नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

पुस्तक - समीक्षा:


ज्ञानू पाण्डे

स्रष्टा मोहन कायस्थको ‘चालीस फन्को घुमेपछि’

साहित्यसाधक मोहन कायस्थको पछिल्लो कृति ‘चालीस फन्को घुमेपछि’ बारे कुरा उठाउनु अघि उनको साहित्यिक व्यक्तित्वबारे सुरुमा केही शब्द व्यक्त गर्नु त आवश्यक छ नै, तर त्यो भन्दा पनि पहिलेयहाँ साहित्यकर्मकोमहानताबारे थोरै केही भन्न उत्सुकता भयो मलाई । वास्तवमा कहिल्यै सेवानिवृत्त हुनुनपर्ने कर्मक्षेत्र हो साहित्य । न उमेरको हदवन्दी यसमा, न हैसियत र पँहुचको कुनै पावन्दी ! सबैका लागि सधैँका लागि खुला आकाश जस्तै हो साहित्य संसार । बस्, व्यक्तिमा रुचि हुनुपर्छ त्यसप्रति, प्रतिभा हुनु पर्छ उसमा र निरन्तरको लगावले सिञ्चन गरी त्यसलाई एउटा पहिचानमा अवतरित गर्ने उत्साह र जाँगरको खाँचो ! यी केही आधारभूत तत्वबाहेक अन्य कुनै सिफारिसको जरुरी हुन्न एउटा व्यक्तिलाई ऊ आफू साहित्यसाधक प्रमाणित हु । निरन्तर लागिरहनु पर्छ बस्, समयले स्वतः प्रमाणित गरिदिन्छ उसको साहित्यिक पहिचान र स्वतः सर्वव्यापी बन्न पुग्छ उसको नाम । मोहन कायस्थको नाम आफैमा एउटा ज्वलन्त उदाहरण हो यस सत्यको । 

कायस्थ एक समय विद्युत प्राधिकरणका जागिरे थिएँ भन्ने कुरा थाहा पाउनेहरु कति नै होलान् र समाजमा ? तर उनको सक्रिय साहित्यिक व्यक्तित्वबारे सिंगै मुलुक जानकार छ आज। आफ्नै प्रतिभा, साहित्यप्रतिकोअटुट लगावको प्रेरणा तथानिरन्तरको परिश्रमकोबलमा समकालीन नेपाली साहित्यकारहरुको सूचिमा आफ्नो नाम स्थापित गर्न सफल भएका छन् उनी ।  

विद्यार्थी अवस्थादेखि नै साहित्यसाधना तर्फ प्रवृत्त उनी हाल विद्युत प्राधिकरणका एक सेवा निवृत्त इञ्जिनियर हुन् तर साहित्यप्रतिको उनको गहिरो रुचि, आत्मिक लगाव अनि उपल्लो गतिको सक्रियताका कारण कुनै उच्चपदस्त बहालवाला कर्मचारीको भन्दा कत्ति पनि कम व्यस्त लाग्दैन उनको दैनन्दिन । साहित्यिक र गैर साहित्यिक गरी झण्डै डेढ दर्जन जत्ति संघसंस्थाहरुमा आवद्ध उनी आफ्नो सिर्जनामा मात्र होइन, अन्य साहित्यकारतथा संस्कृतिकर्मीहरु बारे खोजीनीति गर्न पनि उत्तिकै चासो राख्छन् । अझ त्यतिले नपुगेर देशभित्र तथा दशबाहिर (पनि) आयोजित हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागिता जनाउन गइरहनु, एक प्रकारले भन्ने हो भने सधै भ्याइनभ्याइ छ उनलाई । 

लेखनमा बहुमुखी प्रतिभाका धनी कायस्थले हालसम्म चार दर्जनभन्दा अधिक पुस्तकहरु प्रकाशित गरिसकेकाछन् । नेपालीमा मात्र नभइ अंग्रेजी र नेपालभाषामा पनि कलम चलाउनसक्षम उनका अधिक पुस्तक कविता, गीत, कथा उपन्यास, निबन्ध, संस्मरण, यात्रा साहित्यसित सम्बन्धित छन् भने एक सृष्टि बहुल दृष्टि (२०७१) शीर्षकको एउटा पुस्तक समालोचना विधासित सम्बन्धित छ । चिनेजानेका पुष्कर (जीवनी, २०७१), सम्झनामा भानु (जीवनी,२०७१) जस्ता जीवनीकेन्द्री पुस्तक समेत लेखेका कायस्थको साहित्यिक सक्रियताकोअर्को महत्वपूर्ण पाटो हो पुस्तकसम्पादन । बन्दीपुरका कविलेखक साहित्यकारहरू (२०७१) कृतिका सहसम्पादक कायस्थको एकल सम्पादनमा अगाडि आएको यशस्वी देवकोटा (व्यक्ति व्यक्तित्व, २०६६) र सत्यमोहन जोशीः व्यक्ति एक व्यक्तित्व अनेक (२०६९) पुस्तक नेपाली साहित्यका लागि महत्वपूर्ण प्राप्ति हुन् । 

कायस्थको पछिल्लो प्रकाशित पुस्तक चालीस फन्को घुमेपछिमूलतः नियात्राकृति हो । तरउनको अघिल्लो नियात्राकृति(चालीस फन्को , २०६७) भन्दा यो अलि भिन्न  छटाको लाग्दछ । चालीस फन्कोको मूल पाठमा  कायस्थले पूरै मात्रामा आफ्ना अनुभूतिजन्य यात्रासंस्मरणहरु अटाएका छन् भने यसमा त्यसो मात्र होइन । जीवनदर्शन, मनोरञ्जन , तीर्थाटन, साहित्यिक यात्रा , रचनावाचन, पितृश्राद्ध , अध्ययन, भानुभक्त , अन्तविमर्श गरी ९ खण्डमा विभाजित र १६३ पृष्ठसम्म फैलिएको यस पुस्तकभित्र उनले आफ्ना विभिन्न यात्रासंस्मरणहरुका साथसाथै साहित्यिक यात्राका क्रममा आफूसंगै भएका अन्य कतिपय साहित्यकारहरुका कविता तथा लेखलाई पनि महत्वका साथ ठाउँ दिएका छन् । यस भित्र रामप्रसाद पन्त, रामबाबु  सुवेदी, पवन आलोक, जगदीश शमशेर राणा लगायतका स्रष्टाहरुका विभिन्न शीर्षकका कविता रचनाहरुका साथसाथै सुमनराज ताम्रकारको एउटा रोचक हास्यव्यंग्य निबन्ध र जगदीश शमशेर राणाको भानुभक्त सम्बन्धी एउटा महत्वपूर्ण अध्ययन पनि पढ्ने अवसर मिल्दछ हामीलाई । अझ त्यति मात्र होइन, पुस्तकभित्र  नेपाली साहित्य डट कम प्रतिष्ठानले अलि अघि काठमाडौंमा आयोजना गरेको कायस्थको कविताकृतिको अन्तविमर्श कार्यक्रममा विभिन्न वक्ताहरुले बोलेका विचारहरु पनि जस्ताको तस्तै समेटिएको भेटिन्छ । यी सब विशेषताले गर्दा झट्ट हेर्दा कायस्थको यो नियात्राकृतिको ढाँचा केही अनौठो र नौलो जस्तो पनि लागिदिन सक्छ पाठकलाई । एउटा लेखकको नाममा अगाडि आएको पुस्तकभित्र अन्य लेखकका पनि रचना र अभिव्यक्तिहरु लगभग उत्तिकै महत्वका साथ समेटिएको पाइनुले साँच्चै मिश्रित स्वादको अनुभूति दिलाउँछ कायस्थको यो पुस्तकले पाठकलाई । 

पुस्तकभित्र समेटिएका कायस्थका रचनाहरुको मात्र विशेषता खुट्याउने हो अनुभूतिको सरल अभिव्यक्ति यस पुस्तकको प्रमुख गुण हो भन्न सकिन्छ । क्लिष्टताको जकडबाट पूर्णतः मुक्त छ्न् यसभित्र कायस्थका सबै रचनाहरु । पढाइ र पेसाका दृष्टिले प्राविधिक विषय सम्बद्ध व्यक्ति भए पनि भावना र सम्वेदनामा हराउन मन पराउने कायस्थको साहित्यिक मन पुस्तकभित्र जसरी अनौपचारिक भंगिमामा प्रकटिएको छ, त्यो साँच्चै नै रोचक लाग्यो मलाई । पुस्तकभित्र आफ्ना रचनामा कायस्थले जीवन भोगाइका क्रममा भेटे भोगेका महत्वपूर्ण पात्र एवं घटनाको मात्र नभइ सामान्य भन्दा सामान्य पात्र र घटनाहरुको पनि महत्वका साथ स्मरण गरेका छन् र त्यसबबाट जीवनका महत्वपूर्ण पाठहरु उधिन्न प्रशस्त प्रयास गरेका छन् । वास्तवमा समान्य भन्दा सामान्य घटनामा पनि जीवनका महत्वपूर्ण पाठहरुको उद्घाटित हुन सक्छन् भन्ने सोच राख्नुनै लेखक हुनुको विशेषता हो उनको ।  

हामी देख्छौं यस पुस्तकभित्र कायस्थले अकृतिम प्रस्तुतिले सजिएका आफ्ना एक एक रचनामा विभिन्न भ्रमणहरुबारे वर्णन मात्र गरेका छैनन्, बीच बीचमा आफ्ना कतिपय महत्वपूर्ण दर्शन र दृष्टिकोणहरुलाई पनि सुन्दर वाणी दिएका छन् । पुस्तकभित्र उद्घाटित ती वाणीहरुमा कतै पनि बौद्धिकता प्रदर्शनको दम्भ नभेटिनु , बरु घोकेर होइन भोगेर जीवनको सत्य छाम्ने लेखकीय शैली मुखरित भएको पाइनु ज्यादै महत्वपूर्ण कुरा लाग्यो मलाई । यसभित्र कायस्थले आफ्ना रचनाहरुमा एकातिर राष्टियचिन्तन, मानवतावादी दर्शन र धर्म परम्पराबारेको आफ्नो उच्च धारणाप्रस्टसित अभिव्यक्त गरेका छन् भने अर्कोतिर मनोविज्ञानप्रतिको रुचिलाई र योग एवं ध्यान विषयप्रतिको आफ्नो गहिरो झुकावलाई न्याय गर्न प्रशस्तमात्रमा प्रयास गरेका छन् । 

निचोडमा भन्नु पर्दा, सरल लेखन, सरस शैली र इमानदार भाव मोहन कायस्थको कलमको विशिष्ट पहिचान हो भन्ने तथ्य पुष्टि गर्न प्रस्तुत चालीस फन्को घुमेपछि पुस्तक सफल देखिएको छ । आफ्ना रचनाहरुमा प्रायः ठूला र बोझिला विषयहरूलाई ठाउँ दिन उति चासो नदेखाउने, बरु साना मसिना घटनाहरूमै घोत्लिदै जीवन र जगत सम्बद्ध आफ्ना कतिपय दर्शन र दृष्टिकोणलाई सरलताका साथ अभिव्यक्ति दिन अग्रसरता देखाउने कायस्थको कलमको जुन विशिष्टता हो त्यसको म हृदयतः प्रशंसा गर्दछु । अहिलेसम्म प्रशस्त संख्यामा पुस्तकहरु प्रकाशित गरिसकेका र अझै पनि उत्तिकै जोश र जाँगरका साथ कलम चलाइरहेका कायस्थको साहित्यिक जीवनको उत्तरोउत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा पनि उनको कलमबाट यस्तै र यो भन्दा पनि अझै गहन र गहकिला पुस्तकहरु जन्मने छन् भन्ने विश्वासका साथ अहिलेलाई म यही रोकिन्छु ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :