपश्चात् जनाउनुभयो – “ब्राम्हण पुरोहितहरूको चिन्ता तिमीले लिनुपर्दैन । सामान भने तयार गर्नु ।”
भोलिपल्ट बिहानै गुरुजी पुरोहितहरूलाई लिई कर्मस्थलमा आउनुभयो । आफ्ना पाँच र छ वर्षे छोरा, तीनवर्षे भतिजो चार र पाँचवर्षे दुई भान्जाहरू धोती कुर्तामा सजिएर मनबहादुरलाई वैतरणी नदी पार गराई इन्द्रासन दिलाउन खटिए ।
बालपुरोहितहरूलाई केही विस्मित नेत्रले धनमायाले हेरी रही ।
“हेर न, गुरु पुरोहितहरू सबै व्यस्त, कोही नभ्याउने । गर्ने कर्म म गरी हाल्छु । भरे दानदक्षिणा यिनीहरूलाई दिने, ” भन्दै गुरुजीले बालपुरोहिततर्फ इशारा गर्नुभयो । कार्यारम्भ भयो । पुरोहितहरू कसैलाई तिर्खा लाग्छ, कसैलाई भोक, कसैलाई पिसाब, त कसैलाई दिशा ....... । एउटा लाठेलाई दिनभरीको काम पुग्यो । साँझ एउटा–एउटा तामाका च्याट्ट परेका गाग्री लिई खल्तीभरी पैसा अनि भरपेट खाएर रमाउँदै ती फुच्चे पुरोहितहरू घर फर्किए ।
यसै गरी तेह्रौंको कार्य सिद्धियो । एउटा भएको गाई पनि महानन्द गुरुजीलाई नै भेटी चढाइयो ।
पतिशोकको घाउ अलिकति पनि नथामी महानन्द गुरुजी र गाउँका साहूहरूले आ–आफ्ना हर हिसाब धनमाया सामु राखी उसको घाउमा नून–चूक हाल्न कति पनि हिच्किचाएनन् ।
सित्तैको तमाशा हेर्न कोही पछि पर्दैन । महानन्दजीले गाउँले बुज्रुकहरूलाई पनि बोलाउनुभयो । पञ्चायतमाझ हिसाब–किताब भयो । उसको भएको जेथोदेखि बढी ऋण पुगेछ । पञ्चायतको केही प्रतिवाद नगरी उसले घर जग्गा र खेती डीक राखेको कागजमा सही छाप लगाई दिए पश्चात मुर्छा भएर लडी । भित्र स–साना बालबच्चाहरू “भोक लाग्यो, भोक लाग्यो भन्दै रोइरहेका थिए ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :